करिब ५४ वर्षअघि एक बालिका दसैँको बेला महिनावारी भइन् । आमालाई भनून् भने त्यो बेलाको संस्कृतिअनुुसार आमाले १२ दिन कोठामा बन्द गरिदिइन् भने ती बालिकाको दसैँ नै धरापमा पर्ने थियो । किनभने दसैँमा प्राप्त हुने नयाँ लुुगा र दक्षिणाबाट वञ्चित हुुने थिइन् । ती बालिकाले महिनावारीको कुुरा आमालाई नभनी आफैँले नै व्यवस्थापन गरिन् । त्यसपछि उनले झन्डै तीन वर्षसम्म कसैलाई भनिनन् । दसैँ, तिहार, श्राद्धमा पनि भनिनन् । महिनावारी भएको बेला मन्दिर पनि गइन् । ती बालिकाले कसरी त्यो उमेरदेखि कसैले थाहा नपाउने गरी महिनावारी व्यवस्थापन गरिन् ? कसरी उनलाई ‘पाप’ को डर लागेन, त्यो सायद ती बालिकाले आफैँ पनि भन्न सक्दिनन् । किनभने ती बालिका म आफैँ थिएँ ।
पहिलो केही महिनामा महिनावारीको कुुरा नभन्दा केही पाप लाग्ला कि भनी मलाई डर लागेको थियो । तर, केही पनि नराम्रो कुुरा नभएपछि मलाई डर र अपराध दुुवैको बोध भएन । केही ठूलो भएर विज्ञान पढेपछि त झन् महिनावारी पाप होइन, बार्नुु पनि पर्दैन भन्ने बोध हुुँदै गयो । ‘महिनावारीको बेला बारिनँ’ भन्ने कुरा साहस गरेर बोल्नचाहिँ मलाई अर्को २७ वर्ष लाग्यो ।
मेरो बाजे (हजुरबुबा) सुुदूूरपश्चिमबाट आएका हुुनाले म आफूूलाई सोही भेककी चेली हुँ भन्ने ठान्छु । २३ वर्षअघि डोटी, अछाम भेकमा गएको बेला र त्यहाँ छाउपडी गोठ र त्योसँग गाँसिएको खराब संस्कृतिबारे थाहा पाएपछि त्यो संस्कृति, त्योसँग गाँसिएको ‘ढकोसला प्रवृत्ति’ प्रतिकारको बारेमा मैले पत्रिकामा लेखेँ । त्यसरी त्यो समाजको संस्कृतिलाई नै प्रहार गर्ने साहस मलाई मेरो अनुभवले दिएको थियो । ‘हाम्रो सुुदूूरपश्चिमको बेइज्जत गर्ने’ भनेर केही पत्रकारले मलाई झपारे पनि । मैले भने कुनै वास्ता नगरी सो विषयमा लेखिरहेँ । अहिले ‘छाउपडी’ कुुसंस्कार हो भन्ने विचार प्राय: सुुदूूरपश्चिमका बासिन्दाका निम्ति स्वीकार्य भइसकेको छ । अझै पनि बूढापाकाको मनबाट भने ‘छौपडी ठीकै हो’ भन्ने हटाउन निकै गाह्रो छ । अझ केही महिला अधिकारकर्मी, सिने कलाकारले पनि ‘महिनावारी रगत दूषित नै हो, यो बेलामा नकारात्मक ऊर्जा पैदा हुुन्छ’ भन्ने जस्ता गलत धारणा व्यक्त गर्दाचाहिँ महसुस हुन्छ— हाम्रो अध्ययनको धरातल र विचार अझै पनि १८ औँ शताब्दी वरपर नै छ । महिनावारी हुुनुु प्रजननको एक महत्वपूूर्ण पक्ष हो भन्ने बुुझ्न महिलाले पनि यसो भन्छन् । अझ केही डाक्टरहरूले त दसैँ–तिहारमा महिनावारी हुनबाट रोक्न के गर्ने, कस्तो औषधि खाने भनेर लेख्छन् र भ्रम पैदा गर्छन् ।
भारतको केरलास्थित शबरीमाला मन्दिरमा प्रजनन उमेरका किशोरी र महिला (१२–४९ उमेरसम्म) लाई मन्दिरभित्र प्रवेश निषेध छ । केही वर्षअघि महिला अधिकारकर्मीहरूले मुद्दा हालेर अदालतले चाहिँ ‘प्रवेश गर्न पाउने’ भनी दिएको आदेशले गर्दा राजनीतिक मुुद्दाले केरलाको राजनीतिलाई पनि तताएको थियो । भारतीय जनता पार्टीका कार्यकर्ताहरूचाहिँ ‘हजारौँ वर्षदेखि चलिआएको धार्मिक भावनालाई आदर गर्दै महिलालाई मन्दिरभित्र जान दिन हुुँदैन’ भन्दै अदालतको आदेशविरुद्ध गए । अर्थात् त्यत्रो ठूलो लोकतान्त्रिक देशमा समेत ‘महिनावारी अशुद्ध’ नै हुन्छ भनेर ठूला राजनीतिक दलका नेताहरूले गलत र अवैज्ञानिक कुरा गर्छन् भने के भन्ने ?
सो मन्दिरका पुुजारीहरूले पनि ‘महिनावारी हुुने महिलाहरू मन्दिरमा पसे भने त्यहाँभित्रका देवता महिलाको शरीर देखेर लोभिन्छन्,’ भन्ने विचारले प्रजनन उमेरका महिलाहरूलाई त्यहाँ जान दिनु हुुँदैन भन्ने तर्क वरपर घुमेका देखिन्छन् । अर्थात् मन्दिरभित्र पस्ने कुुरा पनि महिलाको यौनिकतासँग जोडिएको छ । हजारौँ वर्षपहिलेको ‘ज्ञान’ महिनावारी अपवित्र हो भन्ने कुरा अहिले अवैज्ञानिक हो भन्ने कुरा सिद्ध भइसकेको छ, तर पुुजारीहरू ‘हजारौँ वर्षअघिकै कुुरा’ ठीक ठान्छन् । उनीहरूले यसरी महिलाको शरीर अपमानित गरिरहेका छन्, नेपालमा महिलालाई छाउपडीमा राखेजस्तै ।
महिनावारी हुुने महिलाहरूलाई शबरीमाला मन्दिरमा पस्न नदिने धार्मिक गुुरु र राजनीतिक दलका नेताहरूलाई अहिलेको विज्ञानसँग आधुुनिक शरीर विज्ञानको ज्ञान छैन भन्ने स्पष्ट हुन्छ । पहिले–पहिले १३–१४ वर्ष पुुगेपछि बालिकाको रजस्वला (महिनावारी) हुुन्थ्यो । प्राय: ४४–४५ देखि ४९ वर्षसम्ममा महिनावारी सुुकिसक्थ्यो । अहिले त ८–९ वर्षकी बालिका पनि रजस्वला हुुन्छिन् । अहिले ५० वर्ष र कोही–कोही ५२–५५ वर्षसम्मका महिला पनि रजस्वला हुुन्छन् । तर, यो ज्ञान नभएकाले नै ५० वर्षपछिका उमेर पुुगेका महिलालाई चाहिँ शबरीमाला मन्दिरमा पस्न दिने रहेछ । यदि ती महिलाको रजस्वला सुचारु नै छ भने पनि पुजारीलाई के थाहा ?
रजस्वला उमेरका महिलाहरूलाई मन्दिरमा पस्न नदिने कारण के महिलाहरूको यौनिकतालाई ध्यानमा राखिएर गरिएको होइन ? यदि ५२ वर्षकी महिलाको महिनावारी सुुकेको छैन भनेचाहिँ शबरीमाला मन्दिरका देवताले कसरी थाहा पाउलान् ? यदि नौ वर्षकी बालिकाको महिनावारी सुुरु भइसकेको भए पुुजारीले के चिह्न देख्लान् ? यस्ता प्रश्न गर्न सक्ने साहस प्राय: समाजमा छैन ।
देवतालार्ई महिला मन्दिरमा पसेपछि ‘महिलाको शरीर देखेर लोभ लागेर देवताको ध्यान भड्किने भन्ने’ कुुरा के पचाउन सकिने कुुरा हो ? के देवतालाई यस्ता वासनाले भरिपूर्ण हुन्छ कि १३ वर्षकी बालिकालाई देखेर लोभ मानून् !
हाम्रा धार्मिक ग्रन्थहरूले भन्छन्, ‘भगवान् त घट घट वासी छन् । उनी त प्रत्येक मानिसको मुुटुुमा छन् ।’ के शबरीमाला मन्दिरमा रहेका भगवानचाहिँ घट घट वासी छैनन् ? के उनी रजस्वला हुुने महिलाको शरीरबारे जान्दैनन् ? के रजस्वला हुुनुु पनि उनले नै बनाएको होइन त ? यस्ता प्रश्नहरू नगरिने भएकाले नै ‘महिनावारी अपवित्र’ भनी बसिरहेका छन् महिलाहरू ।
पहिले–पहिले हनुुमान ब्रह्मचारी भएकाले उनलाई महिलाले पूूजा गर्नुु हुुँदैन, छुुनुु हुुँदैन भन्थे । गायत्री मन्त्र देवीको प्रार्थनाको मन्त्र पनि महिलाले सुुन्नुु र पढ्नुु हुुँदैन, उनीहरू बिटुुलो हुुन्छन् भन्ने मानिन्थ्यो । समयान्तरसँगै महिलाले गायत्री मन्त्र सुुन्न र पढ्न थाले । गायत्री मन्त्र कति जनाको मोबाइलमा नै छ, अहिले त ! ठाउँ–ठाउँमा बजिरहन्छ । अहिले कसैले पनि महिलालाई ‘गायत्री मन्त्र’ सुन्न हुँदैन भन्ने साहस नै गर्दैनन् ।
‘महिनावारी अपवित्र हो’ भन्ने व्यक्तिहरूले सायद ‘सतीप्रथा फेरि आउनुुपर्छ, किनभने एकल महिलालाई देखेर पुुरुषहरूको मनमा अनेक खुुल्दुुली हुुन्छ, उनी मरेकै बेस !’ भन्न पनि बेर लगाउने छैनन् । ‘ब्रिटिस राज्यमा कानुुन प्रयोग गरेर सतीप्रथा खतम गरेको बेठीक थियो’ भन्न पनि सक्छन् । नेपालमा चन्द्रशमशेरले सतीप्रथा खतम गर्नु ठीक थिएन भन्लान् सायद !
अहिले नेपालमा महिलाको ‘महिनावारी’ पनि एक मुुद्दा बनेको छ । ‘छौपडी’ ‘छाउगोठ’ भत्काउने काम अर्को राजनीतिक मुद्दा भएको छ । तथाकथित माओवादीहरूले भत्काएका ‘छाउगोठको असफलताको’ कुुरा पनि आइरहेको छ । त्यही माओवादी सत्तामा पुग्दा पुुन: उनीहरूले नै छाउगोठ भत्काए ।
नेपालमा छाउगोठमा सुत्दा किशोरीको मृत्यु भएका समाचारहरू बारम्बार आइरहन्छन् । अहिले माओवादीहरू केही बोल्दैनन् । ‘तर छौपडीचाहिँ पहिले त ठीकै त थियो नि, गरिबहरूको घरमा भिन्दै कोठा थिएन । त्यसैले छाउगोठमा पठाएको, महिलालाई चार दिन आराम गर्न दिएको’ भन्ने नेताहरू, सरकारी कर्मचारीहरू पनि छाउगोठमा महिलालाई पठाएर र गाईभैँसीलाई १० भारी घाँस लिन पठाएर कसरी आराम मिल्छ ? सर्पले टोकेर, आगोले पोलेर छाउगोठमा बस्दा बलात्कार भएकी महिलाको कसरी सुुरक्षा हुुन सक्छ भन्ने प्रश्नको चाहिँ छलफल हुुँदैन । किनभने महिलाको ‘महिनावारी’ एक सांस्कृतिक मुद्दा हो र यो धर्मसँगसमेत जोडिएको छ । कोही पनि डराएर बोल्न चाहँदैनन् ।
छाउपडी गोठमा बसेको बेला उनलाई बलात्कृत गर्ने पुुरुषले चाहिँ महिलालाई छुुन हुुँदैन भन्ने विचार गर्छ र ? काठमाडौँमा महिनावारी हुुँदा उनी ‘अपवित्र’ हुुन्छिन् भन्ने डरले काठमाडौँमा भिन्दै कोठामा राख्नेहरूले कोठा नहुँदा कता राख्लान् ? विदेश जाने सुदूरपश्चिमका महिलाहरू अमेरिका र बेलायतमा कुन छाउगोठमा बस्लान् ?
महिलाको महिनावारीलाई ‘अपवित्र’ भन्नेहरूले भारतको ‘कामक्षा’ देवीको महिनावारीलाई चाहिँ पवित्र मान्छन् । हरेक वर्ष असार महिना (२२ जुुन) मा चार दिनका लागि कामक्षाको मन्दिरको ढोका बन्द हुुन्छ, किनभने त्यति बेला ‘देवी’ रजस्वला भएकी हुुन्छिन् । चार दिनपछि देवीले ‘महिनावारी व्यवस्थापन गर्न प्रयोग गरेको कपडा’ चाहिँ प्रसादको रूपमा सबैलाई बाँडिन्छ । त्यो प्रसाद हारालुछ हुन्छ । देवीले महिनावारीको बेलामा प्रयोग गर्ने कपडा ‘शुद्ध’ अनि महिलाहरू महिनावारी हुँदा किन अशुद्ध ? यी प्रश्नहरूको उत्तर कुनै पनि धर्मगुरुले दिन सक्लान् ?
नेपालमा अहिले ‘स्यानिटरी प्याड’ स्कुलमा बाँड्न लगाएर सरकारले सिद्ध गरिसकेको छ कि नेपाल सरकारको नियमले महिनावारी ‘पाप’ मान्दैन । त्यसैले कति जना युवापुुस्तामा पनि ‘महिनावारी’ सँग जोडिएको भ्रम हराएको छ । सामाजिक सञ्जालहरूले पनि ‘महिनावारी ‘पाप’ होइन’ भनी लेखिरहेका छन् । तर अझै पनि महिलाको शरीरबाट जन्मिनेहरू, पुजारीहरू पनि ‘महिनावारीको बेला महिलाको शरीर ‘अपवित्र’ हुन्छ’ भन्ने पुरानै गीत गाइरहेका छन् । उनीहरू ‘हजारौँ वर्षअघिको संस्कृति सुुन्दर थियो’ भन्छन् । तर, हजारौँ वर्षयता समाजमा कति परिवर्तन भइसक्यो भन्ने आत्मसात्चाहिँ गर्न चाहँदैनन् । धार्मिक गुुरुहरू अहिले मोबाइल र फेसबुुक प्रयोग गर्छन् । उनीहरूले ‘पुुरानो जमानामा मोबाइल थिएन, त्यसैले प्रयोग नगर्न त’ भन्दैनन् । अर्थात् धार्मिक गुरुलाई आफूलाई सहज लाग्ने आधुनिक वस्तु प्रयोग गर्ने तर महिलालाई ‘अपमान गर्नु हुँदैन’ भनेर आधुनिक ज्ञान प्रयोग नगर्ने ? गजब छ, होइन त ?
धार्मिक गुुरुलाई आफ्नो लागि सहज हुुने सबै नयाँ आविष्कार प्रयोग गर्छन्, मोबाइलबाट पूजासमेत गराउँछन् । तर जब महिलाको स्वास्थ्य, महिलालाई हेप्ने संस्कृतिको कुुरा आउँछन्, उनीहरू चाहन्छन् कि— यो समाज कहिल्यै नबदलियोस्, हजारौँ वर्षजस्तैका पीडा सहिरहोस् ।
महिला शरीर र महिनावारी प्रजननसँग जोडिएको छ, स्वास्थ्यसँग जोडिएको छ । महिनावारी ‘अपवित्र’ होइन, महिनावारी ‘पाप’ पनि होइन । यो ज्ञान धार्मिक गुरुहरूलाई कहिले आउने होला ? ५४ वर्षअघि एक बालिकाले विद्रोह गरेर भनेकी थिइन्— ‘महिनावारी ‘पाप’ होइन ।’ के यो कुरा धार्मिक गुरुहरूले बुझ्लान् ?
००



Leave a Reply