नेपाली आतिथ्य परम्परा र विश्वस्तरीय सुविधाबीचको अनुपम संयोजन बन्न पुगेको छ— धुलिखेलस्थित होटल सारथी, जुन पर्यटकहरूका निम्ति एक उत्कृष्ट गन्तव्य हो । ‘लक्जरी इन नेचर’ भन्ने अवधारणा बोकेको सो होटल प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा एवम् आधुनिक सुविधासहित आन्तरिक र बाह्य ‘लक्जरी इन नेचर’ को जीवन्त अनुभव : होटल सारथी
दुवै पर्यटकलाई आनन्द दिने वातावरणका कारण चिनिन्छ ।



‘सारथी’ अर्थात् मार्गदर्शन गर्ने व्यक्ति । महाभारतको युद्धमा भगवान् श्रीकृष्ण जसरी अर्जुनका सारथी बनेका थिए, त्यसरी नै होटल सारथी पनि प्रत्येक पाहुनाको सहयात्री बन्ने सपना बोकेर स्थापित छ । कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल भन्छन्, ‘हामी केवल पाहुनाको बसोबासको व्यवस्था मात्र गर्दैनौँ, उहाँहरूको यात्रालाई स्मरणीय बनाउन मार्गदर्शन गर्ने थलोसमेत बनेका छौँ ।’ सारथीको सबैभन्दा सुन्दर पक्ष भनेकै ‘लक्जरी इन नेचर’ अवधारणा नै हो । परम्परागत नेवारी वास्तुकलाको झल्को दिने कोठा डिजाइन, कलात्मक ढङ्गले गरिएको ल्यान्डस्केपिङ र हिमालतर्फ खुला हरियाली बगैँचा, यी सबैले होटललाई केवल आधुनिक सुविधायुक्त संरचनामात्र नभई सांस्कृतिक र प्राकृतिक सौन्दर्यको सङ्गमसमेत बनाएका छन् ।
होटलको छतमा अवस्थित इन्फिनिटी स्वीमिङ पुलमा बसेर सूर्योदयको प्रथम किरणसँगै मुस्कुराइरहेको हिमशृङ्खलामा नजर बिछ्याउँदा जोकोहीले ‘सारथी’मा अतुलनीय अनुभव बटुल्न सक्छन् । होटलका स्ट्यान्डर्डदेखि सुइटसम्मका सबै कोठामा बाहिरको दृश्य यति मोहक देखिन्छ, जोकोहीलाई समय थामिएजस्तो लाग्छ ।

होटल सारथीको अर्को विशेषता भनेको स्थानीय उत्पादन र हस्तकलाको प्रयोग हो । सजावटदेखि रेस्टुरेन्टमा प्रयोग हुने भाँडाकुँडासम्मका प्रत्येक वस्तुमा नेपाली पहिचान झल्किन्छ । काठका नक्कासी, परम्परागत कपडा र मौलिक रङ संयोजनले सारथीको भित्री सजावटलाई जीवित कलाका रूपमा प्रस्तुत गर्छ । यसरी, सारथी केवल पाहुनालाई सेवा दिने मात्र होइन, नेपालकै मौलिक सम्पदाको प्रमोटर पनि बन्न पुगेको छ ।

सारथी ग्रुपको सामाजिक अभियान र रोजगारी सिर्जना
सारथी ग्रुपले पर्यटनमार्फत उद्यमशीलता विकास, सामाजिक उत्तरदायित्व र रोजगारी सिर्जनामा उल्लेखनीय काम गरिरहेको छ । हालसम्म करिब ४ सयभन्दा बढी व्यक्ति प्रत्यक्ष रूपमा होटलमा कार्यरत छन् भने हजारौँलाई अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गरिएको छ ।
सारथी फाउन्डेसनमार्फत असहाय बालबालिका र वृद्धहरूलाई सहयोग, स्वास्थ्य शिविर, छात्रवृत्ति र स्थानीय विकास अभियान सञ्चालन गरिएको छ । स्थानीय साना उद्यमीको क्षमता विकासमा समेत सक्रिय भूमिका खेलेको यो समूहले ‘सारथी उद्यमशीलता पुरस्कार’ समेत स्थापना गरी हरेक वर्ष उदाहरणीय उद्यमीलाई सम्मान गर्दै आएको छ ।
भौगोलिक र सांस्कृतिक विशिष्टतायुक्त गन्तव्य : धुलिखेल
धुलिखेल, काठमाडौँबाट पूर्व ३० किलोमिटर दूरीमा अवस्थित एक शान्त, हरियालीयुक्त र सांस्कृतिक रूपमा समृद्ध सहर हो, जहाँबाट गौरीशङ्कर, लाङटाङ, गणेश हिमाललगायत हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । धुलिखेलका ऐतिहासिक सम्पदाहरू पलान्चोक भगवती, चण्डेश्वरी, नैमिषारण्य, नेवारी पुरानो बजार, ढुङ्गेधारा र मठ–मन्दिरहरूले पर्यटकलाई परम्परागत नेपालको वास्तविक झल्को दिन्छ ।

सुविधासम्पन्न कोठाहरू
होटल सारथीमा स्ट्यान्डर्ड, डिलक्स, प्रिमियम र सुइट गरी हाल ८० वटा कोठा रहेका छन् । हरेक कोठा नेपालका विभिन्न जातजातिको सांस्कृतिक सौन्दर्यले सजिएका छन् । कोठाबाट देखिने हिमालको दृश्य, प्राकृतिक रङ संयोजन र उत्कृष्ट साजसज्जाले पाहुनालाई नलोभ्याउने ठाउँ नै छैन ।
रेस्टुरेन्ट र स्वादको विविधता
होटलमा रहेका चारवटा विशेष रेस्टुरेन्टले नेपाली, अन्तर्राष्ट्रिय र फ्युजन परिकारहरू पस्कन्छन् । सारथीमा स्थानीय अर्गानिक उत्पादनलाई प्राथमिकता दिइएको छ, जसले खानालाई स्वस्थ, मौलिक र स्वादिलो बनाउँछ ।

सेमिनार, मिटिङ र पारिवारिक उत्सवका लागि
होटल सारथी कर्पोरेट मिटिङ, सेमिनार, कार्यशाला र वेडिङ समारोहहरूका लागि पनि उपयुक्त स्थान हो । चारवटा अत्याधुनिक कन्फरेन्स हलमा अडियो–भिजुअल प्रविधिसहितको व्यवस्था छ । विवाह, व्रतबन्ध, पास्नीजस्ता उत्सवहरू आयोजना गर्न सकिने विशेष व्यवस्थाले होटललाई सामाजिक कार्यक्रमको केन्द्र बनाएको छ ।

स्पा, योग र वेलनेस
धुलिखेलको शान्त वातावरणसँग समन्वय गर्दै होटलले स्पा, योग र ध्यान शिविरको सुविधा दिएको छ । स्पा, सौना, स्टिम, जिम र इन्फिनिटी ज्याकुजीका सुविधाले पाहुनालाई शारीरिक र मानसिक विश्राम दिन्छ । यसले होटललाई वेलनेस टुरिजमको गन्तव्यमा स्थापित गरेको छ ।

सिजनअनुसार प्याकेज र अफरहरू
होटल सारथीले पर्यटकको सुविधालाई ध्यानमा राख्दै विभिन्न हनिमुन प्याकेज, फेस्टिभ अफर, फेमिली टुर प्याकेज र वेलनेस रिट्रिट प्याकेजहरू ल्याउने गरेको छ । विशेष गरी शरद (सेप्टेम्बर–नोभेम्बर) र वसन्त (मार्च–मे) सिजनमा चहलपहल बढी हुने गर्छ ।
भविष्यको योजना र विस्तार
सारथी ग्रुपले होटल सारथीलाई पब्लिक कम्पनीको रूपमा रूपान्तरण गरिसकेको छ र आगामी वर्ष सेयर सार्वजनिक निष्कासन (क्ष्एइ) गर्ने प्रक्रिया अगाडि बढाइएको छ । समूहले चितवनको सौराहामा आफ्नो सेवा विस्तार गरिसकेको छ भने सिन्धुलीगढीमा सेवा सुरु गर्ने तयारीमा छ ।
सारथीका सारथी : प्रल्हाद प्याकुरेल

निम्नवर्गीय परिवारमा जन्मिएका प्रल्हाद प्याकुरेलको बाल्यकाल चुनौती र अभावले भरिएको थियो । चार कक्षामा पढ्दाखेरि तोरी बेचेर आमासँग ल्याएको पैसाबाट सात रुपियाँ ऋण लिएर सितलगेडी किनी स्कुलमा बेच्दा कमाएको पहिलो नाफाले उनी व्यापारतिर उन्मुख भए । त्यसपछि बसमा निम्की–दालमोठ बेच्नेदेखि चिया पसल, स्टेसनरी, मसला र पाइप कारखाना, तरकारी खेतीसम्मका व्यवसायमा हात हाल्दै अनुभव बटुले । २०६१ सालमा पाँच जना साथी मिलेर ८०–८० हजार रुपियाँमा लगानीमा सुरु भएको धुलिखेल तालिम केन्द्रले हस्पिटालिटी क्षेत्रमा प्रवेश गरायो । आफ्नै संरचना र दीर्घकालीन योजना आवश्यक ठानी ११० मध्ये २२ साथीको लगानी जुटाएर होटल सारथीको सपना साकार हुन पुग्यो ।
आज सारथी ब्रान्डअन्तर्गत होटल, मार्ट, सहकारी, होलिडेज, स्कुल, भेन्चर्स र फाउन्डेसनमार्फत ७ हजारभन्दा बढी व्यक्ति संलग्न छन् र करिब ३ अर्ब रुपियाँ पुँजी परिचालन हुँदै छ ।
००



Leave a Reply