विभिन्न रङहरूको माध्यमबाट प्रेम, आत्मीयता र सद्भाव अभिव्यक्त गर्दै हर्ष र उमङ्ग फैलाउने रमाइलो क्रीडापर्व हो, होली अर्थात् फागु पूर्णिमा। आफन्त, साथीभाइ तथा समाजका विभिन्न वर्गबीच रङ साटासाट गरी सम्बन्ध सुदृढ बनाउने यस पर्वलाई नेपाली समाजमा खुसी र एकताको प्रतीकका रूपमा लिने गरिन्छ।
फाल्गुण शुक्लपक्षको अष्टमी तिथिमा विभिन्न रङ्गीचङ्गी कपडाले सजाइएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीरदाह गरेसँगै समापन हुन्छ। पूर्वीय सनातन परम्पराका अनुयायीहरूले मनाउने यो अत्यन्त प्राचीन पर्वको मुख्य रौनकता पूर्णिमाकै दिनमा देखिने भएकाले यस दिनलाई ‘होली पूर्णिमा’ वा ‘फागु पूर्णिमा’ भनिन्छ।
वैदिक तथा पौराणिक ग्रन्थहरूमा होली पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्व उल्लेख गरिएको पाइन्छ। पौराणिक कथाअनुसार भगवान् विष्णुले भक्त प्रह्लादको रक्षा गर्दै होलिकाको अन्त्य गर्नुभएको प्रसङ्ग होली पर्वसँग विशेष रूपमा जोडिएको छ। अग्निको तापले नजल्ने वरदान पाएकी होलिकाले बालक प्रह्लादलाई लिएर अग्निकुण्डमा प्रवेश गर्दा स्वयं होलिका दहन भइन् भने प्रह्लाद सुरक्षित रहे। यस घटनाको स्मरणस्वरूप पूर्णिमाको राति होलिका दहन गर्ने परम्परा आजसम्म कायम रहेको छ।
त्यसैगरी, भगवान् श्रीकृष्णले पूतनाको वध गरेको प्रसङ्ग, शिवजीको तृतीय नेत्रबाट कामदेव भस्म भएको तथा पुनर्जीवन प्राप्त गरेको धार्मिक विश्वाससमेत यस पर्वसँग जोडिएका छन्। यस्ता प्रसङ्गहरूले असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको तथा अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छन्।
होली पर्व प्रेम, सहिष्णुता र सद्भावको प्रतीक हो। यस दिन मान्यजनका हातबाट अबिर तथा रङ लगाई आशीर्वाद लिने, होरी, फगुवा, टप्पा तथा वसन्तरागजस्ता लोकलयमा आधारित गीत–सङ्गीत गाउने र नाच्ने परम्परा रहेको छ। मालपुवालगायतका मिष्ठान्न परिकारको स्वाद लिँदै रिसराग त्यागेर आत्मीय सम्बन्ध सुदृढ बनाउने सन्देश यस पर्वले प्रदान गर्दछ।
नेपाल तथा भारतमा राष्ट्रिय पर्वका रूपमा मनाइने होली विशेषतः नेपालका पहाडी क्षेत्रमा पूर्णिमाकै दिन खेलिन्छ भने जनकपुरलगायत तराई क्षेत्रमा मिथिला परिक्रमा सम्पन्न भएपछि मात्र होली मनाउने परम्परा रहेको छ।
होलीका रङ्ग र तिनको मनोवैज्ञानिक प्रभाव

रङ्गहरूले हाम्रो मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले होली पर्वमा प्रयोग हुने विभिन्न रङ्गहरूको विशेष महत्त्व रहेको छ। विशेषतः रातो, हरियो, पहेँलो, नीलो, कालो तथा सेतो रङ्ग होली खेल्दा बढी प्रयोग गरिन्छ। कुनै पनि रङ्ग प्रयोग गर्नुअघि त्यसको महत्त्व, फाइदा–बेफाइदा तथा प्रतीकात्मक अर्थ बुझ्नु आवश्यक हुन्छ।
रातो
रातो रङ्गलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ। यसलाई शुद्धता एवं पवित्रताको प्रतीकका रूपमा पनि लिइन्छ। धार्मिक कार्यहरूमा व्यापक रूपमा प्रयोग गरिने यो रङ्ग साहस, प्रेम र ऊर्जा जनाउने मान्यता रहेको छ। रातो रङ्ग मन पराउने व्यक्तिहरू प्रायः महत्त्वाकांक्षी, जिज्ञासु र उत्साही स्वभावका हुन्छन्।
हरियो
हरियो रङ्गलाई जीवनशक्ति, ताजगी र प्रकृतिको प्रतीकका रूपमा लिइन्छ। प्रकृतिप्रेमी व्यक्तिहरू प्रायः हरियो रङ्गप्रति आकर्षित हुन्छन्। यस रङ्गले शान्ति र सन्तुलनको भावना विकास गर्न सहयोग पुर्याउने विश्वास गरिन्छ। हरियो रङ्ग मन पराउने व्यक्तिहरू झैझगडाबाट टाढा रहन चाहने स्वभावका हुन्छन्।
पहेंलो
पहेंलो रङ्ग भक्ति, धर्मपरायणता तथा सकारात्मकताको प्रतीक हो। होली हिन्दू धर्मावलम्बीहरूको प्रमुख चाड भएकाले यस रङ्गको विशेष प्रयोग हुने गर्दछ। कतिपय समुदायमा रातो र पहेँलो अबिर दलेर होली खेल्ने परम्परा पनि रहेको छ। मनोविज्ञानका अनुसार पहेँलो रङ्ग मन पराउने व्यक्तिहरू मिलनसार तथा उत्साही स्वभावका हुन्छन्।
नीलो
नीलो रङ्गलाई शान्ति, सन्तुलन र स्थिरताको प्रतीकका रूपमा लिइन्छ। यसले मानसिक सन्तुलन कायम राख्न सहयोग पुर्याउने विश्वास गरिन्छ। नीलो रङ्ग मन पराउने व्यक्तिहरू प्रायः विचारशील र संयमित स्वभावका हुन्छन्।
कालो
कालो रङ्गको प्रयोग होलीमा सीमित रूपमा गरिन्छ। सामान्यतया यस रङ्गलाई रहस्य, गाम्भीर्य वा नकारात्मक भावनासँग सम्बन्धित मानिन्छ। कालो रङ्ग मन पराउने व्यक्तिहरू आफ्ना भावना खुलस्त रूपमा व्यक्त नगर्ने स्वभावका हुन सक्छन्।
सेतो
सेतो रङ्ग शुद्धता, स्वच्छता र सरलताको प्रतीक हो। कर्ममा विश्वास राख्ने तथा शान्त स्वभावका व्यक्तिहरू सेतो रङ्गप्रति आकर्षित हुने विश्वास गरिन्छ। चहकिलो सेतो रङ्गलाई आकर्षण र सादगीको प्रतीकका रूपमा लिइन्छ।



Leave a Reply