कविता चट्याङजस्तै शक्तिशाली विधा हो –दिनेश अधिकारी


नेपाली समाज एवं साहित्यवृत्तमा कवि–गीतकारको अग्लो उचाइ बनाएका दिनेश अधिकारी आफ्नो लेखन–यात्राको अर्धशतक बिन्दुमा उभिएका छन् । उनको लोभलाग्दो लेखन–यात्रालाई समृद्ध तुल्याउने आफ्नै कहानी होलान् । तर, २०३२ चैतमा ‘रत्नश्री’ (साहित्यिक मासिक) मा दुइटा छोटा कवितासहित नेपाली साहित्यमा उदाएका अधिकारीको साहित्य–यात्रा त्यसयता निरन्तर छ । पछिल्लो समय प्रकाशन–संस्था ‘नेपालय’ बाट उनको ‘पानीको परेड’ (काव्यकृति) प्रकाशित…

नेपाली समाज एवं साहित्यवृत्तमा कवि–गीतकारको अग्लो उचाइ बनाएका दिनेश अधिकारी आफ्नो लेखन–यात्राको अर्धशतक बिन्दुमा उभिएका छन् । उनको लोभलाग्दो लेखन–यात्रालाई समृद्ध तुल्याउने आफ्नै कहानी होलान् । तर, २०३२ चैतमा ‘रत्नश्री’ (साहित्यिक मासिक) मा दुइटा छोटा कवितासहित नेपाली साहित्यमा उदाएका अधिकारीको साहित्य–यात्रा त्यसयता निरन्तर छ । पछिल्लो समय प्रकाशन–संस्था ‘नेपालय’ बाट उनको ‘पानीको परेड’ (काव्यकृति) प्रकाशित भएको छ । कविता, गीतसहित अरू विधाका समेत १७ कृतिका ‘अधिकारी’ बनेका उनीसँग गरिएको किताब–वार्ता ः

–केही समयपूर्व तपाईंको पछिल्लो काव्यकृति ‘पानीको परेड’ निस्कियो । पछिल्लो कविताकृतिमा कुन कालखण्डलाई प्रतिनिधित्व गरेका कविताहरू समेटिएका छन् ?
मेरो पछिल्लो काव्यकृतिमा डेढ दशकयता (२०६४–०८१) का कविताहरू समेटिएका छन् । ०६४ सालअघि लेखिएका कविता पनि छन् मसँग । यो कृतिमा भने डेढ दशकयताका कविता मात्र समाविष्ट गरेको छु ।

–तपाईंको पछिल्लो कविताकृतिभित्रका कविताहरू कुन विषयवस्तु–वरपर घुमेका छन् ?
मैले आफ्नो कविता–लेखनमा जुन विषयवस्तुलाई अँगालेँ, जुन आग्रह–पूर्वाग्रहलाई समेटेँ, ती सबैका केन्द्रबिन्दुमा ‘मान्छे’ रहँदै आए । मान्छेसँग जोडिएका सबै क्रियाकलाप मेरा निम्ति लेखन–ऊर्जाको स्रोतका रूपमा रहँदै आयो ।
मैले पछिल्लो काव्यकृतिभित्रका कविताहरूलाई भने सात खण्डमा विभक्त गरेको छु, जसमा मान्छेलाई नै केन्द्रबिन्दुमा राखेको छु ।

–२०३६ सालको ‘सडक कविता आन्दोलन’ लाई सशक्त स्वरूप दिन केही कवि–आवाजमध्येमा तपाईं पनि पर्नुहुन्छ । कविता–आवाजको यो लामो यात्रामा तपाईंले आफूलाई कुन ठाउँमा उभिएको पाउनुहुन्छ ?
२०३६ सालको कविता आन्दोलनअघि मैले कतै लहड र कतै रहरमा कविता लेखेँ । सडक कविता आन्दोलनमा सहभागी भएपछि भने मैले कविता–लेखनमा जिम्मेवारीबोध महसुस गर्न थालेँ । सडक कविता क्रान्तिअघि नेपाली कविता समाजसँग टाढिएजस्तो महसुस भइरहेको थियो, तर सडक कविता क्रान्तिले भने कवितालाई समाजसँग जोडेको महसुस भयो मलाई ।
पछिल्लो समय म कविता–लेखनमा विम्ब र प्रतीकसँग खेल्न थालेको छु । शब्दमा कन्जुस्याइँ गर्न थालेको छु । पञ्चायतकालीन अवस्थामा पनि विम्ब र प्रतीकमार्फत नै कविता लेख्नुपथ्र्यो, किनभने त्यो त्यस्तै कालखण्ड थियो । अचेल भने शब्द कम खेलाउन थालेको छु ।

–तपाईंले पञ्चायती कालखण्ड, बहुदल आएपछि र पछिल्लो कालखण्डमा बेग्लाबेग्लै विषयवस्तुमा आधारित कविता लेख्नुभयो, हैन त ?
हो, मेरा पछिल्ला कविताहरू नितान्त जीवन भोगाइमा आधारित छन् ।

–नयाँ पुस्ताका कविता÷गीतहरू कत्तिको पढिरहनुभएको छ ?
म नढाँटीकन भन्छु, नयाँ पुस्ताका कवि र गीतकारका पुस्तकहरू मैले खोजी–खोजी पढिरहेको छु । नेपाली कविताको सन्दर्भमा कुरा गर्दा मलाई के लाग्छ भने पहिलो गोरेटो बाटो मात्र थियो, त्यो बिस्तारै ‘ग्राभेल’ हुँदै आयो र अहिले ‘पिच’ बन्दै गरेको अवस्थामा पुगेको छ ।
मेरो बुझाइमा बितेको ५० वर्षको अवधिमा कविता, गीत र सङ्गीत नेपाली समाजसित पूरै घुलमिल हुन पुगेका छन् । अर्को, जनजाति समुदायसहित सामाजिक परिवेशका मिथकहरू साहित्यको अनेक विधामार्फत अभिव्यक्त हुन थालेका छन् । सबैजसो क्षेत्रमा सांस्कृतिक चेत बढिरहेको छ र त्यसको प्रतिविम्ब कवितामा देखिन थालेको छ ।

–तपाईंको कविता–यात्राको आरम्भताका यस्ता शक्तिशाली कविहरू थिए, जसका कविताहरू समाज र पाठकका निम्ति ‘हाडे ओखर फुटाउनुजस्तै’ दुरुह ठानिथ्यो । के दुरुह विषयवस्तुका कविताहरू प्रभावशाली हुने समय थियो र त्यो ?
मैले कविता–लेखन आरम्भ गर्दा सरल कविता लेख्नेहरू पनि हुनुहुन्थ्यो । तर, त्यस समय अमूर्त कविता लेख्नेहरूको शक्तिशाली जमात थियो । त्यो प्रभावशाली जमातबाट आफ्नो फरक पहिचान बनाउनका निम्ति हामीले निकै दुःख गर्नुपरेको थियो । यो कुनै कालखण्डको कुरा रह्यो । अचेल भने नेपाली कविता धेरै समृद्ध भइसकेको छ । अचेलका नयाँ कविहरूले शिल्प र विषयवस्तुका हिसाबले शक्तिशाली कविताहरू लेखिरहेका छन् ।

–तपाईंले कविता र गीत दुवै विधामार्फत आफ्ना भावना पोखिरहनुभएको छ । यी दुई विधामध्ये आफूलाई अभिव्यक्त गर्न सजिलो विधाचाहिँ कुन हो जस्तो लाग्छ ?
कविता यस्तो विधा हो, जुन चट्याङजस्तै शक्तिशाली लाग्छ मलाई । यसको आवेग र संवेगलाई तात्कालिक समयमा समात्न सकिएन भने गइ पो हाल्छ कि जस्तो लाग्छ । गीतचाहिँ कविताकै एउटा रूप हो । तर, यी दुवै विधा रूपगत हिसाबले आ–आफ्नै चरित्रका कारण क्रियाशील छन् ।
मेरो बानी के छ भने यी दुई विधामध्ये आफूलाई कुन विधामार्फत अभिव्यक्त गर्न सक्छु, म त्यही विधा (कविता र गीत) लाई माध्यम बनाउँछु । मैले यी दुवै विधाका कविता र गीतसमेत लेखेको छु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *