ह्विलचियरमा बसेरै प्राध्यापकदेखि प्राज्ञसम्म


रङहरूको गहिराइमा चलायमान छन् घोडाहरू । कतै उफ्रिन खोजिरहेका र कतै तीव्र वेग समातेर गतिशील बाटोमा लम्किन खोजिरहेका घोडासँगैसँगै कलाशिल्पी सञ्जय वान्तवाको यात्रा निरन्तर दौडमा छ । शारीरिक गतिशीलताका लागि उनीसँग छ, ह्विलचियर । तर मानसिक रूपले आफूमा आत्मबल र साहस भर्नका लागि उनीसँग छन्, सिर्जनारूपी घोडाहरू ।आफ्नो तीन दशक लामो कला यात्रामा उनले डेढ…

रङहरूको गहिराइमा चलायमान छन् घोडाहरू । कतै उफ्रिन खोजिरहेका र कतै तीव्र वेग समातेर गतिशील बाटोमा लम्किन खोजिरहेका घोडासँगैसँगै कलाशिल्पी सञ्जय वान्तवाको यात्रा निरन्तर दौडमा छ । शारीरिक गतिशीलताका लागि उनीसँग छ, ह्विलचियर । तर मानसिक रूपले आफूमा आत्मबल र साहस भर्नका लागि उनीसँग छन्, सिर्जनारूपी घोडाहरू ।
आफ्नो तीन दशक लामो कला यात्रामा उनले डेढ दशकयता घोडालाई ‘थिम’ र विम्ब बनाएर कला–पटाङ्गिनीमा सजाउँदै आएका छन् । ह्विलचियरको सहायतामा हिँडडुल गर्ने वान्तवाको कला यात्रा भने घोडाजस्तै गतिशील छ । सिर्जना होस् या नेतृत्व तहमा होस्, उनी घोडाजस्तै दौडिरहेका हुन्छन् । भन्छन्, ‘मेरो आर्टमा भएको घोडा मलाई आफूजस्तै लाग्छ । क्यानभासलाई रङ र रेखाहरूले सजाउँदै गर्दा मलाई आफू पनि तिनै घोडाहरूजस्तै दौडिरहेको महसुस हुन्छ । मलाई ह्विलचियरमा छु भन्ने महसुस नै हुँदैन ।’

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको समसामयिक चित्रकला विभाग प्रमुख भई प्राज्ञको कुर्सीमा बसिरहँदा उनी आफ्नी दिवङ्गत आमा–बुबा भगवती राई र पदमबहादुरलाई श्रद्धापूर्वक स्मरण गर्छन् । किनकि आमा–बुबाले उनलाई शारीरिक रूपमा असक्त छन् भनेर कहिल्यै महसुस हुन दिएनन् । एउटी दिदी र पाँच जना दाजुका कान्छो भाइ हुन्, वान्तवा । २०३१ सालमा जन्मिएका उनले तीन वर्षकै उमेरमा पोलियोसँग जुध्नुपर्‍यो, जसको कारण उनका खुट्टाहरू नचल्ने भए । आफ्नै खुट्टाको सहारामा हिँडेको उनको स्मरणमा छैन । त्यसो त आमा–बुबा, दिदी र दाजुहरूको मायामा हुर्केका उनले बाल्यकालमा कुनै शारीरिक कठिनाइहरू भोग्नुपरेन । आमाको राजनीतिक जीवन र बुबाको शिक्षण पेसाको कारण शिक्षा र आत्मबल दुवै पाइरहे उनले ।

सानो छँदाखेरि विद्यालय जानका निम्ति उनलाई काठको मोटर र साइकलहरूको व्यवस्था गरिएको थियो । घरमा छँदा हार्मोनियम उनको साथी बन्थ्यो । क्यारम बोर्ड, चेसजस्ता खेल सामग्रीहरू भएकै कारण साथीहरूमाझ उनी हुर्किए । कहिल्यै एक्ला भएनन् । उनकी आमाले भन्नुहुन्थ्यो रे, ‘मेरो कान्छालाई कसैले हेर्नु पर्दैन । ऊ आफैँले गरिखान सक्छ । जस्तो काम पनि गर्न सक्छ ।’ छोराप्रति आमामा व्याप्त आत्मविश्वास नै उनका लागि उत्प्रेरणा सावित भइदियो । बुबा पदमबहादुरले त आठ वर्ष पुगेपछि उनलाई काँधमा बोकेर विद्यालय पुर्‍याए ।

समाज र आम मानिसहरू भने उनको शारीरिक अवस्था देख्दा ‘बिचरा’ ठान्थे । उनीहरू ‘घरमै राखेको भए हुने नि ! किन दु:ख दिएको होला ?’ भन्थे । बुबा र आमाको नजरमा उनी कहिल्यै ‘बिचरा’ भएनन् । ‘मेरो छोरा सक्षम छ’ भन्ने आत्मविश्वासलाई उनीहरूले डगमगाउन दिएनन् । आमा–बुबाको सोही आत्मविश्वासलाई उनले सधैँ उँचो बनाउने प्रण गरे र अहिले पनि सोही प्रण बोकेर आफ्नो सिर्जन धरातलमा यात्रारत छन् ।

‘मलाई देख्दा अरूलाई अप्ठ्यारो लाग्दो रहेछ । त्यो हेर्ने दृष्टिकोण अझै पनि उस्तै छ’, उनी भन्छन्, ‘तर मलाई त आफू अरूजस्तै लाग्छ । म आफू र आफ्नो शारीरिक कठिनाइकै कारण रोकिन चाहिनँ र रोकिनँ पनि । यदि अरूले भनेजस्तै रोकिएको भए मेरो गन्तव्य रोकिने रहेछ भन्ने चाहिँ अहिले महसुस हुन्छ ।’ आफू के हो र के गर्न सकिन्छ भन्ने अठोटलाई आफैँले चिन्नुपर्ने उनी बताउँछन् ।

२०४७ सालमा एसएलसी दिएपछि उनी उदयपुर, चौदण्डीबाट काठमाडौँ आए । बुबाको सपना थियो, छोरोले कानुनसम्बन्धी अध्ययन गरेर वकालत गरोस् । उनको रुचि भने कलातिर थियो । स्कुले जीवनको सुरुवाततिरै उनको रुचि चित्रकलाले खिचिसकेको थियो । गणितमा जोडघटाउ गर्दा उनी गाईको सिङ र खुट्टाको आकृति कोरेर हिसाब मिलाउँथे । विज्ञान र स्वास्थ्य विषय पढ्दाखेरि कोर्नुपर्ने आकृतिहरूले उनलाई चित्रप्रति अझै मोह जगायो । उनका दाजुहरूचाहिँ उनलाई सङ्गीत पढाउन चाहन्थे । चित्रप्रतिको बढ्दो लगावले उनी २०४८ सालतिर भोटाहिटीस्थित ललितकला क्याम्पसमा भर्ना भए । साथीहरूसरह नै उनी क्याम्पस गए र चित्र–सिर्जनाहरूमा सँगसँगै सहभागी भए । साथीभाइ र शिक्षकहरूले उनलाई हेर्ने दृष्टिकोण केही फरक थियो । उनीप्रति धेरैको दयाभाव प्रकट हुन्थ्यो भने थोरैको हेपाहा प्रवृत्ति । ठूला–ठूला लाइभ चित्र कोर्ने समयमा शिक्षकहरू उनलाई ‘सानो कोर’ भनेर आदेश दिन्थे तर उनी ठूलै बनाउन आँट गर्थे । अरू भुइँमा बसेर चित्र कोर्दा उनी टेबलमाथि बसेर कोर्थे र जसरी पनि अरूसरह नै कोरेर पूरा गर्थे ।

उनी विद्यालयदेखि क्याम्पस तहसम्मको अध्ययनमा उत्तिकै अब्बल भएर निस्किए । प्रवीणता प्रमाणपत्र तह, स्नातक हुँदै त्रिभुवन विश्वविद्यालयअन्तर्गत कला क्याम्पसबाट स्नातकोत्तर गरे । उनले ललितकला क्याम्पसमा १० वर्ष प्राध्यापन गरे । विद्यार्थी, प्राध्यापक, राष्ट्रिय शारीरिक अपाङ्ग संघदेखि ललितकला प्रज्ञा–प्रतिष्ठानको नेतृत्व तहसम्मको यात्रा उनका लागि पक्कै सहज थिएन, तर उनले सहज मान्दै आए । उनी प्रज्ञा–प्रतिष्ठानमा पहिले प्राज्ञसभा सदस्य थिए भने अचेल प्राज्ञ सदस्यको भूमिकामा छन् । मुलुकभित्र र बाहिर आयोजना हुने कला प्रदर्शनी, कार्यशाला, बहस र विमर्शमा उनी पुगिरहेका हुन्छन् । देशभित्र कतिपय पुग्नैपर्ने ठाउँमा अनेकौँ सास्ती खेपेर पुगिरहेका हुन्छन् ।

ललितकला क्याम्पसमा विद्यार्थीदेखि प्राध्यापकसम्म रहँदा कतिपय अवस्थामा शारीरिक कठिनाइकै कारण शौचालय नगएका थुप्रै अनुभव उनीसँग छन् । विद्यार्थी जीवनमा एउटा कोठादेखि अर्कोमा जानुपर्ने र भर्‍याङ चढेर उक्लिनुपर्नेजस्ता भोगाइहरू छन् । त्योभन्दा पनि साथीभाइदेखि समकालीन कलाकारहरूका हेपाहा प्रवृत्तिलाई पनि उनले धेरै पटक नजिकैबाट नियालेका छन् । ती सबै कठिनाइलाई सजिलो बनाउने काममा उनलाई कला सिर्जनाले सघाएको छ । उनी भन्छन्, ‘मेरो निम्ति कला सिर्जना जिउने आधार र आफ्ना अप्ठ्याराहरू भुलाउने बाटो बनेको छ ।’ सबैका लागि बाटाहरू सजिला पक्कै छैनन् तर त्यसलाई सहज बनाएर अगाडि बढे मात्र सफलता हासिल गर्न सकिन्छ भन्ने पाठ उनले कलाबाट नै सिकेका हुन् । कतिपय कठिनाइ र शारीरिक रूपमा अशक्त भएकाहरूप्रति समाजले हेर्ने दृष्टिकोणप्रति उनको मनभित्र कहिलेकाहीँ आक्रोश पलाउँछ । तर, उनको मनलाई कलाले नै संयमित तुल्याउँदै आएको छ ।

उनका नेपाल र हङकङमा गरी चार पटक एकल कला प्रदर्शनी भइसकेका छन् । उनी कला सिर्जनाकै सिलसिलामा भारत, जापान, दक्षिण कोरिया, फ्रान्स, डेनमार्क, नेदरल्यान्डजस्ता मुलुकमा पुगिसकेका छन् । उनी कलाकै कारण आफू र आफ्नो पहिचान बनेको स्विकार्छन् । बाल्यकालमा बुबा–आमाबाट प्राप्त सहज वातावरण र विवाहपछि जीवनसाथी सीता बरालसँगको सहकार्य आफ्नो सिर्जना यात्रामा अमूल्य रहेको उनी बताउँछन् । भन्छन्, ‘प्रत्येक मान्छेसँग केही न केही क्षमता हुन्छ । त्यसलाई फुलाउने राम्रो वातावरणको अहम् भूमिका हुन्छ ।’ शारीरिक रूपमा फरक क्षमता भएकाहरूलाई शरीर होइन, उसको मानसिक क्षमताको आधारमा कदर गर्नुपर्ने उनको अभिमत छ । राज्यले नै आधार तय गर्ने हो भने धेरै जनशक्ति उत्पादन हुने उनी ठहर गर्छन् । उनी भन्छन्, ‘शारीरिक रूपमा फरक क्षमता भएकाहरूलाई कला सिर्जना क्षेत्र निकै उर्वर र आफूलाई अभिव्यक्त गर्ने महत्वपूर्ण आधार हो ।’ आफू उभिएको जगलाई नै आफूजस्तै समुदायका लागि आत्मबलको प्रमाणको रूपमा उनले लिएका छन् । यस्तो महसुस हुन्छ— उनी आफू मात्र नभई अरूलाई पनि कलामार्फत उठाउने प्रणका साथ अग्रलहरमा उभिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *