बाल्यकालमा को पो चञ्चल हुँदैन र ? श्यामदास राजकर्णिकार पनि चुलबुले थिए । त्यही स्वभावका कारण साथीभाइ उनलाई ‘अशान्त’ भनी बोलाउँथे । कालान्तरमा चित्रकलाका यी साधक त्यही नामले चिनिए, श्यामदास ‘अशान्त’ ।

८७ वर्षीय यी वृद्ध कला–साधकलाई भेटेपछि उनको उपनामको सार्थकता अझ बढी प्रमाणित हुन्छ । यो उमेरमा पनि उनी एकछिन त्यत्तिकै बस्न सक्दैनन् । केही न केही गर्नैपर्छ । बढ्दो उमेरमा शरीरले पहिलेजस्तो साथ दिँदैन । तर उनीभित्रको सिर्जनात्मक आत्मा उत्तिकै चञ्चल छ ।
‘आँखाले प्रस्ट देख्छु, कानले सुन्छु, बोल्न पनि समस्या छैन । खुट्टाले चाहिँ पहिलेजस्तो साथ दिँदैन’, मङ्गलबजार महापालस्थित घरमा हालैको एक दिन भेट्दा उनी फुर्तीसाथ यसो भनिरहेका थिए । त्यस क्रममा उनले आफ्ना सिर्जनाहरू देखाए । हातैले बनाएका डिजाइन, कागजका कुनाकुनामा खिचेका रेखा, प्राप्त गरेका प्रमाणपत्र र पदकहरू देखाउँदा उनी अत्यन्त हर्षित थिए । योभन्दा पनि बढी हर्ष त उनलाई आफ्नो कलासाधनाको बिँडो छोरा भीमदास राजकर्णिकार र नाति सुभिन राजकर्णिकारले पछ्याएकोमा लाग्छ । चित्रकलाप्रति झुकाव राख्दै छोरानाति त्यही बाटो हिँडेकोमा उनी आत्मिक सन्तोष अनुभूति गर्छन् । चित्रकला उनी स्वयंका लागि पनि बाजुबाजेको विरासत नै थियो ।

बुबाको विरासत
श्यामदास वि.सं. १९९५ मा ललितपुरको हौगल बहाल टोलमा जन्मिएका थिए । उनका पिता लक्ष्मीदास राजकर्णिकार रोटीमा चित्र बनाउने कलामा माहिर थिए । नेवार समुदायमा विवाहमा सुपारी लैजाँदा र मुख हेर्ने बेलामा विशिष्ट आकृति बनेका रोटी लैजाने चलन हुन्छ । माछा, भ्यागुतो, चरा, हात्तीजस्ता जीवजन्तु र आकृतिहरूमा रोटीको डिजाइन गर्ने गरिन्छ । लक्ष्मीदास बडो कलात्मक ढङ्गले रोटीमा चित्र बनाइदिन्थे । त्यो बेला पाटनको चर्चित रोटी पसलेमध्ये उनी पनि एक थिए ।
लक्ष्मीदास केवल रोटीमा चित्र कुँद्ने शिल्पी मात्र थिएनन्, उनी एक इनोभेटर पनि थिए । उनले त्यसबेला ‘वैज्ञानिक चुलो’ को अवधारणा ल्याए । काठ, भूस र गोल तीन थरीका इन्धनबाट चल्न सक्ने त्यो माटोको चुलो निकै चर्चित भयो । त्यस्तै उनले दिलबहार नामक तमाखु पनि आफैँ बनाएका थिए, जुन स्वाद र सुगन्धमा छुट्टै मानिन्थ्यो ।
उनै लक्ष्मीदासका गुणहरू छोरा श्यामदासमा पनि सरे । बाल्यकालदेखि नै उनी एकछिन पनि शान्त बस्न सक्दैनथे । हातमा एउटा कागज मात्रै परे पनि त्यसमा केही न केही कोर्ने, चित्र बनाउने गर्थे । कलम, कागज, माटो, रङ जे पाए पनि त्यो उनका लागि सिर्जनाको माध्यम बनिहाल्थ्यो । उनको त्यो स्वभावका कारण साथीहरूले उनलाई ‘अशान्त’ भन्थे । आखिरमा, यही नाम उनको परिचय बन्यो ।
श्यामदास कति अशान्त थिए भने घर निर्माण भइरहेको कतै देखे भने, त्यहीँ पुगेर माटोको भाँडा, फलफूल, देवता–महादेव, प्रहरी, मान्छेका आकृतिहरू बनाउन थालिहाल्थे । राति उनी नेपाली कागजमा डिजाइन कोर्न थाल्थे । ती चित्रहरू आफ्नो मिठाई पसलमै राख्थे, जसले पसल आउने ग्राहकहरूको ध्यान तान्थ्यो ।
‘ओहो, तिम्रो छोरामा त अपार कला रहेछ, उसलाई जागिर लगाइदिन्छु भन्दै चित्र लिएर जान्थे । तर, न जागिरको खबर आउँथ्यो, न चित्र फर्काइन्थ्यो’, उनी पुराना दिन सम्झिन्छन्, ‘यसरी ६–७ वटा चित्र लगे ।’

श्यामदास सधैँ चित्र बनाउने सामानहरू साथमै बोकेर हिँड्थे । उनी हरेक ठाउँमा, हरेक क्षणमा कला देख्थे । प्रकृतिको सुन्दरता, मान्छेको हाउभाउ, वरिपरिको परिवेश । त्यसैले उनी भन्थे, ‘जुन ठाउँमा बसेँ, त्यहाँ केही सिर्जना गर्ने भाव मनमा आयो भने त्यो तुरुन्त कोरिहाल्नुपर्छ, त्यसलाई गुमाउन हुन्न ।’
चित्रकलाको औपचारिक शिक्षा
पाटनको गल्लीबाट सुरु कलायात्रा तब थप तिखारियो, जब उनले जुद्ध कला पाठशालामा चित्रकलाको औपचारिक शिक्षा लिन थाले । जुद्धकला पाठशाला पछि ललितकला कलेजका रूपमा चिनियो । उनी दिनहुँ पैदल पाठशाला जान्थे । पाँच वर्ष पढेर उनले त्यहीँबाट चित्रकलाको औपचारिक शिक्षा लिए । त्यो समयको शैक्षिक मापदण्डमा ‘कला कुशल’ परीक्षा एक उच्चतम उपलब्धि मानिन्थ्यो । उनले उक्त परीक्षामा उत्कृष्ट नतिजा ल्याएका थिए ।

हुलाकमा जागिरे
उनको जीवनले सधैँ एकनासको बाटो समाएन । चित्रकलाको औपचारिक शिक्षा पाँच वर्ष पूरा गरे पनि त्यसपछिका तहहरूको पढाइ छुट्यो । पढाइ छोडेर उनी जागिरे भए । उनी हुलाक सेवा विभाग, डिल्लीबजारमा कलाकारको रूपमा नियुक्त भए । वरिष्ठ कलाकार उत्तम नेपालीले जागिर छोडेपछि अशान्तले कलाकारका रूपमा त्यहाँ काम पाए ।
वि.सं. २०२० देखि २०२३ सालसम्म तीन वर्ष हुलाक सेवा विभागमा काम गर्दै उनले नेपालका लागि करिब १६ वटा हुलाक टिकटको डिजाइन तयार पारे । हुलाक टिकटहरू राष्ट्रको सांस्कृतिक प्रतिनिधित्व गर्ने माध्यम थिए । उनका डिजाइनहरू त्यसबेलाका डाकसेवामार्फत देश–विदेश फैलिएका थिए ।

वुड कार्भिङमा आर्किटेक्क
हुलाक सेवा छाडेपछि उनले काष्ठकलामा ध्यान केन्द्रित गरे । पाटन औद्योगिक क्षेत्रमा रहेको वुड कार्भिङ उद्योगमा उनी प्रमुख डिजाइनरका रूपमा कार्यरत भए । त्यहाँ उनले मुख्य रूपमा काठमा कुँदिने डिजाइनहरू कागजमा पेन्सिलमार्फत तयार गर्थे । त्यसबेला फोटोकपीको चलन थिएन, त्यसैले प्रत्येक डिजाइन यथार्थ रूपमै चित्रण गर्नुपर्ने हुन्थ्यो । उनका लागि त्यो प्रक्रिया श्रमसाध्य भए पनि सिर्जनात्मक रूपमा सन्तोषजनक थियो ।
उनी भन्थे, ‘आजभोलि त फोटोकपीले धेरै कुरा सजिलो बनायो होला, तर यही सजिलोपनकै कारण मौलिक कामको खस्कँदो अभ्यास भएको हो कि भन्ने लाग्छ ।’ उनले परम्परागत नेवारी काष्ठकलाका शैलीहरू मात्रै होइन, आधुनिक डिजाइनहरू पनि आत्मसात् गरे । टुँडिखेलदेखि दरबार स्क्वायरसम्म, धेरै ऐतिहासिक स्थलहरूमा रहेका झ्याल, ढोका, टाकरी आदिका नमुनाहरू उनकै हातबाट खिचिएका डिजाइनमा आधारित थिए ।

उनी बहुपक्षीय कलाकार थिए । उनले कभर डिजाइन, किताबका इलेस्ट्रेसन, पोस्टर कला र खेलकुदसम्बन्धी भिजुअल डिजाइनहरूमा समेत उत्तिकै योगदान दिएका छन् । राष्ट्रिय खेलकुद परिषद्का लागि उनले धेरै पोस्टर डिजाइन गरेका थिए । त्यस्तै, पुस्तकहरूको आवरण डिजाइन र इलस्ट्रेसन पनि उनी नै बनाउँथे ।
खासगरी १९७० र ८० को दशकमा रङ्गशालामा खेल हुने बेलामा बनाइने विशाल पोस्टरहरू पनि उनैले बनाउँथे । त्यस्ता पोस्टरहरू भिनिस्टामा राखिन्थे र ती पोस्टरले खेलाडी, आयोजक र दर्शकहरूलाई स्वागत गर्थे । सन् १९७४ मा काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताका सबै पोस्टर, ब्यानर र प्रचार सामग्रीको सम्पूर्ण कलात्मक रचनाका निम्ति जिम्मेवारी श्यामदास अशान्तकै काँधमा थियो ।
अन्तर्राष्ट्रिय स्तरको पुरस्कार
श्यामदासको कलात्मक जीवनमा एउटा गौरवपूर्ण उपलब्धि हो, अन्तर्राष्ट्रिय स्तरको झन्डा डिजाइन प्रतियोगितामा प्राप्त पहिलो स्थान ।
उक्त प्रतियोगिता एसियाली उत्पादकत्व सङ्गठन (APO – Asian Productivity Organization) द्वारा आयोजित गरिएको थियो । यो सङ्गठन एसिया–प्रशान्त क्षेत्रका उत्पादन र श्रमक्षमता विकासमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था हो, जसमा सदस्य राष्ट्रहरूबाट प्रतिनिधित्व हुने गर्छ । सो झन्डा डिजाइन प्रतियोगितामा २७ देशका कलाकारहरू सहभागी थिए, तर विजयी ठहरिए नेपालका श्यामदास । उक्त प्रतियोगितामा प्रथम भई उनले ३ हजार अमेरिकी डलर पुरस्कारस्वरूप प्राप्त गरे । त्यो बेला एक डलरको मूल्य १२ रुपैयाँ ५० पैसा थियो ।

वि.सं. २०२० सालमा आयोजित राजकीय प्रज्ञा–प्रतिष्ठानको ललितकला प्रदर्शनीमा उनले ‘बज्रवाराही’ शीर्षकको चित्रमार्फत प्रथम पुरस्कार प्राप्त गरे । यो चित्र उनकै मौलिक दृष्टिकोण र सशक्त रेखाचित्रको परिणाम थियो, जुनले परम्परागत धार्मिक भावनालाई आधुनिक दृष्टिकोणबाट प्रस्तुत गरेको थियो । त्यो समयका लागि यस्तो प्रस्तुति निकै साहसी र नवीन थियो । तर, त्यही चित्र पछि आएर केही नाम चलेका कलाकारहरूद्वारा कपी गरिएको देख्दा उनी अत्यन्त खिन्न भए । त्यो चित्र मात्र होइन, उनका अन्य थुप्रै चित्रबाट उनको नाम मेटाएर अरूको नाम राखिएको वा दस्तखत नै मेटेर प्रदर्शनीमा लगिएको उनले आफ्नै आँखाले देखेका छन् । उनी भन्छन्, ‘नाम त किन लिनु, तर नाम चलेका प्रतिष्ठित भनिएकाहरूले मेरो चित्रहरूको कपी गरेको देख्दा दुःख लाग्छ । एउटा कलाकारका लागि त्योभन्दा पीडादायी कुरा के हुन सक्छ ?’
त्यसपछि पनि उनका कलात्मक सफलता जारी रहे । उनले वि.सं. २०२७ र २०३२ मा नेपाल ललितकला संस्थाले आयोजना गरेको प्रदर्शनीमा भाग लिएर पुनः प्रथम पुरस्कार हासिल गरे । यी सफलताले उनका सिर्जनात्मक क्षमतामा समाजको विश्वास अझ प्रगाढ बनायो ।
त्यस्तै, वि.सं. २०२३ तिर तत्कालीन राजा महेन्द्रको ४६ औँ जन्मोत्सवका अवसरमा आयोजना गरिएको राष्ट्रिय कला प्रदर्शनीमा उनले दोस्रो पुरस्कार जिते । श्यामदासको प्रतिभा केवल चित्रकला वा डिजाइनमै सीमित थिएन । उनले वि.सं. २०२८ मा टक्सार विभागद्वारा आयोजित दस पैसे सिक्का डिजाइन प्रतियोगितामा प्रथम स्थान प्राप्त गरे । त्यो सिक्काको डिजाइनमा उनले बीचमा गाईको आकृति राखेर, वरिपरि नेपाली समाजको जीवन र कृषिप्रतिको आश्रय झल्काउने ‘बढी अन्न उब्जाऔँ’ भन्ने सन्देश समेटेका थिए ।
मदनकृष्णको पहिलो क्यासेटको डिजाइन
धेरैलाई थाहा नहुन सक्छ, हास्यकलाकारका रूपमा चर्चित मदनकृष्ण श्रेष्ठको सुरुवातको परिचय नेपालभाषाका एक प्रख्यात गायकका रूपमा भएको हो । उनको पहिलो सङ्गीत एल्बम थियो— मदनकृष्णयाः म्येतः । यस एल्बमको कभर, जसले गायकको साङ्गीतिक पहिचानलाई भिजुअल रूपमा दर्शकसामु प्रस्तुत गर्ने महत्वपूर्ण भूमिका खेल्यो, त्यही कभरको डिजाइन श्यामदासले गरेका थिए ।
मदनकृष्णले आफ्नै आत्मवृत्तान्त ‘महको म’ मा श्यामदासको सम्झना गर्दै लेखेका छन्, ‘ललितपुरका डिजाइनर श्यामदास अशान्त बडो शान्त स्वभावका थिए । उनैले नेवारी संस्कृति झल्किने गरी क्यासेट कभर डिजाइन गरिदिए ।’
नारायणहिटीदेखि चाक्सीबारीसम्म
श्यामदासको योगदान नेपाली वास्तुकला र काष्ठकलामा पनि उत्तिकै छ । नारायणहिटी दरबारको मुख्य गेटको सम्पूर्ण डिजाइन उनले गरेका थिए । विशेषतः मुख्य गेटवरिपरिका झ्याल, तोरण, स्तम्भ र अन्य वुड कार्भिङहरू उनका मौलिक परिकल्पनाहरू थिए । यी काष्ठकलामा परम्परागत नेवारी शैलीको गहिरो प्रभाव भए पनि उनले त्यसमा आधुनिकता र सन्तुलनको स्पर्श थपेका थिए, जसले दरबारलाई अझ भव्य बनायो ।
त्यस्तै लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता गणेशमान सिंहको चाक्सीबारीस्थित ऐतिहासिक घरमा प्रयोग भएका सम्पूर्ण काष्ठकलाका डिजाइनहरू पनि श्यामदासकै सिर्जना हुन् ।
चाक्सीबारीको त्यो घर नेपाली राजनीतिक इतिहासको पनि एउटा साक्षी हो— जहाँ गणेशमान सिंहले कठोर सङ्घर्षका दिन बिताए । अशान्तले त्यस घरमा परम्परागत काष्ठकला अपनाउँदै, हरेक झ्याल, ढोका, तोरणमा नेवार शिल्प परम्पराको जीवित रूप उतारे । चाक्सीबारीको काष्ठकलालाई मूर्त रूप दिनका लागि उनले बुङमतीका अनुभवी कारिगरहरूलाई काममा लगाएका थिए । बुङमती, जुन आफैँ काष्ठकलाको एक जीवित सङ्ग्रहालयसरह मानिन्छ, त्यहाँबाट ल्याइएका सिपालु हातहरूले अशान्तका डिजाइनहरूलाई जीवन्त बनाएका थिए ।

जर्मनीदेखि जापानसम्म
श्यामदासको सिर्जनात्मक दृष्टिकोण र मौलिक डिजाइनले अन्तर्राष्ट्रिय स्तरमै नेपाललाई चिनाउने काम ग¥यो— सांस्कृतिक कूटनीतिका मौन दूतझैँ । त्यही उज्यालो अध्यायको प्रमाण हो, सन् १९८३ मा जर्मनीमा आयोजना भएको इन्टरनेसनल गार्डेन एक्स्पोमा उनी सहभागी हुनु ।
उक्त अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीमा नेपालबाट प्रतिनिधित्व गर्ने अवसर पाएका उनले त्यसमा नेपाली परम्परागत काष्ठकलाको नमुना मन्दिर डिजाइन गरे । त्यो मन्दिर आजसम्म पनि जर्मनीका एउटा पार्कमा राखिएको छ ।
जापानमा पनि त्यस्तै अर्को मन्दिर आजसम्म छ— उनकै डिजाइनमा बनेको । त्यो मन्दिर केवल धार्मिक संरचना होइन, नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धको जीवित प्रतीक हो । अशान्तले त्यसमा परम्परागत नेवारी काष्ठशिल्प र पूर्वी सौन्दर्यशास्त्रको संयोजन गर्दै अन्तर्राष्ट्रिय दर्शकलाई प्रभाव पार्ने खालको कला सर्जना गरेका थिए ।
यसरी पाटनको गल्लीबाट उदाएका एक कला–साधकले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चित्रकला, काष्ठकला क्षेत्रमा एउटा बेग्लै पहिचान बनाए । तर, चञ्चले स्वाभावका श्यामदास चर्चा र मिडियाको चमकदमकबाट चाहिँ परै बसे । तिनै ‘गुमनाम’ श्यामदास ‘अशान्त’ लाई शुक्रबार (आज) इआर्ट्स नेपालले हिमालयन आर्ट फेस्टिभल २०२५ को अवसरमा सम्मान गरेको छ ।



Leave a Reply