तीजको दरमा सन्तुलित खानपान


तीज नेपाली महिलाहरूको एक प्रमुख चाड हो, जुन धार्मिक आस्थासँगै सामाजिक, सांस्कृतिक र भावनात्मक पक्षसँग जोडिएको छ । विशेषतः हरितालिका तीजमा महिलाहरू भगवान् शिवको आराधनाका साथै आफ्ना पतिको दीर्घायु र समृद्धिको कामना गर्दै निराहार व्रत बस्ने परम्परा चलिआएको छ । बदलिँदो समयसँगै अब तीजको व्रत स्वास्थ्य–सापेक्ष ढङ्गले मनाउनुपर्ने आवश्यकता महसुस हुँदै र बढ्दै गएको देखिन्छ…

तीज नेपाली महिलाहरूको एक प्रमुख चाड हो, जुन धार्मिक आस्थासँगै सामाजिक, सांस्कृतिक र भावनात्मक पक्षसँग जोडिएको छ । विशेषतः हरितालिका तीजमा महिलाहरू भगवान् शिवको आराधनाका साथै आफ्ना पतिको दीर्घायु र समृद्धिको कामना गर्दै निराहार व्रत बस्ने परम्परा चलिआएको छ । बदलिँदो समयसँगै अब तीजको व्रत स्वास्थ्य–सापेक्ष ढङ्गले मनाउनुपर्ने आवश्यकता महसुस हुँदै र बढ्दै गएको देखिन्छ ।

तीजको अघिल्लो दिन : दर खाने चलनको मिठास
तीजको अघिल्लो दिन भोलिपल्ट व्रत बस्नका लागि खानुलाई ‘दर खाने दिन’ भनिन्छ । सो दिन घरमा नाता–कुटुम्ब, दिदी–बहिनी, साथी–सँगिनीहरू भेला भएर हाँसो–ठट्टा, गीत–सङ्गीत र मीठा परिकारहरूसँगै पर्वको माहोल सुरु हुन्छ ।

दर खाने परम्परामा महिलाहरूले घ्यूमा तारेका रोटी, सेल रोटी, मासु, खीर, अचार, जुस, मौसमी फलफूल, ड्राइ फ्रुट्सजस्ता परिकारहरू मनग्य रूपमा खान्छन् । यसको मूल उद्देश्य भनेको भोलिपल्टको उपवास सजिलो पार्नु हो । अर्थात् शरीरमा ऊर्जा सञ्चय गर्नु हो, जसबाट व्रत बस्दा कमजोरी वा थकान महसुस नहोस् ।
अचेल भने दर खाने नाममा अत्यधिक चिल्लो, मसालेदार र गुलिया खानेकुराहरूप्रति मोहित हुँदा पाचनमा समस्या हुनुका साथै पेट फुल्ने वा ग्यास्ट्रिकजस्ता समस्या देखिन थालेका छन् । त्यसैले स्वाद र स्वास्थ्यबीच सन्तुलन मिलाउनु धेरै जरुरी देखिन्छ ।
स्वस्थ दरका लागि मीठा टिप्स :
चिल्लो र मसालेदार परिकार कम गर्नुहोस्, स्वादिलो तर हलुका परिकार रोज्नुहोस्, ताकि भोलि पेटले सजिलै व्रत काट्न सकोस् । प्रशस्त पानी र तरल पदार्थ पिउनुहोस् । नरिवल पानी, जुसजस्ता तरल पदार्थले शरीरलाई हाइड्रेट राख्छ ।

Coconut juice,Drink coconut water

मौसमी फलफूल र ड्राई फ्रुट्स रोज्नुहोस्, जसमा फाइबर, भिटामिन र मिनरल भरपुर मात्रामा हुन्छ, जसले लामो समयसम्म ऊर्जा दिन्छ ।

दूध वा दूधका परिकारहरू खीर, दही वा लस्सीले पाचन प्रक्रियामा मद्दत पु¥याउँछ ।
समयमै खानुहोस् । राति अबेरसम्म दर खानुभन्दा बेलुकी नै हलुका र मीठो वातावरणमा भोजन गरेर समयमै सुत्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

दर खाने दिन केवल खानेकुराको नाम मात्र होइन, यो त परिवार र सम्बन्धको मिठास बाँड्ने दिनसमेत हो । यसमा परिकारको स्वादसँगै माया, आत्मीयता र हाँसोको स्वाद मिसिएको हुन्छ, जसले तीजको वास्तविक रौनक बढाइदिन्छ ।
व्रतको दिन : निराहार कि जलपान ?
तीजको दिन महिलाहरूले भगवान् शिव–पार्वतीको पूजा गर्दै व्रत बस्ने परम्परा रहिआएको छ । परम्परागत रूपमा सो दिन बिहानै स्नान गरी सिँगारपटार गरेर पूजा–अर्चना गर्ने र बेलुकी व्रत समापन नभएसम्म निराहार अर्थात् पानीसम्म नखाई बस्ने चलन रहिआएको छ । यो कठोर नियमलाई विशेष गरी आस्थाले प्रेरित महिलाहरूले हरेक वर्ष निर्वाह गर्दै आएका छन् ।
तर सबैको स्वास्थ्य–अवस्था एउटै हुँदैन र सबैमा समान रूपले निराहार व्रत सहन सक्ने क्षमता पनि हुँदैन । गर्भवती, स्तनपान गराइरहेका आमा, मधुमेह, थाइराइड वा ब्लड प्रेसरका बिरामी र वृद्ध महिलाहरूका लागि लामो समयसम्म पानीसमेत नखाई बस्नु स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्छ । यस्तो अवस्थामा शरीरमा पानी र ऊर्जाको कमी भएर डिहाइड्रेसन, ब्लड सुगर लेभलमा असन्तुलन, टाउको दुखाइ, चक्कर, कमजोरीजस्ता समस्या देखिन सक्छन् ।

धार्मिक आस्थाको सम्मान गर्दै स्वास्थ्यलाई प्राथमिकतामा राख्नु आवश्यक हुन्छ । यदि निराहार बस्दा स्वास्थ्यमा असर पर्न सक्ने सम्भावना छ भने जलपान वा फलाहारको विकल्प रोज्न सकिन्छ । दिनभर पानी, जुस, फलफूल, दूध, सुपजस्ता हलुका र पचाउन सजिला हुने खानेकुरा सेवन गरेर पनि व्रतको भावना जोगाउन सकिन्छ । कतिपय महिलाले बिहान वा दिउँसो हलुका जलपान गरेर बेलुकीसम्म पूजा र व्रत जारी राख्ने ‘अर्ध–उपवास’ पद्धति अपनाउने गर्छन्, जसले स्वास्थ्यलाई पनि जोगाउँछ र धार्मिक भावना पनि कायम रहन्छ ।
व्रत बस्नु केवल शरीरलाई कष्ट दिने कुरा मात्र होइन, मनलाई संयम राख्ने, भक्ति र अनुशासनमा बाँधिने अवसर पनि हो । त्यसैले आफ्नो शारीरिक अवस्था र क्षमताअनुसार व्रतको स्वरूप निर्धारण गर्नु बुद्धिमानी ठहरिन्छ । आखिर, तीजको मूल सार खुसी, भक्ति र स्वास्थ्यसहितको उत्सव मनाउनु हो, आफूलाई हानि पु¥याउनु होइन ।

व्रतको सार श्रद्धा हो, न कि शरीरलाई हानि पु¥याउने कठोरता ! त्यसैले आफ्नो शरीरको अवस्था कस्तो छ, त्यसलाई बुझेर व्रत कसरी बस्ने भनी आफैँले सोच्नुपर्छ ।
व्रतपछि : तीजको पारण
तीजको व्रतको पारण विशेष महत्वको हुन्छ । पारणको बेलामा धेरै महिलाले भारी भोजन गर्छन् । खीर, पुरी, तरकारी, मिठाई आदिको सेवन गर्छन् । तर, लामो उपवासपछि अचानक भारी खाना खाँदा पेटको समस्या, ग्यास्ट्रिक वा अपच हुन सक्छ ।

पारणमा ध्यान दिनुपर्ने कुरा :
पहिलो खानेकुरा सुप, जुस वा झोलिलो परिकार बनाउनुपर्छ । र, अलि समयपछि मात्र मुख्य खाना सुरु गर्नु राम्रो हुन्छ । साथै, ताजा फलफूल, नरिवल पानी, हलुका खिचडी वा दलिया पारणको लागि उपयुक्त विकल्प हुन् ।

तीजको व्रत आस्था र परम्पराको सुन्दर प्रतीक हो । तर आधुनिक जीवनशैली र स्वास्थ्यको आवश्यकतालाई ख्याल गरेर व्रतको स्वरूपमा लचिलोपन ल्याउनु बुद्धिमानी हुनेछ । निराहार व्रत राख्दा पनि शरीरलाई सन्तुलनमा राख्न सकिने उपायहरू छनोट गरेर हामी धार्मिक कर्मलाई अझ अर्थपूर्ण र समसामयिक बनाउन सक्छौँ ।
००

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *