स्तन क्यान्सर महिलाहरूमा देखिने गम्भीर रोगमध्ये एक हो । नेपालमा वर्षेनि सयौं महिलाको मृत्यु यसै रोगका कारण हुने गर्छ । यद्यपि स्तन क्यान्सर कुनै सरुवा रोग होइन, कतिपय अवस्थामा यो वंशानुगत पनि हुन सक्छ तर त्यस्ता केस १० प्रतिशतभन्दा कम मात्र हुन्छन् ।
शरीरका अन्य अंगहरूजस्तै स्तन पनि विशेष कार्यका लागि बनाइएका कोषहरूले बनेका हुन्छन् । बाहिरी भागमा भएकोले स्तनमा देखिने परिवर्तन चाँडै थाहा पाउन सकिन्छ । स्तनमा कुनै प्रकारको अनावश्यक कोष वृद्धि भयो भने त्यो गाँठो (ट्युमर) बन्न सक्छ । सबै गाँठो क्यान्सर हुनेचाहिँ होइनन्, करिब १० प्रतिशतमात्र क्यान्सरग्रस्त हुने सम्भावना हुन्छ । तर पनि कुनै पनि गाँठो देखिएमा चिकित्सकको सल्लाह लिनु अत्यावश्यक हुन्छ ।

हाम्रो समाजमा महिला स्वास्थ्यप्रति चासो कम छ । अझ पुरुष चिकित्सककहाँ जाँच गराउने संकोचका कारण महिलाहरूले आफ्नो स्तनसम्बन्धी समस्या अरूसँग भन्न पनि चाहँदैनन् । यही मानसिकताका कारण क्यान्सर ढिलो पत्ता लाग्छ र उपचार जटिल हुन्छ ।
स्तन क्यान्सरको सुरुको अवस्थामा कुनै पनि लक्षण देखा पर्दैनन् । सामान्यतया दुख्न पनि दुख्दैन । विभिन्न जाँचहरूबाट मात्रै यस अवस्थाको क्यान्सर पत्ता लाग्दछ । हाम्रो समाजमा केही समस्या नभई स्वास्थ्य परीक्षण गराउने चलन छैन । जब क्यान्सर बढ्न थाल्छ, यसले स्तनमा परिवर्तन ल्याउँछ, जसलाई एउटी महिलाले थाहा पाउन सक्नेछिन् । स्तन अथवा काखीमा प्राय: नदुख्ने साह्रो गाँठो हुनु स्तन क्यान्सरको मुख्य लक्षण हो । अन्य लक्षणहरूमा स्तनमा निको नहुने घाउ हुनु, दूधको मुन्टोबाट असामान्य चिज बग्नु, स्तनमा दुख्ने गाँठो तथा दूधको मुन्टोमा परिवर्तन आउनु अथवा कहिलेकाहीँ झरेर जानु आदि लक्षण हुन् ।
सायद अज्ञानताका कारणले होला नेपाली महिलाले स्तनमा हुने गरेका साधारण खालको समस्या कमैलाई भन्न चाहन्छन् । जब स्तन क्यान्सर बढेर थाहा पाइने हुन्छ, तब अवस्था नराम्रो भइसकेको हुन्छ । स्तन क्यान्सर शरीरका अन्य भागमा सरिसकेको अवस्थामा रोग निको पार्न गाह्रो हुन्छ । त्यसैले सुरुको अवस्थामा थाहा हुने हो भने स्तन क्यान्सर निको पार्न सकिन्छ ।
स्तन क्यान्सरका उपचार विधिहरू सो रोगको अवस्थामा भर पर्दछ । एकदमै सुरुको अवस्थामा छ भने शल्यक्रिया गरी निकालिदिए पुग्छ, केमोथेरापी र रेडियोथेरापी गरिराख्नु पर्दैन । ट्युमरको हर्माेन रिसेपटर हेरेर हर्माेन थेरापी पनि गर्नुपर्दछ । अवस्था हेरी एउटै बिरामीमा सबै किसिमका उपचार विधिहरूसमेत प्रयोग गर्नुपर्ने हुन्छ । नेपालमै सबै उपचार विधिहरू उपलब्ध छन् ।

स्तन क्यान्सर भएमा प्रायजसो पूरै स्तन काटेर फालिदिने चलन छ, जुन नेपालमा पनि सामान्य हो । अहिले नेपालमा पनि स्तनलाई बचाएर स्तन क्यान्सरको उपचार हुँदै आएको देखिन्छ ।
हाल हामीकहाँ स्तन क्यान्सरको समस्या लिएर आउनेमध्ये ३५ देखि ४० प्रतिशत बिरामीको स्तन बचाएरै शल्यक्रिया गरिँदै आएको छ । यसरी स्तनलाई बचाएर स्तन क्यान्सरको उपचार गर्दा कुनै जटिल समस्या हुँदैन । सर्वसुलभ तथा प्रभावकारी भएकै कारण पछिल्लो समय यसतर्फ मानिसहरूको आकर्षणसमेत बढ्न थालेको छ ।
यस्तो सेवा पहिले–पहिले नेपालमा सुरु नहुँदा स्तन क्यान्सरका बिरामीको पूरै स्तन हटाउने गरिन्थ्यो । कारण के थियो भने हामी सोच्थ्याँै, स्तन नै नभएपछि क्यान्सर हुने कुरै आउँदैन । जुन कुरालाई अहिले विज्ञानले समेत ‘गलत’ प्रमाणित गरिसकेको छ । अर्थात् स्तन क्यान्सर भएर पूरै स्तन निकाले वा क्यान्सरलाई मात्र निकाल्दा सोही ठाउँमा क्यान्सर हुने सम्भावना उतिकै हुने भएकोले त्यसरी स्तन फाल्दा क्यान्सरको ट्यूमर निस्कियो कि निस्किएन भनेर हेर्न भने जरुरी छ ।
यस किसिमको प्रविधि पहिले नेपालमा विकसित भएको थिएन । नेपालका विभिन्न अस्पतालहरूले स्तनमा ट्युमर भए–नभएको हेर्ने विशेष किसिमको प्रविधि भित्र्याएसँगै सोही प्रविधिको माध्यमद्धारा अहिले एकै पटक स्तनलाई बचाएर स्तन क्यान्सरको उपचार सफलतापूर्वक गरिँदै आएको छ । त्यतिमात्र होइन, स्तनलाई नयाँ स्वरुप दिन स्तन इम्प्लान्ट (ब्रेस्ट इम्प्लान्ट) को व्यवस्थासमेत अचेल नेपालमा उपलब्ध छ ।
ब्रेस्ट कन्जरभेसन अर्थात् स्तनलाई बचाउनु भनेकै स्तनमा भएको क्यान्सरलाई हटाएर स्तन बचाउनु हो । विशेषगरी स्तनमा भएको ट्युमर वरिपरिको निश्चित भागलाई झिकेर स्तनलाई बचाउने गरिन्छ र पुरानै अवस्थामा फर्काउन सकिन्छ । त्यसका लागि स्तन क्यान्सर स्तनमा बीस प्रतिशतभन्दा बढी फैलनु हुँदैन । यसरी ब्रेस्ट कन्जर्भ गर्दा व्यक्तिलाई खासै हानी हुँदैन । बरु निकै फाइदा पुग्छ । किनकि यसरी ब्रेस्ट इम्प्लान्ट वा कन्जर्भ गर्दा मानिसले सामान्य जीवन जिउन सक्दछ । अझ भनौं कतिपयलाई त शल्यक्रिया गरेको छ भन्नेसमेत थाहा हुँदैन । यसको एउटै मात्र हानी मानिसमा हुने मनोवैज्ञानिक असर हो । किनकि एक पटक स्तन क्यान्सरको उपचार गरिसकेपछि उक्त क्यान्सर फेरि पलाउँछ कि भन्ने डर धेरैमा हुने गर्छ । तर यो विधि अपनाएर स्तनको शल्यक्रिया गर्दा बिरामीलाई कुनै हानी हुँदैन ।
क्यान्सर स्तनमा बीस प्रतिशतभन्दा बढी भागमा फैलिएको छ भने त्यसलाई हटाउन स्तनको पुनर्निर्माण (ब्रेस्ट रिकन्सट्रक्सन) गर्नुपर्दछ । स्तनको पुनर्निर्माण गर्दा स्तनको पूरै भागलाई काटेर फालिन्छ र उक्त ठाउँमा नयाँ स्तनको निर्माण गरिन्छ । जसलाई चिकित्सकीय भाषामा ‘ब्रेस्ट अन्कोप्लाष्टिक’ भन्ने गरिन्छ ।
कैयौंले ब्रेस्ट अन्कोप्लाष्टिकलाई कस्मेटिक सर्जरीसित पनि जोड्ने गरेको पाइन्छ । जबकि कामकाजी महिलाहरूको स्तनलाई सामान्य आकार दिने यो आफँैमा विशेष किसिमको सर्जरी हो ।
स्तनको पुनर्निर्माण विभिन्न तरीकाले गरिन्छ, जसमध्ये सबैभन्दा सामान्य तरिका भनेको पेटको तल्लो भागमा रहेको मासु र बोसो, ढाडमा रहेको मासु र बोसोलाई झिकेर स्तन बनाउने प्रक्रिया हो । त्यस्तै सिलिकनको स्तनलाई शल्यक्रियाद्वारा स्तनमा इम्प्लान्ट गरेर पनि ब्रेस्ट इम्प्लान्ट गरिन्छ, जुन आफैँमा अप्राकृतिक हो ।
यी दुवै राख्दा खासै फरक हुँदैन । यद्यपि सिलिकन जेलमा उपलब्ध हुने भएकोले यसको समयावधि जम्मा दशदेखि पन्ध्र वर्षको हुने गर्दछ । त्यसपछि उक्त सिलिकनलाई पुर्न परिर्वतन गर्नुपर्दछ । जबकि शरीरको मासु काटेर बनाइने इम्प्लान्ट भने आफैँमा प्राकृतिक हुन्छ । यसरी ब्रेस्ट पुनर्निर्माण गर्दा ८० देखि एक लाख २० हजार रुपियाँसम्म खर्च लाग्ने गर्दछ । जबकि सिलिकन हाल्दा डेढदेखि दुई लाखसम्म खर्च लाग्न सक्दछ । नेपालमा हाल आफ्नै जिउको मासु हालेर स्तनको पुनर्निर्माण गर्नेहरू धेरै छन् ।
हाल नेपालमा स्तन क्यान्सरको उपचार मात्र होइन, यसको बचावट तथा पुनर्निर्माणसमेत सम्भव भएका कारण स्तन क्यान्सर भएकै कारण अहिले कुनै पनि व्यक्ति रोएर बस्नु पर्दैन । अझ भनौं पाँच वर्षअघि स्तन क्यान्सर भएर स्तन काटिएको भए पनि पनि त्यसलाई तत्काल पुनर्निर्माण गर्न सकिन्छ तर त्यसका लागि बिरामीलाई एक हप्तादेखि दश दिनसम्म अस्पतालमा भर्ना हुनुपर्दछ । एक पटक शल्यक्रिया गरिसकेपछि एक महिनाभित्रमा मानिसले सामान्य जीवनयापन गर्न सक्दछ ।
(ब्रेस्ट ओन्कोप्लास्टिक सर्जन डा. शाक्य नेपाल क्यान्सर अस्पताल, हरिसिद्धी, ललितपुरमा कार्यरत छन् ।)
००



Leave a Reply