बजार जाने बाटो


धूलो उडाउँदै रातमाटेको बाटो आयो बोलेरो । बेलौतीको रुखमा टिकटक बनाउँदै गर्दा फ्रेममा देखेको हुँ, महिन्द्रा बोलेरोलाई । त्यसको पछाडिबाट निस्केको धूवाँ रातो माटोको धूलोमा छोपिएको थियो । बुङ्ङ उडेको धूलो भिडियोको फ्रेममा पर्दा राम्रो देखिँदो रै’छ । लाइक बढ्ने भो ! म मक्ख परेँ । दोबाटो आइपुगेपछि तल्लो बाटो लिनुपथ्र्यो । बजार जानेहरू त्यै…

धूलो उडाउँदै रातमाटेको बाटो आयो बोलेरो । बेलौतीको रुखमा टिकटक बनाउँदै गर्दा फ्रेममा देखेको हुँ, महिन्द्रा बोलेरोलाई । त्यसको पछाडिबाट निस्केको धूवाँ रातो माटोको धूलोमा छोपिएको थियो । बुङ्ङ उडेको धूलो भिडियोको फ्रेममा पर्दा राम्रो देखिँदो रै’छ । लाइक बढ्ने भो ! म मक्ख परेँ ।

दोबाटो आइपुगेपछि तल्लो बाटो लिनुपथ्र्यो । बजार जानेहरू त्यै बाटो जान्छन् । तर, त्यसले माथिल्लो बाटो समात्यो । यो बाटो त खोलातिर जान्छ, पर बाँदरे भीर पुगेपछि सकिन्छ ! म सोचिरहेँ, कता जान हिँडेका हुन् यिनीहरू ? बजार, कि भीर ! आफैँ टुङ्गिने बाटोको यात्रा पनि गर्छ होला त कसैले ?

चुनावको बेला यस्तो गाडी खुब ओहोरदोहोर गथ्र्यो । घरी हूलका हूल मान्छे छाडेर जान्थ्यो । अलि पछि ती सबैलाई टिपेर लैजान्थ्यो । त्यसबाहेक मोटर आइरहने गाउँ हैन यो ।
बाख्राहरू पाखामा चर्दै छन् । मध्यदिन हुनुअघिको घाम, बेलौतीको हाँगाले राम्रै ओतेको छ । बाख्रा हेर्न आएको म, बाटो बिराएको बोलेरो हेर्दै छु, टिकटक बनाउने निहुँमा ।
धूलो उडाउँदै त्यो गाडी यतै सोझियो !

चुनाव त गइसक्यो, नौलो मान्छे को आयो गाउँमा ? पल्लो गाउँका लाहुरे हुन् कि ? लाहुरे हुन् भने त आमा समूहले भरे नाचगान गर्लान् । तर, लाहुरे फर्किने सिजन हैन यो । दसैँतिहार सकिइसक्यो । अब त धान भित्र्याउने बेला भो । धान छाँट्न तराईतिरबाट आउनेहरू बोलेरो चढेर आएको मैले देखेको छैन । तिनीहरू हूल बाँधेर आउँछन्, काँधमा गम्छा भिरेर, नुन–च्यूराको पोको बोकेर ।

मान्छे हिँड्ने बाटोमा धूवाँ पुत्ताउँदै आयो, त्यो गाडी । केही बेरमै बेलौतीकै रुखमुनिको उकालो चढ्न नसकेर घ्याच्च रोकियो । बेलौतीको झुप्पाले छेल पारेर हेर्दा देखेँ, तीन जना ओर्लिएको ।
‘सदरमुकाम जान खोजेको, बाटो भुलियो जस्तो छ । कुन हो बाटो, बैनी ?’ अघिल्लो ढोकाबाट ओर्लिने अधबैँसेले सोध्यो । अलि कालो थियो त्यसको अनुहार, कल्मुखे !

‘हिँडेर कि गुडेर ?’ बेलौतीको रुखैमा छु यतिबेलासम्म म । उसै त लुङ्गी लगाएकी छु । तीन–तीन जना बेलौती टिप्ने निहुँमा यतै आए भने मलाई चौपट पर्ने भो ! देख्दैनन् होला भनेको, तलबाट सबै देख्ने भए ! सङ्कोच पलायो मनमा । ‘लोग्नेमान्छेका आँखा गढितो हुन्छ’ भन्थिन् आमा, हो कि क्या हो !

‘जुन सजिलो हुन्छ त्यही,’ दोस्रो मान्छेले थप्यो । पातलो कपाल, चुच्चो नाकवाला दोस्रो मान्छे पछिल्लो ढोकाबाट निस्कियो । पछाडिकै ढोकाबाट तेस्रो पनि निस्कियो । चकलेटी अनुहार, गोरो वर्णको । कुनै केटाकेटी हुन्छ नि, देख्नेबित्तिकै मन लोभिने, ट्याप्प टिपेर काखमा खेलाइहालूँ लाग्ने । हो, त्यस्तै खालको लाग्यो त्यो तेस्रो मान्छेलाई देख्नेबित्तिकै ।
‘सजिलो चैँ कुन छ त ?’ चकलेटी मुखवालाले बोलेपछि पो झसङ्ग भएँ । धत् ! म त उसैलाई हेरिरहेको रै’छु । यस्तो त कैलेकाहीँ स्कुल छुट्टी भएर घर आउने बेला हुन्थ्यो, जब विक्रमलाई देख्थेँ । ऊ मलाई नदेखेजस्तो गथ्र्यो । म थाहा पाइहाल्थेँ, लुकेर हेरेको ।
‘मनले जुन चाह्यो त्यही सजिलो ।’ फोन पोल्टामा बेरेपछि हातमा बेलौतीको दाना लिएर म तल ओर्लिएँ ।

‘क्वाप्प खाऊँ जस्तो लाग्यो ।’ चकलेटी केटोले हात लम्कायो ।
‘बेलौती कि अरू नै ?’ कसरी हो, ठट्टा फुत्कियो मेरो मुखबाट !
‘जे भेटिन्छ त्यही ।’ त्यसले दुवै हातले एक–एकवटा दाना टप्प टिप्यो । बेलौती टिप्न ढल्किँदा उसको जीउबाट आएको बेली फूलको जस्तो बास्नामा म छोपिएँ । मनको भित्र कतै छोयो त्यसले । मेरा आँखा एकछिन त्यहीँ टाँसिए, हिमाल हेरेजस्तो बहानामा । कति हुन्छन् यस्ता बहाना पनि । हेरेजस्तो गरी नहेर्नुपर्ने । नहेरोजस्तो गरी हेर्नुपर्ने । नजिक भएर पनि टाढा हुनुपर्ने । टाढा भएर पनि नजिकजस्तो देखिनुपर्ने ।

नाकचुच्चे दोस्रो केटो पनि रुखतिर लम्कियो । अधबैँसे कल्मुख डिलनिर पुगिसकेको थियो । र, पर परसम्म हेर्न थाल्यो । यस्तरी हेर्‍यो कि सारा दृश्य सधैँका लागि आँखामा सँगालेर राख्न चाहन्छ ऊ ।

आज आकाश खुल्ला छ । निकै परसम्म देखिने गरी । पल्लो डाँडा, त्यसपछिको पाखा, अनि त्योभन्दा नि उताको कटुसघारी । त्यसपरको गणेश हिमाल । हिमालमाथि नीलो आकाशमा काउलीका थुँगाजस्ता बादलका टुक्रा । सप्पै देखिन्छ । सदरमुकामबाट पनि यस्तै देखिन्छ हिमाल, तर मलाई गाउँबाटै देखिने हिमाल मन पर्छ । एकचोटि सदरमुकाम जाँदा त्यहाँको बजारबाट देखेको गणेश हिमाल गाउँबाट देखिएजस्तो राम्रो लागेन ।
बेलौती चपाउँदै तिनीहरू एकछिन खासखुस गर्न थाले ।

तलको दोबाटोमा झुक्किएछन् तिनीहरू । हुन पनि त्यो झुक्याउने खालकै चोक छ । हुन्छ नि, जुन हिरो हो भन्यो झुक्किएर त्यै भिलेन परेजस्तो । त्यहाँ साइनबोर्ड पनि छैन । तल्लो बाटो गयो भने मात्रै सदरमुकाम पुगिन्छ । सदरमुकाम उति टाढा हैन, दिनभरिजसो लाग्छ हिँडेर पुग्न । जो गए पनि सदरमुकामतिर जाँदा ‘बजार गा’को’ भन्छौँ हामी । बजार जाने त्यो बाटो पल्लो डाँडा हुँदै जान्छ । कालो पत्र ओछ्याएको त्यो बाटोमा गाडीको चक्का गुडेको हेर्न खुब रमाइलो हुन्छ । हिउँद सुरु हुने बेला धेरै टुरिस्टहरू त्यही बाटो जान्छन् । बजारबाट तिनीहरू हिँडेरै हिमालतिर लाग्छन् रे । कुनै–कुनै ग्रुप चैँ हाम्रो गाउँपट्टिबाट पनि जान्छन् । बजार जान घुमाउरो पर्छ यो बाटो । र, पूरै हिँड्नुपर्छ । कतिलाई यस्तो अप्ठेरो बाटो हिँड्न पनि रमाइलो लाग्दो रै’छ । अझ कति त त्यो बजारको होटेलमा बस्न छोडेर बारीको पाटामाथि त्रिपाल टाँगेर यतै बसेको पनि देखेको छु । तर, त्यसो गर्नेहरूको ग्रुपमा कैलो कपालवालाहरू पनि हुन्छन् । नेपाली मात्रै पालमुनि बसेको चैँ देखेको छैन ।

यो तीन जनाको अल्लारे टोली, पालमुनि बस्न आएका त हैनन् होला । विशेष केही कामले नै यता आए कि त भन्ने तर्कना गर्दै थिएँ म ।

चकलेटी केटोले गोजीबाट फोन निकाल्यो र फोटो खिच्न थाल्यो । पहिला पारिपट्टि डाँडाको, त्यसपछि हिमालको, अनि बेलौतीको रुखको । मैले बुझेँ, ऊ बेलौतीको निउँमा मेरो पनि फोटो लिँदै छ । काउकुती लाग्छ, लुकेर फोटो खिच्दिँदा । कसलाई ट्याग गर्छ फोटो उसले ? त्यसपछि ग्रुप फोटो लिन मलाई अह्रायो र उसको फोन दियो । तीनै जना डिलमा उभिए । फोनको स्क्रिनमा नाम देखेँ— रविन ! पोट्र्रेट मोडमा खिचिदिएँ फोटो । ‘कति कामले हो र बजार जान लागेको ?’ खुल्दुली रोक्न सकिनँ मैले ।
‘घुम्न,’ चकलेटी केटो बोल्यो ।
‘घुम्ने ठाउँ त यता नि कत्ति छन् ।’
‘हेर्न मिल्ने केई छ ?’
‘मन लागेजति । मन भए जे नि सुन्दर’, बाख्रा कता पुग्यो पनि हेर्दै थिएँ म । ‘आज यतै बसौँ त ?’ नाकचुच्चेले थप्यो । कालो वर्णको पहिलो व्यक्ति पनि डिलबाट यतै फर्कियो । तीनै जना मेरो वरिपरि आइपुगे । यस्तो अपरिचित पुरुषहरू नजिक अहिलेम्म म परेकी थिइनँ ।
‘साँच्चै भन त, यो बाटो कता जान्छ ?’ चकलेटीवाला नै बोल्यो ।
‘यो त बगरमा पुग्छ । खोलामा । त्यसपछि भीरमा ।’
‘हाम्लाई त सदरमुकाम जानु छ । जसरी पनि त्यहीँ पुग्नुपर्छ आज ।’
‘के छ र बजारमा विशेष ?’
‘जे पनि ।’
‘छ्या, कस्तो होला कुरा नि !’ लाजजस्तो पोखियो मेरो मुखबाट ।
‘साँच्ची भनेको ।’
अब मलाई यिनीहरूका बारेमा जान्न मन लाग्यो । ‘आजभोलि नेपाली पनि घुम्न आउँछन् । खैरेहरू मात्र हैनन् ।’ बाले धेरैचोटि भनेको सुनेको छु । पहिला माओवादी युद्धका बेला चरोमुसो पनि हिँड्दैनन् जस्तो थियो रे यो बाटो । गाउँबाट सदरमुकामको बजार जान पनि चार ठाउँ सेनाको चेकजाँच पूरा गर्नुपथ्र्यो रे ! त्यति सम्झना छैन मलाई त्यो बेलाको कुरा । घरमा बाआमा सधैँ यस्तै कुरा गर्नुहुन्छ । ‘त्यो युद्धमा दमै कान्छो, नयाँघरे राजु, पसले भान्जा सबै जना जङ्गलतिरै लागेका थिए । युद्धपछि ती सबै कोरिया गए ।’ कतार र साउदी जानेहरू धेरैलाई त मैले पनि चिनेको छु । कोही–कोही जापान पनि गएका छन् । स्कुल सकेपछि गाउँमा कोही पनि बस्दैनन् । यस्तो देख्दा मलाई नि गाउँमै बसौँ जस्तो लाग्दैन । तर, कहाँ जाने ?
‘यो हाम्रो भतिज । चार वर्षपछि फर्केको ।’ चकलेटीवालालाई देखाउँदै कल्मुख अघि सर्‍यो । सोचमग्न मेरो ध्यान यतै मोडियो । ‘ग्य्राजुएट भएपछि आएको, अमेरिकाबाट । फर्किनुअघि घुम्न हिँडेको ।’
‘कुन ठाउँ ?’ ठाउँ हेर्ने निउँमा मलाई पो हेर्न आइपुग्यौ चैँ भन्न सकिनँ ।
अब चैँ चकलेटी नै अघि बढ्यो, ‘तिम्रो बजार । बेलौती, बाख्रा । यो वन । बादल ।’
‘के देख्नुहुन्छ र यसमा ?’
‘असीमित । गोरुजस्तै बिताएँ गएको चार वर्ष । डेरा, काम, कलेज, होमवर्क । सुन्नेलाई वाह ! अमेरिका ! भोग्नेलाई थाहा हुन्छ कलेज सक्दाको दु:ख । जानुअघि देश घुमेर ऊर्जा सँगाल्नु छ । सम्झना लैजान परेन ! नत्र नीरस छ जिन्दगी उता पनि, नीरस ।’
‘दिल बस्यो भने मात्रै हो नि रस भेटिने ।’
‘मन यता बस्छ, तन उता होलाजस्तो छ अब !’
‘यसरी बाँडिएर हुन्न नि ! जहाँ बास, त्यहीँ आस हुनु परेन !’
‘स्कुल सक्दा म नि यस्तै भन्थेँ ।’
‘उसो भए ?’ मेरो जस्तै दुबिधा पार गरेर हिँडेको रै’छ ऊ पनि, जस्तो मलाई भइरहेको छ अहिले ।

स्कुल सकियो, प्लस टु सकेर बस्दा यस्तो दुबिधा हुने रै’छ । बा भन्नुहुन्छ, ‘छोरीमान्छे, टाढा किन जानु ? बजारकै कलेज पढ, नजिक छ ।’ साथीहरू सबै राजधानी जान खुट्टा उचालेका छन् । बरु टोफल, आइएल्स तयारी गर्नी हो भन्छन् । मलाई नि राजधानी जान मन छ । अझ सिनियरहरू हप्तैपिच्छे विदेशतिर उडेको उड्यै छन् । फेसबुक र टिकटकमा फोटो अपलोड गर्छन्— चिल्ला सडक, अग्ला घरहरूको ।
‘भिसा कसरी मिल्यो ? कुन युनिभर्सिटीले दियो एड्मिसन ?’ मैले चकलेटी केटोतिर आँखा तेस्र्याएँ ।
‘आइएल्समा स्कोर ल्याउने । अनि युनिभर्सिटीलाई इमेल लेख्ने ।’ उसले बेलीविस्तार लायो । ‘केही गाह्रो छैन । जान्यो भने बागबजार र पुतलीसडकको कन्सल्टेन्सी पनि धाउन पर्दैन । ट्राई मार । के बिग्रिन्छ र ट्राई गर्दैमा ?’
‘हेल्प गर्ने भए, पक्का ।’
‘काउन्ट मि अन ।’
‘पक्का,’ सहमतिमा मुन्टो हल्लाएँ । टोफल त गरुँला, त्यसपछि ? प्रोफेसरलाई फकाउने कथा बुन्नुपर्‍यो भने उसको सहयोग कसरी पाउँला ? ‘तिमी टिकटकमा छौ रविन’ चैँ भन्न सकिनँ ।
गहिरो तिर्खाजस्तो सपना रोप्दियो उसले । हरियो पासपोर्ट हातमा बोकेर एयरपोर्टअघि उभिएको देख्न थालेँ आफूलाई : काठमाडौँ–दोहा–न्युयोर्क ! दिउँसै सपना ।

घाम पल्लो पाखाको नजिक पुग्न लागेर होला, बेलौतीको छाया लामो बनिसकेको थियो । तिनीहरूले आफूबीचमै किन आजै सदरमुकाम पुग्नुपर्ने भन्ने कुरा गरे । केटीमान्छे भएपछि पहिलोचोटि भेटिएकाहरूलाई ‘आज यतै बस्नुस् न त’ भन्न धक लाग्यो । भन्न सकेको भए बस्थे कि ! तीनै जना फेरि त्यही बोलेरो चढे । झ्यालको सिसा तल झारे र ‘धन्यवाद बैनी’ भन्दै गाडी फर्काए । सिसाभित्रैबाट बेलौतीको दाना समातेको हात हल्लाए । मैले उठाएँ मात्र, हल्लाउन सकिनँ । कस्ती हुस्सू ! तिनीहरूको नाम पनि सोधिनछु । तिनीहरूले पनि सोधेनन् नि !
उनीहरू फर्किंदा फेरि धूलो उड्यो । यसपल्ट धूलोमा म छोपिएँ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *