माघ लागेसँगै आकाशको रङ फेरिन्छ, हावाको स्पर्श बदलिन्छ र समयले नयाँ दिशातर्फ पाइला चाल्छ । सूर्य धनुबाट मकरमा प्रवेश गर्ने यही क्षणलाई हामी माघे संक्रान्ति भन्छौँ । जहाँ ऋतु मात्र होइन, जीवनको गति पनि उत्तरतर्फ मोडिन्छ ।
प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति नेपालभर स्नान, जप, तप, ध्यान साधना तथा दान–पुण्यका साथ श्रद्धापूर्वक मनाइन्छ। आजकै दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई माघे संक्रान्ति, तिलुवा संक्रान्ति, मकर संक्रान्ति वा माघीका नामले पनि चिनिन्छ। नाम फरक भए पनि यसको सांस्कृतिक र धार्मिक महत्त्व सबै समुदायमा उत्तिकै गहिरो छ।
माघ १ गतेदेखि सूर्यको उत्तरायण आरम्भ हुने भएकाले दिन क्रमशः लामो र रात छोटो हुँदै जान्छ। उत्तरायणको प्रारम्भ दिनमा गरिने स्नान, जप, तप, ध्यान र दानलाई विशेष पुण्यदायी मानिन्छ। यही विश्वासका कारण आजका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका तीर्थस्थलहरूमा माघ स्नान गर्ने भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ।
तराई क्षेत्रमा माघ १ लाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाइन्छ। वर्षभर अनिवार्य रूपमा स्नान नगर्नेहरू पनि आजका दिन भने पवित्र जलाशयमा गई स्नान गर्नुपर्ने मान्यता छ। बिहानै तीर्थस्थलमा गई स्नान गरी तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
धर्मशास्त्रअनुसार १ माघका दिन घ्यू, चाकु, तिलका परिकार खानु, दान गर्नु, जलाशयमा स्नान गर्नु र ध्यान साधना गर्नु अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। धर्मसिन्धु ग्रन्थमा यी कर्म नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ भन्ने जानकारी धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको छ। नेवार समुदायमा यो पर्व ‘घ्यूचाकु सँल्हु’ नामले विशेष रूपमा मनाइन्छ।
त्यसैगरी माघे संक्रान्ति मगर समुदायमा पनि ठूलो उत्सवका रूपमा मनाइन्छ। यस दिन मगर समुदायमा तारो हान्ने खेल अत्यन्त लोकप्रिय छ। साथै, चेलीबेटी र पितृहरूको पूजा तीन दिनसम्म विधिपूर्वक गरिन्छ। महाभारतअनुसार इच्छा मृत्युको वरदान पाएका भीष्म पितामहले सूर्य उत्तरायणको प्रतीक्षा गरी आजकै दिन शरीर त्यागेको उल्लेख पाइन्छ।
उत्तरायणपछि शुभकर्म गर्न अत्यन्त उत्तम मानिन्छ। आज स्नान, दान, व्रत र ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुने जनविश्वास छ। माघे संक्रान्तिका अवसरमा घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। जाडो मौसममा शरीरलाई न्यानो प्रदान गर्ने यी तात्ता परिकारले त्रिदोष नाश हुने धार्मिक तथा आयुर्वेदिक मान्यता रहेको छ।
यसै दिन शरीरमा तिलको तेलले मालिस गर्दा शरीरका दूषित पदार्थ बाहिर निस्कने विश्वास गरिन्छ। तिलको तेलबाट गरिने मालिसले नाडी, स्नायुमण्डल र हड्डीलाई सबल बनाइ स्वास्थ्य सुदृढ राख्ने आयुर्वेद शास्त्रीय मान्यता पनि छ। सूर्य उत्तरायणपछि हुने मृत्युलाई उत्तम मानिने परम्परा अनुसार नै महाभारत युद्धमा शरशैयामा पुगेका भीष्म पितामहले सूर्य उत्तरायण भएपछि शरीर त्यागेका थिए।



Leave a Reply