आउनोस्, हामीले बाँच्दै आएको जीवनकै कुरा गरौँ, वाह ! जिन्दगीमा यसपटक ।
कसरी बाँच्ने ? जीवन बाँच्ने हो कि जिउने हो ? सफलता र खुसी के हुन् ? यी अमूर्त प्रश्नका आ–आफ्नै मापदण्डअनुरूपका जवाफ हुन्छन् । कारण, हरेक मान्छेको बाँच्ने आफ्नै शैली हुन्छ, आफ्नै गति र कला हुन्छ । कोही सफलताको शिखरमा पुग्न चाहन्छ र उपलब्धिको उचाइमा आफ्नो जीवनको अर्थ खोज्छ । अर्कोथरी कुनै हल्लाखल्लाबिनै शान्त र मौनताको जीवन बाँच्न चाहन्छन् । तर, सबै सफल अनि खुसी हुन चाहन्छन् ।
हुन त खुसी र सफलताको परिभाषा पनि समय, समाज, परिवेश र सन्दर्भअनुसार फरक हुन्छ । कसैका लागि सफलता धेरै कमाउनु, भौतिक सुख–सयलमा बाँच्न पाउनु होला । कसैका लागि परिवारको आधारभूत आवश्यकताको परिपूर्ति गर्न सक्नु नै सफलता हुन सक्छ । अनि अरू कसैका लागि विश्वसनीय, पारदर्शी र इमानदार जीवनयापन सफलताको मापदण्ड होला । त्यसैगरी कतिपयले शारीरिक र मानसिक स्वास्थ्यलाई सफलता मानिरहेका होलान् । त्यसैलाई खुसी हुने कारण ठान्दा हुन् ।
सफलता र उपलब्धिका यी अनेक आयामहरू छन्, यद्यपि एउटा प्रवृत्ति हाबी छ, अहिलेको समयमा । त्यो के भने, कलात्मक जीवनभन्दा बढी दौडिने कुरा हाम्रा प्राथमिकतामा छन् । मान्छेहरू सफल हुन भागदौडमा छनन् । एकआपसमा भेट्दा सोधिने पहिलो प्रश्न हुन्छ, के गर्दै छौ ? कसैले सोध्दैन, तिमी कस्तो जीवन बाँचिरहेका छौ ? करिअर, पैसा, पद, प्रसिद्धि सफलताका मुख्य मापन बनेका छन् । र, यो सबै भागदौडमा मान्छेले सन्तुलित जीवन बिर्सेको छ ।
दार्शनिक एरिस्टोटलले भनेका थिए, खुसी बाह्य उपलब्धिमा होइन, हाम्रो जीवनशैली र सोचमा निर्भर हुन्छ । हामी खुसीलाई उपलब्धिसँग साटिरहेका छौँ । नतिजा, उपलब्धि बढ्दै जान्छ तर मनभित्रको खुसी घट्दै जान्छ । यदि सफलता केवल आर्थिक र भौतिक उपलब्धि हो भने तनाव, अवसाद एक्लोपनहरू किन बढ्थे र ? किन सफल भनिएका मानिसहरू नै सबैभन्दा असन्तुष्ट र बेचैन देखिएका हुन् ? यी प्रश्नको संक्षिप्त निरुपण हो, सफलताको सार्थकता जीवनलाई सन्तुलित बनाएर खोज्न सकिन्छ ।
त्यसो भए केलाई सन्तुलित जीवन मान्ने त ? कामै नगरी बस्ने ? जीवनमा सन्तुलन भनेको काम नगरी बस्ने होइन, बरु कामले जीवनलाई कब्जा गर्न नदिनु हो । जीवनमा केही गर्ने लक्ष्य राख्नैपर्छ । सन्तुलित जीवनले महत्वाकांक्षा त्याग्नुपर्छ भन्दैन । बरु, महत्वाकांक्षालाई मानवीय सीमाभित्र राख्ने कुरा गर्छ । आज हामी विलासितालाई नै सफलता मानिरहेका छौँ । जबकि सफलता असल र मूल्यवान् मानिस बन्नुमा छ ।
थुप्रै विज्ञ र महात्माहरूले सन्तुलित जीवनका आधारभूत आयामबारे बोलेका छन् । तिनलाई समष्टिगत रूपमा सारमा ल्याउन यसको केही सरल सूत्र छन् । जस्तो कि, काम र विश्रामबीचको सन्तुलन खोज्न सक्नुपर्छ । शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यबीचको सन्तुलन खोज्नुपर्छ । वर्तमानमा बाँच्ने कला विकास गर्नुपर्छ । व्यक्तिगत र पेसागत जीवनका सीमाहरू तय गर्दै सन्तुलित हिसाबले जिउन सिक्नुपर्छ । त्यसकारण वर्तमानमा बाँच्न सिकौँ । काम गरौँ, लक्ष्य राखौँ । त्यसका लागि मेहनत गरौँ, दौडौँ पनि, तर त्यो दौडले कतै हाम्रो जीवनको सन्तुलन भत्काइरहेको त छैन ? एकछिन अडेर पुनर्विचारचाहिँ गरौँ है ।



Leave a Reply