महिषासुरको म:म पसल


केही दिनयता महिषासुर निकै तनावग्रस्त मुडमा देखिन्थे । उनमा व्याप्त तनावको गहिराइ पत्ता लगाउने क्षमता कसैसँग थिएन । खासमा उनी कुनै नयाँ व्यापार–व्यवसायमा हात हाल्न चाहन्थे । तर, उनीसँग कुन व्यवसाय अँगाल्दा फाइदै–फाइदा हुन्छ भन्ने ‘आइडिया’ पटक्कै थिएन । उनले निर्णय लिए, ‘यसरी अलमलिएर त व्यवसाय हुँदैन, एकपटक काठमाडौँ सहरको परिक्रमा हान्नुपर्‍यो ।’ हरेक चोक,…

केही दिनयता महिषासुर निकै तनावग्रस्त मुडमा देखिन्थे । उनमा व्याप्त तनावको गहिराइ पत्ता लगाउने क्षमता कसैसँग थिएन । खासमा उनी कुनै नयाँ व्यापार–व्यवसायमा हात हाल्न चाहन्थे । तर, उनीसँग कुन व्यवसाय अँगाल्दा फाइदै–फाइदा हुन्छ भन्ने ‘आइडिया’ पटक्कै थिएन । उनले निर्णय लिए, ‘यसरी अलमलिएर त व्यवसाय हुँदैन, एकपटक काठमाडौँ सहरको परिक्रमा हान्नुपर्‍यो ।’ हरेक चोक, गल्ली र डिपार्टमेन्ट–मलहरू चहार्दाखेरि देखे, सबैतिर म:म पसलै–पसल । ग्राहकको भीड । अझ कतिपय म:म पसलमा त पूरै लाइन । महिषासुरले उत्साहित हुँदै घोषणा गरे, ‘म पनि म:म पसल खोल्नेछु । तर, मेरो म:म पसल पूरै उत्तरआधुनिक टाइपको हुनेछ ।’ अन्तत: दसैँको छेक पारेर महिषासुरले भव्य म:म पसल खोले । उनले आफ्नो म:म पसलमा निम्न ‘आइटम’का म:महरू राखे, जुन निम्नानुसार थिए :

१. एआई म:म
एआई म:म अर्थात् ‘आर्टिफिसियल इन्टलिजेन्स म:म’ । हरेक वस्तुमा कृत्रिम बौद्धिकता हुन्छ भने म:ममा त्यस्तो शक्ति वा क्षमता नहोला र ? महिषासुरको तर्क थियो, ‘अहिले हामी एआईको युगमा बाँचिरहेका छौँ । र, अब हामीले एआई म:मको स्वादले यो संसारका हरेक ग्राहकलाई लट्ठ पार्नुपर्छ ।’
एआई म:म कुन किमाबाट निर्मित हुन्छ ? महिषासुरको जवाफ थियो, ‘यो बौद्धिम किमाद्वारा निर्मित म:म हो । यो म:म खाने मानिसहरूमा नपत्याउँदो तरिकाले बौद्धिक गुण पलाउँछ ।’

२. च्याट जिपिटी म:म
यो अलि ‘एड्भान्स’ म:म हो । तपाईंको मनभित्र कुनै जिज्ञासा उब्जिएको छ ? यदि उब्जिएको छ भने यो म:म खानुस्, तुरुन्तै समाधान पाउनुहुनेछ ।
महिषासुरको तर्क थियो, ‘तपाईं कुनै कम्पनीमा काम गर्दै हुनुहुन्छ तर तपाईंमा निवेदन लेख्ने सीप छैन भने यो म:म खानुस्, तुरुन्तै निवेदन फुरिहाल्छ ।’

३. भगवती देवी म:म
युगौँ पहिले महिषासुर भगवती देवीद्वारा पराजित भएका थिए । उनको कोखामै भाला रोपेकी थिइन्, देवीले । तर, महिषासुरले आफ्नो म:म पसलमा ‘भगवती देवी म:म’ पनि राख्न चाहे ।
तपाईंले किन आफ्नै विरोधीको नाममा म:मको एउटा ‘आइटम’ राख्नुभयो ? महिषासुरले नम्र हुँदै भने, ‘आफ्ना शत्रुहरूलाई सदैव माया गर्नुपर्छ । शत्रुका क्रियाकलापले तपाईंलाई ब्युँझाउँछ । नराम्रो कृत्य गर्न निरुत्साहित गर्छ । मित्रहरूले त तपाईंलाई सधैँ चुस्छन्, धोका मात्रै दिन्छन् । त्यही भएर विरोधी भए पनि मैले भगवती देवीको नाममा म:मको नाम राखेको हुँ ।’

४. टाइपराइटर म:म
महिषासुरले आफ्नो म:म पसलमा आधुनिक/अत्याधुनिक म:म मात्रै बेच्न चाहेनन् । उनले पूर्ववर्ती पुस्तालाई आकर्षित तुल्याउने हेतुस्वरूप टाइपराइटर म:मसमेत मेनुमा समेटे । किन त ? उनको तर्क थियो, ‘अहिले कम्प्युटर वा अरू अत्याधुनिक प्रविधिमा अभ्यस्त भए पनि हामी त्यही टाइपराइटरको जमानाबाट गुज्रिएर आएका हौँ । त्यसैले मैले यो म:म पनि बेच्ने निर्णय गरेँ ।’
कस्तो हुन्छ यो म:म ? महिषासुरले भने, ‘बिल्कुलै टाइपराइटरजस्तै । खटट्ट चल्ने खालका । स–साना भए पनि निकै तिक्खर हुन्छ । बाङ्गेमुडामा पाइने गुच्चा म:मजस्तै ।’
अत: मलाई पूरै विश्वास छ— महिषासुरको म:म पसलले राम्रै ‘मार्केट’ लिनेछ । उनी ग्राहकवर्गलाई सन्तुष्ट तुल्याउन शतप्रतिशत सफल हुनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *