स्वास्थ्य मुटुको उपाय नै मुटुको कथाको मुख्य खुराक हो


धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजूले पेसागत कर्म गर्दा सयौँ बिरामीको मुटु छामे, दर्जनौँका खोतले ।

धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजूले पेसागत कर्म गर्दा सयौँ बिरामीको मुटु छामे, दर्जनौँका खोतले । जीवनमरणको दोसाँधमा पुगेका कैयौँ जीवन बचाए । कैयौैँको प्रयत्न गर्दागर्दै सायद बचाउन सकेनन् पनि । तथापि डा. कोजूको चिकित्सकीय कर्म मुटुमै समर्पित छ । उपचारमा मात्रै होइन, उनी मुटु रक्षाको जनचेतना अभियानमा पनि उत्तिकै सक्रिय छन् । पेसागत सक्रियताबाट समय निकालेर लेखरचना लेखिरहने डा. कोजूले हालै ‘मुटुको कथा’ पुस्तक प्रकाशन गरेका छन् । यसै सन्दर्भ पारेर हामीले डा. कोजूसँग किताब वार्ता गरेका थियौँ । प्रस्तुत छ, सम्पादित अंश :

चिकित्सकीय कर्मको व्यस्तताबीच ‘मुटुको कथा’ कसरी जन्मियो ?
मैले स्वास्थ्य सेवा गरेको झन्डै ४० वर्ष भयो । सेवा र पढाइ सँगसँगै चलिरह्यो । यस क्रममा मलाई धेरैजसो बिरामीले सोध्ने गर्छन्, ‘के खानु हुन्छ, के हुँदैन ? के गर्नु हुन्छ, के गर्नु हुँदैन ?’

अस्पताल/क्लिनिकमा बिरामीले सोधेका यस्ता थुप्रै प्रश्नको जवाफ दिँदै गर्दा लेखमार्फत ती कुरा भन्दा अझ प्रभावकारी हुने देखेर लेख लेख्न थालेँ । उच्च रक्तचाप, मधुमेह, मुटुका बारेमा मैले लेखेका लेख पत्रपत्रिकामा छापिएपछि धेरै पाठकले पढिदिनुभयो । लेखलाई लिएर अनेक प्रतिक्रिया आउन थालेपछि लाग्यो, लेख्यो भने त पढ्दा रहेछन् । त्यही उत्साहले थुप्रै लेख लेखेँ र अहिले नयाँ–पुराना लेखहरूको सँगालोका रूपमा यो मुटुको कथा प्रकाशन गरेको हुँ ।

उपचार कर्मका चापका बीच लेख्ने प्रबन्ध कसरी गर्नुभयो ?
धेरैजसो अनुभवका लेखाइ हुन्, मेरा । हुन त पढ्नलाई रुचि होस् भनेर थोरै आख्यानको शैली पनि छ, पुस्तकमा । यद्यपि, पुस्तकमा धेरै अनुभव नै छ । जस्तो कि, नुनले आफ्नो आत्मकथा बोल्छ । नुन तपाईंको भान्छामा नभइनहुनेमा पाउनुहुन्छ । पहिले–पहिले ढिक्कै नुनको रूपमा बोरामा पाउनुहुन्थ्यो । अहिले नुन थप्नुपर्‍यो भने बोतलमा राखिराख्नु हुन्छ । यस्तै खालका कुरा मैले लेख्न पुगेँ । यो लेख्नका लागि मैले सन्दर्भ सामग्रीहरू खोज्नु परेन । त्यसमा के खोज्नुपर्‍यो भने तपाईं दिनमा नुन कति खानुहुन्छ ? चाहिँ खोज्नुपर्‍यो तर यसबाट पर्ने असर त मैले प्रायः भनिराखेकै कुरा हुन्थ्यो । त्यो सबैलाई ८ सयदेखि हजार शब्दमा लेखेँ मैले । लेख तयार भइहाल्यो ।

मुटुको कथा प्रायः पत्रपत्रिकामा प्रकाशित लेखहरूको सँगालो रहेछ, कति वर्षदेखि लेखिएका लेखहरू छन्, यसमा ?
यसमा धेरै अगाडिका लेखहरू छन् । १५ वर्ष अगाडिदेखि अहिलेसम्मकै छन् । फेरि यो पूरै लेखहरूको सँगालो मात्र पनि होइन । केही थपेर अप्रकाशित र सामाजिक सञ्जालमा प्रकाशित भएका कुराहरू पनि छन् । २५ वटाजति प्रकाशित लेख किताबको रूपमा पर्याप्त थिएन, त्यसमा केही लेख थपेपछि पुस्तकको आकार हुन पुग्यो ।

किताबको रूपमा लैजान प्रेरणा दिनेहरू पनि थिए कि ?
मैले उपचार गरेका व्यक्तिहरू, हरिवंश आचार्य दाइ, उहाँले डाक्टर सा’ब तपाईंको आर्टिकल पढेँ, एकदम राम्रो लाग्यो, प्रकाशित गर्नुहोस् भन्नुहन्थ्यो । उहाँको आग्रह हुन्थ्यो, स्कुलका बालबालिकालाई पढ्न मिल्ने किताब निकाल्नुस् । मेरै सहकर्मी साथी डा. सुमन ताम्राकारदेखि अरू साथीहरूले पनि लेखेको राम्रो छ, किताबको रूपमा कहिले निकाल्ने भनेर घचघच्याइरहनुहुन्थ्यो । यही किताबको कभर डिजाइनर सचिन यगोलले पनि कहिले निकाल्ने भन्नुहुन्थ्यो । केदारभक्त माथेमाले रक्सीका बारेमा मेरो अनुभूति लेख्दाखेरि इमेल नै गरेर डाक्टर साहेब तपाईंको लेखाइ सरल भाषा, सबैलाई छुने खालको भएको हुनाले लेख्नचाहिँ नछोड्नुस् है भन्नुभएको स्मरण हुन्छ । यस्तै–यस्तै फिडब्याक र प्रशंसाले पुस्तक प्रकाशन गर्ने प्रेरणा मिल्यो ।

पुस्तकभित्र के–कस्ता लेख छन्, यसबारे पनि केही भनिदिनोस् न ?
म मुटु रोग विशेषज्ञ भइसकेपछिका कुरा धेरै छन् । मुटुका रोगसम्बन्धी धेरै कुरा छन् । मुटुलाई स्वस्थ बनाउनका लागि हामीले के–कसो गर्नुपर्छ भन्ने कथाहरू नै बुनेको छु । हृदयाघातबाट कसरी बच्ने, भइसकेपछि के गरेर बचाउन सकिन्छ ? भन्ने कथा पनि करिब तीनवटा जति छ, यसमा । हृदयाघात हुन सक्ने कारणहरू के–के हुन् त ? यसका बारेमा धेरै नै चर्चा–परिचर्चा गरेको छु । सबैको मुटुलाई कसरी स्वस्थ राख्ने उपाय नै यस पुस्तकको मुख्य खुराक हो ।

तर यसलाई पस्केको चाहिँ अलि भिन्न तरिकाले छ । कहिले व्यक्ति बोल्नुभएको छ भने कहिले रिस्क फ्याक्टर पनि बोलेको छ । एउटा त मैले चुरोट र रक्सीको बादविवाद बनाइदिएको छु । रक्सीले चुरोटलाई तेरो खराबी यो–यो हो भन्छ र चुरोट रक्सीलाई तेरो खराबी यो–यो हो भन्छ, मान्छेचाहिँ सुनेर बस्छ । अन्तमा उनीहरूको कुरा सुनेर मान्छेहरू आफँै चकित खान्छन् । उनीहरू आफैँ खराब बोलिरहेका छन्, हामी भने मज्जाले यिनीहरूलाई कुलतका रूपमा लिइरहेका छौँ । मान्छे झसङ्ग भयो, हामी पो खराब रहेछौँ भन्ने । त्यस्तै, मिठाई पसलमा गुलियो र चिल्लोको गन्थन आदि छन् ।

त्यसो भए एउटा मुटुरोग विज्ञेषज्ञको अक्षर औषधि भन्न सकिएला यो पुस्तकलाई, होइन ?
सायद सकिन्छ होला । मेरो कोसिस नै के रह्यो भने रुचि गरेर पढ्दा त्यो मनभित्र बस्छ भन्ने लाग्छ । निबन्धको रूपमा लेख्दा उच्च रक्तचाप भनेको के हो ? कारण केके हो ? लक्षण केके हुन्छ ? उपचार केके ? लेख्दा पनि सूचना त मिल्छ, तर त्यो टेक्स्ट बुकजस्तै भयो । टेक्स्क बुक विद्यार्थीले त पढ्ने भयो, तर पाठकको रुचि त्यता कमै हुन्छ । त्यसैलाई उच्च रक्तचापले गर्न सक्ने नराम्रो क्षति केके हो ? त्यो क्षतिको कथाबाट हामी छिर्‍यौँ भने त्यसले सार्थकता दिन्छ जस्तो लाग्छ । जाडोमा हिँड्ने कि नहिँड्ने ? मा एक जना मिडियाकर्मी साथीसँग गरेको वार्तालाप मात्रैलाई एउटा लेख बनाएको छु, पुस्तकमा ।

पुस्तक निस्केपछिको रेस्पोन्सचाहिँ कस्तो छ ?
भगवान कोइरालाले लोकार्पणको समयमा भनिदिनुभयो, यो किताबभित्र छिरेपछि निस्कन सजिलो छैन । डा. सन्दुक रुइतले पनि यसलाई गाउँगाउँमा पुर्‍याउनुपर्छ भनिदिनुभयो । विद्यालयमा ८, ९, १० मा हाल्ने कुरा भएको छ । एक जना पाठकले भन्नुभएको छ, एउटा स्कुलले एकै पटक सय कपी नै मगाइदियो । राम्रै छ, रेस्पोन्स ।

चिकित्सक पेसासँगसँगै तपाईं लेखनलाई पनि निरन्तरता दिइरहनुहुन्छ ?
जिन्दगीको यो मोडमा आइपुग्दा उपचार गर्ने त मेरो पेसा नै भयो । तर मैले बोलेर, लेखेर पनि मान्छेको स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ कि भन्ने अभिप्रायले मलाई लेखिरहन मन पर्छ । बोलेरै/लेखेरै मान्छेलाई स्वस्थ जीवन बाँच्न प्रेरित गर्नका लागि म सक्ने बेलासम्म लेखिरहन चाहन्छु ।

चिकित्सकको साथमा तपाईंमा एउटा लेखकीय व्यक्तित्व पनि देखेँ, अरू साहित्य विधामा चाहिँ कत्तिको रुचि छ ?
कविता त एउटा उमेरमा जो पनि लेख्छ, मान्छेलाई कवि हुन मन पर्दो रहेछ । यसमा पनि एउटा मुटुको कविता छ । अरू आख्यान कथाहरू लेखेको छु मैले । तिनीहरूको सँगालो पनि कुनै दिन आउँछ होला । त्यसपछि आफ्नै विषयमा प्रोफेसनल राइटिङहरू अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित भइरहेको हुन्छ । मुटुरोगको अर्को किताब पनि आउँदै छ । मुटुको कथा–२ पनि आउँछ होला ।

तपाईं आफैँचाहिँ कस्ता कृतिहरू पढ्नुहुन्छ ?
म हरेक महिना किताब पसल चहारेर दुई–तीनवटा किताब किन्ने बानी छ । यद्यपि, ती सबै मैले पढ्ने होइन । नेपालीचाहिँ समसामयिक, त्यसमा पनि एउटा पौराणिक इतिहासलाई नै आधार बनाएर बनाएका आख्यानहरूचाहिँ खुब रुचि लाग्छ । इतिहास पनि बुझ्न पाइयो र आख्यानको तरिकाले पनि बुझ्न पाइयो । बुद्धिसागरदेखि नारायण वाग्ले, अहिलेका नयाँ स्रष्टाहरूको पनि पढ्छु । अहिलेचाहिँ भर्खरै निस्केको मुटुको कथासँगै गान्तोकबाट निस्केको उर्माल खुब मन पर्‍यो । सुबिन भट्टराईको इजोरियो हातमा पर्‍यो, तर त्यो किताब पढ्न बसेपछि छुटेन ।

अन्त्यमा मुटुको कथा किन पढ्नुपर्छ ?
यो किताबको उद्देश्य मुटु स्वास्थ्यकै रहोस् र मान्छे खुसी बनोस् भन्नका लागि हो । हामी सबैको मुटु स्वस्थ रहोस् । स्वस्थ रहन ख्याल मात्रै गरे पुग्छ । जीवनशैली सुधारे मात्रै पुग्छ । साँच्चिकै मुटुको कथामा धेरै यस्ता कथा छन्, जुन हरेक मान्छेले एकपटक पढ्नुपर्छ जस्तो लाग्छ । मुटुको कथामा पढेर मनलाई आनन्द मिल्छ र हामीले आफ्नो जीवनशैलीलाई स्वास्थ्य बनाउन मुटुलाई ख्याल गर्छौं ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *