‘यो छ र त म छु,
सायद मेरो अस्तित्वको माया लागेर पनि होला,
भगवान्ले फेरि हात थमाइदिनुभएको ।
सङ्गीत र दर्शकको यो साथ,
यही नै हो जिउने आधार ।
कुनै पनि सङ्गीत आर्केस्टाको सीमाभित्र मात्र बाँधिँदैन, यो त आत्माको अभिव्यक्ति हो । दर्शकहरूको साथ र प्रेरणाले म फेरि पनि धुनहरूमा बाँच्न पाएको छु, आफ्नो साङ्गीतिक यात्रा जारी राख्न पाएको छु । धन्यवाद, मेरा सबै श्रोता र शुभचिन्तकहरू, जसले मलाई निरन्तर माया र प्रेरणा दिनुभएको छ ।’

बाल्यकाल : सङ्गीतप्रतिको मोह
पोखरामा जन्मिए पनि बाल्यकाल भने स्याङ्जा, वालिङमा ठूली आमासँग बिताए उनले । उनी पोखरा र वालिङ ओहोरदोहोर गरिरहन्थे । बाल्यकालमै सङ्गीतप्रति प्रेम थियो, उनमा । बस–यात्राको बेला उनी चासो राख्थे, ‘यो गाडीमा गीत बज्छ कि बज्दैन ?’ उनी टेप रेकर्डर भएको गाडीमा मात्र यात्रा गर्न रुचाउँथे । गीत बज्ने गाडीमा चढ्नका लागि घण्टौँ पर्खिन्थे ।
त्यस समय गीत–सङ्गीतका लागि रेडियो नेपाल एक मात्र माध्यम थियो । तालिकाअनुरूप चल्ने रेडियो नेपालका कार्यक्रमहरू सुन्न विवेकका विवेकशील मन–मस्तिष्क सधैँ सलबलाउँथे । हरेक बिहान पाँच बजेदेखि राति नौ बजेसम्म बजिरहने रेडियोले भजन, समाचारका साथै गीत–सङ्गीतका संसारलाई समेट्थ्यो । विवेकले यी सबै कार्यक्रम–तालिकालाई पछ्याउँथे । बिदाका दिनहरू झनै रेडियोसँगै बिताउँथे उनी वालिङमा नौ कक्षासम्म अध्ययन गरेपछि उनले पोखरा गएर औपचारिक अध्ययन थाले । पोखरा आगमनले उनको सङ्गीत मोहलाई अझ पल्लवित बनाउन सघायो । त्यही नै उनलाई ‘कन्दरा–गायक’को पहिचान दिलाउने आधार बनिदियो ।



केही समयअघि पूर्वको रमणीय थलो इलाममा ‘कन्सर्ट’ दिएपछि विवेक श्रेष्ठले फेसबुकमा यस्तै खुसी साट्न चाहे । जीवनरूपी घुम्तीहरू छिचोल्ने क्रममा परिस्थितिले तलमाथि पारे पनि आफू गीत गाउनकै लागि जन्मिएको महसुस गरिरहे उनले ।

कन्दराको जन्म–कथा
सुनिल र विवेक थिए, सहपाठी । कक्षाकोठामा विवेक गीत गाउँथे, सुनिल टेबुल ठटाउन माहिर । पोखरामा साहित्य, सङ्गीत र थिएटरप्रति रुचि राख्ने युवाले ‘पिस ह्यान्की क्लब’ गठन गरेका थिए, जसमा थिए— ५० जनाजति सदस्य । सो क्लबमा आबद्ध हुँदा विवेक मात्र १३ वर्षका थिए । क्लबले एउटा नाटक देखाउने तयारी गरिरहेको बेला एउटा गीत लेखे सुनिलले, ‘आजभोलि रात ब्युँझिरहन्छ’ । त्यो गीत गाउने अवसर पाए विवेकले । तिनै युवाहरूले ‘२४ क्यारेट’ नामक साङ्गीतिक ब्यान्ड स्थापना गरे, जसका सदस्यहरू थिए— विजय गुरुङ, बुद्धराज बज्राचार्य, दीपकराज मुल्मी, सुनिल भट्टचन र आनन्द तजिया । सो ब्यान्डले विवेकलाई गीत रेकर्डका निम्ति प्रस्ताव राख्यो, जसलाई खुसीसाथ स्विकारे । पहिलो पटकको स्टुडियो–अनुभव सँगाल्दै उनले गाए, ‘चञ्चले कान्छीको जोबन…’ ।
‘२४ क्यारेट’ पछिल्लो समय ‘कन्दरा’ ब्यान्डमा फेरियो । ब्यान्ड सदस्य दीपकराज मुल्मीले विवेकको स्वरमा पाँचवटा गीत काठमाडौँमा रेकर्ड गराए र निस्कियो, पहिलो एल्बम— ‘चञ्चले कान्छी’ । तीन दशकअघि निस्किएको सो एल्बमका गीतहरू लोकप्रिय बन्न पुगे ।
दोस्रो एल्बम आयो, ‘डाँडापारि’ । जसमा ‘तिमीपारि’, ‘बिदेसिएर गइन् उनी’ र ‘डाँडापारि’ जस्ता आठ गीत थिए । अत्यधिक रुचाइएको यो एल्बमका कारण ‘कन्दरा’ ले आफूलाई हिमाल, पहाड र तराईसम्म नभई विदेशी भूमिहरूमा समेत फैलाउन सक्यो । ‘हङकङ–पोखरा’ सम्म आइपुग्दा कन्दराले नेपाली सङ्गीतमा गर्बिलो स्थान पाइसकेको थियो ।
चर्चा र सफलताको उत्कर्षमा रहेकै समय विवेकले विदेश जाने निर्णय गरेपछि ब्यान्डका सदस्यहरूमा निराशा झल्कियो । अरूले अनुमान गरे, ‘उनी पलायन हुन लागेका हुन् र ?’
‘बिदेसिनु लेखियो कर्मैमा
भाला रोपी नबोल मर्मैमा ।’
कन्दराको यो चर्चित गीत उनको जीवनलाई प्रतिविम्बित गर्ने गीत थियो । सन् २००१ मा युके गएका उनले योजना बनाएका थिए, ‘केही वर्ष बस्छु, कमाउँछु र पुनः ब्यान्डमा सक्रिय हुन्छु ।’ सोचेजस्तो भएन । उनी सङ्गीत क्षेत्रबाट बिछोडिनुपर्दाको पीडाबीच गुज्रिँदै गए । अन्ततः उनले ‘बोल्ड’ निर्णय गरे, ‘अब नेपालमै फर्किनेछु र कन्दरालाई फेरि ब्युँताउनेछु ।’
‘कन्दरा’ लाई कन्दराबाट बाहिर निकाल्न प्रख्यात साहित्य–सर्जक सरुभक्तका शब्दहरूले पनि अधिक भूमिका खेल्न पुगे । चाहे त्यो ‘हङकङ पोखरा’ होस् वा ‘रातै बिझायो’ जस्ता शब्द नै किन नहोस् ।

ब्यँतिएको ‘कन्दरा’
सन् ९० को दशकतिर चम्किएको ‘कन्दरा’ ले ३२ वर्षपछि काठमाडौँमा पहिलो पटक एकल कन्सर्ट आयोजना गर्यो । विवेकको लामो समयपछिको ‘कमब्याक’ दर्शकहरूलाई उत्साहित तुल्याउन पर्याप्त थियो । विवेक, सुनिल थापा र नयाँ टिम आफ्नै शैलीका गीतहरूसहित उपस्थित हुँदा तीन दशकअघिको ‘कन्दरा–स्वाद’ अनुभूत हुन्थ्यो ।
काठमाडौँस्थित एलओडी क्लबमा सम्पन्न ‘काठमाडौँ कलिङ्ग कन्दरा’ कन्सर्टमा ९० को दशकताकाका प्रशंसकदेखि नयाँ पुस्तासम्मको उपस्थिति थियो । विवेकको स्वर सुन्दै हुर्किएको पुस्तासँगै नयाँ पुस्ता पनि उत्तिकै रमाइरहेका देखिन्थे ।
‘कन्दराका गीतहरू सधैँ ताजा र जीवन्त छन्,’ विवेकले भने, ‘हाम्रा गीतमा नेपाली माटोको सुगन्ध भएकाले हामीले माया पाइरहेका छौँ ।’

३२ वर्ष : उत्सवमय वर्ष
‘कन्दरा’ ले सन् २०२४–०२५ लाई ‘पहिला घरदेश अनि परदेश’ भन्ने नारासहित राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा मनाउने योजना ल्याएको छ । सोही योजनाअनुरूप ‘कन्दरा’ ले सन् २०२५ को सन्दर्भ पारेर ‘द सङ अफ होप’ सार्वजनिक ग¥यो ।

‘पहिला घरदेश अनि परदेश’ अभियानअन्तर्गत ‘कन्दरा’ले लन्डनमा सोलो कन्सर्ट गरिसकेको छ । विवेक लन्डनलाई आफ्नो ‘दोस्रो घर’ ठान्छन् । दुई दशकपछि लन्डनको विश्वप्रसिद्ध ‘इन्डिगो एट द ओटु’ मा २५ सयभन्दा बढी दर्शकमाझ ‘कन्दरा’ले ऐतिहासिक कन्सर्ट सम्पन्न गर्दा विवेकको अनुहारमा खुसी झल्किरहेको थियो । उनी त्यति बेला साङ्गीतिक करियरको शिखरमा थिए । लन्डनमा उनले जिम्मेवारी पाएका थिए, सुरक्षा गार्डको । उनी सम्झिन्छन्, ‘जहाँ मेरो ड्युटी थियो, त्यहाँ भव्य कन्सर्ट हुँदै रहेछ । म स्टेजमा नभएर ओझेल परेको ठाउँमा बसेर आफ्नो ड्युटी गर्दै थिएँ । त्यस क्षणले मलाई हीनताबोध दिलायो ।’
आफूले लन्डनमा बिताएका दिनहरू सम्झँदै भने, ‘मैले त्यहाँ दुई महिना मात्र काम गरेँ । हरेक कन्सर्ट भइरहँदा मेरो मन फुट्लाजस्तो भइरहन्थ्यो ।’ कन्दरा ब्यान्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा सोही स्टेजमै वार्षिकोत्सव मनाइयो । उनी लामो समय मानसिक रूपमा कमजोर देखिए । भित्रभित्रै गल्दै गए पनि सम्हालिरहे आफूलाई । अन्ततः बाँच्नुपर्छ र गाउनुपर्छ भन्ने मनोभाव सँगाल्दै नेपाल फर्किए । उनका निम्ति आफ्ना उकुसमुकुसलाई सार्थक दिशा दिने सारथी थिए— नेपाली भाका, गीत, सङ्गीत अनि कन्दराका स्टेजहरू । जसले नै उनलाई सङ्गीत क्षेत्रमा क्रियाशील रहेर जिजीविषाका टुसाहरू उमार्न सघाए ।

‘कन्दरा’को पुनरागमन नेपाली सङ्गीत क्षेत्रलाई नयाँ उत्साह भर्ने आधार बनेको छ । पुरानो पुस्तासँग जीवन्त सम्बन्ध जोड्दै नयाँ पुस्तासँग आत्मीय सम्बन्ध जोडेर नेपाली माटोको सुगन्ध प्रवाह गर्ने कार्यमा ‘कन्दरा’ प्रभावशाली हुनेछ भन्ने विश्वास गर्न सकिन्छ ।
००



Leave a Reply