चर्चित भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’ सिजन–३ को विजेता बनेसँगै प्रशान्त तामाङ एकाएक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चामा आएका थिए । साधारण पृष्ठभूमिबाट उठेर प्रतियोगिता जित्नु उनको व्यक्तिगत सफलता मात्र थिएन, सपना, सङ्घर्ष र आत्मविश्वासले जित्न सकिन्छ भन्ने सशक्त उदाहरण पनि बनेको थियो ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपाली भावना, पहिचान र स्वर प्रस्तुत हुनु नेपाली भाषी समुदायका लागि गर्वको क्षण बन्यो । विशेष गरी गोर्खा तथा नेपाली भाषी समुदायमा उनको जितले ठूलो उत्साह र आत्मसम्मान जगाएको थियो । प्रतियोगिताभरि देखिएको उनको सरल व्यक्तित्व र भावनात्मक गायनले लाखौँ दर्शक–श्रोताको मन जितेको थियो ।
गायनसँगै प्रशान्तले अभिनय क्षेत्रमा पनि आफूलाई स्थापित गरे । इन्डियन आइडल बनेको दुई–तीन वर्षमै उनले नेपाली चलचित्रमा अभिनय सुरु गरे । पाल्पाका अग्रज सङ्गीतकार नारायण रायमाझीको निर्देशनमा बनेको फिल्म ‘गोर्खा पल्टन’ बाट उनले अभिनय डेब्यु गरे । त्यसपछि ‘परदेशी’ र ‘परदेशी–२’ जस्ता फिल्ममार्फत परदेसिएका नेपालीको पीडा, देशप्रतिको माया र भावनात्मक सङ्घर्षलाई पर्दामा जीवन्त बनाए ।
यसका अतिरिक्त उनले ‘अँगालो यो मायाको’, ‘किन मायामा’, ‘निशानी’ लगायतका नेपाली फिल्ममा अभिनय गरे । उनी अभिनीत पछिल्लो नेपाली फिल्म ‘पहिचान’ गत मंसिरमा रिलिज भएको थियो ।

शान्त स्वभाव, मुस्कानसहित बोल्ने विनम्र व्यक्तित्वका रूपमा चिनिने प्रशान्तले हिन्दी र नेपालीसहित अन्य भाषामा पनि गीत गाएका छन् । नेपाली सङ्गीतमा उनका ‘असारे महिनामा’, ‘मन साइँली’, ‘जाउँला रेलैमा सरर’, ‘बिछोडको करौतीले’ जस्ता गीतहरू लोकप्रिय छन् ।
पछिल्लो समय उनी गायनभन्दा अभिनयमा बढी सक्रिय थिए । भारतीय वेब सिरिज ‘पाताल लोक’ सिजन–२ मा उनको भूमिकाको प्रशंसा भयो । साथै, सलमान खान अभिनीत फिल्म ‘ब्याटल अफ गलवान’ मा पनि उनको अभिनय रहेको छ ।
गायक र अभिनेताका रूपमा सशक्त उपस्थिति बनाएका प्रशान्त तामाङको ४३ वर्षको उमेरमा अचानक निधन भएको खबरले सङ्गीत तथा फिल्म क्षेत्र स्तब्ध बनेको छ ।
पश्चिम बङ्गालको दार्जीलिङमा जन्मिएका प्रशान्त तामाङ सन् २००७ मा इन्डियन आइडल सिजन–३ का विजेता बनेका थिए । त्यसअघि उनी कोलकाता प्रहरीमा कार्यरत थिए र प्रहरी ब्यान्डमार्फत पनि गायनमा सक्रिय रहँदै आएका थिए ।



Leave a Reply