‘काठमाडौँ इन्टरनेसनल पर्फर्मेन्स आर्ट फेस्टिभल– २०२५’ को रौनक


राजधानी यतिबेला ‘काठमाडौँ इन्टरनेसनल पर्फर्मेन्स आर्ट फेस्टिभल–२०२५’ को रौनकले भरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य र बिन्दु स्पेस फर आर्टिस्टको आयोजनामा सोमबारदेखि प्रतिष्ठान परिसरमा यो पर्व सुरु भएको हो । फेस्टिभलको दोस्रो दिन नेपाल तथा विभिन्न देशबाट आएका कलाकारहरूले मानव, मानवीय संवेदना, सम्बन्ध, प्रकृति र समकालीन समयलाई केन्द्रमा राखेर आ–आफ्नो पर्फर्मेन्स प्रस्तुत गरे ।…

राजधानी यतिबेला ‘काठमाडौँ इन्टरनेसनल पर्फर्मेन्स आर्ट फेस्टिभल–२०२५’ को रौनकले भरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य र बिन्दु स्पेस फर आर्टिस्टको आयोजनामा सोमबारदेखि प्रतिष्ठान परिसरमा यो पर्व सुरु भएको हो । फेस्टिभलको दोस्रो दिन नेपाल तथा विभिन्न देशबाट आएका कलाकारहरूले मानव, मानवीय संवेदना, सम्बन्ध, प्रकृति र समकालीन समयलाई केन्द्रमा राखेर आ–आफ्नो पर्फर्मेन्स प्रस्तुत गरे ।

मंगलबार नेपालबाट प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख तथा कलाकार सौर गंगा दर्शनधारी, सरिता डङ्गोल, पृथ्वी श्रेष्ठ, रायन राजभण्डारी,सुबिस्ता कायस्थ लगायत बङ्गलादेशकी फराह नाजमुन, ब्राजिलका इडुवार्दो कार्दोस, चीनका लि जेलेङ, भारतका नितेशकुमार खुसवाह र फिलिपिन्सका निकोलास अका वचले आफ्नो सिर्जना प्रस्तुत गरे ।

दर्शनधारीले महिलाको पहिचान र सम्बन्धलाई केन्द्रमा राखेर ‘मेरो परिचय’ शीर्षकमा प्रस्तुति दिइन् । एक महिलाले जीवनभर बेहोेर्नुपर्ने छोरी, साथी, आमा, दिदी, बहिनी, सानीआमा र हजुरआमाजस्ता अनेक सम्बन्धहरूको कथालाई उनले कलात्मक रूपमा उजागर गरिन् ।
त्यस्तै, कलाकार सरिता डङ्गोलले मानवको अस्वस्थ जीवनशैलीका कारण बिग्रँदै गएको शरीर र त्यससँगै अवनति हुँदै गएको वातावरणको प्रभावलाई मिहिन रूपमा प्रस्तुत गरिन् ।
बिन्दु स्पेसका निर्देशक पृथ्वी श्रेष्ठले राजनीतिक चुनौतीका बाबजुद पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको सहभागितासहित फेस्टिभल सुरु गर्न सफल भएकोमा खुसी व्यक्त गरे । कलाप्रेमीहरूले उत्साहजनक प्रतिक्रिया दिइरहेको उल्लेख गर्दै उनले प्रतिष्ठानजस्ता संस्थाको सहकार्यले कलाकारलाई ठूलो हौसला मिल्ने बताए ।

बहुआयामिक तथा सिर्जनात्मक कला विभाग प्रमुख दर्शनधारीले पनि प्रतिष्ठानले उपत्यकाभित्र र बाहिर विविध कार्यक्रम गर्दै आएको उल्लेख गर्दै बिन्दु स्पेस फर आर्टिस्टसँगको यो सहकार्यले कला क्षेत्रमा थप सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन् ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पर्फर्मेन्स आर्टलाई परम्परागत सीमाभन्दा पर समाजसँग प्रत्यक्ष संवाद स्थापित गर्ने जीवन्त माध्यमको रूपमा व्याख्या गर्दै यसले विचार, संस्कृति र अन्तर–सांस्कृतिक चेतनालाई समृद्ध बनाउने भूमिका खेल्ने बताए ।

बुधबार प्रतिष्ठानमा नेपालका ध्रुवराज शर्मा, सामना राई, मनिषलाल श्रेष्ठ, अनिल सुब्बा, मुना भडेल, भारतका सतद्रु सोभान बान्दुरी, डा. आनन्द जैसवाल, रासिश तथा अस्ट्रियाकी उर्सुला मारिया प्रोब्स्टका प्रस्तुति जारी छन् ।

बिहीबार भने बौद्धस्थित तारागाउँ म्युजियममा सबै कलाकारहरूको संयुक्त पर्फर्मेन्स हुनेछ ।
फेस्टिभलको समापन मंसिर १२ गते हुने जानकारी आयोजक श्रेष्ठले दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *