कृष्ण–सीताको ५४ वर्षे वैवाहिक यात्रा


अग्रज उद्यमी कृष्ण आचार्य र सीता आचार्यको वैवाहिक जीवन ५४ औँ वर्षमा यात्रारत छ । उनीहरूको जीवन–यात्रा दुई व्यक्तिबीच गाँसिएको सम्बन्ध मात्रै होइन, यो एक यस्तो सम्बन्ध–गाथा हो, जसले दुई फरक विचार, पृष्ठभूमि र जीवनशैलीबीचको गहिरो र सुमधुर सम्बन्धलाई आत्मसात् गर्दै आएको छ । कृष्ण–सीताको जोडी वैचारिक हिसाबले पृथक् रहँदै आयो । कृष्णमा राजनीतिप्रति गहिरो…

अग्रज उद्यमी कृष्ण आचार्य र सीता आचार्यको वैवाहिक जीवन ५४ औँ वर्षमा यात्रारत छ । उनीहरूको जीवन–यात्रा दुई व्यक्तिबीच गाँसिएको सम्बन्ध मात्रै होइन, यो एक यस्तो सम्बन्ध–गाथा हो, जसले दुई फरक विचार, पृष्ठभूमि र जीवनशैलीबीचको गहिरो र सुमधुर सम्बन्धलाई आत्मसात् गर्दै आएको छ ।

कृष्ण–सीताको जोडी वैचारिक हिसाबले पृथक् रहँदै आयो । कृष्णमा राजनीतिप्रति गहिरो रुचि रहनुका साथै परिवर्तनकारी सोचलाई प्रतिनिधित्व गर्दै आए भने सीताचाहिँ परम्परागत संस्कार र धर्म/अध्यात्मप्रति आस्थावान् । उनीहरूबीच वैवाहिक सम्बन्ध गाँसिएयता दुवैका आस्थागत भिन्नताले कहिल्यै टकरावको रूप लिएन । बरु, आपसी सम्मान, सहिष्णुता र बुझाइको आधार बन्दै गयो ।

आचार्य दम्पतीको जीवन–यात्रा अनेकौँ मोड हुँदै गुज्रिए । कहिले कठोर, कहिले रमाइला, कहिले मौन त कहिले भावनाले भरिपूर्ण । उनीहरूले ती सबै मोडलाई एकअर्काको साथ–सहयोग, मौन सहमति, गहिरो विश्वास र संयमपूर्वक पार गर्दै गए । संसार बदलिइरहे पनि उनीहरूबीच सम्बन्ध, न्यानोपन र सामिप्य–भाव भने आजपर्यन्त बदलिएनन् ।

कृष्ण–सीताको यो सम्बन्ध केवल वैवाहिक जीवनको कथा मात्र होइन, यो सबैका निम्ति एक सर्वोत्तम सन्देश पनि हो । जब दुई जना मनदेखि एकअर्कालाई स्वीकार गर्छन्, तब फरक सोच, फरक परिवेश र फरक सपना हुँदाहुँदै पनि उनीहरू सँगसँगै बाँच्न सक्छन्, गन्तव्यतिर बढ्न सक्छन् ।

कृष्ण जन्मिएका थिए, कास्की जिल्लाको निर्मलपोखरी गाउँमा । आठ दाजु–भाइ, दिदी–बहिनीमध्ये जेठा सन्तान भएका कारण उनी सानैदेखि जिम्मेवारीबोधबाट टाढा हुन पाएनन् । पोखरानजिकको गाउँ भए पनि धेरै विकट । उनले माटाका धूलोले लेखेर र पछि भने पाटीमा खरीले लेखेर पढ्न सुरु गरे । सजिवनको दाना बाल्दै र टुकी, लालटिन र मइन्टोलको उज्यालोमा पढ्दै उनी साधनामा होमिए ।

पहिले भारतीय आर्मी हुँदै पछिल्लो समय ब्रिटिस सेनामा आबद्ध भएपछि उनी पढाइको सिलसिलामा धरानस्थित घोपा क्याम्पमा पुगे । घोपा क्याम्पभित्र बिजुली, पानी, एटेच बाथरुम, पङ्खालगायत थिए । विकट गाउँबाट आएका उनले सो ठाउँमा राम्ररी नै सुख, सुविधा उपयोग गर्न पाए ।

२०२४ साल उनको जीवनलाई परिवर्तनको दिशातिर उन्मुख तुल्याउने वर्ष रह्यो । सोही साल उनी काठमाडौँ आइपुगे, डाक्टर बन्ने सपनासहित । सायद नियति उनको वशमा रहेन । आइएस्सीको परीक्षामा पाठ्यक्रमबाहिरको प्रश्नपत्र आएपछि सबै परीक्षार्थीले आक्रोशपूर्वक उत्तरपुस्तिका च्याते, जसको कारण परीक्षा केन्द्र खारेज गरियो । झलनाथ खनाल, सुवास नेम्वाङ, सागर तिमिल्सिना आदि सो परीक्षामा सामेल थिए । २०२६ सालमा काठमाडौँबाट ४२ जना युवा वामपन्थी राजनीतिको प्रचार–प्रसारका लागि विभिन्न गाउँतिर बाहिरिए । कृष्णले आफ्नो जीवनलाई राजनीतितिर मोडे र वामपन्थी आन्दोलनसँग जोडिँदै लमजुङसम्म पुगे ।
उनी लमजुङमा राजनीतिक गतिविधिमा व्यस्त रहँदा काठमाडौँमा साइन्स पढ्न गएका छोरा हराएको हल्ला गाउँभरि फैलिएछ । उनका बुबाका पुराना साथी लमजुङमा सिडिओ (प्रमुख जिल्ला अधिकारी) भएर पुगेका रहेछन् । उनले कृष्णलाई भने, ‘खुरुक्क घर जान्छौ कि गोर्खेलौरी लगाऊँ ?’

घर पुगे लगत्तै कृष्णमाथि विवाहको दबाब आयो । केटी हेर्न पठाइयो । उनले केटी हेर्नुअघि सोचिसकेका थिए, ‘कि हेर्दै नहेर्ने र हेरेपछि जसलाई हेर्न जान्छु, नाइँ भन्दिनँ, उसैसँग बिहे गर्छु ।’

सीता जन्मिएकी थिइन्, कास्कीस्थित कन्धनी डाँडामा । उनका बाबु फौजदार (फौदार) थिए, राणाकालमा दिइने एक विशिष्ट प्रशासनिक पदवी । सीताको बाल्यकाल सुविधा, सम्पन्नता र संरक्षणबीच बित्यो । दुई आमाको माया, स्नेह र हुर्काइको कारण उनी घरायसी कामकाजबाट टाढै रहिन् ।

बाबु सक्रिय राजनीतिमा लागेका कारण पितृस्नेहको कमी त रह्यो नै, तर आमाहरूले उनलाई संस्कार, मर्यादा र धर्मप्रति आस्थावान् बनाउँदै हुर्काए । गाउँको वातावरण अध्ययनका लागि उपयुक्त थिएन । सीताले बाल्यकालको अधिकांश समय मामाघर मकैबारीमा बसेर बिताइन् । कक्षा ९/१० भने पोखरामा पढिन् ।

तात्कालिक समय कम उमेरमै विवाह गरिदिने चलन थियो । केटी हेर्ने मानिसहरू घरमा आइसकेका थिए । सीतालाई भने थाहा थिएन— ‘कहाँका मानिस हुन्, कस्ता छन् ?’ दुवैबीच मन–मुटु साटफेर भएको तेस्रो दिनमै विवाह सम्बन्ध जोडियो । सीताका लागि बिहेपछिका सुरुवाती दिनअरू निकै चुनौतीपूर्ण रहे । माइतीमा केही काम नगरेकीले ससुरालीको जिम्मेवारी एकाएक काँधमा आएको थियो । विवाहपश्चात्का प्रारम्भिक वर्षहरूमा कृष्ण र सीताबीच खासै संवाद भएन । २०३७ सालतिर काठमाडौँ आएपछि मात्र उनीहरूको आपसी सम्बन्धले आत्मीय रूप लियो र बालबच्चाहरूका भविष्यबारे छलफल हुन थाल्यो ।
कृष्ण थिए, माक्र्सवादी चिन्तनधाराका पक्षपाती । सीताचाहिँ धार्मिक प्रवृत्तिका । तर, उनीहरूका वैचारिक आस्थाले कहिल्यै मनमुटाव निम्त्याएन । वैचारिक मतभेदलाई व्यावहारिक सम्बन्धमा हस्तक्षेप गर्न दिएनन् । सीताको समर्पणभाव र सहनशील स्वभावले कृष्णलाई सधैँ प्रभावित तुल्याइरह्यो । एकपटक बाबु गम्भीर बिरामी हुँदा सीताले गरेको सेवा–सुसार देखेर कृष्णका बुबा अचम्भित भएका थिए ।

२०५८ सालमा मुलुकमा सङ्कटकाल लागेको तेस्रो दिनको कुरा । माओवादी नेताहरूले बानेश्वरस्थित कृष्ण सदनमा गोप्य बैठक राख्ने निर्णय गरे । घरमा १४ जना नेता छलफलमा व्यस्त थिए, अचानक पोखराबाट सीताको बुबा आइपुगे । धर्मसङ्कट देखियो— ससुरा राजावादी, घरमा माओवादीहरूको बैठक ! अन्योलग्रस्त रहे कृष्ण । भर्‍याङ चढ्न नपाउँदै सीताले बुबालाई मीठो तरिकाले भनिन्, ‘बाबा, तपाईं सधैँ मेरो घरमा मात्रै आउनुहुन्छ, बहिनीले धेरै चित्त दुखाएकी छे, आज त्यतै जानुस् ।’

सीताको होसियारीले त्यस दिन कृष्ण ठूलो सङ्कटबाट उम्किए । यस्तै साथ, यस्तै समझदारी कृष्णका हरेक यात्रा र निर्णयमा सीताले दिँदै गइन्, जुन आजपर्यन्त कायम छ ।
२०५२ सालतिर सीताको जीवनमा एउटा गम्भीर मोड आयो । उनी अति नै बिरामी परिन् । तीन महिनासम्म भारतमा रहेर उपचार गर्नुपर्‍यो । त्यो कठिन समय पार गरेपछि भने उनी कहिल्यै थला परिनन् । समयक्रममा सासू–ससुरा बिते र छोराहरू पनि वैवाहिक सम्बन्धमा बाँधिए । रोगले पनि पछाडि फर्केर हेरेन । जीवनका ठूला जिम्मेवारी पूरा भएपछि उनलाई लाग्यो— अब सबै काम सकिएको छ । त्यसपछि उनी वैष्णव बनिन् र धर्म, भक्ति र शुद्ध आचरणमा रमाउन थालिन् ।

आज पनि वैदेशिक यात्रामा जाँदा आफैँले पकाउने भाँडा, थाल, लोटा सुटकेसमा हालेर लैजान्छिन् । आफ्नो शुद्धता र परम्पराबाट टाढा नहुनु उनको जीवनशैलीको अभिन्न हिस्सा बनिसकेको छ । सीता भन्छिन्, ‘विवाह सम्झौता रहेछ । चिन्दै नचिनेको मान्छे, परिवारलाई आफ्नो बनाएर बस्नु, बेग्लै घरपरिवारको रीतिथिति र संस्कारलाई अँगाल्नु त्यही विवाहपछिको धर्म हो भन्ने लाग्थ्यो । मलाई सधैँ लाग्यो, विवाह भएपछि त्यो घर मेरै हो, श्रीमान् र परिवार मेरा हुन् । त्यसैले म त आफूलाई त्यसैमा हराउँथेँ ।’

उनको बुझाइमा समय बदलिएको छ । भन्छिन्, ‘महिलाहरू पनि कमाउँछन्, सक्षम बन्दै छन् । त्यसैले अब ‘म मात्रै किन सम्झौता गरूँ ?’ भन्ने सोच बढेको छ र सम्बन्धहरू बिग्रिन थालेका छन् ।’

उनको कुरामा सहमति जनाउँदै आचार्य थप्छन्, ‘विवाह केटा र केटी दुवैका लागि सम्झौता हो । तर, त्यो सम्झौतामा सकारात्मक दृष्टिकोण राख्न सकियो भने मात्र सम्बन्ध सुखद र जीवन सफल बन्छ ।’

कृष्ण र सीताको यात्राले हामीलाई सिकाउने पक्ष हो, साथ पाउनुभन्दा गाह्रो हुन्छ साथ निभाउनु । विपरीत मूल्य र विश्वास भएका दुई व्यक्तिले पनि एउटै छातामुनि जीवन बाँच्न सक्छन्, यदि उनीहरूमा आपसी सम्मान र सहकार्यको भावना हुन्छ भने । उनीहरूसँगै बस्छन्, दुई छोरा–बुहारी । ७५ वर्षीय कृष्ण अहिले पनि नियमित अफिस जान्छन्, सीता भने धार्मिक कार्यहरूमा सहभागिता जनाइरहन्छिन् । सकारात्मक पक्ष के छ भने, दुवै जना एकअर्काका काम र इच्छाप्रति माया र सम्मानभाव प्रकट गर्न चुक्दैनन् ।
००

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *