अर्धशतकयता साहित्य–साधक उषा शेरचनले मुक्तकलगायत विधामार्फत आफ्नो सिर्जन शिविरलाई समृद्ध तुल्याउँदै आएकी छन् । २०३४ सालमा पोखरामा आयोजित मुक्तक–वाचन कार्यक्रममा पाँच थान मुक्तक सुनाएकी उनले त्यसयता दुई मुक्तक–सङ्ग्रह निकालिन् । मुक्तकबाहेक एक उपन्यास, दुई कथाकृति, दुई कविताकृति नेपाली वाङ्मयलाई सुम्पिइसकेकी उनले सातौँ कृतिस्वरूप ल्याएकी छिन्, ‘त्रासदीका हिमनदी’ । २०५६ सालमा प्रकाशित पहिलो मुक्तक–सङ्ग्रह ‘अक्षरहरूका शिविरबाट’ प्रकाशनको २५ वर्षपछि निस्किएको ‘त्रासदीको हिमनदी’ मा केन्द्रित भई उनीसँग गरिएको किताब–वार्ता :

–पहिलो मुक्तक–सङ्ग्रह प्रकाशनको करिब २५ वर्षपछि तपाईंले दोस्रो मुक्तक–सङ्ग्रह ‘त्रासदीका हिमनदी’ पाठकहरूलाई सुम्पिनुभएको छ । यो सङ्ग्रहमा कुन समयदेखिका मुक्तकहरू समेट्नुभएको छ ?
मैले मुक्तक विधामा तीसको दशकदेखि कलम चलाउन थालेकी हुँ । २०५६ सालमा प्रकाशित पहिलो मुक्तक–सङ्ग्रह ‘अक्षरहरूका शिविरबाट’ भित्र तीसको दशकदेखिका मुक्तक समेटिएका छन् । दोस्रो मुक्तक–सङ्ग्रहमा भने ०५६ सालयताका मुक्तकहरू राखेकी छु ।
–‘त्रासदीका हिमनदी’ भित्र के–कस्ता विषयवस्तुका मुक्तकहरू समेट्नुभएको छ ?
यो मुक्तक–सङ्ग्रहमा मैले बेग्लाबेग्लै पाँच विषयवस्तुमा आधारित मुक्तकहरू समेटेकी छु, जसमा जीवन, राजनीति, समाज, प्रणय र अनुभूति रहेका छन् । पठनका लागि सहज हुने अपेक्षास्वरूप मैले मुक्तकका बेग्लाबेग्लै शीर्षक राखेकी हुँ ।
मलाई लाग्छ, मुक्तक बिजुली चम्किएजस्तै हाम्रा मन–मस्तिष्कमा आउँछन् र हामी लेख्छौँ । कहिले कुनै विषय वा घटनाक्रमले छोएपछि लेखिन्छ । हामीलाई जीवनका नवै रङले छोइरहेका हुन्छन् र त्यसलाई लेखनमा उतार्ने गर्छौं ।
मुक्तक–लेखनमा मेरा आफ्नै परिघटना जोडिन्छन् । कहिले बिजुली चम्केझैँ दिमागमा कुनै थिम आइहाल्छ र लेखिहाल्छु । कहिले भने योजनाबद्ध रूपमा लेख्ने गर्छु । लेखनका विषयवस्तु पनि अनेक हुन्छन् । अधिकांशतः राजनीतिक घटनाक्रमले हामीलाई विषयवस्तु उपलब्ध गराउँछन् । यसरी विभिन्न मुड र सन्दर्भमा लेखिएका मुक्तकहरूलाई मैले यो कृतिमा समेटेकी छु ।
–योजनाबद्ध रूपले लेख्नुभएको मुक्तकचाहिँ कुन–कुन शीर्षकका हुन् ?
मैले ‘जीवन’ विषयक मुक्तकहरू योजनाबद्ध रूपमा लेख्न थालेकी थिएँ । एक वर्षको योजना बनाएर जीवनसम्बन्धी ३ सय ६५ वटा मुक्तक लेख्ने र त्यसको छुट्टै सङ्ग्रह निकाल्ने सोच थियो । तर १ सय ३४ वटा लेखिसकेपछि मलाई पट्ट्यार लाग्यो र लेख्न छाडिदिएँ । तिनै मुक्तकहरूसहित अरू शीर्षकका मुक्तकहरू यो कृतिमा राखेकी छु ।
–‘त्रासदीको हिमनदी’ को विमोचन पोखरामै गर्नुको कारण के थियो ?
मैले २०३४ सालमा ‘पोखरेली युवा सांस्कृतिक परिवार’को ब्यानरमुनि पोखरा उद्योग–वाणिज्य संघको हलमा पहिलो पटक मुक्तक सुनाएकी थिएँ । त्यस समय हरिभक्त कटुवालको प्रमुख आतिथ्यमा मलगायत स्रष्टाहरूले मुक्तक सुनाएका थियौँ । पछिल्लो समय मैले के सङ्कल्प गरेँ भने, मुक्तक–लेखनको करिब आधा शताब्दीको यो यात्रामा म आफ्नो दोस्रो मुक्तक–सङ्ग्रहको विमोचन पोखरास्थित उद्योग–वाणिज्य संघको सोही हलमा गर्नेछु ।
अर्को पक्ष, अहिलेसम्म मेरा सातवटा कृति प्रकाशित भए । गृहनगर पोखरामा भने एउटै कृतिको विमोचन गर्ने अवसर जुरेको थिएन । त्यही भएर यो मुक्तक–सङ्ग्रहको विमोचन मैले गृहनगरमा गर्न चाहेकी हुँ ।
–लेखनको सुरुवात मुक्तकबाट गर्नुभयो कि अरू विधाबाट ?
होइन । मैले लेखन सुरुवात कविताबाट गरेकी हुँ । कविता लेख्नुअघि मैले मुक्तकको नाम नै सुनेकी थिइनँ । एक दिन विजय बजिमयको घरमा म, तीर्थ (तीर्थ श्रेष्ठ) र भक्त (सरुभक्त) पुगेका थियौँ । बजिमयले भने, ‘वानिरा (वानिरा गिरी) रुसमा जाँदा त्यहाँ त कविता पनि टिकट काटेर सुन्दा रहेछन् । हामी पनि टिकटमा मुक्तक–वाचन कार्यक्रम राखौँ न ।’ मैले मुक्तक विधाको नाम त्यहीँ दिन सुनेकी थिएँ । र, सोही कार्यक्रममा सुनाउनका लागि मैले पहिलो पटक पाँचवटा मुक्तक लेखेकी थिएँ ।
–मुक्तकबाहेक उपन्यास, कथा, कविता र गीतमा पनि कलम चलाइरहनुभएको छ । आफूलाई लेखनमा सन्तुष्टि दिने विधा कुन हो जस्तो लाग्छ ?
मलाई अहिलेसम्म कुनै पनि विधाले सन्तुष्टि दिएजस्तो लाग्दैन । सन्तुष्टि अन्तिम बिन्दु हो जस्तो लाग्छ मलाई । मैले साहित्यका अनेक विधामा कलम चलाए पनि गजल र निबन्ध भने अहिलेसम्म लेखेकी छैन । तर, विभिन्न व्यक्तित्व–केन्द्रित स्मृति÷संस्मरण भने लेखेकी छु ।
मेरो लेखनको आफ्नै शैली छ । कविता स्वतःस्फूर्त रूपमा लेख्छु । कथाहरूचाहिँ पात्रहरूलाई रोजेर र तिनीहरूलाई पछ्याएर हरेक कोणबाट लेख्ने गर्छु । मेरा अधिकांश कथा तिनै पात्रहरूले लेखाएका छन् मलाई । उपन्यासचाहिँ योजनाबद्ध रूपले लेखेकी हुँ ।

–कुनै पनि ‘थिम’लाई कति समयसम्म खेलाएर लेख्नुहुन्छ ?
अरू विधाभन्दा कथाको प्लट जन्मिएपछि केही समय त्यसलाई दिमागमा खेलाउने गर्छु । मैले लेखेको कथा ‘अर्को क्षितिज’ सानै छँदादेखि दिमागमा खेलिरहेको विषय थियो, धेरै समयपछि लेखिएको त्यो कथा बहुपति प्रथामा आधारित छ ।
अर्कोचाहिँ, कोभिड–१९ को महामारी फैलिएपछि एक वर्ष घरमै बस्नुप¥यो । त्यस अवधिमा मैले आफूले भेटेका पात्रहरूलाई कथाका माध्यमद्वारा दिमागको कारागारबाट मुक्त तुल्याएँ ।
–लेखन कर्ममा जोडिनुको पछाडि कुनै त्यस्तो सामाजिक, पारिवारिक परिवेशको भूमिका रहेको ठान्नुहुन्छ ?
मलाई लाग्छ, लेखनका लागि जन्मजात गुण हुनुपर्छ । म आफूमा पनि जन्मजात गुण रहेको ठान्छु । कुनै सामाजिक वा पारिवारिक परिवेशको कारण म लेखन क्षेत्रमा आएकी होइन । थकाली समाजमा कवि भूपी शेरचनको सम्मानित र उच्च हैसियत छ । मैले भने उहाँलाई जीवनमा दुई–तीन पटक मात्र भेट्ने अवसर पाएँ । तर, उहाँबाट मैले कुनै प्रेरणा पाएकी होइन ।
अर्को, थकाली समुदाय साहित्यप्रति रुचि राख्ने समुदाय नभएर पाक–कलामा बढी निपुण र आफ्नै कला–संस्कृतिमा धेरै ध्यान दिने समुदायमा पर्छ । सो समुदायबाट हामी पाँच–सात जना स्रष्टाहरू साहित्य–लेखनमा देखिनु अपवाद हो र भूपी शेरचन आउनु त आठौँ आश्चर्य हो भन्ने लाग्छ मलाई ।



Leave a Reply