नयाँ पुस्ताको तीज : साडी, सेल्फी र सशक्तीकरण


तीज अब केवल निर्जल व्रत र रातो पहिरनको पर्व मात्र रहेन, यो त नयाँ पुस्ताका लागि आफ्नो कथा सुनाउने, आत्म–अभिव्यक्ति गर्ने र आफ्नै तरिकाले संस्कारलाई पुनः परिभाषित गर्ने अवसरसमेत बनेको छ । आजका युवतीहरूको नजरमा तीजभित्र र बाहिरको संसार फरक देखिन्छ, जहाँ एकातिर परम्पराको माया, साडीको सान र भजनको मधुर स्वर छ भने अर्कातिर फोटोसुटको…

तीज अब केवल निर्जल व्रत र रातो पहिरनको पर्व मात्र रहेन, यो त नयाँ पुस्ताका लागि आफ्नो कथा सुनाउने, आत्म–अभिव्यक्ति गर्ने र आफ्नै तरिकाले संस्कारलाई पुनः परिभाषित गर्ने अवसरसमेत बनेको छ । आजका युवतीहरूको नजरमा तीजभित्र र बाहिरको संसार फरक देखिन्छ, जहाँ एकातिर परम्पराको माया, साडीको सान र भजनको मधुर स्वर छ भने अर्कातिर फोटोसुटको ग्ल्यामर, ब्लुटुथ स्पिकरमा बज्ने आधुनिक हिट बिट्स र साथीहरूसँगको अनौपचारिक जमघटको ऊर्जा पनि मिसिएको छ ।

कमला दाहाल : परम्परा र आधुनिकताको दोहोरो स्वाद

बीबीएस अध्ययनरत २१ वर्षीया कमला दाहालका अनुसार यो पुस्ताका लागि तीज अब विगतमा जस्तो श्रीमान्को दीर्घायुका लागि वा ‘शिवजीजस्तो श्रीमान् पाइयोस्’ भन्ने कामना गर्ने दिन मात्र होइन; बरु यो त वर्तमानलाई आफ्नै शैलीमा बाँच्ने, रमाइलो गर्ने र आफूलाई व्यक्त गर्ने समय पनि हो ।
कमला आफैँ भने परम्परागत अर्थमा ‘तीजको व्रत’ बस्दिनन् । उनी भन्छिन्, ‘व्रत बस्नुभन्दा त घरमा र साथीहरूसँग ‘दर’ खान रमाइलो लाग्छ ।’ उनका लागि तीज भन्नासाथ रमाइलो चाडको सम्झना आउँछ, जहाँ नाचगान, पार्टी, सेल्फी र बिनाहिचकिचाहट खुल्न पाउने स्वतन्त्रता मिसिएको हुन्छ । उनले देखेकी छन्, उनका केही साथी अझै पनि व्रतलाई आत्मानुशासनको रूपमा लिन्छन् भने केहीले यसलाई आत्मविश्वास र स्वतन्त्रताको उत्सवका रूपमा मनाउँछन् ।
कमलालाई तीजमा मेकअप गरेर र साडी तथा गहना लगाएर मन्दिर जान निकै मन पर्छ । ‘कहिले परिवारसँग, कहिले साथीहरूसँग शिवजीको मन्दिर जान्छु र धेरै फोटा र भिडियो खिच्छु । टिकटकमा ह्यासट्यागसहित पोस्ट गर्छु,’ उनी भन्छिन् ।
उनका लागि सामाजिक सञ्जालमा तीजका फोटो र भिडियो पोस्ट गर्नु केवल ‘फन’ मात्र होइन, सन्देश पनि हो— संस्कारलाई तोड्नु होइन, बरु आफ्नै स्वरूपमा ढाल्नु नै नयाँ पुस्ताको लक्ष्य हो ।

रूपा महत : व्रत अनुशासन र खुसीको उत्सव

कमलाजस्तै बिबिएस पढिरहेकी रूपा महतलाई पनि तीज भन्नासाथ नाचगान र हाँसोको लहर सम्झना आउँछ । उनी सानैदेखि ममी र हजुरआमाले तीजमा व्रत बसेको देख्दै हुर्केकी हुन् । त्यसैले उनले कक्षा १० पछि हरेक वर्ष निराहार व्रत बस्ने निर्णय गरिन् ।
रूपा भन्छिन्, ‘मलाई लाग्छ, तीजमा व्रत बस्यो भने महादेवले प्रोटेक्ट गर्नुहुन्छ ।’ उनलाई तीजको दरको नाममा महिना दिनअघि नै सुरु हुने जमघट पनि मन पर्छ । ‘तीजकै बहानामा साथीहरू, दिदी–बहिनीहरू भेटेर रमाइलो गर्न पाइन्छ,’ उनी भन्छिन् ।
तीजको बेला रूपा घरमा मात्र नभएर मन्दिरमा समेत गई तीजका गीत गाउँदै र नाच्दै रमाउँछिन् । उनका लागि तीज केवल धार्मिक अनुशासन मात्र होइन, यो आफैँ खुसी हुने पर्वसमेत हो ।

मान्यता भट्टराई : पार्टी कल्चरमा आत्मविश्वासको सन्देश

२३ वर्षीया मान्यता भट्टराईले सोसियोलोजीमा ब्याचलर सकेकी छन् र अहिले मेकअप आर्टिस्टका रूपमा ग्लसीगर्लमा इन्टर्नसिप गर्दै छिन् । उनी आफ्नो पेसाजस्तै जीवनशैलीमा पनि रङ्गीन र आत्मविश्वासी छिन् ।

तीजको कुरा गर्दा मान्यताको अनुहारमा छुट्टै चमक आउँछ, किनकि उनी तीजलाई पूर्ण रूपमा ‘पार्टी कल्चर’को रूपमा आत्मसात् गर्छिन् ।

‘हामी तीजलाई ‘फन’ बनाउँछौँ । डान्स, डिजे, रेस्टुराँ बुकिङ, रेड ड्रेस कोड सबै कुरा मिलाएर रमाइलो गर्छौं । तर, त्यो फनभित्र पनि शक्ति हुन्छ ।’ उनी भन्छिन् ।
मान्यताका अनुसार, जब सयौँ महिला एउटै स्थानमा भेला भएर नाच्छन्, हाँस्छन् र बिनाहिचकिचाहट बोल्छन्, त्यो आफैँमा समाजका लागि एउटा सशक्त सन्देश हो, महिलाहरूको स्वतन्त्रता र आत्मविश्वासको । उनका लागि तीज अब कुनै गहिरो आत्मत्यागको प्रतीक होइन, बरु जीवनलाई आफ्नो तरिकाले सेलिब्रेट गर्ने अवसर हो ।
‘पहिले तीज भन्नेबित्तिकै व्रत, भजन र धार्मिक विधि सम्झिन्थ्यो । तर, अहिले त्यो परम्पराभित्र पनि आधुनिकताले ठाउँ पाएको छ । मलाई तीजमा रमाउने स्वतन्त्रता, आफ्नो मन पर्ने कपडा लगाउने अधिकार र साथीहरूसँग खुला वातावरणमा समय बिताउने मौका नै सबैभन्दा महत्वपूर्ण लाग्छ,’ उनी भन्छिन् ।

साडीमा ढल्किएको परम्परा, सेल्फीमा देखिएको आत्मविश्वास र सशक्तीकरणमा लुकेको नयाँ दृष्टि— यी सबै मिलेर नयाँ पुस्ताले तीजलाई रोचक बनाइरहेका छन् । यो तीज अब केवल विधि, व्रत र भजनको सीमामा बाँधिएको छैन, यो आफैँमा आत्म–स्वीकृति पनि हो, जहाँ महिलाहरूले भगवान्को आराधना, पूजापाठ गर्दै आफ्नो पहिचान, स्वतन्त्रता र खुसीपूर्वक खुलेर मनाउने ठाउँ पाएका छन् ।

नयाँ पुस्ताको तीजले अब आफ्नै शैली र आवाजमा आफ्नै कथा लेख्दै छ र त्यो कथामा परम्परा र आधुनिकता दुवैको मिश्रित रङ स्पष्ट देख्न सकिन्छ ।
००

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *