थिएटरमा हामी मान्छेसँग ‘बस्छौँ’ : अनुप बराल


नेसनल स्कुल अफ ड्रामा (एनएसडी) नयाँ दिल्लीमा अध्ययन सकेर नेपाल आएसँगै अनुप बराल नेपाली रङ्गमञ्च र सिनेमा जगत्मा चर्चित नाम बने । १३ वर्षको कलिलो उमेरदेखि रङ्गकर्ममा होमिएका उनले यसैमा जीवनको उर्वर समय बिताए । ‘थाङ्ला’, ‘कोर्टमार्सल’, ‘थर्टी डेज इन सेप्टेम्बर’, ‘यौटा सपनाको अवसान’ जस्ता नाटक अनि ‘दोख’ फिल्म निर्देशन गरे । ‘दासढुङ्गा’, ‘डमरुको डन्डीबियो’,…

नेसनल स्कुल अफ ड्रामा (एनएसडी) नयाँ दिल्लीमा अध्ययन सकेर नेपाल आएसँगै अनुप बराल नेपाली रङ्गमञ्च र सिनेमा जगत्मा चर्चित नाम बने । १३ वर्षको कलिलो उमेरदेखि रङ्गकर्ममा होमिएका उनले यसैमा जीवनको उर्वर समय बिताए । ‘थाङ्ला’, ‘कोर्टमार्सल’, ‘थर्टी डेज इन सेप्टेम्बर’, ‘यौटा सपनाको अवसान’ जस्ता नाटक अनि ‘दोख’ फिल्म निर्देशन गरे । ‘दासढुङ्गा’, ‘डमरुको डन्डीबियो’, ‘पानीफोटो’ जस्ता फिल्मका अभिनेता पनि भए । काठमाडौँमा एक्टर्स स्टुडियो खोलेर लामो समयदेखि अभिनय सिकाइरहे का उनी यति बेला आफ्नो घर पोखरा फर्किएका छन् । पोखरास्थित घरकै आँगनमा ‘हंसध्वनि’ नाटकघर बनाइरहेका छन् । उनीसँग वाह ! जिन्दगीका लागि सिर्जना दुवालले गरेको कुराकानी :

सबै काठमाडौँ छिरिरहेको बेला तपाईंचाहिँ पोखरा किन फर्किनुभएको ?
म नेसनल स्कुल अफ ड्रामा (एनएथिएटरमा हामी मान्छेसँग ‘बस्छौँ’ : अनुप बराल
सडी) मा नयाँ दिल्लीमा पढ्दै गर्दा मेरा गुरु र साथीहरू सोध्थे, ‘एनएसडी के बाद तुम्हारा डेस्टिनेसन क्या है ?’ म जवाफ दिन्थेँ, ‘नेपाल अनि त्यसपछि पोखरा ।’ म जुन माटो, संस्कृति र भूगोलको धरातलमा उभिएको छु, त्यो आफैँमा विशेष र पृथक् छ भन्ने लाग्थ्यो । म आफ्नो नाट्य प्रस्तुतिमा आधिकारिकतासहितको जवाफदेहिता होस् भन्ने प्रयत्न गर्छु, जुन मैले आफ्नो जमिन, आसपासको परिवेश र संस्कृतिसँग जोडिएर मात्र प्राप्त गर्न सक्थेँ । त्यही जमिनप्रतिको लगावले मलाई नेपाल फर्कायो । मैले काठमाडौँमै बसेर रङ्गकर्म थालेँ । म आउँदा मृतप्राय: रहेको नेपाली रङ्गमञ्च अहिले फरक छ । काठमाडौँ रङ्गमञ्चको सहर भएको छ । थुप्रै रङ्गकर्मका गतिविधि पनि अक्सर त्यहाँ नै केन्द्रित छन् । तर, त्यहाँबाट बाहिर भने धेरै कम । नेपाली नाटकमा विविधता खोज्न अहिले भइरहेको काठमाडौँकेन्द्रित रङ्गमञ्चको ऊर्जालाई अन्य ठाउँमा फैलाउन अनि नेपाली रङ्गकर्मको नाट्य प्रस्तुतिमा देखिएको ‘हेजोमोनिक प्रोटोटाइप’ भत्काउन जरुरी छ भनेर म पोखरा फर्किएको हुँ ।

हंसध्वनि नाटकघर बनाउने प्रेरणा के हो ?
सफदर हाश्मीको ‘हल्ला बोल’ नाटक र उनका कथाबाट मैले बुझेँ कि आम मान्छेको कथा साँच्चिकै शक्तिशाली हुन्छ । यदि नाटकले सत्ता चुनौती दिन सक्छ भने कला समाज परिवर्तनको साधन बन्न सक्छ । पोखरा हिमाल र तालको सहर मात्र होइन; यहाँ सिर्जनशील मनहरूलाई भेटघाट, कला, सङ्गीत, साहित्य र प्रशिक्षणको थलो चाहिन्छ । त्यसैले मैले आफ्नै करिब ६ रोपनी जग्गामा हंसध्वनि नाटकघर बनाउने निधो गरेँ ।

यस नाटकघरको नाम ‘हंसध्वनि’ किन ?
हंंस’ भनेको आत्मा, ‘ध्वनि’ भनेको आवाज । यसले आत्माको आवाज र सिर्जनशीलताको प्रतीक व्यक्त गर्छ । अर्कातर्फ, हंस भनेको सरस्वतीकी बाहन हाँस पनि हो र ध्वनि भनेको ज्ञान र कला व्यक्त गर्ने स्वर । यसरी नाटकघरले कलाकार र दर्शक दुवैलाई जोड्छ ।

निर्माणमा कस्तो चुनौती भोग्नुभयो ?
६ रोपनी जग्गामा लगभग ४ करोड रुपैयाँ खर्च भइसकेको छ । अझ डेढ करोड रुपैयाँको काम बाँकी छ । हामी गैरनाफामूलक संस्था हौँ, नाफा कमाउने उद्देश्य छैन । मैले आफ्नै आम्दानी र संसाधन खर्च गरेर निर्माण जारी राखेको छु । आर्थिक कठिनाइका बाबजुद पनि सपना रोकिँदैन ।

तपाईंको दृष्टिमा नाटकको शक्ति के हो ?
नाटकले दर्शकलाई केवल देखाउने मात्र होइन, उनीहरूको कल्पनाशीलता विकास गर्नुपर्छ । फिल्ममा दृश्य देखाइन्छ, तर नाटकमा प्रत्येक पात्रको अभिव्यक्ति, संवाद र अभिनयले दर्शकलाई आफ्नै अनुभव बनाउने मौका दिन्छ । हरेकले आफ्नो चन्द्रमा, आफ्नै नदी कल्पना गर्न सकोस् । यसरी कला समाजलाई उज्यालोतिर लैजान सहयोग पुर्‍याउँछ ।

पोखरामा नाटकघर सञ्चालनको के–कस्तो योजना छ ?
म यहाँ स्थायी थिएटर, कला अनुसन्धान केन्द्र, चित्रकला प्रदर्शनी, पुस्तक विमोचन, फिल्म क्लब, अभिनय कक्षा र प्रशिक्षण स्कुल सञ्चालन गर्ने योजना बनाइरहेको छु । विद्यार्थीका लागि कोठा र होस्टल निर्माण भइसकेका छन् । यहाँ विविध नाटक विधा प्रस्तुत गरिनेछ— यथार्थवादी, प्रयोगात्मक, नन–रियालिस्टिक, लोकनाटक सबै । कलाकारहरूले यहाँ अभ्यास गर्दै नयाँ शैली खोज्न सक्छन् ।

तपाईंको दृष्टिमा पोखराको सांस्कृतिक भविष्य कस्तो छ ?
सांस्कृतिक गतिविधिबिना सहर आत्माविहीन हुन्छ । संस्कृतिले सहरको पहिचान जोगाउँछ, सिर्जनशील बनाउँछ र दबिएका आवाजलाई अभिव्यक्त हुन थलो दिन्छ । हंसध्वनि नाटकघरले यही भूमिका निर्वाह गर्नेछ । स्थानीय कथालाई विश्वस्तरीय प्रस्तुति दिन सक्ने माध्यम बन्नेछ । समाज र कला रूपान्तरणका लागि यो एउटा नयाँ अध्याय हुनेछ ।

तपाईंको विचारमा नाटक र फिल्ममा कल्पनाशीलता विकासमा फरक के छ ?
म मान्छेका मन कल्पनाशील बनाउन फिल्मभन्दा नाटक बढी प्रभावशाली ठान्छु । फिल्ममा चन्द्रमा, नदी वा दृश्य देखाइन्छ भने त्यही दृश्य सबैले एउटै तरिकाले अनुभव गर्छन् । तर, नाटकमा पात्रको अभिव्यक्ति, संवाद र अभिनयमार्फत दर्शकलाई खोला बगेको, चन्द्रमा चम्किरहेको वा वायु चलिरहेको अनुभव दिलाउन सकिन्छ । यसले दर्शकलाई आफ्नै कल्पना प्रयोग गर्ने मौका दिन्छ ।

किन तपाईं हरेक दर्शकको अलग कल्पना महत्वपूर्ण ठान्नुहुन्छ ?
म चाहन्छु, प्रत्येक दर्शकले आफ्नो अनुभव बनाएर नाटक हेर्न सकून् । हरेकको नदी, हरेकको चन्द्रमा अलग हुनुपर्छ । यसरी उनीहरूको मन स्वतन्त्र, रचनात्मक र कल्पनाशील बन्छ । यही नै कलाकर्मको वास्तविक शक्ति हो । मान्छेले सोच्न, महसुस गर्न र आफ्नै संसार निर्माण गर्न सकून् ।

आजको डिजिटल युगमा युट्युब, रिल्स, टिकटकजस्ता प्लेटफर्महरू छन् । त्यस्तो अवस्थामा नयाँ थिएटरको आवश्यकता किन महसुस गर्नुहुन्छ ?
साँचो कुरा भन्नुपर्दा, मैले धेरै पटक यो प्रश्न सुनेको छु । सीधै उत्तर दिनुपर्दा युट्युब, रिल्स र टिकटकमा हामी ‘हेर्छौं’ । तर, थिएटरमा हामी मान्छेसँग ‘बस्छौँ’ । त्यहाँ तपाईं बस्नैपर्छ, स्क्रिनले निर्णय गर्दैन । कहिलेकाहीँ बोर लाग्छ, कहिलेकाहीँ असजिलो पनि लाग्छ, तर उठेर भाग्न सकिँदैन । यही अनुभवले मान्छेलाई केवल देख्न होइन, महसुस गर्न र अनुभव गर्न सिकाउँछ ।

डिजिटल भिडियो सामग्री र थिएटरमा तपाईंले पाएको फरक अनुभव के हो ?
डिजिटल सामग्री ३० सेकेन्डमा भावना पूरा गर्ने प्रयास गर्छ । तर, थिएटरमा कहिलेकाहीँ तीन मिनेटसम्म पनि के हुँदै छ, बुझिँदैन । त्यो समयभित्र दर्शकले आफैँसँग संवाद गर्न थाल्छ । उनीहरूले आफ्नो भित्री अनुभूति बुझ्छन् । कस्तो भावनामा छन्, के महसुस गर्दै छन् । यही प्रक्रिया नाटकको वास्तविक शक्ति हो ।

यसरी बस्न र सोच्न प्रेरित गर्नु किन महत्वपूर्ण छ ?
मनोरञ्जनको प्रतिस्पर्धा थिएटरको मुख्य उद्देश्य होइन । यो केवल युट्युब वा अन्यको विकल्प पनि होइन । थिएटरले मानिसलाई बिस्तारै सोच्न सिकाउँछ । दर्शकले आफ्ना पूर्वधारणाहरू पुनर्विचार गर्छ, आफ्ना अनुभव र भावना महसुस गर्छ । यही कारणले थिएटर अझै पनि मान्छेको मनमा अमूल्य छ ।

तपाईंको अनुभवमा थिएटरले दर्शकमा के परिवर्तन ल्याउँछ ?
जब दर्शक मोबाइल छोडेर उपस्थित हुन्छ, उनी आफ्नो भित्री संसारसँग जुध्न थाल्छन् । उनीहरूको मन कल्पनाशील हुन्छ, आफ्नै कथा, आफ्नै चन्द्रमा, आफ्नै नदी बनाउँछन् । हरेक व्यक्तिको अनुभव फरक हुन्छ । यही कल्पनाशीलता सिर्जना गर्नु नै कलाको वास्तविक उद्देश्य हो ।

अन्तत: तपाईं दर्शकलाई के अनुभव गराउन चाहनुहुन्छ ?
म चाहन्छु, प्रत्येक दर्शकले आफ्नै कल्पना प्रयोग गरेर नाटकको अनुभव बनाओस् । फिल्ममा जस्तो दृश्य हामी देखाउँछौँ भने त्यो एउटै हुन्छ । तर, थिएटरमा पात्रको अभिव्यक्ति, अभिनय र संवादले हरेक दर्शकलाई फरक अनुभूति दिन्छ । यही अनुभवले मानिसको सोच, संवेदना र आत्मसाक्षात्कारलाई जागृत गर्छ ।

तपाईं पोखरामा नाटकघर मात्र होइन, कला र सांस्कृतिक केन्द्र पनि स्थापना गर्दै हुनुहुन्छ । यसको उद्देश्य के हो ?
म रङ्गकर्मीको हैसियतमा सत्ताको संस्कृति होइन, जनताका संस्कृति प्रवद्र्धन गर्न चाहन्छु । यही सोचबाट मेरो अगुवाइमा नाटकघर बन्दै छ । यहाँ चित्रकला प्रदर्शनी गर्न आर्ट ग्यालरी छन्, पुस्तकालय, अभिनय कक्ष, होस्टल, उपहार सामग्री बिक्री कक्ष, कार्यालय, पुस्तक पसल, क्याफे र रेस्टुरेन्टसमेत बनाइरहेका छौँ ।

यसले तपाईंको दृष्टिमा कला र समाजलाई कसरी जोड्छ ?
म चाहन्छु— यहाँ कला, साहित्य, सङ्गीत र संस्कृतिका जमघट दिनहुँ भइरहोस् । नयाँ–नयाँ कल्पना गर्न पाइयोस् । सपना देख्न पाइयोस् । कलामार्फत आम मान्छेका जीवन र समय समेटिनुपर्छ । तर, म विश्वास गर्छु कि प्रत्येक कलाले सन्देश दिनैपर्छ भन्ने बाध्यता हुँदैन । कला हेरेपछि दर्शकले आफ्नो छुट्टै कल्पनाको दुनियाँ निर्माण गर्न सक्नुपर्छ ।

तपाईंको विचारमा कलाले समाजमा के भूमिका खेल्नुपर्छ ?
कलाले मान्छेको विचार निर्माण प्रक्रियामा सहयोग गर्नुपर्छ । हामीलाई परिकल्पना गर्न सिकाउनुपर्छ । जब मान्छे आफ्ना पूर्वधारणाहरू पुनर्विचार गर्न सक्छ, तब मात्र समाज र देशलाई उज्यालोतिर लैजान सकिन्छ । कलाले दर्शकलाई केवल मनोरञ्जन दिने मात्र होइन, सोच्न, महसुस गर्न र आफ्नै अनुभव सिर्जना गर्न प्रेरित गर्नुपर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *