वर्तमान समयमा नाकको एलर्जी विश्वव्यापी स्वास्थ्य–समस्याका रूपमा देखिएको छ । संसारका १० देखि १५ प्रतिशत जनसंख्या यो रोगबाट प्रभावित छन् । नेपालमा भने यो रोगको प्रकोप अधिक वायु–प्रदूषणका कारण अधिकांशमा देखिएको अनुमान गरिएको छ ।
अचेल धेरै जना नाकमा पानी बग्ने, हाच्छिउँ लाग्ने र नाक बन्द हुनेजस्ता समस्याबाट पीडित छन् । कतिपयले ‘यो सामान्य रुघाखोकी हो’ भन्ने ठान्छन् र घरेलु उपचारमा सीमित देखिन्छन् । तर, यो समस्या धेरैजसो अवस्थामा ‘एलर्जिक राइनाइटिस’ को सङ्केत हुन सक्छ ।
धेरैजसोलाई नाकको एलर्जी धेरै गम्भीर लाग्न सक्दैन, तर यसको दीर्घकालीन असर र जटिलतालाई बेवास्ता गर्नु उपयुक्त हुँदैन ।
के हो एलर्जिक राइनाइटिस ?
‘एलर्जिक राइनाइटिस’ भन्नाले नाकको भित्री भागमा हुने सुजनलाई जनाउँछ, जुन शरीरले एलर्जी उत्प्रेरक (बििभचनभल) भन्ने परजीवीलाई हानिकारक ठानेर प्रतिरक्षा–प्रतिक्रिया जनाउँदाखेरि हुन्छ ।
जब हामी यस्ता उत्प्रेरकहरू (जस्तै ः धूलो, धूवाँ, परागकण, जनावरको रौँ आदि) को सम्पर्कमा आइपुग्छौँ, हाम्रो शरीरको इम्युन सिस्टमले तिनलाई हटाउन सक्रिय हुन्छ । फलस्वरूप नाकबाट पानी बग्ने, हाच्छिउँ लाग्ने र आँखा रसाउनेजस्ता लक्षण देखिन थाल्छन् ।
ध्यान दिनुपर्ने कुरा के हो भने हरेक व्यक्तिको एलर्जी गर्ने तत्व फरक–फरक हुन सक्छ । कसैलाई परागकणले असर पु¥याउँछ भने कसैलाई जनावरको रौँ वा चिस्यानले पनि असर पु¥याउँछ ।
के हुन् एलर्जी गराउने तत्व ?
एलर्जी गराउन घरायसी एलर्जेनहरू केही हदसम्म जिम्मेवार हुन्छन् । खासगरी घरको धूलोमा हुने कीरा, चुरोटको धूलो, ढुसी, पाल्तु जनावर, साङ्ला तथा अरू कीराहरू र बिरुवाबाट निस्किने एलर्जेनहरू प्रमुख छन् । घरबाहिर पाइने एलर्जेनहरूमा धूलो र फूलका पराग मुख्य छन् । सहरी क्षेत्रमा पाइने एलर्जेनमा सवारी साधनको धूवाँ र धूलो मुख्य मानिन्छन् ।
कसैलाई एलर्जी हुनुको कारणमा वंशाणुगत गुणको ठूलो भूमिका रहँदै आएको देखिन्छ । साथै, कुनै–कुनै ऋतुमा नाकको एलर्जी हुने व्यक्तिमा दम हुने सम्भावना बढी भएको पाइएको छ ।
एलर्जीको प्रकोप बढ्नुको मुख्य कारण
सहरी क्षेत्रमा मानिसहरू बढी मात्रामा एलर्जेनको सम्पर्कमा आउने भएकाले नाकको एलर्जीको प्रकोप बढी भएको भनिएको छ । यसबाहेक सन्तुलित आहारको कमी तथा एन्टिबायोटिकको अनावश्यक प्रयोगका कारण शरीरको प्रतिरोधात्मक शक्तिमा ह्रास आउने भएकाले पनि यस्तो प्रकोप बढ्दै गइरहेको अनुमान गरिएको छ ।
प्रमुख लक्षण
एलर्जिक राइनाइटिसका लक्षणहरू सामान्य सर्दी–रुघाजस्तै देखिए पनि यी बारम्बार दोहोरिन्छन् । जसमा, लगातार हाच्छिउँ लाग्ने, नाकबाट पानी बग्ने वा नाक बन्द हुने, आँखा चिलाउने, रसाउने र घाँटीमा खसखस वा खाजजस्तो हुने गर्छ । साथै, सुक्खा खोकी लाग्ने, निद्रा गाह्रो हुने वा थकान महसुस हुने पनि हुन सक्छ । यी लक्षणहरू देखिएपछि उपचार नगरेमा दीर्घकालीन समस्या निम्तिन सक्छन् ।
कसरी बच्ने नाकको एलर्जीबाट ?
–एन्टिबायोटिकको अनावश्यक प्रयोग नगर्ने (खासगरी बच्चाहरूमा) ।
–गर्भवतीले धूमपान नगर्ने र अरूले पनि घरभित्र चुरोट सेवन नगर्ने ।
–धूवाँ निस्किने सामग्रीहरू दाउरा, पात, गुइँठा, कोइला आदि नबाल्ने ।
–घरभित्र हुने धूवाँ–धूलो नाकको एलर्जी हुने प्रमुख कारक भएकाले सोको प्रभाव कम गर्नका लागि डसना, तकिया आदिमा प्लास्टिक वा विशेष एलर्जी पु्रफ फ्याब्रिकको खोल लगाउने ।
–तन्ना तथा तकियाका खोलहरूलाई हरेक हप्ता ५५ डिग्री सेल्सियस तापक्रमको पानीमा धुने र घरभित्र धूलो जम्न नदिने ।
–दराजमा राखेको कपडा आदिलाई समय–समयमा घाममा सुकाउने ।
–कार्पेटको प्रयोग नगर्ने ।
– एसी, एयर कुलर आदिको एयर फिल्टर समय–समयमा सफा गरिरहने वा बदल्ने ।
–पाल्तु जनावरहरू घरभित्र नराख्ने ।
अन्त्यमा, नाकको एलर्जी एक वंशाणुगत समस्या पनि भएकाले यसलाई औषधि उपचार, खानपान, रहनसहन, नियमित व्यायाम आदिले नियन्त्रणमा राख्न सकिन्छ । तर, पूरै निको पार्न भने कठिन हुन्छ ।
जटिलता
एलर्र्जी राइनाइटिसको उचित उपचार नगरिए निम्न जटिलताहरू निम्तिन सक्छन्, जसमा नाकभित्र मासु पलाउने, पिनास, मध्यकानको संक्रमण, दमरोग बढ्ने, काममा ध्यान दिन अप्ठ्यारो हुने, सुत्न समस्या हुने र चिडचिडापन हुने जस्ता स्वास्थ्य–समस्या देखिन सक्छन् ।
(डा. जयेन्द्र, शङ्खमूल, काठमाडौँस्थित इएनटी हेल्थकेयरमा सिनियर क्लिनिसियन हुनुहुन्छ ।)
००



Leave a Reply