वान लेग डान्सरको दृढता


उनी हुन्, सीता सुवेदी । चितवन, मेघौलीमा जन्मिएकी सीता सानैदेखि कलात्मक रुचि राख्थिन् । गीत, सङ्गीत र नृत्य उनको प्रिय संसार थियो । परिवारले पनि उनलाई प्रोत्साहन गथ्र्यो । तर, १२ वर्षको उमेरमै बोनम्यारो क्यान्सरले उनको सुन्दर जीवनलाई अनपेक्षित मोडमा ल्याइदियो । क्यान्सरसँगको सङ्घर्षदसैँको समय थियो । सीता आफ्ना बहिनीहरूसँग साइकलमा टीका लगाउन मामाघर जाँदै…

उनी हुन्, सीता सुवेदी । चितवन, मेघौलीमा जन्मिएकी सीता सानैदेखि कलात्मक रुचि राख्थिन् । गीत, सङ्गीत र नृत्य उनको प्रिय संसार थियो । परिवारले पनि उनलाई प्रोत्साहन गथ्र्यो । तर, १२ वर्षको उमेरमै बोनम्यारो क्यान्सरले उनको सुन्दर जीवनलाई अनपेक्षित मोडमा ल्याइदियो ।

क्यान्सरसँगको सङ्घर्ष
दसैँको समय थियो । सीता आफ्ना बहिनीहरूसँग साइकलमा टीका लगाउन मामाघर जाँदै थिइन् । घुँडामुनि हल्का सुन्निएको महसुस गरिन् । त्यो खासै ठूलो समस्या ठानिनन् । तर, समय बित्दै जाँदा त्यो सुन्निने क्रम बढ्दै गयो । चिकित्सकहरूसमक्ष पुगिन् । थुप्रै परीक्षणपछि बल्ल भरतपुर क्यान्सर अस्पतालमा बोनम्यारो क्यान्सर भएको पुष्टि भयो ।
चिकित्सकहरूको सल्लाह थियो— ‘तिमी बाँच्न चाहन्छ्यौ भने खुट्टा गुमाउनुपर्छ ।’ यो सुन्दा उनी स्तब्ध भइन् । अङ्कलले बाँच्न त खुटा काट्नैपर्ने भनेपछि बल्ल मानेकी थिइन् । नृत्यमा रमाइरहेकी १२ वर्षीया बालिकाले एउटा खुट्टा गुमाउनुपर्ने कुरा सोच्न पनि गाह्रो थियो । किमोथेरापी (औषधि) दिइरहँदा आमाले निराश हुँदै भनिन्, ‘तिमी त मछ्र्यौ रे !’ तर, सीता दृढ थिइन्, ‘मर्छु भन्ने मलाई पटक्कै लागेको छैन !’
खुट्टा काट्ने निर्णय सहज थिएन । नाच्न नपाउने भय थियो । अप्रेसनअघि धीत नमरुन्जेल निरन्तर नाचिन् । त्यो उनको आत्माभित्रको एउटा विद्रोह थियो— ‘अब मलाई नाच्न दिइँदैन होला, तर कम्तीमा आज त मनभरि नाचौँ !’

आशाको पुनर्जन्म
किमो दिइरहँदा हस्पिटलमा उनले पारिजातकी बहिनी सुकन्या वाइबालाई भेटिन् । सुकन्याका श्रीमान् कामरेड निर्मल लामालाई घाँटीको क्यान्सर भएको थियो । उपचारको क्रममा भरतपुर क्यान्सर हस्पिटलमै भर्ना गरिएको थियो । सीताको नृत्यमोहलाई सुकन्याले जीवन्त गराइदिइन् । असम्भव केही छैन, प्रयास र मेहनत गर्नुपर्छ, सम्भव छ भन्दै सीतालाई आशावादी बनाउँदै भनिन्, ‘भारतमा त एक खुट्टाले नृत्य गर्ने हिरोइन छिन् नि ।’ सुकन्याका प्रेरित शब्द सीताका लागि प्रेरणा र ऊर्जा बन्यो । नृत्यप्रतिको मोहलाई फेरि जीवन्त बनायो ।
सुकन्यालाई उनी ममी भनेर सम्बोधन गर्थिन् । कृत्रिम खुट्टा राख्न सकिन्छ भन्ने कुरा पनि सुकन्याले नै जानकारी दिइन् । जब सुकन्याले काठमाडौँमा कृत्रिम खुट्टा राख्न सकिने र त्यसपछि सहजै हिँड्न पनि मिल्छ भनिन्, सीताको मन फुरुङ्ग भयो ।
काठमाडौँमा खुट्टा बनाउँदा उनी हरेकपल्ट सुकन्याको घरमै बस्थिन् । अहिले उनले कृत्रिम खुट्टा राखेको २४ वर्ष भइसकेको छ ।
खुट्टा गुमाएको एक वर्षपछि उनले कृत्रिम खुट्टा लगाइन् । केही महिनासम्म त्यो नयाँ खुट्टासँग तालमेल मिलाउन सङ्घर्ष गर्नुप¥यो । झन्डै पाँच किलोको भारी खुट्टाले उचाल्नुपथ्र्यो । उनको तिघ्राको मासु लुछ्थ्यो, घाउ बनाउँथ्यो, कहिलेकाहीँ त रगतसमेत तर्तरी बग्थ्यो । तर, ती सबै पीडा सहेर पनि उनले कहिल्यै हार मानिनन् । कृत्रिम खुट्टा लगाउन छाडिनन् ।
सुकन्याकै कारणले सीतालाई ८ कक्षामा पढ्दा नै ‘हिजोआजका कुरा’ सिरियलमा अभिनय गर्ने अवसर मिल्योे । काठमाडौँमा बस्दा, सुकन्याकी छोरी विशाखा सीताकै उमेरकी थिइन्, जसले गर्दा उनीहरूमा घनिष्ठ मित्रता जम्यो । उनका छोरा निमा भने सङ्गीततर्फ झुकाव राख्थे । सँगै बसेर गीत गाएर रमाइलो गर्थे ।
सीताले एसएलसी उत्तीर्ण गरेपछि स्टाफ नर्सका लागि छात्रवृत्तिमा पढ्ने अवसर पाइन् । तर, उनलाई नर्स बन्नु थिएन । उनले त्यो अवसर अर्को साथीलाई सुम्पिइन् ।
तर, यो उनका लागि सहज भने थिएन । नृत्य र पठनपाठनको काम एकसाथ अघि बढाउँछु भन्दा घरपरिवारबाट नाच्न दिने कुरा भएन । अर्थात् घरपरिवारदेखि उनले अनुमति पाइनन् ।
नृत्य सिक्ने क्रममा सीताले तीतो अनुभव पनि सँगालेकी छिन् । एक खुट्टा नभएकै कारण कतिपय कथक गुरु उनलाई सिकाउन नै चाहँदैनथे । उनीहरू सीताबाट टाढा भए । जुन घटना सम्झँदा अहिले पनि पीडा महसुस हुन्छ ।
एसएलसीपछि उच्च शिक्षा अध्ययनका लागि भरतपुर आइन् । बल्ल उनले नृत्य सिक्ने अवसर पाइन् । प्रशिक्षण लिन सुरु गरिन् । तर, केही समयपछि अर्को अपमानजनक अनुभव भोग्नुप¥यो । एक महिनाजति सिकेपछि, उनको गुरुले खुलेरै भने, ‘दुई खुट्टा भएका धेरैले केही गर्न सकेका छैनन्, तिमी एक खुट्टाले धेरै दुःख नगर ।’ गुरुको भनाइले सीताको मन भतभती पोल्यो । तर, यही शब्दले अझ बलियो बनायो । उनले हार मानिनन् । नृत्य सिक्न खोजिन्, तर गुरुहरूले अस्वीकार गरे ।
‘दुई खुट्टाले नाच्नेलाई नै गाह्रो छ, तिमी एक खुट्टाले नाचेर के नै गर्न सक्छ्यौ ?’ तर, उनी दृढ रहिन् । आखिर नृत्य त आत्माबाट आउने भाव हो, शरीरले मात्र होइन ।
सीतालाई लाग्छ, ‘जीवन सुन्दर छ । यसमा काँडाहरू पनि हुन्छन्, तर ती काँडा हटाएर कसरी जिउने भन्ने कोसिसचाहिँ हुनुपर्छ ।’ अनेकौँ अभावका बीच नृत्याङ्गनाको रूपमा चिनाउन पाउँदा उनलाई जीवन साँच्चै सुन्दर लाग्छ ।

सङ्घर्षको बीचमा अवसर
काठमाडौँमा अपाङ्गतासम्बन्धी काम गर्ने संस्थाले कम्प्युटर, प्रिन्टिङलगायतका सीपहरू सिकाउने कार्यक्रम सञ्चालन गर्दै थियो । सीताले पनि अवसर खोज्दै फारम भरिन् । खाने–बस्ने सुविधासहितको छात्रवृत्ति पाइन् । अनि, २०६३ सालमा उनी काठमाडौँ आइन् ।
त्यहाँ उनले कम्प्युटर, अङ्ग्रेजी भाषा र सङ्गीत विषय लिएर अध्ययन गर्न थालिन् । विशेष गरी सङ्गीतमा उनको रुचि झन् गहिरिँदै गयो । जहाँ मिनु वाइबाले उनलाई सङ्गीत सिकाउँथिन् । मेहनत गर्दै जाँदा उनले कम्प्युटर विषयमा उत्कृष्ट स्थान हासिल गरिन् र पुरस्कारस्वरूप कम्प्युटर तथा प्रिन्टर उपहार पाइन् ।

कम्प्युटर सीपदेखि जागिरसम्म
सिकेका सीपहरूको सहायताले उनले एउटा ट्राभल एजेन्सीमा जागिर पाइन् । काममा उनी निपुण र लगनशील थिइन् । दिनरात परिश्रम गर्दै, कम्पनीका लागि नयाँ सम्भावनाहरू खोज्दै आफूलाई अब्बल बनाइन् ।
तर जब प्रोमोसनको अवसर आयो, उनको शारीरिक अवस्था बहाना बनाइयो । ‘एउटा खुट्टा नभएकाले माथिल्लो पदको जिम्मेवारी सम्हाल्न सक्दिनँ’ भन्ने सोचले उनलाई रोकिनुप¥यो । सम्पूर्ण परिश्रम र क्षमताको कदर नगरी केवल शारीरिक अवस्थाका आधारमा बनाइएकोमा उनको मनमा ठूलो चोट लाग्यो ।
अन्ततः उनले जागिर त्याग्ने निर्णय गरिन् । ‘मेरो क्षमताभन्दा मेरो अपाङ्गता हेरिन्छ भने म यहाँ किन बस्नु ?’ भन्ने भावनाले उनको आत्मसम्मानलाई बलियो बनायो ।
काँडाबीच पनि फूल फुल्छ
जीवनले चुनौती त थपिरह्यो । तर, उनले ती सबै चुनौतीलाई अवसरका रूपमा लिइन् । सङ्घर्षका ती दिनले उनलाई अझ मजबुत बनायो । हरेक अस्वीकृतिले आफूलाई अझ प्रमाणित गर्न प्रेरित ग¥यो । आज, नृत्य मात्र नभई दृढ आत्मबलको उदाहरण बनेकी छिन्, उनी ।
उनलाई विश्वास छ— जीवन साँच्चै सुन्दर छ । काँडाहरूले त अस्थायी पीडा दिन सक्छन्, तर ती हटाएर अगाडि बढ्ने हिम्मत भएमा हरियो बगैँचाजस्तै सुन्दर जीवन जिउन सकिन्छ ।
असंख्य चुनौती पार गर्दै जीवन अघि बढाइरहेकी उनले कला र साङ्गीतिक क्षेत्रमा पहिचान बनाएकी छिन् । उनी ललितकला क्याम्पसबाट नृत्य विषय अध्ययन गर्दै आफ्नो कला जीवनको सुरुवात गर्न थालिन् । नृत्यका प्रारम्भिक ज्ञान गुरु रवि रानाबाट सिक्न थालिन्, जसबाट नृत्यको गहिराइ र भावनामा प्रवेश गर्न मद्दत पुग्यो ।

सङ्गीत र कथकको यात्रा
गुरु धनबहादुर गोपालीसँग सङ्गीत सिक्न थालिन् र सङ्गीतका नयाँ आयामहरू पत्ता लगाइन् । सङ्गीतमा रुचि निरन्तर बढ्यो र उनी गुरु श्री केसीसँग गायन सिक्न पुगिन् । ‘श्री केसी सरसँग गायन सिक्दै र नृत्य पक्षलाई पनि समेट्दै, म आफ्नो कला जीवनलाई विस्तार गर्दै छु,’ सीता भन्छिन् ।

भविष्यका लक्ष्य
आज, सीतालाई वान लेग डान्सरका रूपमा चिनिन्छ । उनले नृत्य र गायनका माध्यमबाट समाजमा सकारात्मक प्रभाव पु¥याइरहेकी छन् । लोकदोहोरीमा आफ्नो गायन यात्रा पनि अघि बढाइरहेकी छन् । सन् २०२३ मा मिसेस नेपाल इन्टरनेसनलको उपाधि पनि जितिन् ।
उनको मुहारमा दृढ विश्वास देखिन्छ । जीवनलाई गायन र नृत्यमार्फत परिचित बनाउन चाहन्छिन् । यसका लागि धैर्य र निरन्तर मेहनत गर्दै छिन्, जसले उनलाई भविष्यमा अझ अगाडि पु¥याउनेछ ।
सीताजस्तै वान लेग डान्सरहरू अरू पनि छन् । रोमा न्यौपाने, रश्मि खरेल, मीना पुन, नीलम ढुङ्गाना, अञ्जना गुरुङ, पोखराकी सृष्टि श्रेष्ठलगायत । तर, नृत्य सिकेर लागेका र निरन्तरता दिइराखेका वान लेगहरू भने छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *