काठमाडौंमा रहँदा मेरो दैनिकी हतार र भीडबिच बित्दछ । बिहान उठेदेखि कामका निम्ति धाउनुपर्ने, दिनभर जिम्मेवारीमा निर्वाह गर्नुपर्ने र बेलुकी थकाइले थिचिएको शरीर लिई घर फर्किनुपर्ने– यही हो मेरो दिनचर्या । यस्तो चापले भरिएको जीवनशैलीबीच कहिलेकाहीँ लाग्छ– आत्मा कतै हराइरहेको छ ! त्यति बेला मेरो मन पोखरातिर सोझिन्छ ।
मेरो लागि पोखरा कुनै साधारण गन्तव्य होइन, यो ध्यान गर्ने, आत्मालाई शान्त तुल्याउने र जीवनलाई नयाँ ऊर्जा दिने एक आश्रयस्थलसमेत हो । काठमाडौंबाट धेरै टाढा नभए पनि पोखरा पुगेपछि लाग्छ, म अर्कै संसारमा पुगेको छु । स्वच्छ हावा, नीलो आकाश र हरियाली वातावरणले मलाई बिस्तारै हलुका बनाइदिन्छ ।

म कैयौं पटक पोखरा गएको छु तर अचम्म केमा लाग्छ भने, जति पटक पुग्छु, उति अझै जान मन लाग्छ । पोखरा कहिल्यै नअघाउने गन्तव्य बनेको छ ।
फेवा ताल : मनको आरश
पोखरामा पुग्नेबित्तिकै मलाई सबैभन्दा सुरुमा आकर्षिक गर्छ फेवा तालले । फेवामा डुंगा शयर गर्दा यस्तो लाग्छ– काठमाडौंको तनाव पानीमै बगिरहेको छ । वरपरको हरियाली, पानीमा व्याप्त अन्नपूर्ण हिमालको प्रतिविम्ब र तालमा साँझपख सुनौलो रंगले ढाकिएको क्षण– यी सबै मेरा लागि शब्दमा नअटाउने ध्यानका पलहरू हुन्

पामे र गाउँको आत्मीयता
फेवा तालको छेउस्थित पामे गाउँ मेरो प्रियस्थल हो । सो ठाउँमा साथीहरूसँगै ताजा माछा खानु, ताल किनारमा रमाइलो गर्नु र गाउँलेहरूको सरल जीवन अनुभव गर्नुजस्ता क्षणहरू निकै आत्मीय लाग्छन् ।
बेगनास ताल : शान्त आत्मा
जब अझ बढी शान्ति चाहिन्छ, म बेगनास ताल पुग्छु । फेवाजस्तो भीड नभएर बेगनास मलाई ध्यानस्थलझैं लाग्छ । वरपरको हरियाली, पानीमाथि तैरिने कुहिरो र चराको गीत– यी सबैले आत्मालाई शान्त तुल्याउँछ ।
धम्पुस र घान्दु्रक
पोखरा वरपरको गाउँहरूले पनि मलाई आकर्षित गर्छ । धम्पुस र घान्दु्रकमा पुगेको अनुभव आज पनि ताजा छ । धम्पुस पुग्दा धान झुलेका खेत र गाउँलेहरूको मुस्कानले स्वागत गर्छ भने घान्दु्रकमा परम्परागत ढुंगाका घर, ढुंगाका सिँढी र गोरखाली संस्कृतिले आफ्नोपन महसुस गराउँछ । त्यो थलोमा उभिएर हिमालतिर टुलुटुलु हेर्दै बसेको क्षण मेरो लागि ध्यानकै समय सावित हुन्छ ।

अन्नपूर्ण बेस क्याम्प (एबीसी)
मलाई चुनौतीपूर्ण यात्रा मन पर्छ । त्यसैले एकपटक मैले एबीसी ट्रेक पनि गरेँ । उकाली–ओराली, खोला–जंगल पार गर्दै यात्रा गर्न सजिलो थिएन । तर बिहान सबेरै अन्नपूर्ण हिमालमाथि सुनौलो घामले स्पर्श गरेको दृश्यले सबै कठिनाइ सार्थक बनाइदियो । त्यो क्षण लागेको थियो– यो नै जीवनको शिखरमा पुगेको अनुभव हो ।
लेकसाइडको जीवन्त ऊर्जा
पोखराको लेकसाइडले भने अर्कै किसिमको आनन्द दिन्छ । रंगीन क्याफेहरू, लाइभ म्युजिक, विभिन्न देशका यात्रुहरूको जमघट– यी सबैले पोखरालाई बहुरंगी संसारमा बदलिदिएको छ । लेकसाइडमा घुम्दा लाग्छ– म विश्वका यात्रुहरूसँग एउटै परिवारमा मिसिएको छु ।

मेरो लागि पोखरा
काठमाडौंको कोलाहल, धुलो र व्यस्त जीवनशैलीबाट थकित हुँदा म सधैँ पोखरालाई सम्झन्छु किनभने मेरो लागि पोखरा केवल एउटा शहर होइन, यो त मेरो ध्यानस्थलसमेत हो ।
००



Leave a Reply