हङकङमा नेपाली संसार


एसियाको ‘युरोप’ भनेर चिनिने चीनको स्वशासित क्षेत्र हङकङप्रतिको नेपाली आकर्षण आजदेखिको हैन, संसारको अत्याधुनिक, व्यस्त, महँगो यो ठाउँमा नेपालीहरूले आधा शताब्दीअघिबाटै जरा गाडेको हो । आज पनि नेपालीहरूमा हङकङप्रतिको ‘क्रेज’ बढ्दो छ । हङकङप्रतिको यस्तो आकर्षण बढ्नुमा हिजोका ब्रिटिस गोर्खा सैनिक लाहुरेदेखि आज हरेक क्षेत्रमा आफूलाई स्थापित गराउन तल्लीन नेपाली समुदायको भूमिका महत्वपूर्ण छ ।…

एसियाको ‘युरोप’ भनेर चिनिने चीनको स्वशासित क्षेत्र हङकङप्रतिको नेपाली आकर्षण आजदेखिको हैन, संसारको अत्याधुनिक, व्यस्त, महँगो यो ठाउँमा नेपालीहरूले आधा शताब्दीअघिबाटै जरा गाडेको हो ।

आज पनि नेपालीहरूमा हङकङप्रतिको ‘क्रेज’ बढ्दो छ । हङकङप्रतिको यस्तो आकर्षण बढ्नुमा हिजोका ब्रिटिस गोर्खा सैनिक लाहुरेदेखि आज हरेक क्षेत्रमा आफूलाई स्थापित गराउन तल्लीन नेपाली समुदायको भूमिका महत्वपूर्ण छ ।

६० को दशकबाट नेपाली समाजमा लाहुरे अर्थात् गोर्खा सैनिकसँग जोडिएर छाएको हङकङ ‘क्रेज’ अहिले पनि उस्तै छ । हरेक कुरामा युरोप र अमेरिकाजस्ता देशहरूसँग तुलना हुने एसियाको आर्थिक केन्द्रकै रूपमा रहेको हङकङको ‘कनेक्सन’ नेपाली गीत–सङ्गीत, फिल्म, कला–साहित्य, खेलकुददेखि समाज–राजनीति सबैतिर छ । गएको ५ जुन २०२५ मा नेपाली राष्ट्रिय फुटबल टिम र हङकङको राष्ट्रिय फुटबल टिमबीच भएको मैत्रीपूर्ण खेल हेर्न यहाँको रङ्गशालामा नेपालीहरूको घुइँचो लागेको थियो ।

विकासको नमुना ; भीक्टोरिया पीकबाट देखिने सुन्दर हङकङ ।

हङकङसँग नेपालीको गहिरो नाता गाँसिनुमा बेलायती सेनामा कार्यरत गोर्खालीहरूको हात छ । सन् १८४१ देखि १९९७ सम्म बेलायतको अधीनमा रहेको हङकङमा बेलायती शासनको उत्तराद्र्ध (सन् १९९४) मा नेपालीको आगमन बाक्लिन पुगेको हो ।

सेल्फी; हङकङको पर्यटकिय स्थल भीक्टोरिया पीक टावरमाथी सेल्फी लिदै नेपाली फिल्मकी नायिका मिरूना मगर।

बेलायती शासनको उत्तराद्र्धमा सन् १९८३ भन्दा अघि हङकङमा जन्मिएकाहरूले स्थायी बसोबासको अधिकार (राइट अफ अवोड) पाउने कानुन बनेपछि सन् १९९७ पछि हङकङमा नेपालीहरूको बाक्लो उपस्थिति हुन थालेको हो । त्यसअघिसम्म गोर्खा सैनिक, केही घरेलु कामदार र व्यापारीहरूको मात्र आवागमन हुने गरे पनि अहिले स्थायी रूपमै बसोबास गर्ने नेपालीहरूको बाहुल्य बढ्दो छ । नेपालीहरूका लागि हङकङ बसोबासको ढोका खोल्ने गोर्खाली अग्रजहरूमध्ये धेरैको समाधिस्थल हङकङमै छ । गोर्खाली अग्रजहरूको सम्झनामा हरेक वर्ष यहाँ गोर्खा सिमेन्ट्री ट्रस्टले ‘पुर्खा दिवस’ मनाउँदै आएको छ ।

७५ लाखभन्दा बढी जनसंख्या र विश्वकै सबैभन्दा बढी जनघनत्व भएको हङकङले ४ सय २६ स्क्वायर किलोमिटर क्षेत्रफल ओगटेको छ । यहाँका २ सय ५० साना–ठूला आयल्यान्डले हङकङको सौन्दर्य बढाएको छ ।

ल्होच्छारको रौनक; तमु ट्हयो ह्यूल हङकङले यहॅाको मंकी हिलमा आयोजना गरेको २०२४ को ल्होच्छार पर्व ।

२४ घण्टा नै जागा रहने हङकङ संसारकै सुरक्षित सहर मानिन्छ । यहाँ मध्यरातमा पनि निर्धक्क हिँडडुल गर्न सकिन्छ । साथै, गगनचुम्बी भवनहरूदेखि नेपाली शैलीका गाउँले जीवनसमेत देख्न पाइने यो ठाउँमा आफ्नै देशको जस्तै भीर–पाखा र डाँडा, हरियाली देख्न पाएकाले पनि होला, हङकङप्रतिको मोह नेपालीहरूमा देख्न पाइन्छ । नेपालबाट नजिकै साढे चार घण्टाको मात्र हवाई दूरी भएकाले पनि यहाँका नेपालीलाई नेपाल आउजाउ गर्न युरोप–अमेरिका गएजस्तो टाढा पर्दैन ।

नेपाल ‘कनेक्सन’, गोर्खाली साइनो
हङकङमा नेपाली बसोबासको सुुरुवात गोर्खा सैनिकहरूको प्रवेशबाट भएको हो । सन् १९५० पछिको चिनियाँ सांस्कृतिक क्रान्तिपछि अर्थात् ६० को दशकपछि हङकङमा शरणार्थीको रूपमा अवैध रूपमा प्रवेश गर्न खोज्ने र अशान्ति मच्चाउन खोज्नेहरूलाई नियन्त्रण गर्न गोर्खा सैनिक परिचालित थिए । सीमा क्षेत्रमा गस्ती गर्न खटिएका गोर्खा सैनिक बिस्तारै हङकङको विकास निर्माणमा समेत खटिए । गोर्खा ब्रिगेडअन्तर्गतको इन्जिनियरिङ विभागको संलग्नतामा धेरै निर्माणका काम सम्पन्न भए । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि त्यहाँको गोर्खा सैनिकको एक रेजिमेन्ट हङकङ सरेको थियो ।

पुर्खाको सम्झना; गोर्खा सिमेट्री ट्रष्टले ५ अप्रिलमा वर्षेनी आयोजना गर्ने पुर्खा दिवशमा आफन्तको चिहानमा पुष्प चढाउॅदै हङकङकी समाजसेवी माया थुलुङ राई

२६ औँ गोर्खा ब्रिगेडको पहिलो टोली सन् १९४८ मा हङकङ आइपुगेको थियो । हालको काउलन पार्कमा ह्वायटफिल्ड ब्यारेक खडा गरी उनीहरूको पल्टन बसेको थियो । त्यसयता सन् १९९७ सम्ममा गोर्खा सैनिकहरू काउलनका र न्यू टेरिटोरिजका गन क्लब, से कोङ क्याम्पसँगै फान लिङ, सा टिन, चुनमुन क्षेत्रमा रहेका थिए । परिवारबाहेक बढीमा १० हजारको संख्यामा गोर्खाली सैनिक तैनाथ थिए । चीनलाई हङकङ हस्तान्तरण गर्ने समयमा यो संख्या ३ हजार ६ सयजति थियो ।

नेपाल मोह; नेपाली राष्ट्रिय फुटबल टीम र हङकङको राष्ट्रिय फुटबल टीमबीच ५ जुन २०२५ मा भएको मैत्रीपुर्ण फुटबलखेलमा नेपाली दर्शक।

धेरै नेपाली कलाकारहरूले आफ्नो विदेश यात्रा हङकङकै मञ्चबाट सुरु गरेको पाइन्छ । नेपालका नेतादेखि कलाकार–साहित्यकारसम्मको विदेश यात्रा हङकङमा पाइला नटेकेसम्म अपुरो मानिन्छ । विदेशमा धेरै सांस्कृतिक कार्यक्रम, फिल्म प्रदर्शन हुने कारणले नेपाली गायक–गायिका, नायक–नायिका आदिका लागि यो आकर्षक गन्तव्य नै हो । एक समय नेपाली व्यापारीहरूको सुरुवाती अन्तर्राष्ट्रिय व्यापार झिटी–गुन्टा व्यवसायको केन्द्र रहेको हङकङले अहिले पनि आफ्नो साख जोगाइरहेकै छ ।

आधुनिक फेसन, श्रृङ्गार होस् या इलेक्ट्रोनिक्स सामान होस्, हङकङको भन्नेबित्तिक्कै नेपालमा अलग्गै महत्व हुने गरेको छ । यो आकर्षण र सान विश्व बजारमा हङकङले बढाएको आफ्नो चमककै कारण हो । पूर्व झापादेखि पश्चिम कञ्चनपुर र संघीय राजधानी काठमाडौँसम्मको सहर–बजारमा फेसनको अर्को नाम हङकङलाई लिने गरिएको छ । कतिपय स्थानमा ‘हङकङ बजार’हरू नै खोलिएका छन् । धरानको भानुचोकमा हङकङको स्टारफेरिमा रहेको घण्टाघरको रिप्लिका नै ठडिएको छ । प्रवासका नेपालीले आफ्नो देश/ठाउँका लागि गरेको योगदानको यो अनुपम उदाहरण मानिन्छ ।

हङकङस्थित नेपाली महावाणिज्य दूतावासका अनुसार यहाँको सरकारी रेकर्डमा २३ हजारको हाराहारीमा नेपालीहरू रहेका छन् । १० हजारभन्दा बढी नेपाली बेलायत बसाइँ सरेको अनुमान छ । आउने–जाने गरेर २५ देखि ३० हजार नेपाली रहेको अनुमान छ, जुन यहाँको जनसंख्याको ०.३ प्रतिशत मात्र हो । संसारकै व्यस्त यो व्यापारिक सहरमा नेपालीले सामान्य कामदारदेखि सफल व्यवसायीसम्मको पहिचान बनाएका छन् ।

हङकङबाट बेलायततिर बसाइँ सर्ने नेपालीहरूको संख्या पछिल्ला दिनमा बढे पनि नेपालमा हुर्कंदै गरेका र विवाह गरेर हङकङ आउनेहरू उत्तिकै रहेकाले पनि स्थायी बसोबास गर्ने नेपालीको संख्यामा त्यति ठूलो हेरफेर भएको पाइँदैन ।

महँगो जीवनशैली
बाहिरबाट हेर्दा देखिने हङकङेली नेपालीहरूको क्रेज यहाँका काम, कमाइ र आकर्षक जीवनशैलीका कारण पनि बढेको हो ।

विश्वका अन्यत्र देशहरूमा रहेका नेपालीहरूको तुलनामा हङकङका नेपालीहरूको कमाइ बढी छ । युरोप–अमेरिकामा औसत नेपालीहरूले मासिक डेढ लाखदेखि अढाई लाख रुपैयाँसम्म कमाइ गर्ने गरेका छन् । उताको तुलनामा हङकङको निर्माण क्षेत्रमा काम गर्ने नेपालीहरूको लोभलाग्दो कमाइ छ । दैनिक ९–१२ घण्टा काम गर्नेहरूले मासिक ३ लाखदेखि ८ लाख रुपैयाँसम्म कमाइ गरिरहेका छन् भने पार्लर, रेस्टुरेन्ट–बार, सुरक्षा क्षेत्रमा काम गर्नेहरूले पनि डेढ लाखदेखि तीन लाख रुपैयाँसम्म कमाउँछन् ।

काममा जति कडा मिहिनेत गरे पनि यहाँका नेपालीहरूको लाइफ स्टाइल खर्चिलो छ ।
राम्रो कमाइ हुने भएपछि सोहीअनुसारको जीवनशैली हुने नै भयो । जसका कारण कतिपय तन्नेरी–युवाहरू कुलतमा समेत फसेको पाइन्छ ।

अपार्टमेन्ट होस् या भाडाका घर, हङकङ संसारकै महँगो सहर हो । अधिकांश नेपाली मासिक ६० हजारदेखि साढे २ लाख रुपैयाँसम्म घरभाडा तिरेर बस्छन् भने ५ देखि १० मिलियन हङकङ डलर अर्थात् साढे ७ करोडदेखि १५ करोडसम्म पर्ने अपार्टमेन्ट किनेर बस्नेहरू पनि धेरै छन् । बसोबाससँगै खानपान र पहिरनमा पनि आफ्नो हैसियतअनुसारको खर्च गर्ने ठाउँ यहाँ छ । कोभिड–१९ को महामारी फैलिनुअघिसम्म युरोप–अमेरिकाको जस्तो नाइट लाइफ र स्वतन्त्र जीवनशैलीका कारण हङकङले बर्सेनि ६ करोडको हाराहारीमा पर्यटकलाई स्वागत गरिरहेको थियो । कोभिडपछिको अहिलेको अवस्थामा हङकङ आफ्नो पुरानै लयमा फर्किन थालिसकेको छ ।

घण्टाघर; हङकङको चिम शा चुई स्थित स्टार फेरीमा रहेको यहि घण्टाघरको रिप्लिका धरान हङकङ मञ्चको सक्रियतामा धरानको भानुचौकमा निर्माण गरिएको हो।

दैनिक ८ देखि १२ घण्टा काम गरेर बच्ने थोरै समयमा नेपालीहरू संघसंस्था सञ्चालन र सामाजिक कार्यदेखि कला–साहित्य, खेलकुदमा समेत सक्रिय छन् । सयभन्दा बढी जातीय, सामाजिक, क्षेत्रीयलगायतका विभिन्न संघ–संस्थाका कारण हङकङमा हरेक हप्ताजसो सामाजिक, सांस्कृतिक गतिविधिहरू भइरहन्छन् । हङकङ नेपाली महासंघ, गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपाल चेम्बर अफ कमर्स, आदिवासी जनजाति महासंघ, हङकङ साहित्य साझा श्रृङ्खलालगायतका नेपाली समुदायका अगुवा संघ–संस्थाका सक्रिय रहेका छन् ।

सिटी युनिभर्सिटी हङकङले सन् २०१३ मा गरेको एक सर्वेक्षणले यहाँका नेपालीहरूमा १७ प्रतिशत निर्माण क्षेत्रमा, १३ प्रतिशत फुड एन्ड वेबरेज, १२ प्रतिशत सेक्युरिटी, ९ प्रतिशत सामुदायिक र शिक्षण, ७ प्रतिशत सरसफाइ, ५ प्रतिशत व्यवसायी तथा राम्रो पदमा कार्यरत रहेको देखिएको थियो । त्यस्तै ५ प्रतिशत विद्यार्थी र ७ प्रतिशत गृहिणी रहेको देखिएको थियो । ६३ प्रतिशत नेपालीले यहाँ भाषाका कारण समस्या झेलिरहेको पाइएको थियो । अल्पसंख्यकको रूपमा रहेका नेपाली समुदाय विगतमा यहाँ भएका आन्दोलन र प्रदर्शनमा समेत खुलेर संलग्न भएको देखिएन । मुख्यत: नेपालीहरू यहाँको राजनीतिभन्दा पनि आफ्नै परिवार र समुदायकेन्द्रित रहेकाले यहाँ हुने हरेक किसिमका राजनीतिक, सामाजिक परिवर्तनले नेपालीहरूलाई ठूलो असर गर्ने देखिँदैन ।

हङकङमा लाखे; प्रवासमा आफ्नो मौलिक सॅस्कृति संरक्षण गर्ने क्रममा लाखे नाच प्रर्दशन गर्दै नेवार समाज हङकङ।

नेपालीहरूको आवागमन बाक्लिन थालेको तीन दशक नाघिसक्दा पनि अधिकांश नेपालीको जीवन दैनिक कडा परिश्रमसहितको काममै केन्द्रित देखिन्छ । बितेको २५/३० वर्षमा हङकङले विकासको फड्को मारिसकेको छ । यहाँका सबैजसो निर्माण क्षेत्रमा नेपालीको खुन–पसिना बगेको छ । यो अवधिमा नेपाली परिश्रम परेका समुन्द्रमाथि बनेका विमानस्थल, पुल–सडक, ठूला भवनलगायतका भौतिक विकासले आकाश छोए पनि कतिपय नेपाली आफ्नो दैनिकीभन्दा माथि उठ्न भने सकिरहेका छैनन् । छोटो समयमै व्यापार–व्यवसायमा हात हालेर, आफ्नै कम्पनी, बार–रेस्टुरेन्ट खोलेर प्रगति गर्नेहरू पनि छन्, तर समयको बहाव र लोभलाग्दो कमाइको सही सदुपयोग गर्न नसक्दा जहाँको तहीँ अवस्थामा रहनेहरू पनि धेरै छन् । यहाँको व्यस्त जीवनशैली, कामको बोझ र व्यस्तताले बढाएको पारिवारिक, सामाजिक, मानसिक समस्याहरूको अलग्गै पाटो छ, त्यतातर्फ भने यहाँका सामाजिक संघ–संस्थाहरूले समेत त्यति ध्यान दिन सकेको देखिँदैन ।

तस्बीरहरूः जगत अम्बु गुरूङ र डम्बरकृष्ण श्रेष्ठ

(‘नेपाली प्रवासन, नियति र रहर’ पुस्तकका लेखक श्रेष्ठ हाल हङकङमा बसोबास गर्छन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *