हरेक मान्छे योग्य हुन्छ


हामी सबैको मनभित्र कहिलेकाहीँ ‘म पर्याप्त छुइनँ’ भन्ने सोच उब्जिरहेको हुन्छ । कहिलेकाहीँ यो आवाज यति बलियो हुन्छ— हामी आफ्नै क्षमतामा शङ्का गर्न थाल्छौँ, आफ्नो मूल्यलाई नकार्छौं र आफूलाई अयोग्य ठान्न थाल्छौँ । के यो भावना साँच्चिकै हाम्रो हो ? वा, हामीलाई हाम्रा अनुभव, समाजको दबाब र अरूका अपेक्षाले यो विश्वासमा बाँधेर राखेको छ !हामी…

हामी सबैको मनभित्र कहिलेकाहीँ ‘म पर्याप्त छुइनँ’ भन्ने सोच उब्जिरहेको हुन्छ । कहिलेकाहीँ यो आवाज यति बलियो हुन्छ— हामी आफ्नै क्षमतामा शङ्का गर्न थाल्छौँ, आफ्नो मूल्यलाई नकार्छौं र आफूलाई अयोग्य ठान्न थाल्छौँ । के यो भावना साँच्चिकै हाम्रो हो ? वा, हामीलाई हाम्रा अनुभव, समाजको दबाब र अरूका अपेक्षाले यो विश्वासमा बाँधेर राखेको छ !
हामी किन आफैँलाई कम आँक्छौँ र कसरी त्यो सोचलाई बदल्न सकिन्छ ? तर सबैभन्दा महत्वपूर्ण कुरा के हो भने हामी सबै जन्मजातै योग्य छौँ तर कहिलेकाहीँ हामीले त्यो यथार्थ महसुस गर्न सक्दैनौँ ।
‘तँ सक्छस्, तर अझै केही अपुग छ ।’
‘तँ राम्रो छस्, तर अरूजस्तो होइनस् ।’
‘यो काम त तैंलें कसरी सक्छस् र ?’

यी वाक्यहरू सामान्य लाग्न सक्छन्, तर यसले मानिसको आत्माभित्र गहिरो चोट पु¥याइरहेको हुन्छ— एक किसिमको गहिरो घात, जसले बिस्तारै व्यक्तिलाई अयोग्यतातिर धकेल्दै लैजान्छ ।

हाम्रो जीवनका धेरै मोडहरूमा ‘तिमी योग्य छैनौ’ भन्ने विचार कहिले प्रस्ट रूपमा भन्ने गरिन्छ, कहिले सङ्केतमार्फत । यस्ता कथन अभिभावक, शिक्षक, समाज वा नजिकका व्यक्तिहरूबाट आउने गर्छन् । बाल्यकालदेखि नै बारम्बार यस्तो सन्देश पाउने मानिसले आफूभित्रको क्षमतामा शङ्का गर्न थाल्छ ।

साना–साना अस्वीकृतिहरू, आलोचना वा तुलना— जुन अति सामान्य लाग्न सक्छ, तर ती सबै मिलेर एउटा ठूलो स्वर बन्न पुग्छ— ‘तँ अपुग छस् ।’ जब यो स्वर बारम्बार दोहोरिन्छ, त्यो सत्यजस्तो लाग्न थाल्छ ।

धेरैले मनभित्र कहीँकतै एक प्रकारको निराशा र ‘म सक्दिनँ’ भन्ने विश्वास बोकेका हुन्छन्— हामी पर्याप्त छैनौँ, हामी असल छैनौँ, हामी योग्य छैनौँ । यो विश्वास कुनै वास्तविकता नभई बरु हाम्रा प्रारम्भिक अनुभव, सामाजिक दबाब वा अधुरो अपेक्षाबाट बुनिएको झूटो कथा हो । ‘अयोग्यता’ भन्ने भावना हाम्रो मौलिकता होइन, यो सिकाइएको भ्रान्तिमात्र हो ।

अयोग्यताको जरा कहाँ रोपिएको हो ?
अयोग्यताको भावना प्रायः बाल्यकालमै रोपिन्छ । त्यति बेला हाम्रो चेतना कोमल हुन्छ र हामी संसार बुझ्न आतुर हुन्छौँ । बाबुआमाबाट सुनेको कठोर शब्द, साथीसँगको अस्वीकृति वा समाजले थोपरेको अपूर्णता मापन गर्ने मानक । यी सबैले त्यो बीउ रोप्छन् ।

समाजले यसलाई अझ तीव्र बनाउँछ । हामीमाथि पूर्णता, सुन्दरता र सफलता देखाउने असम्भव आदर्शहरूमार्फत लगातार आक्रमण हुन्छ । हामीलाई भनिन्छ, केही ठूला उपलब्धि हासिल गरेपछि मात्र अरूले हामीलाई मन पराउँछन्, तब मात्र हामी योग्य हुन्छौँ ।
तर यो विचार आफैँमा त्रुटिपूर्ण छ । यी मानकहरू मनगढन्ते हुन् । मूल्य÷योग्यता कुनै प्रमाणित गर्ने कुरा होइन, यो त तपाईंमा पहिल्यैबाट रहेको सत्य हो ।

अयोग्यताको भ्रान्ति
हामी जसरी छौँ र जसरी हुनुपर्ने सोचिएको छ, त्यसबीचको अन्तरालमा अयोग्यता पलाउँछ । यो एउटा विकृत दृष्टिकोण हो, जसले हामीलाई आफ्नै आँखामा सानो र कमजोर देखाउँछ । केवल ‘म पर्याप्त छु’ भन्ने बौद्धिक वाक्यांश मात्रले यो गहिरो विश्वासलाई हटाउन सक्दैन ।
साँचो परिवर्तन वा सकारात्मक वाक्यांशबाट मात्र सम्भव हुँदैन । यसका लागि हामीलाई आफ्नो भित्री संसारमा गहिराइसम्म यात्रा गर्नुपर्छ र त्यस्ता भागहरूसँग सामना गर्नुपर्छ, जसलाई हामीले लुकाउन सिकेका छौँ ।

समाजले हामीलाई प्रायः सिकाउँछ— यी पक्ष लुकाउन र तिनीहरूलाई कमजोरीको रूपमा हेर्न । तर, यिनै हाम्रा मानवत्वका अमूल्य अंश हुन् । जब हामी ती पक्षहरूलाई स्विकार्न र अँगाल्न थाल्छौँ, तब हामी बुझ्न थाल्छौँ— यी अपूर्णताहरूले हाम्रो मूल्यलाई घटाउँदैनन्, बरु हाम्रो अस्तित्वलाई अझ मानवीय र गहिरो बनाउँछन् ।

यसरी हामीले अयोग्यता भन्ने भ्रान्तिलाई टुटाउन सक्छौँ र आफ्नो पूर्णता र योग्यताको वास्तविक अनुभूति गर्न सक्छौँ ।

स्वत्वको पुनःस्मरण
तपाईंको मूल्य सम्झनु भनेको आफैँलाई सुधार्नु होइन । तपाईं कुनै अधुरा टुक्रा होइन, तपाईं पूरै हुनुहुन्छ, यस्तै अस्तित्वमै ।

यो यात्रा सुरु हुन्छ आत्म–सहानुभूतिबाट । तपाईं आफैँलाई कुन कथाहरू सुनाउनुहुन्छ ? ‘तँ लायक छैनस्’ भन्ने आवाज कसको हो ? त्यस्ता कथाहरूलाई चुनौती दिनुहोस् । ‘के यो साँचो हो ?’ भन्ने प्रश्न सोध्नुहोस् । अधिकांश अवस्थामा ती कथाहरू कसैको पुरानो आवाज हुन्छ, आफ्नै होइन ।

त्यसपछि, तपाईंलाई जीवन्त बनाउने, खुसी दिने वा बाल्यकालमा रमाइलो लाग्ने कुरा फेला पार्नुस् । प्रकृतिमा समय बिताउनुहोस्, सिर्जनात्मक केही काम गर्नुहोस् वा शान्त बस्नुहोस् । यी क्षणहरूले तपाईंलाई सम्झाउँछन्— तपाईंको मूल्य कुनै बाह्य स्वीकृति होइन, तपाईंको अस्तित्वकै हिस्सा हो ।

मनभित्रको अयोग्यताको कथाले के गर्छ ?
मानिसले आफैँसँग कुरा गर्दा सकारात्मक स्वर हराउँछ । ‘म सक्छु’ भन्नुको सट्टा ‘म लायक छैन’ भन्ने स्वर बलियो बन्छ । नयाँ कुरा सिक्न, ठूलो सपना देख्न वा जोखिम लिन डराउँछ । किनभने ‘अयोग्यता’ भित्र गढेको हुन्छ । डरको जरो त्यहीँ हुन्छ । अयोग्यताको भावनाले मानिसलाई बढी निर्भर बनाउँछ वा आफू कमजोर भन्ने डरले नजिकिँदा पनि दूरी बनाउँछ । यदि कहिलेकाहीँ सफल भए पनि मेरो भाग्यले भयो वा अरूको सहयोगले मात्र भयो भन्ने सोच हावी हुन्छ । यसको प्रभाव विशेष गरी किशोर÷किशोरीमा गहिरो हुन्छ । खासमा हरेक मानिस योग्य छ, केवल उसले त्यसलाई बुझ्ने मौका पाउनुपर्छ ।
००

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *