ज्ञानबिना सेयरमा लगानी गर्नु जुवा खेले बराबर नै हो – संजोग कोइराला


नेपालको सेयर बजारप्रति आमरूपमा चासो र आकर्षण बढिराखेको छ । झन्डै ६७ लाख त डिम्याट खाता नै खुलिसकेका छन् । तथापि, यो विकासको चरणमा छ र अत्यन्त उतारचढावका बीच छ । सानो कुनै हल्ला र घटनाले कति बेला यो बजार माथि पुग्छ र कति बेला पहिरो जान्छ, यसै भन्न सकिन्न । यो अवस्थामा यस पटक…

नेपालको सेयर बजारप्रति आमरूपमा चासो र आकर्षण बढिराखेको छ । झन्डै ६७ लाख त डिम्याट खाता नै खुलिसकेका छन् । तथापि, यो विकासको चरणमा छ र अत्यन्त उतारचढावका बीच छ । सानो कुनै हल्ला र घटनाले कति बेला यो बजार माथि पुग्छ र कति बेला पहिरो जान्छ, यसै भन्न सकिन्न । यो अवस्थामा यस पटक हामीले सेयर विश्लेषक संजोग कोइरालासँग नेपाली सेयर बजार र यसका जोखिमबारे कुराकानी गरेका छौँ । प्रस्तुत छ, सम्पादित अंश –

नेपालको सेयर बजारलाई कसरी बुझ्ने ? नयाँ लगानीकर्ताले बुझ्ने गरी सरल भाषामा बताइदिनुस् न ।
सेयर बजार भन्नाले कुनै कम्पनीको सानो हिस्सा किनबेच गर्ने ठाउँ हो र सर्वसाधारणलाई ती कम्पनीको हिस्सामा लगानी गर्ने अवसर हो । तपाईंले जब सेयर किन्नुहुन्छ, त्यो कम्पनीको सानो मालिक बन्नुहुन्छ । नेपालको सेयर बजार भनेको नेपालमा सूचीकृत कम्पनीहरूको स्वामित्वको हिस्सा किनबेच गरिने एउटा प्लेटफर्म हो । यो त्यस्तो ठाउँ हो जहाँबाट कम्पनीहरूले आफ्नो पुँजी सङ्कलन गर्न सक्छन् भने लगानीकर्ताले चाहिँ यहाँबाट जानकार भई लगानी गरेमा सम्पत्ति सिर्जना गर्न सक्छन्

तर नबुझीकन, जस्तोसुकै कारणले यो बजारमा प्रवेश गरियो भने भएको सम्पत्ति पनि गुम्न सक्छ । जति राम्रो कम्पनीमा लगानी गर्छौं, त्यति नै राम्रो प्रतिफल पाउने सम्भावना हुन्छ । सेयर बजार आर्थिक गतिविधिको ऐनाजस्तो हो । यहाँको उतारचढावले देशको लगानी, रोजगारी र आर्थिक उत्साहलाई पनि देखाउँछ ।

एकथरी त सेयर बजारलाई जुवा हो भन्छन्, सही नै हो ?
हो, कतिपयले सेयर बजार ‘जुवाजस्तै हो’ भन्ने धारणा राख्नुहुन्छ । तर, वास्तवमा बुझ्नुपर्ने कुरा के हो भने जुवा भनेको शुद्ध रूपमा भाग्यमा आधारित हुन्छ, जहाँ नतिजा तपाईंको नियन्त्रणबाहिर हुन्छ । तर, सेयर बजारचाहिँ बुझेर, सिकेर, तथ्यमा आधारित विश्लेषण गरेर गरिने गम्भीर लगानी हो । यहाँ कम्पनीहरूको वित्तीय अवस्था, व्यावसायिक सम्भावना, बजारको प्रवृत्ति र अर्थतन्त्रको स्थिति अध्ययन गरेर निर्णय लिइन्छ । तपाईंले जति राम्रो अध्ययन र अनुसन्धान गर्नुभयो, त्यति नै सफल हुने सम्भावना बढ्छ । हो, यदि कसैले बिना जानकारी, बिनाविश्लेषण अरूले के भने, त्यसैको भरमा सेयर किन्छ भने त्यो व्यवहार भने साँच्चिकै ‘जुवा खेलेको’ जस्तै हुन्छ । तर, जब तपाईंले योजना, ज्ञान र विवेकका साथ लगानी गर्नुहुन्छ भने जुवा होइन । तपाईंले यसमा कसरी प्रवेश गर्नुभयो भन्ने कुराले यो ‘लगानी’ हो कि ‘जुवा’ भन्ने छुट्ट्याउँछ ।

एक वर्षदेखि बुलिस ट्रेन्ड भनिए पनि बजारले किन गति नलिएको हो ? अहिलेको ट्रेन्ड के हो, बुलिस नै हो कि बेरिस ट्रेन्ड सुरु भइसकेको हो ?
गति नलिएको होइन, लिएर फेरि धेरै कारणले गर्दा लगानीकर्ताको आत्मविश्वास र मानसिकतामा फरक परेकाले आफ्नो बुलिस–यात्रा जारी राख्न नसकिरहेको जस्तो लाग्छ मलाई । जसरी विभिन्न राजनीतिक कारण, कहिले एकदम महत्वपूर्ण पद जस्तो— गभर्नरको पद, कहिले सेबोनको अध्यक्षजस्ता संवेदनशील पदहरू खाली बस्नु, अदालतको मुद्दा चल्नु, नियुक्तिमा, देशमा आन्दोलनको माहोल हुनु, देश ग्रे लिस्टमा पर्नुलगायतका कारणहरूले बजारको लयलाई रोकिदिएर लगानीकर्ताको आत्मविश्वास घटाएको छ । बियरिस ट्रेन्ड नै सुरु भएको भनेर भन्न मिल्ने आधारहरू छैनन् ।

तपाईंको विचारमा अहिले लगानीकर्ताले कुन क्षेत्रमा बढी लगानी गर्नु उचित हुन्छ ? जस्तो— हाइड्रोपावर, फाइनान्स, बैंक वा अरू केमा बढी उपयुक्त हो ?
लगानी गर्ने क्षेत्र र तरिका व्यक्तिको जोखिम लिने क्षमता, लगानीको उद्देश्य र बुझाइअनुसार फरक पर्न सक्छ । त्यसैले ठ्याक्कै ‘यो क्षेत्रमै लगानी गर्नुपर्छ’ भन्ने निश्चित कुरा भन्न मिल्दैन । तर, धेरै लगानीकर्ताले कुन क्षेत्र उपयुक्त छ भन्ने कुरा सूचकाङ्कको प्राविधिक चार्टहरूको विश्लेषण, क्षेत्रगत आधारभूत सूचना र विश्लेषण, क्षेत्रगत रोटेसन चार्ट आदिको आधारमा पत्ता लगाउने प्रयास गर्न सक्छन् । यी उपायहरूको प्रयोगले बजारको गति, वित्तीय प्रदर्शन र आगामी सम्भावनाहरूको विश्लेषण गर्न सहयोग पुग्छ ।

बैंकिङ तथा वित्तीय क्षेत्र किन उठ्न सकिरहेको छैन ?
मेरो विचारमा, बैंकिङ क्षेत्र अहिले उठ्न नसक्नुको पछाडि केही महत्वपूर्ण कारणहरू छन् । प्रमुख कारणहरूमध्ये पहिलो भनेको, बैंकहरूको हाल बढ्दो खराब कर्जा हो, जसले वित्तीय संस्थाहरूको स्थिरता र विश्वासमा नकारात्मक असर पारेको छ । दोस्रो, ब्याजदरको प्रतिस्पर्धा, अहिले घट्दो ब्याजदरका कारण बैंकको मुनाफामा दबाब परिरहेको छ । त्यस्तै, विभिन्न राजनीतिक अस्थिरता र नेपाल राष्ट्र बैंकद्वारा भएका नियामक परिवर्तनहरूले पनि बैंकहरूको गतिविधिमा प्रभाव पु¥याइरहेका छन् ।
त्यस्तै, बैंकिङ क्षेत्रका कम्पनीहरूको पुँजी धेरै हुनुका साथै बजारमा सूचीबद्ध सेयरहरूको परिमाण पनि बढी भएकाले मूल्य अलिकति मात्र बढ्दा पनि आपूर्ति तुरुन्तै बढ्ने देखिन्छ । यसैले, अल्पकालीन अवधिमा मूल्यमा ठूलो उछाल ल्याउन बैंकिङ सेयरहरूलाई अन्य साना पुँजी भएका कम्पनीहरूको तुलनामा केही कठिन हुन्छ । तर, दीर्घकालीन दृष्टिकोणले हेर्दा, हालको मूल्यलाई सस्तो मान्न सकिन्छ र दीर्घकालीन लगानीकर्ताका लागि यो एक राम्रो अवसर पनि बन्न सक्छ ।

हाइड्रोपावरमा लगानीकर्ताको भविष्य कस्तो हुन्छ ?
नेपालमा निश्चय नै जलविद्युत्को प्रबल सम्भावना छ । तर त्यसको मतलब सबै जलविद्युत् कम्पनीको भविष्य उज्यालो नै हुन्छ भन्नेचाहिँ होइन । जलविद्युत्को भविष्य कस्तो हुने भन्ने कुरा प्रतिमेगावाट लागत, कुल निर्माणमा लागेको समयजस्ता कुराले पनि निर्धारण गर्छ । साधारणतया प्रतिमेगावाट करिब १७ करोड रुपैयाँसम्म लागत लागेर निर्माण भएका जलविद्युत् परियोजनालाई लागतका हिसाबले प्रभावकारी मान्न सकिन्छ । यस्ता कम्पनीको ‘बुक भ्यालु’ सकारात्मक हुने गर्छ र बुक भ्यालु १ सय रुपैयाँभन्दा माथि भएका जलविद्युत् कम्पनीहरू आधारभूत रूपमा बलिया देखिन्छन् । तर, बजारको हावामा चलेर, राम्रो आधारभूत पक्ष नभएका जलविद्युत् कम्पनीहरूमा पिई अनुपात धेरै हुँदा लगानी गर्नु खासै उचित नहुन पनि सक्छ । तर, यदि ट्रेडिङ गर्ने हिसाबले हेर्ने हो भने कम्पनी राम्रो छ कि नराम्रो भन्ने कुराले खासै फरकचाहिँ नपर्ला ।

खेलाडी लागेको सेयर अप्राकृतिक बढ्छ भन्ने हल्ला पनि हुन्छ । के हो यो खेलाडी लागेको भनेको ? सेयरमा हुने म्यानुपुलेसनबारे पनि केही बताइदिनुहोस् ।
खेलाडी भनेको के त ? जसरी खेलाडीले खेल खेल्छ, त्यसरी नै सेयर बजारमा पनि बजार बढेको वा घटेको देख्दा कहिलेकाहीँ त्यही ‘बढाउने–घटाउने खेल’ जस्तो लाग्ने गर्छ । बजारमा कहिलेकाहीँ केही यस्तो देखिन्छ— जस्तै, बजारमा थोरै सेयर (कित्ता) खुलामुक्त रूपमा उपलब्ध भएका (लोक क्याप), आधारभूत पक्ष राम्रो भएका (फन्डामेन्टली बलियो), तर अझै ‘लक इन पिरियड’ खुलेका छैनन् भनेका सेयरहरू अस्वाभाविक रूपमा चलिरहेका हुन्छन् । यस्तो देख्दा लाग्छ, ‘यो त सायद खेलाडीले चलाएको सेयर हो !’ भनेर बुझ्न सकिन्छ ।
सेयर बजारमा मूल्यलाई जानाजान हेरफेर गर्ने, गलत हल्ला फैलाउने वा कृत्रिम रूपमा सेयरको मूल्य बढाउने–घटाउनेजस्ता हर्कतहरूलाई मार्केट म्यानुपुलेसन भनिन्छ र यस्ता काम गैरकानुनी हुन्छन् । तर, कानुनले प्रतिबन्ध लगाए पनि यस्तो कहिल्यै हुँदैन भन्न सकिँदैन ।
संसारभरका बजारहरूमा पनि यस्ता किसिमका गतिविधि हुने गरेका तथ्याङ्कहरू पाइन्छन् । यस्ता हर्कत गर्न प्रयोग गरिने केही सामान्य तरिकाहरू छन् । जस्तै— पम्प एन्ड डम्प, जसमा पहिला कुनै सेयरको मूल्य हल्ला फैलाएर कृत्रिम रूपमा बढाइन्छ, अनि मूल्य बढेपछि सेयर बेचेर नाफा कमाइन्छ । अर्को हो, स्पुफिङ, जसमा नक्कली अर्डर राखेर अरू लगानीकर्तालाई भ्रममा पारिन्छ, तर ती अर्डरहरू अन्तिम समयमा खारेज गरिन्छ । सर्कुलर ट्रेडिङ भन्ने विधिमा चाहिँ सेयर आफू वा आफ्नै नजिकका व्यक्तिको नाममा बारम्बार किनबेच गरिन्छ, ताकि सेयरमा चहलपहल देखियोस् । अनि इन्साइडर ट्रेडिङमा गोप्य जानकारी (जुन सर्वसाधारणलाई उपलब्ध हुँदैन) को फाइदा उठाएर सेयर किनबेच गरिन्छ । यी सबै उपाय बजारलाई अस्वाभाविक रूपमा चलाउने खेल हुन्, जसले सामान्य लगानीकर्तालाई नोक्सान पु¥याउन सक्छ । त्यसैले यस्ता हर्कतबाट सतर्क रहन जरुरी हुन्छ ।

यसखाले खेल भइरहँदा सेयर बजारका नियामक संस्थाहरूले भनेजसरी काम गर्न नसकेका हुन् ? नेपाली सेयर बजारलाई चुस्त बनाउन नेपाल धितोपत्र बोर्डको भूमिका कस्तो छ ?
नियामक निकायहरूले कामै गर्न सकेनन् भन्नेचाहिँ भन्न मिल्दैन जस्तो लाग्छ । किनभने यस्ता निकायहरूको जिम्मेवारी निकै फराकिलो हुन्छ । उनीहरूले आइपिओ जारी गर्ने प्रक्रिया, मनी लाउन्डरिङ रोकथाम, ब्रोकर नियमनदेखि लिएर लगानीकर्तालाई सचेत बनाउने कार्यक्रम सम्मका काम गर्ने गर्छन् । हो, केही कुरामा ढिलासुस्ती देखिएको हुन सक्छ, तर त्यसो भन्दैमा यी निकायहरूले काम नै गरिरहेका छैनन् भन्नु अन्याय हुन जान्छ । जस्तै, धितोपत्र बोर्डले पनि धेरै महत्वपूर्ण काम गर्न सक्छ । बजारलाई स्वस्थ र पारदर्शी बनाउने उद्देश्यले लगानीकर्ता र कम्पनीहरूका डेटा सुरक्षित राख्ने, कोही अनैतिक कार्यमा संलग्न भएको आशङ्का लागेमा छिटो कारबाही प्रक्रिया अघि बढाउनेजस्ता कार्यहरू बोर्डले सजिलै गर्न सक्छ । मुख्य कुराचाहिँ नियमनलाई अझ प्रभावकारी, प्राविधिक र द्रुत बनाउँदै जानु हो, जसबाट सम्पूर्ण सेयर बजारमा विश्वास बढ्छ ।

अहिले कलेज पढ्ने उमेरका टिनेजर, युवापुस्ता पनि सेयरमा आकर्षित छ, तिनलाई तपाईंको सुझाव के हुन्छ ?
अहिले कलेज पढ्ने उमेरका टिनेजर र युवापुस्ता पनि सेयर बजारमा आकर्षित भएका छन्, जुन एकदमै राम्रो कुरा हो । अहिले धेरै विद्यार्थीले आफ्नो पकेट खर्चबाट आइपिओ भर्न थालेका छन् । यो सेयर बजारमा लगानी गर्ने पहिलो कदम हो । नयाँ लगानीकर्तालाई मेरो सुझाव यस्तो हुनेछ – आइपिओमा लगानी सुरु गर्नुहोस् । सानो रकमबाट आइपिओ भर्नुहोस् । कम्पनीहरूले पहिलो पटक आफ्नो सेयर सार्वजनिक गर्नका लागि बेच्ने गर्छन्, जुन केवल १ सय मूल्यमा प्राप्त गर्न सकिन्छ । यसबाट छोटो समयमा राम्रो फाइदा कमाउन सम्भव छ ।
धैर्य राख्नुहोस् । सानो उमेरदेखि नै लगानी सुरु गर्नाले तपाईंसँग राम्रो समय छ र राम्रो रिटर्न प्राप्त गर्ने अवसर पनि छ । सेयर बजार छोटो समयमा धनी बन्ने माध्यम होइन । दीर्घकालीन सोच राखेर लगानी गर्नु नै अत्यन्त महत्वपूर्ण हुन्छ ।

ज्ञान हासिल गर्नुहोस् । सानो–सानो रकम लगानी गरेर अनुभव प्राप्त गर्नुहोस् । सेयर बजारमा लगानी गर्नुअघि त्यसको बारेमा अध्ययन–अनुसन्धान गर्नु अत्यन्त महत्वपूर्ण छ । तपाईंले कस्तो कम्पनीको सेयर किन्ने हो, त्यसको बारेमा स्पष्ट बुझाइ राख्नु आवश्यक छ । यसका लागि फन्डामेन्टल एनालाइसिस र टेक्निकल एनालाइसिसको अध्ययन गर्नुहोस् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *