हिमालयन आर्ट क्याम्प : रंगहरुले पोतेको सांस्कृतिक कूटनीति


कला एक यस्तो भाषा हो, जुन बिनाशब्दै बोलिन्छ । जब यो भाषा सीमाभन्दा बाहिर पुग्छ, तब कलाकारको दृष्टिकोण, सीप र सन्देशले नयाँ संसार पाउँछन् । साथै, त्यस्तै अवसर दिलाउँछन्, विभिन्न देशमा आयोजना भइरहने अन्तर्राष्ट्रिय कला वर्कसप तथा क्याम्पहरूले । २०८२ जेठ २ गतेदेखि पूरै दस दिनसम्म अन्तर्राष्ट्रिय स्तरीय हिमालयन आर्ट क्याम्प पाटन म्युजियमको ऐतिहासिक प्राङ्गणमा…

कला एक यस्तो भाषा हो, जुन बिनाशब्दै बोलिन्छ । जब यो भाषा सीमाभन्दा बाहिर पुग्छ, तब कलाकारको दृष्टिकोण, सीप र सन्देशले नयाँ संसार पाउँछन् । साथै, त्यस्तै अवसर दिलाउँछन्, विभिन्न देशमा आयोजना भइरहने अन्तर्राष्ट्रिय कला वर्कसप तथा क्याम्पहरूले ।

२०८२ जेठ २ गतेदेखि पूरै दस दिनसम्म अन्तर्राष्ट्रिय स्तरीय हिमालयन आर्ट क्याम्प पाटन म्युजियमको ऐतिहासिक प्राङ्गणमा चल्यो, जसमा ब्रसको चाल, रङ–तरङ्गका साथै कल्पनाको अनुपम उत्सव चलिरहेको सहजै महसुस गर्न सकिन्थ्यो । ई–आट्र्स नेपालको आयोजना र ललितपुर चेम्बर अफ कमर्सको सहआयोजनामा सम्पन्न भएको थियो— ‘हिमालयन आर्ट क्याम्प’ नामक आवासीय कार्यशाला ।

१० दिवसीय सो क्याम्पमा १५ देशका ३० जना कलाकारका साथै नेपालका १० जना चर्चित कला–सर्जकहरू सहभागी रहे । सो कार्यशालामा जापान, चीन, अमेरिका, इटाली, क्यानडा, सिङ्गापुर, दक्षिण कोरिया, थाइल्यान्ड, रोमानिया, मलेसिया, कम्बोडिया, इन्डोनेसिया र फिलिपिन्सका कलाकारहरू सहभागी थिए । नेपालबाट किरण मानन्धर, लोक चित्रकार, नवीन्द्रमान राजभण्डारी, सीमा शर्मा साह, भुवन थापा, सुष्मा शाक्य, समुन्द्रमानसिंह श्रेष्ठ, सविता डंगोल, अनिल शाही र प्रतिमा थकालीले सहभागिता जनाएका थिए । एउटै छानोमुनि विभिन्न मुलुक, शैली, माध्यम र दृष्टिकोण अँगालेका कलाकारहरूले नेपाललाई बुझ्ने, अनुभूत गर्ने र आफ्ना सिर्जनामा त्यसको छाप दिने प्रयास गरे । यो केवल कार्यशाला मात्र थिएन, कला–माध्यमद्वारा संवाद, सहकार्य र सांस्कृतिक आदानप्रदानको अद्वितीय अवसर पनि थियो ।

सो कार्यशालाको मूल भावना ‘ट्रेडिसन मिट्स इनोभेसन’ थियो, जहाँ परम्परा र आधुनिकताबीच कलात्मक पुल निर्मित रहेको भान हुन्थ्यो । नेपाली कलाशिल्पीहरूले आफ्ना परम्परागत र समकालीन सिर्जना प्रस्तुत गरे । विदेशी शिल्पीहरू भने आ–आफ्नै शैली अपनाउँदै कला सिर्जना गर्न व्यस्त देखिएका थिए । सो कार्यशालाको महत्व केवल सिर्जनामा सीमित रहेन । सो क्याम्पले नेपाललाई ‘कला–पर्यटन’ को गन्तव्यका रूपमा चिनाउन उल्लेखनीय भूमिका खेलेको महसुस गर्न सकिन्थ्यो । सहभागी कलाकारहरू संस्कृति, वास्तुकला, जनजीवन र प्रकृतिसँग प्रत्यक्ष रूपमा जोडिएको अनुभूति हुन्थ्यो ।
ई–आर्टका कलाकार एरिना ताम्राकार भन्छिन्, ‘सो क्याम्पले सिर्जनात्मक मात्र नभई सांस्कृतिक कूटनीतिमा पनि योगदान दिएको छ । नेपाली कलाकारहरूका लागि अन्तर्राष्ट्रिय नेटवर्क विस्तार गर्न र विदेशी कलाकारका लागि नेपालको गहिराइ बुझ्नका लागि यस्ता कार्यशालाहरूले सेतुको काम गरेको मैले महसुस गरेकी छु ।’ ई–आर्टले सन् २०१७ मा पनि यस्तै अन्तर्राष्ट्रिय स्तरीय कला कार्यशाला आयोजना गरेको थियो । आशा डंगोलचाहिँ त्यसयता यस्ता कार्यशालाले निरन्तरता नपाए पनि यस पटकको कार्यशालापछि भने ई–आर्टले निरन्तरता दिने बताउँछिन् ।

रोमानियाकी कलाकार इभा राडु भन्छिन्, ‘नेपाल कलाकारका लागि अनिवार्य गन्तव्य हो । म पाटनका प्राचीन मन्दिरका बुट्टा हेरेर मन्त्रमुग्ध भएँ । स्वयम्भूनाथको आध्यात्मिकता र यहाँको सांस्कृतिक गहिराइले मलाई हरेक दिन नयाँ प्रेरणा दिइरहेको छ ।’

इटालीकी जिसिपी स्ट्रानो त काठमाडौँलाई रोमसँग तुलना गर्न पुग्छिन् । उनी भन्छिन्, ‘नेपालको सांस्कृतिक सम्पदा यति गहिरो र समृद्ध छ कि मैले मेरो कलात्मक यात्राको एक नयाँ अध्याय यहीँबाट सुरु गरिरहेकी छु ।’

क्यानडाकी मिश्रित मिडिया कलाकार लिसा लार्सन लीले भनिन्, ‘नेपालको सिर्जनात्मक ऊर्जा बेग्लै छ । यहाँका कलाकारहरूले बनावट र रङ्गको संयोजनमा गर्ने काम अत्यन्त प्रभावशाली छ । मैले यहाँ नेपाली कागज, धातुका पाता र पुनःप्रयोग गरिएका वस्तुहरूलाई कलामा कसरी समावेश गरिन्छ भन्ने नयाँ तरिका देखेँ ।’

लिसाको शैली नै विविध माध्यमहरूको प्रयोगमा आधारित छ— क्यानभास, एक्रेलिक, पुनःप्रयोग गरिएका धातुका टुक्रा र सन्देश बोकेका अमूर्त आकृतिहरू । उनी नेपालको समृद्ध हस्तकला परम्पराबाट धेरै प्रभावित मात्र बनिनन्, अबको सिर्जनामा ‘नेपाल टच’ अनिवार्य हुने बताउँछिन् ।

जापानी कलाकारहरू केई यासाका र कात्सुमी मुकाईले नेपाली काष्ठकला, मूर्तिकला र वास्तुकलाको गहिरो अध्ययन गरे । उनीहरूको बुझाइ छ, ‘नेपालले हामीलाई त्यस्तो आध्यात्मिक गहिराइ दिएको छ, जुन जापानमा पनि पाइँदैन । पाटनको मौनता र चेतना आफैँमा कला हो ।’

थाइल्यान्डका वरिष्ठ कलाकार वाटन्चोट टोन्गेजाले भने, ‘यो मेरो दोस्रो नेपाल यात्रा हो । यहाँको जनजीवन, संस्कृति र प्राकृतिक विविधता देख्दा हरपल नयाँ अनुभव हुन्छ । अब म लुम्बिनी जान चाहन्छु, त्यो मेरो सपनाको ठाउँ हो ।’ उनले नेपाली कलाकारहरूको सरलता, स्वाभाविकता र परिश्रमी प्रवृत्तिबाट आफूलाई धेरै सिक्ने मौका मिलेको बताए ।
वरिष्ठ कलाकार लोक चित्रकारका लागि अन्तर्राष्ट्रिय कला वर्कसप केवल चित्र बनाउने ठाउँ थिएन, त्यो त अनेक राष्ट्रका कलाकारहरूको सोच, शैली र सीप बुझ्ने एउटा जीवन्त पाठशालासमेत रह्यो । ‘उनीहरूको ब्रस चलाउने ढङ्ग, रङ्गसँगको सम्बन्ध, कथालाई क्यानभासमा उतार्ने तरिका हेर्दा यस्तो लाग्थ्यो, कला त साँच्चै भाषाभन्दा परको कुरा रहेछ ।’ कम्बोडियाका कलाकार छिम सोथेले भावुक हुँदै सुनाए ।

पाटनका गल्लीहरू त झनै मनमोहक ! ती गल्लीहरूमा पाइला टेक्दा विदेशी कलाकारहरू स्तब्ध देखिए । सिङ्गापुरका कलाकार क्यासे छेँ त प्राचीन मठमन्दिरको काठको नक्कासी, ढुङ्गाका मूर्ति र गल्लीमा जिउँदोजस्तो देखिने भित्ते चित्रहरू देखेर मन्त्रमुग्ध देखिए । ‘यो ठाउँ आफैँमा एक खुला सङ्ग्रहालयजस्तै लाग्यो,’ क्यासेले चकित हुँदै भने ।

यस्ता वर्कसपहरू नेपाली कलाकारहरूका लागि पनि नयाँ दृष्टि खोल्ने झ्याल बने । कलाकार समुन्द्रमानसिंह श्रेष्ठ भन्छन्, ‘यो वर्कसप कला कसरी बदलिँदै छ, प्रविधिसँग कसरी मिसिँदै छ र विश्वभरि कलाले समाजलाई कसरी छुन्छ भन्ने कुराको बोध गराउने सुनौलो अवसर बन्यो ।’
कलाकार प्रतिमा थकालीले पहिलो पटक अन्तर्राष्ट्रिय कलाकारहरूसँग वर्कसपमा भाग

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *