जीवनको साढे आठ दशकीय लामो यात्रामा हिँडिरहेका अविश्रान्त सङ्गीत–साधक सीके रसाइलीमा अझै पनि सिर्जनकर्मप्रतिको मोह, स्नेह र लगाव घटिसकेको छैन । जीवनरूपी बयेली उत्तराद्र्धका दिनहरूतिर झुलिरहँदा शारीरिक र मानसिक रूपमा केही शिथिलता आउनु स्वाभाविकै हो । उनी भने महान् विचारक–पथप्रदर्शक बुद्धका जीवनका केही सन्दर्भलाई उधिनेर प्रार्थना–गीत तयार पार्ने उपक्रममा जुटेका छन् । भन्छन्, ‘काम सुस्त रूपमा अघि बढिरहेको छ । तर, यो मेरो सिर्जना–यात्राको सार्थक मोड हुन सक्नेछ ।’
अधिकांशको जानकारी–रेखाभन्दा बाहिर हुन सक्छ, रसाइलीको जीवनयात्रामा तीन भिन्नाभिन्नै भूगोलले सहयोगी भूमिका निर्वाह गरे— क्वेटा, सिलोङ र काठमाडौँ । पाकिस्तानको क्वेटा थियो, उनको जन्मथलो । जहाँ जन्मिएका थिए, सन् १९४१ मार्च १ तारिखमा । भारतको पूर्वोत्तर क्षेत्रहरू सिलोङ र आसाममा रहँदा साहित्य–सङ्गीत क्षेत्रका प्रतिभाहरूका सान्निध्य पाए । काठमाडौँ प्रवेशसँगै उनी यो चार भन्ज्याङभित्रको माहोलमा रमाउन पुगे र तात्कालिक समय नेपाली नक्षत्रमा चम्किरहेका साङ्गीतिक साधकहरूका स्वरलाई चम्काउन अविराम लागिरहे ।

सम्झना सिलोङको
सन् १९४१ ताका द्वितीय विश्वयुद्ध चरमोत्कर्षमा थियो । उनका बुबा ब्रिटिस आर्मीमा ‘तैनाथ’ थिए । तेह्रथुम, म्याग्लुङमा स्थायी बासिन्दा उनका बुबा त्यस समयताका पाकिस्तानको क्वेटामा कार्यरत थिए । उनी सोही ठाउँमा जन्तरे सन्तानका रूपमा जन्मिए । द्वितीय विश्वयुद्धले सर्वत्र तहसनहस तुल्याइरहेको थियो र थियो वातावरण— उत्तिकै भयावहसमेत । विश्वयुद्ध चर्किएसँगै ब्रिटिस सरकारले क्वेटामा रहेका सैनिकहरूका परिवारलाई सुरक्षित स्थान ठान्दै सिलोङतिर ‘रवाना’ गरिदियो । उनी भन्छन्, ‘मैले आफ्नो बाल्यकाल सिलोङमा नै बिताएँ ।’
सिलोङस्थित सैनिक क्याम्प नै उनका निम्ति सङ्गीत धरालतमा दह्रोसँगले खुट्टा टेक्ने आधारस्तम्भ बन्न पुग्यो । उनी भन्छन्, ‘बुबा सङ्गीतप्रेमी हुनुहुन्थ्यो र उहाँसँग एउटा ग्रामोफोन पनि थियो ।’ सोही समयताका गायक मित्रसेन सिलोङ पुगेका रहेछन्, त्यस्तै सन् १९५०/०५१ ताका । त्यस समय उनका बुबा पनि सिलोङमै थिए । उनी सम्झिन्छन्, ‘मित्रसेनलाई बुबाले सिलोङमा स्वागत गर्नुभएको मलाई सम्झना छ । मैले मित्रसेनका गीतहरू त्यति बेलै सुनेको थिएँ ।’

लीलबहादुरसँगको निकटता
सन् साठीको दशकताका प्रख्यात आख्यानकार लीलबहादुर क्षेत्री गुवाहाटीस्थित अलइन्डिया रेडियोमा कार्यक्रम सञ्चालन गर्थे । पूर्वोत्तर भारतमा बसोबास गरिरहेका प्रतिभाहरूका ‘अडिसन’ लिन उनी सिलोङ पुगेका रहेछन् । त्यही भेटे, रसाइलीले पहिलो पटक क्षत्रीलाई । रसाइलीले पनि ‘अडिसन’ दिए र छानिए पनि ।
केही वर्षअघि पञ्चतत्वमा विलीन भएका क्षत्रीप्रति कृतज्ञ भाव दर्साउँदै उनी भन्छन्, ‘मलाई लीलबहादुर दाइले नै सङ्गीत क्षेत्रमा लाग्न उत्प्रेरित गर्नुभएको हो ।’ हुन पनि त्यस समय उनलाई हिन्दीलगायत अरू भाषामा गीत गाउन त आउँथ्यो, नेपाली भने शून्य बराबर ! उनले नेपाली भाषाका गीतहरूमा आफ्नो पकड जमाउनमा क्षत्रीकै भूमिका रह्यो ।
उनले स्वरबद्ध गरेको पहिलो गीत थियो, ‘जन्म गर्दिन् माताले कति दु:ख, कष्ट गरेर…।’ जुन गीत रेडियो खर्साङ, दिल्ली र गुवाहाटीबाट निरन्तर रूपमा प्रसारण हुन थाल्यो । सो गीतको प्रसारणसँगै नेपालीभाषी श्रोताहरूबीच उनको गायकी–पहिचानको दैलो उघ्रिन पुग्यो । तात्कालिक समय सीमित प्रसारण माध्यमहरू मात्र थिए । कुनै पनि गीतका शब्द–शब्द केलाएर सेन्सर गर्ने चलन थियो । उनको गीतलाई कतिपयले ‘विद्रोही’ को ट्यागसमेत झुन्ड्याइदिए । उनी अहिले सोच्छन्, ‘मैले आमाको बिलौना पोखेर गाएको गीत कसरी विद्रोही हुन्थ्यो र ?’

नेपालतिर लम्कियो पाइला
आसाम–सिलोङ क्षेत्रतिर जमिरहेकै थिए उनी । सोही समयताका राजा महेन्द्रको ४४ औँ जन्मदिनको बेला गीत गाउनका लागि काठमाडौँबाट ‘अफर’ पुग्यो । उनी सम्झिन्छन्, ‘राजाको जन्मोत्सवको बेला गीत गाउनका लागि हामीलाई सूचना तथा सांस्कृतिक विभागबाट एउटा निम्तो पत्र आयो ।’ त्यस समय उनीलगायतको सक्रियतामा खोलिएको थियो— नेपाली सङ्गीत कला समिति । पत्र सोही समितिको नाममा पुगेको हुँदा २०–२५ जनाको टोलीसहित उनी काठमाडौँ भित्रिए ।
सन् साठीको दशकताका गुवाहाटीबाट रेल चढी रक्सौलमा उत्रिएका उनलाई त्यो बेलाको काठमाडौँ–यात्राले अझै पनि रोमाञ्चित तुल्याउँछ । भीमफेदीको उकालो हुँदै काठमाडाँै भित्रिएका उनी भन्छन्, ‘लामो यात्रापछि काठमाडौँ आएपछि हामीले दशरथ रङ्गशालामा आफ्नो साङ्गीतिक प्रस्तुति दिएका थियौँ ।’ राजा महेन्द्र र राजपरिवारका सदस्यहरूलाई भने राष्ट्रिय नाचघरमा गीत सुनाएपछि भोलिपल्ट राजाले भोज दिएका सम्झिन्छन् ।
उनको प्रतिभाको धरातल पहिल्याएपछि सूचना तथा सांस्कृतिक विभागका प्रमुखले भनेछन्, ‘यो राजा महेन्द्रद्वारा लेखिबक्सेको गीतहरूको सङ्ग्रह हो, यो सङ्ग्रहको एउटा गीतमा सङ्गीत भरेर भोलि नै सुनाउनुस् ।’ उनको हातमा परेको सङ्ग्रह थियो, ‘फेरि उसैका लागि’ । उनका निम्ति यो अति राम्रो अवसरका साथै चुनौतीसमेत थियो । उनले ‘दुखेको दिल, टुटेको मन…’ बोलको एउटा गीतमा लय भरेर भोलिपल्टै राजा महेन्द्रलाई सुनाए । उनी सम्झिन्छन्, ‘मेरो गायन–कला देखेर राजा महेन्द्र धेरै खुसी हुनुभयो ।’ त्यति बेलै राजाले भनेका रहेछन्, ‘नेपालमै बसेर आफ्नो प्रतिभा तिखार्नू ।’ पछिल्लो समय राजा महेन्द्रको अनुरोधमा सोही गीत सङ्गीत–प्रवीण नरराज ढकालले कलकत्तामा गई रेकर्ड गरे । त्यसपछिका तीन वर्षसम्म रसाइलीसहित सिलोङवासी नेपाली सांस्कृतिककर्मीहरूलाई नेपालमा हार्दिक ‘स्वागत’ गरियो ।
यो २०२६ सालको प्रसङ्ग हो, सुनौली–पोखरा सडक खण्डमा कार्यरत एक जना दाइलाई भेट्ने उद्देश्यले बुटवल आएका बेला उनलाई लाग्यो, ‘एकपटक काठमाडौँ गई राजालाई भेट्नुपर्यो ।’ उनी काठमाडौँ आए पनि त्यस समय राजा महेन्द्र जापान भ्रमणमा गएका रहेछन् । राजासँग भेट हुन नसकेपछि त्यस समयका चर्चित सङ्गीत–साधकहरू नातिकाजी र शिवशंकरलाई भेटे, रेडियो नेपालमा । दुवैले आग्रह गरे, ‘अब नेपालमै बसेर सङ्गीत साधना गर्नुस् ।’ नभन्दै उनले रेडियो नेपालमा करार सेवामा प्रवेश पाए र साङ्गीतिक संसारमा आफूलाई झनै तिखार्न थाले ।
चर्चित साधकहरूका प्रशिक्षक
उनले सङ्गीत जगत्मा चम्किन चाहेका धेरै प्रतिभालाई गोरेटो पहिल्याउन सिकाए, जसमा उदितनारायण झा, मधु क्षेत्री, तारा थापा, रवीन शर्मा, रचना जिसीलगायत कलाकारहरूका नाम अग्रपङ्क्तिमा आउँछन् । उनलाई सम्झना छ, ‘त्यति बेला उदीतनारायण त सानै थिए र तालमा गाउनसमेत जान्दैनथे । उनलाई तालमा गाउन मैले नै सिकाएको हुँ ।’ उदीतनारायणको स्वरमा रहेको पृथक् स्वाद नै उनलाई बलिउडमा जम्ने आधार बनेको रसाइलीको निचोड छ, ‘उनले कसैका नक्कल गरेर गाउँदैनथे र फरक स्वर भएकै कारण उनी मुम्बईमा जम्न पुगेका हुन् ।’
हरिभक्तसँग उठबस
साहित्य–सर्जक हरिभक्त कटुवालमा बेजोड प्रतिभा थियो । तात्कालिक समय राम्रा गीत र कविता लेख्ने हरिभक्तले ‘पियक्कड’ बानीका कारण ‘नाम’ र ‘बदनाम’ दुवै आर्जन गरेका थिए । उनले पनि हरिभक्तका केही गीति–शब्दलाई ‘नोटेसन’ ले सिँगारपटार गरे । ती सबै चले पनि । हरिभक्त त पिउँथे नै, नियमित । उनले पनि सङ्गतलाई पछ्याउँदै हरिभक्तसँगै बसेर पिए । एक पटक नभई अनेक पटक ।
त्यस समयताका कमलपोखरीमा ‘डेरावाल जिन्दगी’ बिताइरहेका थिए, रसाइलीले । हरिभक्तका पत्नी र छोराछोरीहरू आसाम गएका बेला हरिभक्त उनकै कोठामा बस्न थाले । उनी हरिभक्तमा व्याप्त ‘मदिरा–आशक्ति’ यसरी व्यक्त गर्छन्, ‘हरिभक्त दाइको धेरै पिउने बानी थियो । म कहिलेकाहीँ कोठामा नै एक क्वार्टर ल्याइदिन्थेँ, तर त्यतिले उहाँलाई पुग्दैनथ्यो र फेरि बाहिर निस्किएर पिइहाल्नुहुन्थ्यो ।’
नारायणगोपालसँग जोडिएको एउटा थकथकी !
त्यस समयताका नारायणगोपालको चम्काइले शिखर–स्पर्श गरिसकेको थियो । अधिकांश सङ्गीत–साधकहरू चाहन्थे, ‘नारायणगोपालले आफ्नो एउटा गीत गाइदिओस् ।’ एकपटक हरिभक्तको शब्दमा नारायणगोपाललाई गाउन लगाउने उद्देश्यस्वरूप रसाइलीले सङ्गीत भरे, ‘आँखादेखि ओझेल भएँ बिर्सिदिन सकुँला कि भनेर…।’
रसाइलीको हातमा पर्नुअघि हरिभक्तले सो गीत अर्का सङ्गीत–साधक अम्बर गुरुङलाई दिएका रहेछन् । गुरुङले भने ‘मिटर नपुगेको’ भन्दै सो गीतमा कामै अघि बढाउन चाहेनछन् । त्यो शब्द आफूले पाएपछि उनले धेरै मिहिनेत पोखे । भन्छन्, ‘मैले ब्रह्मपुत्र नदीमा टहलिँदै यो गीतमा धुन भरेको थिएँ ।’ सो गीत नारायणगोपालले गाउने टुङ्गो लाग्यो । नारायणगोपाल पूरै तयारीपूर्वक सो गीत गाउन रेडियोमा आए, तर स्टुडियोमा कसैसँग विवाद परेपछि सो गीत नगाईकन नारायणगोपाल बाहिरिए । उनी सम्झिन्छन्, ‘यो गीत नगाईकन हिँडेपछि उनी बिरामी परे । अन्तत: उनले यो गीतमा स्वर दिन नपाई मृत्युवरण गरे । नारायणगोपालको स्वरमा यो गीत गाउन लगाउने मेरो इच्छा अधुरै रह्यो र अहिलेसम्म पनि थकथकी लाग्छ ।’
तर नारायणगोपालले उनीद्वारा सङ्गीतबद्ध तीन–चारवटा गीत भने गाए, जसमा ‘प्रेमको माला पहिराइदिएँ’ र ‘कहिलेकाहीँ म हाँस्छु’ जीवन्त छन् । नारायणगोपालबाहेक तारा देवी, अरुणा लामा, प्रेमध्वज प्रधान, उदितनारायण झा, प्रकाश श्रेष्ठ, मीरा राणा र ज्ञानु राणाले समेत उनका सङ्गीतमा कालजयी स्वर दिएका छन् । अरुणा लामाको स्वरमा सजिएका १० वटा गीत–सङ्गृहित ‘साजको ताज’ मा त उनको एकल वाद्यवादन समाविष्ट छ ।
नयाँ पुस्ताप्रति आशा
उनले सङ्गीत–मार्गमा पाइला बिछ्याउँदाताकाको परिस्थिति बेग्लै थियो । सीमित स्रोत–साधन र माध्यमहरूमार्फत आफ्ना कला–सिर्जनालाई फक्राउनुपथ्र्यो । यति बेला भने नेपाली साङ्गीतिक बजार निकै आलोकमय बनिसकेको छ ।
उनी भन्छन्, ‘अहिले नयाँ–नयाँ प्रतिभाहरू सङ्गीत क्षेत्रमा क्रियाशील छन्, म यो क्षेत्रमा आएको व्यापक परिवर्तन देखेर निकै खुसी छु ।’ ‘नेपाल आइडल’ जस्ता प्रतियोगितात्मक मञ्चहरूका कारण प्रतिभाहरूले आफूलाई निखार्न पाएको उनको अनुभूति छ ।

आजपर्यन्त सङ्गीत साधनाकै सेरोफेरो उभिइरहेका उनले जीवनका ऊर्जावान् वर्षहरू यिनै ठाउँहरूमा बिताए— रेडियो नेपालमा १२ वर्ष, नेपाल प्रहरीको सङ्गीत शाखामा चार वर्ष र नेपाली सेनाको सङ्गीत शाखामा २६ वर्ष । उमेर ढल्किँदै गए पनि सङ्गीत–साधनाप्रतिको मोह अझै डगमगाएको छैन र त बुद्धसम्बन्धी प्रार्थना–गीतमा लागिरहेका छन् । उनी भन्छन्, ‘यो प्रार्थना–गीतमा मायादेवी र यशोधराका जीवनचरित पनि सुनिन सकिनेछ ।’
००



Leave a Reply