तेजेश्वरबाबु ग्वंगः सांस्कृतिक नगरीका अथक साधक


लियो टल्सटाय जीवनका अन्तिम क्षणसम्मै सिर्जनरत रहे । लेखन–कर्मलाई उमेरको तगारोले रोक्दैन भन्ने दृष्टान्त थिए, विश्वविख्यात साहित्य–सर्जक टल्सटाय ।

लियो टल्सटाय जीवनका अन्तिम क्षणसम्मै सिर्जनरत रहे । लेखन–कर्मलाई उमेरको तगारोले रोक्दैन भन्ने दृष्टान्त थिए, विश्वविख्यात साहित्य–सर्जक टल्सटाय । स्मृतिदंशबाट पीडित हुनुभएन, नभए लेखकीय कर्म जीवनपर्यन्त चलिरहने प्रक्रिया हो । संस्कृतिविद् एवं निबन्ध–सर्जक तेजेश्वरबाबु ग्वंगःले गएको कार्तिकमा नब्बे शरद पार गरे । वृद्धवय समयलाई साक्षी राखेर अझै पनि उनी लेखनकर्ममै रमाइरहेका छन् ।

करिब डेढ वर्षअघि बिते, चित्तरञ्जन नेपाली । नेपालको इतिहासलाई फरक ढङ्गले केलाउन चाहने नेपालीको ‘अविच्युरी’ भर्खरै लेखेर सिध्याए उनले । चित्तरञ्जनले नेपालको इतिहासलाई फरक ढङ्गले नियालेकाले उनीप्रति अनुगृहित छन्, ग्वंगः । स्मरण गर्छन्, ‘उहाँ मकहाँ आइरहनुहुन्थ्यो । नेपाली इतिहास र संस्कृतिको क्षेत्रमा उहाँको योगदान सदा स्मरणीय रहनेछ ।’

पहिलो कृति चार दशकपछि 

बितेको पुसको पहिलो हप्ता उनले पछिल्लो कृति ल्याए, ‘मै एक, मै अनेक ।’ जीवनका डबलीहरूमा आफूले नियालेका स्मृतिजन्य मञ्चनहरूदेखि अरू सामाजिक, सांस्कृतिक पक्षहरू समेटिएको सो निबन्ध–कृति उनको लेखकीय जीवनको सात दशकीय यात्राको नवौँ कृति हो । यसलाई ‘क्वाँटी–टाइप’ को कृतिको उपमा दिन सकिन्छ । स्वीकारोक्तिसहित भन्छन्, ‘मेरो पछिल्लो कृतिमा सांस्कृतिकदेखि देशदेशावरका प्रसङ्गहरू समेटिएका निबन्धहरू छन् ।’ 

२००९/०१० सालदेखि नै उनको लेखनीको उपक्रम भयो । प्रथम कृतिको घुम्टी भने उघारे, बल्ल २०५२ सालमा । चार दशकभन्दा लामो समयको अन्तरालमा किन पहिलो कृति ? उनी स्पष्टीकरणको भाषा पछ्याउँदै भन्छन्, ‘लेख्न त मैले पहिलेदेखि नै लेखिरहेको थिएँ, तर पुस्तक प्रकाशनका निम्ति मसँग पैसा थिएन र प्रकाशनको सोच पनि आएन ।’ पछिल्लो समय उनका हितचिन्तक विजय श्रेष्ठले ‘म तपाईंको कृति प्रकाशनको अभिभारा लिन्छु’ भनेपछि उनले पहिलो कृति निकाले— ‘संस्कृतिका आयाम’ । प्रकाशक पाएपछि केही समयअघि मात्र दिवङ्गत भएका डा. मोहनहिमांशु थापाले पुस्तकको नामकरणका साथै भाषिक सम्पादनमा समेत सहयोग पुर्‍याए । 

टल्सटायको नातिनी

भक्तपुरस्थित सूर्यविनायक चोकबाट सूर्यविनायक मन्दिरतिर केही मिनेट लम्किँदा पुगिन्छ, ‘निष्ठा छेँ’, जुन ग्वंगःको निवासस्थान हो । उनी सो ठाउँमा सरेको तीन दशकभन्दा बढी समय बितिसक्यो । जन्म भने प्राचीन भक्तपुर सहरको खौमा टोलमा भएथ्यो, १९९२ कात्तिकमा । अचेल आफ्नै निवासस्थलको एउटा ठूलो कोठामा उनको सिर्जन–कर्म चम्किरहेको छ । सानोतिनो ‘लाइब्रेरी’ भन्दा फरक नपर्ने उनको कोठा निकै व्यवस्थितसमेत लाग्छ । पुस्तक एवं पत्रपत्रिकाहरूलाई कसरी राख्ने र सम्मान–पत्रहरूलाई कसरी र कुन कुनामा सजाउने जस्ता दृश्य नियाल्न ग्वंगःकै कार्यकक्षमा नपुगी धरै पाइन्न । 

भित्ताभरि इतिहास झल्काउनेदेखि वर्तमान समयसम्मका तस्बिरहरू ठूला एवं मझौला फ्रेमभित्र ‘कैद’ गरेर राखिएका छन् । एउटा कुनोमा टाँगिएको छ, टल्सटायले आफ्नी नातिनीलाई काखमा लिइरहेको तस्बिर । भित्ताकै एक ठाउँमा छ, आफ्ना नातिको तस्बिर । भारतबाट कम्प्युटर साइन्स अध्ययन गरेर फर्किएका नातिप्रति उनमा अधिक स्नेह र प्रेमभाव झल्किन्छ । उनी टल्सटाय र आफ्ना नातिको तस्बिर हेर्दै भावुक बन्छन्, ‘जसरी टल्सटाय आफ्नी नातिनीलाई स्नेह पोख्थे, म पनि आफ्नो नातिलाई त्यति नै माया र स्नेह गर्छु ।’ लाग्छ, टल्सटायले बुढ्यौलीका दिनहरूमा पनि सक्रिय लेखनकार्य अपनाए र नब्बेमा हिँड्दै गर्दा ग्वंगःमा पनि लेखन–इच्छाशक्ति अझ जागृत र प्रभावकारी हुँदै गइरहेको देखिन्छ ।

निकै ढिलो बाँधिए उनी वैवाहिक सम्बन्धमा । विवाह गर्दा ३२ वर्ष टेकिसकेका थिए । किन यति ढिलाइ त ? उनी भन्छन्, ‘मैले सेक्सन अफिसर भएपछि मात्र विवाह गरेँ । मलाई के लाग्यो भने आफ्नो खुट्टामा उभिन सक्ने भएपछि मात्र विवाह गर्नुपर्छ ।’ अचेल उनी श्रीमती, छोरा र नातिहरूसँगै बस्छन् । दुइटी छोरी भने वैवाहिक सम्बन्धमा बाँधिइसकेका छन् ।

जीवन बाँच्ने सूत्र

नौ दशकीय यात्रामा निरन्तर रूपले सिर्जनशील कर्मलाई पछ्याउँदै आएका ग्वंगःको जीवन बाँच्ने आफ्नै सूत्र छन् । वृद्धवयका खुट्किलाहरू चढ्दै गर्दा पनि उनले पूर्ववर्ती समयदेखि पछ्याउँदै आएका दिनचर्यालाई दायाँ–बायाँ मोडिन दिएका छैनन् । 

अचेल उनी खानासँगै दूध र मह खान्छन् । पूरै पौष्टिक खाना । मद्यपानतिर ध्यानैै गएन कहिल्यै । नेवारी संस्कृतिअनुरूप भोज–भतेरहरूमा मद्यलाई महत्वपूर्ण स्थान दिइने गरिन्छ । उनका निम्ति भने मद्यपदार्थ सेवन वर्जित नै रह्यो । भन्छन्, ‘अरूले पिउँदा म कुनै प्रतिक्रिया जनाउँदिनँ, तर मैले भने मद्यपानतिर आफूलाई कहिल्यै केन्द्रित तुल्याइनँ ।’ यस्ता व्यसनतिर प्रवृत्त नभएकै कारण नौ दशकमा हिँडिरहँदा पनि उनले स्मृतिदंश झेल्नुपरेको छैन । 

लेखनमा लाग्नुका दुई पक्ष

आफू साहित्य लेखनमा आकर्षित हुनुको पृष्ठभूमिमा दुई पक्षले भूमिका खेलेको उनको बुझाइ छ । २००८/००९ सालतिर उनी जेपी हाई स्कुलमा अध्ययनरत थिए । प्रायः सबै सहपाठी साहित्य–लेखनतिर झुकेका । डा. मोहनहिमांशु थापा, मदन रेग्मी, लक्ष्मण राजवंशी, कृष्णभक्त श्रेष्ठ, वेदनाथ रेग्मीलगायत । उनी भन्छन्, ‘साथीहरूको सङ्गतकै कारण म लेखनतिर ढल्किएँ ।’

राजनीतिज्ञ मोहनविक्रम सिंह पनि थिए, उनका सहपाठी । पछिल्लो समय भने सिंहले राजनीतिलाई प्रथम वृत्ति बनाए र साहित्यलाई सहायक । उनी भन्छन्, ‘त्यस बेला सिंहले पनि लेख्नुहुन्थ्यो, पछि भने उनले राजनीतिलाई प्रधान विषय बनाए । त्यस बेला विद्यार्थी सङ्गठनमा हामी सँगै काम गर्थ्यौं । त्यही समय उनलाई पक्राउ गरेर जेलमा लगियो । उनलाई भेट्न हामी जेलमा पनि गएका थियौँ ।’ 

नेवारी संस्कृतिमा कुनै व्यक्तिसँग भेट हुँदा सुरुमा सोध्ने गरिन्छ, ‘खाना खानुभो ?’ यो नेवार समुदायको संस्कारजन्य पक्षको एक अंश हो । ग्वंगःले सिंहलाई भेट्न भद्रगोल जेलमा जाँदा सोधे, ‘तपाईंले खाना खानुभयो ?’

सिंहले हाँस्दै जवाफ दिए, ‘जेलमा पनि के खाना खानुभयो भनी सोध्नुभएको तपाईंले ?’ सिंहको मुखबाट दशकौँ अघि फुत्केको त्यो हाँसो उनको स्मृतिपटलमा अझै विम्बित छ । 

उनले जेपी स्कुलमा अध्ययन गर्दा भने काठमाडौँस्थित वटु टोलमा डेरा लिएका थिए । नजिकै बस्थे हिरण्यलाल जोशी । जोशीले नेपाल भाषामा एउटा कथा लेखेका थिए । जोशीले भने, ‘मैले लेखेको यो कथा रेडियो नेपालमा गएर पढिदिनुस् न ।’ मैले भने उनको कथा पढ्न चाहिनँ । जोशीले कथा लेखेको देखेपछि उनलाई पनि लेखनतिर प्रवृत्त हुन घचघच्यायो । उनलाई लाग्यो, ‘मैले पनि यस्तै लेख्न सके कस्तो हुन्थ्यो होला !’ 

जेपी हाई स्कुलमा नौ कक्षाको परीक्षा दिएपछि भक्तपुर फर्किए उनी । घर फर्किंदा आमालाई विषमज्वरले ग्रस्त तुल्याएको देखे र बहिनीलाई जाली खटिराले सताएको पाए । त्यस समय उनका पिता चारखालस्थित रकम बन्दोबस्त अड्डामा कार्यरत थिए । भन्छन्, ‘बुबा जागिरे, आमा र बहिनी अस्वस्थ भएपछि म घरमै बस्न बाध्य भएँ र म त्यस वर्षको एसएलसी परीक्षामा सामेल हुन सकिनँ ।’

महाकवि देवकोटाको धाप

जेपी हाई स्कुलमा नौ कक्षामा अध्ययनरत रहँदा उनले १७ जना सहपाठीलाई लिएर महाकवि लक्ष्मीप्रसाद देवकोटाकहाँ गए, ट्युसन पढ्ने उद्देश्य बोकेर । उनी सम्झिन्छन्, ‘ट्युसन शुल्क एक महिनाको १६ रुपियाँ तिर्नुपर्थ्यो ।’ 

मैतीदेवीस्थित देवकोटा–निवास ‘कविकुञ्ज’ मा ट्युसन पढ्न जाँदा धेरै साहित्य–सर्जकसँग परिचित हुन पाएँ । त्यही समयताका उनले देवकोटाको ‘निद्रा’ शीर्षकको निबन्ध पढे । त्यो निबन्ध पढेपछि मनभित्रका उद्वेगहरूलाई साम्य पार्न उनले एउटा निबन्ध लेखे, ‘सपना ।’ उनले देवकोटालाई भने, ‘गुरु, मैले तपाईंको ‘निद्रा’ शीर्षकको निबन्ध पढेँ, निद्रामा सपना देखिन्छ । त्यही कारण मैले ‘सपना’ शीर्षकको निबन्ध लेखेँ ।’ 

‘मलाई सुनाउन सक्नुहुन्छ ?’ देवकोटाले सोधे । उनको निबन्ध सुनिसकेपछि खुसी भएका देवकोटाले धाप मार्दै भने, ‘राम्रो लेख्नुहुँदो रहेछ, लेख्न नछाड्नुस् है ।’ एकातिर लेखन–कार्यमा प्रवृत्त साथीहरूका सङ्गत र अर्कातिर महाकवि देवकोटाको धाप । यिनै दुई पक्षले उनलाई लेखन–संसारतिर डोर्‍याउन मद्दत पुर्‍यायो ।

उनले लेखनका निम्ति कुनै समयबद्ध तालिका पछ्याएनन् । युवावस्थामा राति पनि लेख्थे । अचेल भने उमेरका कारण प्रायः दिउँसो लेख्छन् । भन्छन्, ‘पहिले–पहिले लेख्न बस्दा रातिसम्म पनि नसिध्याई सुत्दिनथेँ । अचेल बेलुकी पाँच–छ बजेसम्म लेख्छु ।’

भक्तपुरसँग जीवन्त साइनो

भक्तपुरको भित्री सहरमा बाल्य र युवाकालीन समय गुजारेका उनी करिब चार दशकयता भने सिपाडोलमा बस्दै आएका छन् । अंशबन्डा हुँदा पुर्ख्यौली घर भाइहरूलाई सुम्पेर उनी सिपाडोलमा सरे । संस्कृति क्षेत्रमा रुचि बढ्दै गएपछि र अमेरिकाबाट ‘कल्चर एन्ड एन्थ्रोपोलोजी’ मा उच्च तहको अध्ययन सिध्याएर नेपाल फर्किएपछि उनमा सांस्कृतिक क्षेत्रको गहन अध्ययन/लेखनमा रुचि बढ्दै गयो, जुन कर्म निरन्तर छ । 

पहिले र अहिलेको भक्तपुरमा आएको परिवर्तनलाई कसरी नियालका छन् त उनले ? भन्छन्, ‘पहिले भक्तपुर फोहोर थियो । जताततै फोहोर । सायद जनचेतना नभएर होला । अहिले भने सफा–सुग्घर देखिन्छ । पुराना एवं भत्किएका सम्पदाहरूको जीर्णोद्धार गरेर अहिले भक्तपुर सहरलाई सफा र सुन्दर तुल्याइएको छ ।’ 

सांस्कृतिक नगरी भक्तपुरभित्र परापूर्वकालदेखि मनाउँदै आएका अनेक जात्रा–पर्वहरूलाई उनले नजिकैबाट नियाल्दै आए । केही जात्राहरूमा समयानुकूल परिवर्तन भए पनि अधिकांश जात्रा पुरानै शैलीमा मनाइँदै आएको अनुभव छ, उनलाई । भन्छन्, ‘पहिले गाईजात्रा मनाइँदा बाँसको लामा–लामा लिङ्गो राखेर खटजस्तो बनाइन्थ्यो । त्यसभित्र मृत पुरुष भए पुरुषकै कपडा र मृत नारी भए सारी–चोलोसहित हातले पेन्टिङ गरेको गाईको तस्बिर राखेर निकाल्ने गरिन्थ्यो । पछिल्लो समय भने मृत मानिसलाई चिन्नका लागि तस्बिर राखेर निकाल्न थालिएको छ ।’ जात्राकै सन्दर्भ उप्काउँदा कतिपय जात्रा मनाइँदा पाटनमा केही परिवर्तन आए पनि भक्तपुरमा भने खासै परिवर्तन नआएको उनको अनुभव छ । 

त्यसो त भक्तपुरमा पर्यटकहरूलाई तान्ने एउटा प्रमुख माध्यम ‘जात्रा’ पनि हो । उनी भन्छन्, ‘कतिपय पर्यटक भक्तपुरको सांस्कृतिक पक्षको अध्ययन गर्नुका साथै जात्रा, पर्वहरू नियाल्न पनि आउँछन् । काठमाडौँ र पाटनभन्दा भक्तपुरमा भिन्न खालका जात्रा, पर्वहरू मनाइने भएको हुँदा भक्तपुरमा मानिसहरूको आकर्षण बढ्नु स्वाभाविकै देखिन्छ ।’   

जागिरे यात्राका उतारचढाव

२००९ सालमा खुलेको ‘त्रिभुवन ग्राम विकास विभाग’ मा २०१० सालदेखि उनले जागिरे जीवन प्रारम्भ गरे । त्यसपछि भक्तपुरकै डिस्ट्रिक डेभलपमेन्ट अफिसर (डिडिओ) को रूपमा कार्यरत रहे । २०१७ सालको राजनीतिक परिवर्तनपछि उनी गृह पञ्चायत मन्त्रालयमा कार्यरत रहन थाले । २०१८ सालमा प्रशासनिक कार्यविभाजन गर्दा ३५ जिल्लाबाट ७५ जिल्ला पुर्‍याइयो । १४ अञ्चल र ७५ जिल्लाको नक्साङ्कन गर्दा उनले पनि भूमिका खेलेका थिए । भन्छन्, ‘त्यस समय म मन्त्रालयमा अफिसर रहेको हुँदा सुरुमा टिप्पणी उठाउने काम मैले नै गरेको थिएँ ।’

केही वर्ष सिन्धुपाल्चोकको ऐँसेलुखर्क र भक्तपुरमा समेत अध्यापन गरेका उनले ३४ वर्षे सरकारी सेवाबाट विश्राम लिएपछि काठमाडौँ विश्वविद्यालयमा पनि पढाए, संस्कृति विषय । सरकारी सेवामा रहँदाका उपलब्धि मान्नुपर्छ, उनले ७५ वटै जिल्लामा पाइला टेक्न पाए । त्यस समय अधिकांश जिल्ला सडक सञ्जालसँग जोडिएकै थिएनन् । उनले पैदलै यात्रा तय गरे । भन्छन्, ‘विकट क्षेत्रतिर जाँदा घोडा चढ्ने गरिन्थ्यो । तर, घोडा चढ्ने बानी नभएको हुँदा मैले पैदलै यात्रा गरेँ ।’ 

लेखन कर्मबाहेक सरकारी सेवा र प्राध्यापन क्षेत्रमा धेरै वर्ष बिताएका उनी रसियन कल्चर सेन्टरको अध्यक्षसमेत बने, दुई दशकसम्म । हाँस्दै भन्छन्, ‘त्यो संस्थामा लामो समय रहे पनि मलाई रुसी भाषा आउँदैन, न त रुसी भूमि नै टेकेको छु । मलाई विश्वास गरेर त्यो जिम्मेवारी दिएको हुँदा निर्वाह गर्ने अवसर पाएँ ।’

अभिभावकहरूका ‘राजा’

पारिवारिक परिसरभित्र उनी जेठो सन्तान थिए । सबैबाट स्नेहपूर्ण व्यवहार प्राप्त । अभिभावकहरूले बोलाउँथे, ‘राजा’ भनी । तर, उनको ‘राजापन’ सांस्कृतिक एवं साहित्य लेखनतिर एकोहोरिन पुग्यो । सौभाग्य नै भन्नुपर्छ, भक्तपुर सहर र त्यसका सांस्कृतिक विविधतालाई लेखकीय संसारमा उतार्ने उनी आज सांस्कृतिक लेखन क्षेत्रमा ‘राजा’ कै रूपमा स्थापित हुन पुगेका छन् । 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *