–मस्तिष्कघात भन्नाले के बुझिन्छ ?
मस्तिष्कको कुनै भागमा रगतको प्रवाह अचानक अवरुद्ध हुनु वा रगतनली फुटेर मस्तिष्कमा रक्तस्राव हुनुलाई मस्तिष्कघात (Stroke) भनिन्छ । मस्तिष्कघातपश्चात् प्रभावित भागका मस्तिष्ककोषहरू अक्सिजन र पोषण नपाई केही मिनेटमै नष्ट हुन थाल्छन्, जसको असर बोली, दृष्टि, स्मरणशक्ति, हिँडडुल, हातखुट्टा चलाउने क्षमतालगायत जीवन नै खतरामा पर्न सक्छ । मस्तिष्कघात भनेको मस्तिष्कमा रगत आपूर्ति बिग्रनु हो, जसका कारण केही मिनेटमै जीवनरक्षक कोषहरू मर्न थाल्छन् । समयमै उपचार भए मात्र धेरैका जीवन र अङ्गको क्षमता जोगाउन सकिन्छ ।
–मस्तिष्कघातका प्रमुख प्रकारहरू केके हुन् ?
१. इस्केमिक स्ट्रोक : जुन सबैभन्दा धेरै (करिब ८०–८५ प्रतिशत) देखिने प्रकार हो, जसमा मस्तिष्कमा रगत आपूर्ति गर्ने नलीमा ‘क्लट’ जम्दा वा नली अवरुद्ध हुँदा हुने गर्छ । यसले रगत र अक्सिजनको आपूर्ति रोक्छ ।
२. ह्यामोरेजिक स्ट्रोकचाहिँ मस्तिष्कको नली फुटेर रगत बग्दाखेरि हुन्छ । यो उच्च रक्तचाप, रक्तनलीको कमजोरी वा मस्तिष्कमा चोटपटकका कारण हुन सक्छ । रक्तस्रावले मस्तिष्कको दबाब बढाउँछ र कोषहरू नष्ट गर्छ ।
३. ट्रान्जियेन्ट इस्केमिक अट्याक : जसलाई ‘मिनी स्ट्रोक’ पनि भनिन्छ । यो छोटो समयका लागि मात्र रगतको आपूर्ति रोकिने अवस्था हो । लक्षण केही मिनेटदेखि केही घण्टाभित्रै हराउन सक्छ । यसले स्थायी क्षति नगरे पनि भविष्यमा ठूलो स्ट्रोक हुने चेतावनी सङ्केत भने हो ।
–नेपालमा पछिल्ला दशकमा मस्तिष्कघातका बिरामीको संख्या उल्लेखनीय रूपमा बढेको छ । यसको प्रमुख कारणहरू के होला ?
हाम्रोजस्तो कम विकसित देशहरूमा पनि स्ट्रोक भयावह रूपमा बढ्दो छ । चीन र भारतजस्ता मुलुकहरूमा पनि धेरै बढिरहेको छ । अहिलेको हाम्रो अस्वस्थ जीवनशैली नै मुख्य कारण हुन्, फास्ट फुड, चिल्लो र उच्च नुनयुक्त खानेकुरा बढी प्रयोगले यो समस्या निम्त्याइरहेको छ । शारीरिक गतिविधि घट्नु (काम कार्यालय वा मोबाइल/कम्प्युटरमा सीमित हुनु), धूमपान र मद्यपानको लत बढ्नुले समस्या जन्मिइरहेको छ । यी पदार्थले रक्तनली बिगार्छन् र स्ट्रोकको सम्भावना बढाउँछन् । उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलको वृद्धि पनि एक कारण हो । साथै, तनाव र निद्राको कमीले रक्तचाप र मुटुमा असर पार्छ । सहरी क्षेत्रमा मस्तिष्कघात हृदयघातपछि दोस्रो प्रमुख मृत्युको कारण बनेको छ । ग्रामीण क्षेत्रमा एम्बुलेन्स सेवा र स्ट्रोक सेन्टरको कमीका कारण बिरामी अझ बढी जोखिममा छन् । केही ठूला सहरका अस्पतालमा सिटीस्क्यान, एमआरआई, थर्माेबोलिसजस्ता सुविधा भए पनि देशभर पर्याप्त छैन । नेपालमा मस्तिष्कघात बढ्नुमा जीवनशैली, बानी र स्वास्थ्यप्रति बेवास्ताको परिणाम हो । समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैली अपनाए यो दर घटाउन सकिन्छ ।
–यो स्वास्थ्य समस्या रोकथामका लागि केके गर्न सकिन्छ ?
मुख्यत: हामीले आफ्नो जीवनशैलीलाई नै परिवर्तन गर्नुपर्यो । धूमपान, मध्यपान, मोटोपनालाई नियन्त्रण गर्नुपर्छ । निष्क्रिय जीवनशैलीलाई त्याग्ने, तनाव, रक्तचाप, मधुमेह कन्ट्रोल गर्नुका साथै नियमित योग, ध्यान, व्यायामलाई जीवनको अभिन्न अङ्गका रूपमा अँगाल्नुपर्छ । अहिले वायु प्रदूषणले पनि स्ट्रोक बढाइरहेको हुँदा बाहिर हिँड्दा मास्क लगाएर हिँड्नु राम्रो हुन्छ ।
–हामीकहाँ स्ट्रोकको वृद्धिदर कस्तो छ ?
हामीकहाँ वार्षिक ५० हजार व्यक्तिमा स्ट्रोक हुन्छ । हरेक १० मिनेटमा एक जना र प्रत्येक दिन १ सय ३६ जनालाई स्ट्रोक हुने डाटाले बताउँछ । विश्वको कुरा गर्ने हो भने प्रत्येक चार जनामध्ये एक जनालाई स्ट्रोक हुन्छ र हरेक ६ जनामा एक जनाको मृत्यु हुने तथ्यांकले देखाएको छ ।
–नियमित स्वास्थ्य परीक्षणले कति हदसम्म मस्तिष्कघातको जोखिम कम गर्न सकिन्छ ?
नियमित स्वास्थ्य परीक्षणले स्ट्रोकको रोकथाममा अत्यन्त महत्वपूर्ण भूमिका खेल्छ । लुकेको रोग समयमै पत्ता लाग्छन् । जस्तै : उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोलजस्ता समस्याहरू धेरै पटक लक्षण नदेखिने खालका हुन्छन् । नियमित जाँचले यी समस्या प्रारम्भमै पत्ता लगाएर उपचार सुरु गर्न मद्दत गर्छ ।’
ब्लड प्रेसर, ब्लड सुगर, लिपिड प्रोफाइलजस्ता परीक्षणले जीवनशैली वा औषधि समायोजन गर्न मार्गदर्शन गर्छ । यसले रक्तनलीमा क्षति पर्न नदिई स्ट्रोकको सम्भावना घटाउँछ । मुटुमा अनियमित धड्कन (Atrial fibrillation) जस्ता अवस्थ इसिजी तथा इकोमार्फत पत्ता लाग्छ, जुन स्ट्रोकको ठूलो कारण हो । अनुसन्धानले देखाएको छ, नियमित स्वास्थ्य परीक्षण गर्ने व्यक्तिहरूमा स्ट्रोकको जोखिम ३०–५० प्रतिशतसम्म घट्छ । विशेष गरी ४० वर्ष नाघेपछि वा जोखिम समूहमा पर्नेहरू (धूमपान गर्ने, मोटोपना भएका, परिवारमा स्ट्रोकको इतिहास भएका) ले प्रत्येक ६–१२ महिनामा स्वास्थ्य परीक्षण गर्नुपर्छ । नियमित स्वास्थ्य परीक्षण भनेको स्ट्रोक हुनुभन्दा धेरै अघि नै चेतावनी पाउने सुरक्षा कवच हो ।
–मस्तिष्कघातको सुरुवाती लक्षणहरू के–के हुन सक्छन् ?
मस्तिष्कघातको लक्षण अचानक सुरु हुन्छ र केही मिनेटमै देखा पर्छन् । जस्तै : अनुहारको एक भाग अचानक टेढो हुनु, हाँस्दा एकपट्टि मात्र हल्लिनु, हातखुट्टा कमजोर हुनु, शरीरको एक भागमा कमजोरी वा संवेदना हराउनु, हात उठाउँदा एकातिर तल खस्नु, स्पष्ट बोल्न नसक्नु, शब्दहरू गलत उच्चारण हुनु वा कुरा बुझ्न गाह्रो हुनु, एक वा दुवै आँखा धमिलो हुनु वा अन्धोपन आउनुजस्ता कारण लक्षणहरू हुन् । तीव्र टाउको दुखाइ विशेष गरी ह्यामोरेजिक स्ट्रोकमा हुन्छ । हिँड्न गाह्रो हुनु, चक्कर आउनु, शरीर लड्नु आदि पनि प्रारम्भिक लक्षणहरू हुन् । कसैलाई मुटुको बाथरोग छ भने २० देखि २५ वर्षभित्र पनि हुन्छ ।
यी लक्षणहरू हलुका देखिए पनि ट्रान्जियेन्ट इस्केमिक अट्याकको सङ्केत हुन सक्छ, जसले भविष्यमा ठूलो स्ट्रोकको जोखिम जनाउँछ । लक्षण सुरु भएको केही घण्टाभित्र उपचार पाउँदा मात्र मस्तिष्कको क्षति घटाउन सकिन्छ ।
–नेपालमा मस्तिष्कघातको उपचारका लागि कस्ता प्रविधिहरू उपलब्ध छन् ?
नेपालमा पछिल्ला वर्षहरूमा स्ट्रोक उपचारका आधुनिक प्रविधिहरू विस्तार हुँदै छन् । तर, सुविधा मुख्यतया ठूला सहरहरूमा मात्र सीमित छ । हाल उपलब्ध प्रमुख प्रविधिहरू यस्ता छन्–
१. थ्रोम्बोलाइसिस Thrombolysis – Clot Buster Injection
इस्केमिक स्ट्रोकमा रगतको clot पगाल्ने औषधि TPA (Tissue Plasminogen Activator) प्रयोग । जुन लक्ष्काण सुरु भएको ३–४.५ घण्टाभित्र मात्र प्रभावकारी हुन्छ । यो सुविधा काठमाडौँ, पोखरा, विराटनगर, धरानका केही अस्पतालमा उपलब्ध छ ।
२. थ्रोम्बेक्टोमी (Mechanical Thrombectomy)
ठूलो धमनीमा अड्किएको clot हटाउन क्याथेटर प्रविधि प्रयोग । यो नेपालमा सीमित अस्पतालमा सुरुवात भएको छ ।
३.CT Scan / MRI (Neuroimaging)
स्ट्रोकको प्रकार (इस्केमिक वा ह्यामोरेजिक) तुरुन्त पत्ता लगाउन यो विधि अपनाइन्छ ।
–पुन:स्थापनाका लागि कति समय लाग्छ र के–कस्ता प्रक्रिया अपनाइन्छ ?
पुन:स्थापना भनेको स्ट्रोकपछिको शारीरिक, मानसिक र सामाजिक क्षमता पुन: प्राप्त गर्ने प्रक्रिया हो । यसको समयावधि र विधि बिरामीको क्षति, उमेर, स्वास्थ्यस्थिति र उपचार सुरुको समयमा निर्भर हुन्छ ।
साना र हलुका स्ट्रोक केही दिनदेखि २–३ महिनाभित्र सुधार हुन्छ । मध्यम स्ट्रोकलाई ३–६ महिना वा बढी समय लाग्छ भने गम्भीर स्ट्रोकलाई ६ महिनाभन्दा धेरै, कहिलेकाहीँ वर्षौंसम्म निरन्तर रिहाब आवश्यक पर्छ । स्ट्रोकपछिका पहिलो ३–६ महिना पुन:स्थापनाको ‘सुनौलो समय’ हो, किनकि यस समयमा मस्तिष्कको अनुकूलन क्षमता(Neuroplasticity) उच्च हुन्छ ।
–पुन:स्थापनाका प्रमुख प्रक्रिया केके हुन् ?
फिजियोथेरापी : हात–खुट्टा बलियो बनाउने, सन्तुलन सुधार्ने, हिँड्ने अभ्यास ।
स्पिच र ल्याङ्ग्वेज थेरापी : बोली, भाषा समस्या सुधार ।
ओक्युपेसनल थेरापी : दैनिक कार्य (कपडा लगाउने, खाना खाने, लेख्ने) पुन: सिकाउने ।
मानसिक स्वास्थ्य सहयोग : डिप्रेसन, चिन्ता र आत्मबल घट्नु रोक्न काउन्सेलिङ ।
–जनस्तरमा मस्तिष्कघातबारे चेतना अभाव छ भन्ने लाग्छ ? भए सुधारका उपाय के हुन सक्छ ?
नेपालमा धेरै ठाउँमा मस्तिष्कघात बारे जनचेतना अझै कमजोर छ । धेरै मानिसले यसको लक्षण, जोखिम र उपचार बारे पर्याप्त जानकारी राख्दैनन्, जसले गर्दा समयमै अस्पताल पुग्न सक्दैनन् र ठूलो क्षति हुने गर्छ । यसका लागि बढीभन्दा बढी रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल मार्फत स्ट्रोकका लक्षणहरू प्रचार–प्रसार गर्नुपर्छ । गाउँगाउँमा स्वास्थ्य स्वयम्सेवक मार्फत जानकारी पुर्याउनुपर्छ । प्राथमिक स्वास्थ्य केन्द्रमा स्ट्रोक सम्बन्धी जानकारी र प्राथमिक उपचार तालिम दिनुपर्छ । राष्ट्रिय स्वास्थ्य नीतिअन्तर्गत स्ट्रोक रोकथाम र उपचारमा बजेट तथा स्रोत विनियोजन गरेर लैजान जरुरी भइसकेको छ । मुख्यत: मस्तिष्कघातमा समयमै उपचार पाउनु नै सबैभन्दा ठूलो बचाउ हो । त्यसका लागि जनस्तरमै यसबारे स्पष्ट, सरल र व्यावहारिक जानकारी पुर्याउनु जरुरी छ, जसले धेरैले ज्यान जोगाउने र पुन:स्थापनाको सफलताको सम्भावना बढाउनेछ ।
००



Leave a Reply