हिमालयन आर्ट फेस्टिवल २०२५: आठौं संस्करण सुरु हुँदै


नेपाली समकालीन कला र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित हिमालयन आर्ट फेस्टिवल २०२५ को आठौं संस्करण साउन २३ गते शुक्रबारदेखि नेपाल आर्ट काउन्सिल, बबरमहलमा सुरु हुँदैछ । सप्ताहव्यापी यो कला महोत्सव साउन २९ गतेसम्म चल्नेछ। ई–आर्ट्स नेपालको आयोजनामा हुन गइरहेको यो महोत्सव विगत २०१७ देखि हरेक वर्ष निरन्तर रूपमा आयोजना हुँदै आएको छ । सन् २०१०…

नेपाली समकालीन कला र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित हिमालयन आर्ट फेस्टिवल २०२५ को आठौं संस्करण साउन २३ गते शुक्रबारदेखि नेपाल आर्ट काउन्सिल, बबरमहलमा सुरु हुँदैछ । सप्ताहव्यापी यो कला महोत्सव साउन २९ गतेसम्म चल्नेछ।

ई–आर्ट्स नेपालको आयोजनामा हुन गइरहेको यो महोत्सव विगत २०१७ देखि हरेक वर्ष निरन्तर रूपमा आयोजना हुँदै आएको छ । सन् २०१० मा स्थापना भएको ई–आर्ट्स नेपाल एक अनलाइन आर्ट ग्यालरी हो, जसले नेपाली समकालीन कलाकारहरू, संग्राहकहरू र कला पारखीहरूलाई एउटै प्लेटफर्ममा जोड्दै नेपाली कलालाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्दै आएको छ।

समकालीन नेपाली कलाका १४० भन्दा बढी सिर्जनाहरू एकै छानामुनि
यस वर्षको फेस्टिवलमा १४० भन्दा बढी समकालीन नेपाली कलाकारहरूको विविध माध्यममा आधारित उत्कृष्ट कलाकृति – पेन्टिङ, पौभा, मूर्तिकला, प्रिन्ट मेकिङ, सेरामिक्स र इन्स्टलेशनहरू प्रस्तुत गरिनेछन् ।

विशेष सम्मान, छात्रवृत्ति र संवाद
फेस्टिवलको उद्घाटन समारोहमा वरिष्ठ कलाकार तथा डिजाइनर श्यामदास अशान्तलाई विशेष सम्मान गरिनेछ । साथै, दिवंगत कलाकार प्रशान्त श्रेष्ठको सम्झनामा स्थापना गरिएको “प्रशान्त स्कलरशिप अवार्ड २०२५” पनि प्रदान गरिनेछ, जसले सिर्जनात्मक क्षमतामा उत्कृष्टता देखाउने युवा कलाकारहरूलाई थप प्रोत्साहन प्रदान गर्नेछ।

यस स्कलरशिप कार्यक्रमबाट फाइन आर्ट्स कलेज, सिर्जना कलेज अफ फाइन आर्ट्स र काठमाडौँ विश्वविद्यालयका प्रतिभाशाली विद्यार्थीहरू लाभान्वित हुनेछन्। प्रशान्त श्रेष्ठ नेपाली समकालीन कला क्षेत्रमा गहिरो प्रभाव छाडेका अग्रणी व्यक्तित्व थिए, जसले सन् १९९४ मा कस्ठमण्डप आर्टिस्ट्स ग्रुपको स्थापना गरेका थिए।

बालबालिकादेखि कला चिन्तकसम्मका लागि बहुपक्षीय कार्यक्रम
फेस्टिवल केवल दृश्य प्रदर्शनीमा सीमित नरहेर बहुआयामिक कार्यक्रमहरूको समायोजन हुनेछ। साउन २४ गते (शनिबार) बालबालिकाहरूका लागि विशेष कला कार्यशाला आयोजना गरिनेछ, जसको समन्वय कलाकार सम्झना राजभण्डारीले गर्नेछिन्।

साउन २५ गते (आइतबार) भने ‘कलामा संवाद’ विषयक प्यानल छलफल आयोजना हुनेछ, जसमा लेखक तथा अनुसन्धानकर्ता ऋषि अमात्यको संयोजनमा कलाकार तथा सर्जकहरूको विचार आदान–प्रदान हुनेछ । वक्ताहरूमा सोजन प्रजापति (काठमाडौँको कथा), कमल के. महर्जन (चित्रहरू) र तिषा श्रेष्ठ (कलाकार/प्रिन्टमेकर) सहभागी हुनेछन्।

फेस्टिवलका उद्देश्यहरू
नेपाली समकालीन कलालाई स्वदेश तथा विदेशमा प्रवद्र्धन गर्नु, वार्षिक कलामहोत्सवको स्थायित्व कायम गर्दै अन्तर्राष्ट्रिय स्तरको कला प्लेटफर्म विकास गर्नु, कर्पोरेट क्षेत्रलाई कलामा लगानी गर्न प्रोत्साहित गर्नु । कलाकार र दर्शकबीच प्रत्यक्ष संवादमार्फत कलाको मूल्य अभिवृद्धि गर्नु ।

यो महोत्सवले नेपालभित्रका कलाकारहरूको सिर्जनालाई मात्र होइन, कलामा चासो राख्ने सर्वसाधारणदेखि व्यवसायिक संस्थासम्मलाई एकत्रित गर्दै नेपाली कलाको वृहत् चित्र उजागर गर्ने अपेक्षा गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *