शुक्रबार शिल्पी थिएटर को मञ्चमा विशेष दृश्य देखियो—अभि सुवेदी का नाटकका पात्रहरू आफैं उपस्थित भएर आफ्नै सर्जकलाई अभिनन्दन गर्न उभिए।

प्राडा अभि सुवेदीले नाटक लेखनमार्फत जन्माएका थुप्रै पात्र एउटै मञ्चमा देखिए । ‘अग्नीको कथा’, ‘सान्दाजूको महाभारत’, ‘चिरिएका साँझहरू’, ‘मायादेवीका सपना’, ‘आरुका फूलका सपना’ र ‘जीवनदेखि जीवनसम्म’ नाटकका यी पात्रहरू एकै मञ्चमा त्यसै भने झुल्किएका थिएनन् ।

उनीहरू आफूलाई जन्माउने, जन्मदाता (सर्जक, लेखक, गुरु) एवं रंगकर्मी अभि सुवेदीलाई अभिनन्दन गर्न शिल्पीको मञ्च उक्लिएका थिए । कलाकारहरू घिमिरे युवराज, कर्मा, भोलाराज सापकोटा, सरस्वती चौधरी, सरोज अर्याल, दिलिप रानाभाट र पवित्रा खड्काले अभिका विभिन्न नाटकका चरित्र बनेर उनैलाई अभिनन्दन गरे । यी कलाकारले अभिनन्दनसहित सम्मानपत्र पनि प्रदान गरे ।

विश्व रंगमञ्च दिवसको अवसरमा नाट्यकलाको विश्व संगठन ‘इन्टरनेसनल थिएटर इन्स्टिच्युट–आइटिआई’का मानार्थ सदस्य तथा ‘आइटिआई नेपाल’का संस्थापक अध्यक्ष प्राडा सुवेदीलाई अभिनन्दन गरेको हो । नाट्य क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै आइटिआई नेपालको नयाँ समूहले शिल्पीमा ‘अभि-अभिनन्दन’ आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै सुवेदीले इतिहास बिर्सने प्रवृत्तिप्रति व्यङ्य गर्दै भने—इतिहास बिर्सने समाजले भविष्य गुमाउँछ। साथै, थिएटरले मानिसलाई एउटै ठाउँमा जोड्ने अद्भुत शक्ति भएको उल्लेख गरियो।
कार्यक्रममै आइटिआई नेपालको पुनः स्थापनाको औपचारिक घोषणासमेत भयो । करिब एक दशकदेखि आइटिआई विश्वबाट बिच्छेद भएको सम्बन्धलाई रंगकर्मी केदार श्रेष्ठको समूहले पुनः स्थापना गरेको छ । आइटिआई नेपालको कार्यकारी बोर्डमा केदार श्रेष्ठ, गुञ्जन दिक्षित, देव न्यौपाने, सुशिला लक्ष्मी महर्जन, मोतीबहादुर कार्की (परिवर्तन), पवित्रा खड्का र सिजन दाहाल छन् ।



Leave a Reply