नेपाली फेसन डिजाइनर सोनम सुब्बा लिम्बू अहिले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस कोस्मो इन्टरनेसनल, २०२५ मा नेपालको नाम विश्वमञ्चमा पुर्याउने सफल डिजाइनर बनेका छन् । उनीद्वारा डिजाइन गरिएको ‘गोरखा दरबार सङ्ग्रहालयबाट प्रेरित राष्ट्रिय पोसाक’ विश्वका ८० भन्दा बढी देशका उत्कृष्ट पहिरनसँग प्रतिस्पर्धा गर्दै टप १५ भित्र पर्न सफल भयो । नेपाली डिजाइनको अन्तर्राष्ट्रिय रूपमा यही पहिलो सफलता हो ।

गोरखा दरबारबाट सुरु भएको प्रेरणा
गोरखा दरबार संग्रहालयको बाटो हुँदै हिँड्दा सोनमको नजर एक शताब्दी पुरानो आँखीझ्यालको काष्ठ–कलामा अडियो । झ्यालमा कोरिएका बुट्टा, काठको सुन्दर कथा र दरबारको इतिहास । यी सबैले उनलाई निकै भावुक बनायो र कलात्मकताबाट मोहित भए ।
नेपाली कला, वास्तुकला र काष्ठकलामा लुकेका कथाहरूले उनलाई यस्तो पोसाक बनाउने प्रेरणा दिए, जसले नेपाललाई विश्वसामु सांस्कृतिक रूपमा परिचित गराओस् । उनी भन्छन्, ‘सगरमाथा, स्वयम्भू, बौद्ध, कुमारी, बुद्धजस्तै काष्ठकला पनि त नेपालको राष्ट्रिय गौरव हो नि !’ त्यही सोचबाट उनले मिस कस्मो नेपाल दीपशिखा नेपालका लागि आधुनिक फेसन र पुरातन काष्ठ–कलाको सुन्दर मिश्रणयुक्त राष्ट्रिय पोसाक तयार गरे ।

भियतनामको भव्य मञ्चमा दीपशिखाले आत्मविश्वासपूर्वक प्रस्तुत गरेको यो पोसाक निर्णायक र दर्शक दुवैको मन जितेर चर्चित डिजाइनमध्ये एकका रूपमा टप १५ भित्र पर्न सफल भयो ।
सफलता, जसले नेपाली फेसन उद्योगको मान बढायो
हालै मिस वल्र्ड जर्मनी, २०२५ का आधिकारिक डिजाइनरका रूपमा चयन भएका सोनम भन्छन्, ‘यो मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, नेपालकै फेसन उद्योगको जित हो ।’ उनको डिजाइनमार्फत नेपाली काष्ठकला, परम्परागत बुट्टाको सौन्दर्य र सांस्कृतिक पहिचान विश्वमञ्चमा चर्चा पाउनु फेसन उद्योगका लागि गर्वको विषय बनेको छ ।
इलामबाट सुरु भएको सिर्जनाको यात्रा
इलामका सोनम सानैदेखि कापी–कलममा हराउने, चित्र कोर्ने, कल्पना बुन्ने स्वभावका थिए । बायोमेडिकल इन्जिनियरिङ पढ्दा पनि उनको मन भने कपडा, बुट्टा र डिजाइनकै संसारमा रमाइरहन्थ्यो । एक दिन दिदीको साथीका लागि उनले डिजाइन गरेको कपडा अत्यन्त मन पराइयो । यही एउटा अवसरले जन्म दियो, सोनमको एसएसएल डिजाइन । सोनम स्मरण गर्छन्, ‘दिदीको साथीका लागि डिजाइन गर्दा पाएको १० हजार नै मेरो पहिलो पुँजी थियो ।’ त्यही १० हजारबाट सुरु भएको यात्रा आज अन्तर्राष्ट्रिय फेसन मञ्चसम्म पुगेको छ ।

शून्यबाट सुरु, अब अन्तर्राष्ट्रिय पहिचान
फेसनसम्बन्धी औपचारिक शिक्षा नभए पनि सिक्ने जिज्ञासा, आत्मविश्वास र कडा परिश्रमका कारण सोनमले आफ्नो ब्रान्ड मजबुत बनाए । कोरोना महामारीका दिनमा घरमै बसेर सुरु भएको काम अहिले पूर्ण रूपमा स्थापित कम्पनीमा परिणत भएको छ । आज सोनमको एसएसएल डिजाइनमा ६ जना कर्मचारी काम गर्छन् । देश–विदेशका ग्राहक, सेलिब्रेटी र सौन्दर्य प्रतियोगिताका प्रतिस्पर्धीहरू उनीसँग नियमित रूपमा काम गर्छन् ।
उनका डिजाइन मिस युनिभर्स नेपाल, २०२० आंशिका शर्मा, मिस युनिभर्स नेपाल, २०२१ सुजिता बस्नेतलगायतले पनि पहिरिइसकेका छन् । सोनम आज एउटा यस्तो उदाहरण बनेका छन्, जसले देखाएको छ— सपना र सीप भेटिए भने नेपाली कला विश्वको केन्द्रमा चम्किन सक्छ ।

गोरखा दरबारको ऐतिहासिक काष्ठकला आज फेरि एकपटक विश्वमञ्चमा उज्यालो बनेर देखिएको छ, सोनम सुब्बा लिम्बूको हातबाट ।



Leave a Reply