मनमा मल्हम लगाउने बेला


जेड जेनरेसन सडकमा ओर्लिएपछि नेपाली समाजमा उथलपुथल आयो । दलीय सत्ता उलटफेर भएर नागरिक सरकार बन्यो । दुई महिना नाघिसक्यो, मुलुकले उथलपुथलपछिको गन्तव्य पहिल्याउन सकेको छैन । राजनीतिक खिचातानी र धु्रवीकरण बढ्दो छ । घृणा र आक्रोश पहिलेभन्दा अरू बढेको छ । शक्तिको भोक र अवसरवाद वृद्ध पुस्तामा मात्रै होइन, विकल्प भनिएका युवापुस्तामा पनि उत्तिकै…

जेड जेनरेसन सडकमा ओर्लिएपछि नेपाली समाजमा उथलपुथल आयो । दलीय सत्ता उलटफेर भएर नागरिक सरकार बन्यो । दुई महिना नाघिसक्यो, मुलुकले उथलपुथलपछिको गन्तव्य पहिल्याउन सकेको छैन । राजनीतिक खिचातानी र धु्रवीकरण बढ्दो छ । घृणा र आक्रोश पहिलेभन्दा अरू बढेको छ । शक्तिको भोक र अवसरवाद वृद्ध पुस्तामा मात्रै होइन, विकल्प भनिएका युवापुस्तामा पनि उत्तिकै छ । थिति बसाउने, कानुनी शासनको पुनस्र्थापना गर्ने, लोकतान्त्रिक मर्यादालाई जीवित राखिराख्ने कुरामा कसैमा त्यतिविधि रुचि देखिँदैन । यत्रो परिवर्तनपछि पनि किन यस्तो हँुदै छ ? किन शान्ति पुनस्र्थापनाको निश्चितता छैन ? किन हामी लिकमा फर्केर समृद्धिको मार्गमा हिँड्न सक्दैनौँ ? नानाभाँती बहस चलिरहँदा यी प्रश्न कतै छुटेका छन् । जसमाथि विमर्श जरुरी छ ।

हुन त समाजको दिशानिर्देश राजनीतिले गर्ने हो । यसरी हेर्दा राजनीतिलाई केन्द्रमा राख्नु अस्वाभाविक नहोला । तथापि, सत्य के हो भने, नेपालमा राजनीतिक उथलपुथल मात्रै भएको होइन, मानसिक र मनोवैज्ञानिक उथलपुथल पनि भएको छ । एक प्रकारले जेनजी प्रदर्शन र विध्वंसपछि सबैको मनमा मनोवैज्ञानिक भूकम्प गएको छ । त्यो भूकम्पको पराकम्पहरूबाट मनहरू अझै विचलित छन्, उथलपुथल छन् । अझ सहरी मध्यमवर्ग त्यो उथलपुथलबाट अधिक प्रभावित छ । जसका कारण यो वर्ग द्विविधा, चिन्ता र अनिश्चयको घेराबन्दीमा छ । सबैको मनमा अब के ? भन्ने प्रश्न छ, जवाफ छैन ।

एक जना अमेरिकी दार्शनिक हेनरी थोरोले भनेका थिए, ‘धेरै मानिस मौन निराशाको जीवन बाँचिरहेका हुन्छन् ।’ आम नागरिक वृत्त आज त्यस्तै नियतिमा छ । आशा र आकांक्षाहरू धमिलिँदै जाँदा त्यसमा थकान, घृणा, आक्रोश अनि भ्रमको बादल लागेको छ । यो अवस्थामा राजनीतिक निकास र गन्तव्यको खोजी मात्रै गरिनु समाजको सही उपचार हुन सक्दैन । अर्थात् यतिबेला नेपाली समाजको उपचार राजनीतिक निकास मात्रै होइन, आत्मसन्तुलन र सामुदायिक पुनर्संवाद पनि हो ।

हिंसा–प्रतिहिंसा, घृणा–द्वैष, त्रास र निराशाबाट गुज्रेको समाजको मुख्य ओखती संवाद नै हो । त्यसैगरी सहानुभूति र सिर्जनशीलता पनि त्रास र निराशाबाट उठ्न समाजका लागि अत्यावश्यक कुरा हुन् । यद्यपि, हामी अझै पूर्ण हिसाबले संवादमा छैनौँ । जिम्मेवार नेतृत्वहरू नै एकअर्काको मुख हेर्न नसक्ने/नचाहने अवस्थामा छन् । तिक्तता र प्रतिशोध घटेको छैन । यी अवस्थाहरूले मानसिक रूपमा समाजलाई विक्षिप्त बनाउँदै लगेको छ । त्यसकारण त्यो विक्षिप्त मानसिकताको उपचार पहिलो प्राथमिकता हुनुपर्छ । त्यसका लागि सहरहरूमा सामूहिक हिलिङ कार्यक्रहरू राख्ने, स्थानीय स्तरदेखि कलेज, विद्यालय, कार्यालयहरूमा मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्ने वातावरण बन्नुपर्छ । साहित्य, कला, संगीत, खेलकुदका प्रतियोगिताहरू आयोजना गर्ने र त्यस माध्यमबाट मन हल्का पार्ने अवसर सिर्जना गरिनुपर्छ । गुमेको विश्वास जगाउन स्थानीय स्तरदेखि नै सहकार्य र स–साना सकारात्मक अभियानहरूको थालनी हुनुपर्छ ।

निश्चय पनि युवापुस्ताले परिवर्तन चाहेका हुन् । तर तिनले हतारमा होइन, जिम्मेवार र परिपक्व हिसाबले परिवर्तनको बिँडो थाम्नेतर्फ अग्रसर हुनुपर्छ । यतिबेलाको मुख्य आवश्यकता राजनीतिक स्थायित्व अथवा परिवर्तन मात्रै हुँदै होइन, समाजमा भावनात्मक स्थायित्वको पनि त्यत्तिकै खाँचो छ । त्यसका लागि प्रत्येक नागरिकले फेरि विश्वासको जग हाल्नुपर्छ । समाज तिनै साना जगहरूबाट मिलेर बन्ने हो । त्यसकारण देश र राजनीतिअघि बलियो र सकारात्मक मनको निर्माण अपरिहार्य छ । किनभने, जब मन शान्त हुन्छ, तब देश शान्त हुन्छ । त्यसर्थ, मानसिक जागरण र भावनात्मक पुनर्निर्माण अहिलेको आवश्यकता हो । त्यसका लागि हर नागरिकमा आत्मजागरुकता जाग्नुपर्छ, आत्मसंवाद गर्न सिक्नुपर्छ । अब समाजलाई सञ्जालको हाँसोको इमोजी होइन, सामूहिकता र न्यानो स्पर्श चाहिएको छ । चर्का नारा होइन, मौन ध्यानको आवश्यकता छ । कारण, मन शान्त नभएसम्म देश शान्त हुनेछैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *