व्यस्त दिनचर्यामा अभ्यस्त मानिसका लागि समयानुकूल आफ्नो स्वास्थ्य–स्थिति कायम राख्न अझै चुनौतीपूर्ण बन्दै गइरहेको छ । शरीरलाई चाहिने सबै प्रकारका स्वस्थ खाना आफँैले तयार गरेर खाइरहन पनि समयाभाव देखिन्छ, जसले गर्दा बजारमा पाइने तयारी खाना नै सबैका निम्ति पहिलो प्राथमिकतामा परेका छन् ।

समय एवं श्रमको बचत गर्ने धुनमा बजारिया खानाले आममानिसको स्वास्थ्यमा निकै जटिलता निम्त्याइरहेको स्वास्थ्यविज्ञहरूले भन्दै आइरहेका छन् । यद्यपि, जानकारहरूलाई समेत बजारिया खाना खानैपर्ने कैयौँ बाध्यता छन् । यस्तो अवस्थामा आमउपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर नपारीकनै स्वस्थ खाना कसरी पस्कने त भन्ने सवालमा संघीय राजधानीमा ‘एभोकाडो क्याफे’को जन्म भएको हो ।
काठमाडौँस्थित बालुवाटार र ठमेलमा एभोकाडोले आफ्ना ग्राहकलाई करिब एक दशकदेखि स्वस्थ परिकारका खानाहरू पस्कने जमर्को गरिरहेको एभोकाडोका संस्थापक तथा प्रबन्ध–निर्देशक गुणराज श्रेष्ठले बताए । उनका अनुसार एभोकाडोको मूल मर्म ‘स्वस्थ खाना खाऔँ र स्वस्थ स्वास्थ्य बनाऔँ’ भन्ने छ । उनी भन्छन्, ‘म करिब २०÷२२ वर्षदेखि होटेल लाइनमै छु । जङ्क फुडजस्ता खानाकै कारण मान्छेको स्वास्थ्य बिग्रिरहेको छ’, उनले थपे, ‘हाम्रो स्वास्थ्यका लागि हेल्दी फुड नै पहिलो प्राथमिकता हो । आफूले जानेको कामबाटै मान्छेको स्वास्थ्यका लागि स्वस्थ खाना खुवाऔँ भन्ने हाम्रो टिमको कन्सेप्टअनुरूप नै एभोकाडो क्याफे जन्मिएको हो ।’

प्रबन्ध–निर्देशक श्रेष्ठका अनुसार २०७४ सालमा स्थापित एभोकाडोमा गिरीराज भट्ट, गोविन्द श्रेष्ठ, भीम श्रेष्ठसहित सञ्चालक छन् । खाना तयारीदेखि होटल व्यवस्थापन र सञ्चालन सोही टिमबाट भइरहेको छ । बालुवाटारबाट सुरु भएको एभोकाडो २०७८ तिर ठमेलमा पनि सञ्चालित भयो ।
एभोकाडो फल स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । स्वस्थ खाना र स्वस्थ शरीर टिमको मुख्य ध्येय भएकाले नाम ‘एभोकाडो’ राखिएको थियो । साथै, अङ्ग्रेजी वर्णमालाको पहिलो अक्षर ‘ए’ बाटै सुरु हुने भएकाले र मानिसका लागि पहिलो महत्वपूर्ण पक्ष पनि स्वस्थ शरीर नै भएकाले ‘एभोकाडो’ नाम छनोट गरिएको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार सुरुमा एभोकाडोमा आउने ग्राहकहरू सीमित थिए । पछिल्लो समय स्वास्थ्यप्रति सजग भएकाहरू पनि एभोकाडोको ग्राहक बने । बिस्तारै ग्राहक थपिने क्रममा एभोकाडोको टिमले ठमेलमा पनि आफ्नो ब्रान्च सञ्चालन गर्न थाल्यो । श्रेष्ठले भने, ‘अहिले बालुवाटारमा स्वदेशी तथा विदेशी दुवै ग्राहकहरू आउनुहुन्छ । ठमेलमा भने धेरैजसो विदेशी ग्राहकहरू आउने गर्नुभएको छ । बिहानको ब्रेकफास्टदेखि लन्च र डिनरसम्म गर्ने ग्राहकहरूले हाम्रो खानाका परिकार र सर्भिसलाई रुचाइदिनुभएको छ ।’

विशेषतः कोभिड महामारीपछि ग्राहकहरूले एभोकाडोका परिकारलाई विशेष महत्व दिन थालेका छन् । कोभिडले आममान्छेलाई स्वास्थ्य नै पहिलो प्राथमिकता रहेको यथार्थ बुझाएको उनको अनुमान छ । यसर्थमा कोभिडले विदेशी ग्राहक केही ओझेल परे पनि एभोकाडोले स्वदेशी ग्राहकहरू भने उल्लेख्य मात्रामा पाएको छ । सँगै अहिले विदेशी ग्राहकहरू पनि आउने क्रम जारी छ ।
एभोकाडोको मुख्य विशेषता हो— परिकारहरूमा स्वस्थ खाना समावेश गर्नु । एभोकाडो सलाददेखि जुससँगै स्वस्थ खानालाई एभोकाडो टिमले समावेश गर्ने गरेका छन् । जुन परिकारहरूमा हरियो सागपात, फलफूल, फापर, गहुँ, जौ, मकैलगायतका खाना उपलब्ध हुन्छन् । एभोकाडोमा ‘एभोकाडो पावर’, ‘एभोकाडो स्पेसल’, ‘एभोकाडो हाउस ब्रेकफास्ट’ जस्ता बिहानी समयमा खाने परिकारहरूमार्फत दिनको सुरुवात हुन्छ । रोयल एभोकाडो सलाद धेरैजसोको रोजाइमा पर्छन्, जसमा ड्रागन, किबी, चीज, मौसमअनुसारको फलफूल तथा ड्राई नट्सहरू समावेश हुन्छन् ।

एभोकाडो चिनो सलाद पनि मुख्य परिकारमा पर्छ । त्यसपछि मेक्सिकन सलाद, एभोकाडो स्पेसल सलादहरू छन् । मासु र सीफुड रुचाउने ग्राहकका लागि एभोकाडोसँगै चिकेन, मटन, पोर्क, फिसका परिकारहरू एभोकाडोमा बन्छन्, जसमा ‘एभोकाडो स्टाइल पोर्क बेल्ली’, ‘मेक्सिकन ग्रिल्ड प्राउन’, ‘ओरिन्टर प्राउन, तोफु, चिकेन’, चिकेन, फिस, मसरुमका परम्परागत छोयलाजस्ता परिकारहरू उपलब्ध छन् । ‘मटन चप्स’, ‘नर्वेजियन साल्मोन स्टिक’, ‘फिस एन्ड चिप्स’लगायतका माछा तथा अन्य मासुका परिकारहरू एभोकाडोको भान्सामा पाक्छन् ।

एभोकाडो टिमका अनुसार माछा, मासु तथा जनावरबाट उपलब्ध हुने परिकार नखाने भेगन ग्राहकलाई मध्यनजर गरेर एभोकाडोले बोटबिरुवाबाट उपलब्ध खानाका परिकारहरू, दूधसमेत तयार गर्ने गरेका छन् । भेगन खानाका लागि पनि ग्राहकहरू एभोकाडोमा आउने श्रेष्ठले बताए । जुस, लस्सी, चिया, कफी, सुपलगायत पेय पदार्थमा पनि एभोकाडोले स्वस्थ खानालाई समावेश गर्ने टार्गेट गरिएको श्रेष्ठको दाबी छ । उनले भने, ‘हामीले सकेसम्म खानालाई स्वस्थ बनाऔँ भन्ने प्रयास गरेका छौँ । जस्तो बे्रड, बर्गरजस्ता खानाका परिकारहरूमा पनि हामीले एभोकाडो र अन्य स्वस्थ तरकारी र खानालाई नै जोड दिएका छौँ ।’
श्रेष्ठका अनुसार एभोकाडोले स्वस्थ खानामात्र नभएर स्वस्थ वातावरणलाई समेत ध्यानमा राखेको छ । दिनभरिको थकानबाट आउने ग्राहकहरूले स्वच्छ वातावरणमा स्वस्थ खानाका परिकारसहित सन्तुष्टि लिउन् भन्ने एभोकाडो टिमको चाहना रहेको उनले बताए । त्यस कारण पनि एभोकाडो टिमले बालुवाटार र ठमेलमा क्याफेको वरिपरि हरियाली वातावरणलाई जोड दिएका छन् । हरिया रुखबिरुवाको वरिपरि शीतल छहारीमा बसेर ग्राहकले खानाका परिकारहरू चाख्न पाउँछन् । बालुवाटारमा प्रत्येक शुक्रबार लाइभ म्युजिकका साथ ग्राहकले खानाका परिकार लिन पाउँछन् भने ठमेलमा विदेशी पर्यटकका लागि मध्यनजर गर्दै बेलाबखतमा स्वदेशी तथा विदेशी फ्युजन म्युजिकल प्रस्तुतिहरू हुन्छन् । साथै, क्याफेको छानोको संरचना पनि परम्परागत शैली झल्काउने गरी पुराना झिँगटीहरू प्रयोग गरिएका छन् । ती झिँगटी राणाकालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालाको रहेको श्रेष्ठले सुनाए ।


एभोकाडोमा विशेष गरी एभोकाडो, मकै, कोदो, गहुँ, जौ, अर्गानिक ग्रिन टी, जुसहरू समावेश गरिने हुँदा सबै मौसममा सजिलै उपलब्ध हुन अलि कठिनै हुन्छ । एभोकाडो पनि असोज महिनादेखि धेरैजसो बाह्य देशबाट नै ल्याउनुपर्ने हुन्छ । नेपालमा काठमाडौँ, चितवन, धनकुटा, नुवाकोटलगायतका स्थानहरूबाट एभोकाडो ल्याउँदा प्रतिकिलो ३ सयदेखि साढे ३ सय रुपैयाँ पर्न आउँछ । बाह्य मुलुकहरू युगान्डा, तान्जानियालगायतबाट मगाउँदा भने प्रतिकिलोको ६ सय रुपैयाँसम्म पनि पर्न जान्छ । सोही मूल्यअनुसार खानाको दरभाउ पनि बढाउनुपर्ने बाध्यता रहेको श्रेष्ठको भनाइ छ ।
एभोकाडोमा सामान्यतया ४ सयदेखि ३ हजार रुपैयाँसम्मका खानाका परिकारहरू छन् । सामान्य बजारभाउभन्दा थोरै महँगो रहेको श्रेष्ठले स्विकारे । यद्यपि, स्वस्थ शरीरका लागि स्वस्थ खाना नै रोज्न उनको अनुरोध छ । भन्छन्, ‘सस्तो खाना खाएर स्वास्थ्य बिग्रियो भने उपचारमा धेरै खर्च हुन सक्छ । त्यसैले थोरै महँगो तिरेरै भए पनि राम्रो र गुणस्तरीय खाना खाएर स्वास्थ्य राम्रो बनाउनु नै उत्तम हो ।’ उनका अनुसार गुणस्तरीय खानामा शुल्क कम गर्छु भन्ने प्रयास गरे पनि त्यसमा सम्झौता गर्न सकिने अवस्था छैन ।
००



Leave a Reply