राजनीतिक आकाशमा अनिश्चयको काला बादलहरू हटिसकेका छैनन् । बढ्दो राजनीतिक ध्रुवीकरण र सङ्क्रमणका बीच आम निराशा र संशय कायमै छ । तर, यसैबीच कीर्तिपुरस्थित क्रिकेट मैदानले भने राजधानीवासी नागरिकलाई खुसी र उत्साहको सञ्चार गराएको छ । भर्खरै नेपाली क्रिकेटको उत्सव नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण सकिएको छ । झन्डै एक महिना चलेको एनपिएलले निराश नेपालीको ओठमा हाँसो फर्काएर मल्हमको काम गरेको छ ।
खासमा, खेलकुद मनोरञ्जनको माध्यम त हो नै, साथै यसले समाजलाई भावनात्मक, सांस्कृतिक अनि सामाजिक एकताको डोरीमा बलियो गरी बाँध्न सक्ने क्षमता राख्छ । नेपाली समाजका अनेक रङ्ग छन्, विविधता छन् । जात, भाषा, भूगोल, वर्ग, आर्थिक सम्पन्नता, विपन्नता अनेक वाद र विचारधाराबाट विभाजित समाजमा खेलकुद त्यस्तो शक्तिशाली माध्यम हो, जसले सबैलाई एउटै आवेग र उत्साहको मालामा उन्न सक्छ । कीर्तिपुर मैदानमा देखिएको उत्साह र हाँसो त्यसैको द्योतक हो ।
एनपिएल त्यो बखत भयो, जुन बेला सम्पूर्ण मुलुक जेनजी प्रदर्शन र विध्वंसको चपेटामा परेको थियो । अनिश्चय र त्रासले आम मनोविज्ञान र आत्मविश्वास पीँधमा पुगेका बेला मान्छेहरू त्यसबाट निस्कन छटपटिएका थिए । यसखाले राष्ट्रिय बेचैनी र सङ्कटका बेला समाजलाई सामान्य बाटोमा फर्काउन खेल आयोजनाहरू प्रभावकारी साधन हुन सक्छन् । सङ्गीतका आयोजना, उत्कृष्ट सिनेमाहरूले पनि ‘ट्रमाटाइज’ समाजलाई ‘हिल’ गर्न सक्छ । त्यसमध्ये पनि खेल प्रतियोगिताले सबै थरी दर्शकलाई सकारात्मक ऊर्जा भर्न अरू सहयोगी हुन सक्छ । तनावग्रस्त मनोविज्ञानमा बसेको समाजलाई त्यसबाट मोडेर साझा खुसी बाँड्ने वातावरण निर्माण गर्न सक्छ । खेलले हार र जितलाई स्विकार्ने संस्कारको विकास मात्रै गराउँदैन, यसले प्रतिद्वन्द्वीबीचको सम्मान र नियमको परिपालना गर्ने प्रवृत्तिलाई पनि बढावा दिन्छ । अझ युवा जनशक्तिमा साझा सपना र प्रेरणा निर्माण गर्छ । खेल मैदानमा जब खेलाडी भिडिरहेका हुन्छन्, सिङ्गो देश भावनात्मक रूपमा एकताबद्ध हुन्छ । यस अर्थमा एनपिएल नेपाली दर्शकहरूलाई भावनात्मक रूपमा जोड्न सक्ने एउटा महत्वपूर्ण कडी बन्यो ।
एनपिएलको अर्को महत्वपूर्ण विशेषता के हो भने, यसले कता–कता संघीयतालाई संस्थागत गर्न पनि सघाउ पु¥याइरहेको भान हुन्छ । हुन त संघीयता मुलुकको राजनीतिक र प्रशासनिक संरचना हो । तर, सूक्ष्म हिसाबले हेर्दा एनपिएलले संघीयताको सबलीकरणमा पनि योगदान गरेको देखिन्छ । यो प्रतियोगितामा सहभागी टिमहरू सातै प्रदेशका सांस्कृतिक पहिचान हुन् । टिमका नामहरू पनि प्रदेशको पहिचानसँग मेल खाने हिसाबले राखिएका छन् । बागमती प्रदेशबाट दुईवटा टिम सहभागी भए पनि बाँकी टिमले अरू प्रदेशको प्रतिनिधित्व गरे । अर्थात् एनपिएलमा प्रादेशिक भावना, परिचय र सहभागिता रह्यो । अर्को कुरा, यो प्रतियोगिताले ओरालो झर्दै गरेको नेपाली अर्थतन्त्रमा पनि केही राहत ल्यायो । बजारमा आशा जगायो । सुस्त र शिथिल अर्थतन्त्रमा एनपिएलले लगानी आकर्षण, रोजगारी सिर्जना गरेर घरेलु अर्थतन्त्रलाई चलायमान बनायो । यी सकारात्मक सूचक हुन् ।
थप सुखद कुरा त के भने, यो खेलले नेपाली युवा मनलाई जोड्न सकेको छ । नेपाली क्रिकेट युवाहरूको धड्कन बनेको छ । नेपालमा यसको इतिहास धेरै पुरानो होइन । पछिल्लो तीन दशकमा नेपाली क्रिकेटले आफूलाई अन्तर्राष्ट्रिय मैदानहरूमा उतार्न सफल भएको छ । दुई पटक टी ट्वान्टी विश्वकप खेलेको नेपाली टिम सन् २०२६ को संस्करणमा प्रतिस्पर्धाको तयारीमा छ । ‘वान डे’ विश्वकप खेल्ने सपनासहित त्यसका लागि प्रयत्नरत छ । क्रिकेट नेपाललाई अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा परिचय र पहिचान दिलाउन सक्ने सबैभन्दा बढी सम्भावना भएको खेल भएको छ । त्यसैले यो खेलले के युवा, के अरू उमेर समूहका दर्शक, सबैलाई आकर्षित गर्न सकेको छ । सारमा, अस्थिरताको दुश्चक्रमा फसेको हाम्रो समाजलाई क्रिकेटको उत्साहले थोरबहुत पुनर्जीवित गरिदिएको छ ।

क्रिकेटले ल्याएको खुसी
राजनीतिक आकाशमा अनिश्चयको काला बादलहरू हटिसकेका छैनन् । बढ्दो राजनीतिक ध्रुवीकरण र सङ्क्रमणका बीच आम निराशा र संशय कायमै छ । तर, यसैबीच कीर्तिपुरस्थित क्रिकेट मैदानले भने राजधानीवासी नागरिकलाई खुसी र उत्साहको सञ्चार गराएको छ । भर्खरै नेपाली क्रिकेटको उत्सव नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण सकिएको छ । झन्डै एक महिना चलेको एनपिएलले निराश…


Leave a Reply