संस्कृतिविद् वीणा जोशी (राजभण्डारी) द्वारा लिखित ‘नेवाः समुदायका परम्परागत मुकुण्डोनाच’ पुस्तक आइतबार काठमाडौंमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ। यल नेवाः समाजको आयोजनामा सम्पन्न कार्यक्रममा झण्डै १५ सय पृष्ठको उक्त कृति लेखककी सय वर्षीया आमा गङ्गादेवी राजभण्डारीसँगै उपत्यकाका विभिन्न परम्परागत नृत्यका १५ जना गुरुहरूले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।

पुस्तक लोकार्पणमा ङ्यत भुलु अजिमाका मुलगुरु देवकृष्ण महर्जन, किलागल देवीनाचका मुलगुरु ब्रम्हु महर्जन, सिकाली प्याखंका मुलगुरु महन्तलाल डंगोल, जल प्याखंका मुलगुरु धनबहादुर महर्जन, कीर्तिपुर इन्द्रायणी देवी प्याखंका मुलगुरु बेखालाल माली, ठेच्व इन्द्रायणी नाचका मूलगुरु धर्मराज माली, काठमाडौं गथुप्याखंका नृत्यगुरु सूर्यनारायण मालाकार, ललितपुर कार्तिक नाचका गुरु प्रतापधर शर्मा, संस्कृतिशिरोमणि हरिराम जोशी, चर्या सङ्गीतविद् यज्ञमानपति बज्राचार्य, चर्या नृत्यगुरु पदमराज बज्राचार्य र हेमबज्र बज्राचार्य, आधुनिक रंगमञ्च नृत्यगुरु रमा मास्के राजवाहक तथा दाप्चा तल्लो हदियाका नाचगुरु रामेश्वर श्रेष्ठलगायत सहभागी थिए।

लोपोन्मुख मुहाली बाजाको धुनबाट सुरु भएको कार्यक्रममा लेखक जोशीले ‘गुरु वन्दना’ नृत्य प्रस्तुत गर्दै दिवंगत तथा जीवित गुरुहरू, अतिथि र दर्शकप्रति सम्मान व्यक्त गरेकी थिइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै ८१ वर्षीया लेखक जोशीले प्रारम्भमा नेपालका सबै जातजातिका नृत्य संस्कृतिमाथि अध्ययन गर्ने योजना रहेको भए पनि अन्ततः आफ्नो अनुसन्धानलाई नेवाः समुदायको मुकुण्डोनाचमा केन्द्रित गरेको बताइन्। उनले नेवाः समुदायको नृत्य परम्परा केवल मनोरञ्जनको माध्यम नभई सभ्यता, आस्था, मिथक, धर्म र सामुदायिक जीवनसँग जोडिएको जीवित सांस्कृतिक सम्पदा भएको उल्लेख गरिन्।
उनले पृथ्वीनारायण शाहको नेपाल एकीकरणपछि नृत्य संस्कृतिमा नयाँ आयाम थपिएको तथा २०१६ सालपछि मात्र युवतीहरूलाई सार्वजनिक रूपमा नाच्न अनुमति दिइएको ऐतिहासिक तथ्य पनि स्मरण गरिन्।

नृत्य कला शारीरिक मात्र नभई मानसिक व्यायामसमेत भएको उल्लेख गर्दै उनले आफ्ना ६ वर्षे नातिनातिनाहरूले “पुस्तकमा नसमेटिए यी सम्पदा हराउनेछन्” भन्ने आग्रहले पुस्तक लेखनलाई अन्तिम रूप दिन प्रेरित गरेको बताइन्।
कार्यक्रममा संस्कृतिशिरोमणि हरिराम जोशी, चर्यानृत्यविद् यज्ञमानपति बज्राचार्य तथा प्रा.डा. ध्रुवेशचन्द्र रेग्मीले पुस्तकको समीक्षासहित लेखकको दीर्घकालीन अनुसन्धान, लगनशीलता र सांस्कृतिक योगदानको प्रशंसा गरेका थिए।

१७ खण्डमा विभाजित पुस्तकमा नेवार समुदायका विभिन्न परम्परागत मुकुण्डोनाच, चर्यानृत्य, कात्तिक नाच, गथु प्याखँ, देवीनाच, महाकालीनाच, नीलवाराहीनाच, भैरवनाच, श्वेतकालीनाच, सिकालीप्याखं, आकाशभैरवनाच, लाखम् नाचदेखि भक्तपुर, बाग्लुङ, बेनी र कुस्माका हनुमान नाचसम्म समेटिएको छ।

वरिष्ठ सञ्चारकर्मी सिल्भिया राजोपाध्यायले सञ्चालन गरेको कार्यक्रममा यल नेवाः समाजका अध्यक्ष नानुकाजी शाक्यले स्वागत मन्तव्य दिएका थिए। साथै प्रतिष्ठित वाद्यवादक टोली तथा कलाकारहरूले आर्यावलोकितेश्वर र बज्रयोगिनी चर्यानृत्य, भैल प्याखँ तथा नागाचा प्याखँ प्रस्तुत गरेका थिए।



Leave a Reply