के प्रेम मानिस–मानिसबीच मात्रै हुन्छ ? बिल्कुलै होइन । मानवको मानवइतर प्राणीसँग पनि घनीभूत प्रेम हुन्छ । केही त्यस्ता मानिस हुन्छन्, जसले मानवबाहेकका प्राणीहरू (विशेषतः जनावर–पन्छी) लाई समेत अधिक प्रेम गर्ने गर्छन् । कुनै पशुपन्छी भोकाउँदा त्यसलाई आवश्यक खानेकुराको प्रबन्ध गर्ने र घाइते हुँदा उपचार गरेर प्रेम–भाव प्रकट गर्नुलाई आफ्नो कर्तव्यको पहिलो सूचीमा राख्ने गर्छन्, कतिपय मानिसले । अझ, पशुपन्छीमाथि बढ्दो अमानवीयताको शृङ्खलालाई रोक्ने उपक्रमसँगै अचेल मानवअधिकारकर्मीभन्दा पशुअधिकारकर्मीका आवाज दरिलो बन्दै गइरहेको देखिन्छ ।

ललितपुर महानगरपालिका–२१, खोकनाका स्नेहा श्रेष्ठ एक त्यस्ता उदाहरणीय पात्र हुन्, जसले एक दशकयता जनावर–प्रेममा अद्वितीयता कायम गर्दै आएकी छन् । उनले सन् २०१५ मा ‘स्नेहाज केयर’ स्थापना गर्दाताका एउटै मात्र उद्देश्य सँगालेका थिए, घाइते वा सडकमा अलपत्र छाडिएका जनावरहरूका हेरचाह । उनी भन्छन्, ‘अहिले २ सयवटा जनावरका हेरचाहमा केन्द्रित छु ।’ सो केयर सेन्टरमा १ सय ५० कुकुर, सडकमा छाडिएका गाई–बाच्छाहरू, घाइते भैँसी, मन्दिरका चढाइएका बोकाका साथै केही सुँगुर पनि छन् ।
हरेक दिन जनावरकै हेरचाहमा समय बिताउँदै आएकी स्नेहाले जनावरप्रतिको अधिक प्रेमकै कारण नितान्त नौलो बाटो रोजेकी थिइन् । अहिले सो केयरमा २६ जना कर्मचारी कार्यरत छन्, जसमा दुई जना पशु–चिकित्सक, सात जना भेटेरिनरी टेक्निसियनलगायत छन् । ती जनावरको हेरचाह र खानपिनमा हरेक महिना १०–१२ लाख खर्च हुँदै आएको छ । खर्च व्यवस्थापन कसरी गरिरहनुभएको छ त ? स्नेहा भन्छिन्, ‘नेपाल र विदेशमा बस्नुहुने नेपालीहरूको सहयोगबाट खर्च धानिरहेको छु ।’
त्यस्तै अर्की पात्र हुन्, सीता पराजुली (६०) । उनको घरको गेटमा बिहानैदेखि टोलभरिका कुकुर र बिरालाहरूका ताँती देखिन्छन् । काठमाडौँ– १६, खरिबोट, समर्पण बस्तीकी पराजुलीको गेटमा ती जनावर ताँती लाग्नुको मुख्य कारण हो, जनावरप्रति उनको गहिरो प्रेम–भाव । उनी भन्छिन्, ‘अहिले दुई–चारवटा कुकुर र दस वटाजति बिरालाहरू हरेक बिहान मेरो गेटमा आइपुगेका हुन्छन् ।’
विगत डेढ दशकयता उनले कुकुर र बिरालाहरूका स्याहारमा समय बिताउँदै आएकी छन् । कहिले सडकमा छाडिएका गाईवस्तु देखे भने तिनीहरूको समेत हेरचाह गर्छिन् । हरेक बिहान गेटमा आएका कुकुर–बिरालाहरूका निम्ति भने तीन केजी कुखुराको खुट्टा–टाउको किन्ने गरेकी छिन् । भन्छिन्, ‘म हरेक दिन ३ सयबराबरको खानेकुरा कुकुर–बिरालाहरूका निम्ति किन्ने गर्छु । दुइटा कोठा भाडा लगाएबापत आउने पैसा त्यसैमा खर्च हुन्छ ।’

हुन पनि मानवीयताको कुनै सीमा हुँदैन । सन् २००३–२००७ को राष्ट्रपतीय कार्यकालमा भारतका पूर्वराष्ट्रपति डा. एपीजे अब्दुल कलामको एउटा तस्बिर निकै ‘भाइरल’ बन्न पुगेको थियो । त्यो तस्बिर थियो— एउटा खुट्टा भाँच्चिएको हरिणको बच्चालाई उनले दूध पिलाइरहेको तस्बिर । एउटा हरिणको बच्चाको पछिल्लो खुट्टा फ्याक्चर भएपछि प्लास्टर गरिएको थियो र त्यो घाइते हरिणको बच्चालाई राष्ट्रपति डा. कलामले फुर्सदको समय बोतलमा दूध पिलाउने गर्थे ।
जनावर–पन्छीहरूप्रति मानवीय संवेदनाका कमै दृष्टान्त पाइन्छन् । पशुपन्छीहरूलाई पनि प्रेम गर्नुपर्छ, तिनीहरू हाम्रा साथी हुन् र तिनीहरूका भावनाको गहिराइलाई छाम्नुपर्छ भन्ने सोच र दृष्टिकोण राख्ने मानिसहरूका पंक्ति निकै छोटो भेटिन्छ । तर, जुन मानिसले पशुपन्छीप्रति अगाध प्रेम–भाव दर्साउँछन्, उनीहरूका जीवन–दर्शन, यात्रा र दृष्टिकोण निकै समृद्ध र फराकिलो रहेको प्रस्टै देखिन्छ ।
कोही मानिस बिहान कुनै धार्मिक थलोमा जान्छन्, तिनीहरूले त्यस्ता स्थलका परिसरमा यताउता उडिरहेका परेवा वा अरू पन्छीलाई चारा छरिरहेको देखिन्छ । केही मानिस धार्मिक तीर्थस्थल वा रमणीय थलोहरूमा घुमिरहेका बाँदरजस्ता प्राणीलाई फलफूल दिइरहेका भेटिन्छन् । यदि ती मानिसमा मानवीय संवेदना र भाव हुँदैनथ्यो भने तिनीहरूको दृष्टि ती पशुपन्छीका दया–मायातिर सायदै जान्थ्यो होला !
पृथ्वी मानव जातिका लागि मात्रै होइन, पृथ्वीमा अरू लाखौँ–करोडौँ प्राणी पनि हकदार छन् । पछिल्लो केही दशकयता भने जलवायु परिवर्तनको नकारात्मक असरका कारण पर्यावरणीय सङ्कट गहिरिँदै गएको छ र जसको परिणामस्वरूप जैविक विविधतामा पूरै असर पु¥याइरहेको छ । पृथ्वीको बढ्दो तापक्रमसँगै मूलतः जनावर–पन्छीहरूले तिखो असर झेल्नुपरिरहेको छ ।
जनावर–पन्छीहरूप्रति थोरबहुत प्रेम–भाव सबैमा देखिन्छ, तर जनावर–पन्छी–प्रेमको अनुपम दृष्टान्त भारतको मध्यप्रदेशस्थित एक किसानले गरेको कार्यलाई लिन सकिन्छ । मध्यप्रदेशस्थित सागर, केवलारी कलाका किसान धनीराम गुप्ताले करिब ३ एकड क्षेत्रफलमा एउटा बगैँचा बनाएका छन् र त्यसमा फलफूलहरू लगाएका छन् । उनले सो बगैँचामा २ सय आँप, ३ सय कागती, ७५ वटा अम्बा र केही अनारसहित अरू रुख पनि रोपेका छन् । उनका यी सबै प्रयत्न पन्छी–प्रेमसँग नितान्त रूपमा जोडिन पुगेको छ ।
उनले जुन बगैँचामा फलफूलहरू रोपे, ती सबै पन्छीका लागि मात्रै थियो । बगैँचामा लटरम्म फलफूलहरू फलेर पाके पनि उनी टिप्दैनन्, सबै पन्छीहरूका लागि छाडिदिन्छन् । अनलाइन ‘जनचोक’ ले गुप्ताको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘पन्छीको जीवनमाथि आइपरेको सङ्कटको मुख्य कारण वनजङ्गलको फँडानी नै हो । वनजङ्गलको फँडानीले पन्छीको आश्रयस्थल मासिँदै गएको मात्र छैन, बढ्दो तापक्रमले जलवायु परिवर्तनसमेत भइरहेको छ । सोही कारण कैयौँ प्रजातिका पन्छीहरू विलुप्त भइरहेका छन् र कतिपय अनुकूल वातावरण खोज्दै पलायन भइरहेका छन् ।’ निश्चय नै प्रकृतिलाई क्रियाशील तुल्याउन र जैविक विविधता कायम राख्न पशुपन्छीहरूको अहम् भूमिका रहँदै आएको तथ्यलाई कदापि नजरअन्दाज गर्न मिल्दैन ।
त्यसो त, पशु–प्रेम र सान्निध्य मानव स्वास्थ्यसँग पनि उत्तिकै जोडिँदै आएको छ । आधुनिक जीवनशैलीलाई पछ्याउने मानिसहरूले अनेक तनाव र पीडा झेल्नुका साथै एक्लोपनको सिकारसमेत बन्न थालेका छन् । एक्लोपनको कारण अनेक मानसिक एवम् शारीरिक स्वास्थ्य समस्या निम्तिनु स्वाभाविकै हो । यस्तो स्थितिमा जनावर–पन्छीको पालन र तिनीहरूप्रतिको गहिरो लगावले फाइदा पु¥याउने अनुसन्धानले पुष्टि गरिसकेको छ ।
सन्देह नगरी भन्न सकिन्छ, पशु–प्रेमले मानिसलाई क्रोध र उत्तेजनाबाट बचाउँछ । मानव–मानवबीचको सम्बन्ध स्वार्थको सम्बन्ध हो, तर मानव–जीवजन्तुबीचको सम्बन्ध भने विनास्वार्थको सम्बन्ध । भनिन्छ, जीवजन्तुसँगको सम्बन्धले मानिसमा असल गुणको विकास गर्न सघाउ पु¥याउँछ । साथै, मानिसले मानिसबाट धोका पाउन सक्छन् तर जीवजन्तुबाट कदापि धोका पाउँदैनन् ।
अध्ययनहरूले के देखाएको छ भने कुुकुरसँग रमाउने मानिसहरूलाई कमै मुटुरोग लाग्छ । यदि कसैले घरमा कुकुर पालेका छन् भने ती कुकुरलाई घरबाहिर डुलाउन लैजाँदा उसको शारीरिक सक्रियता पनि बढ्छ र त्यसले आरोग्य दिलाउँछ । अर्को, कुकुरसँग बिताउने मानिसहरू डिप्रेसन (अवसाद) को सिकार हुनबाट बच्दछन् । नेपाली समाजमा बिराला कमै पाल्ने गरिन्छ । तर, मंगोलियामा भने उच्च रक्तचापबाट जोगिन त्यो मुलुकका मानिसहरू बिरालो पाल्न रुचाउने गरेको बताइन्छ ।

पशुपन्छी–प्रेम कुनै धार्मिक वा सांस्कारिक कार्यहरूसँग स्वतः जोडिँदै आएको छ । कुनै पूजा वा संस्कार हुँदा काग, कुकुरलाई नचढाई प्रसाद ग्रहण गरिँदैन । पहिले पशुपन्छीले खाओस् भन्ने पवित्र भावनासँग रीतिरिवाज र संस्कारहरूले निरन्तरता पाउँदै आएका छन् । पशुपन्छी पनि आफूप्रति प्रेम र दयाभाव दर्साउने मानिसप्रति कृतज्ञ देखिन्छन् ।
रुखका डालीमा आश्रय लिएका पन्छीहरूको सुमधुर गानले मन–मस्तिष्कलाई आनन्द दिलाउँछ । खोला–नदीमा तैरिइरहेका माछाहरू हेर्दा मन फुर्तिलो हुनुका साथै चञ्चल अनुभव प्रदान गर्छ । धार्मिक परिसरमा उडिरहेका परेवालाई चारा छर्दा बेग्लै आनन्द र रोमाञ्च भाव उत्पत्ति हुन्छ । यस्ता दृष्टान्तहरूले मानव र पशुपन्छीबीचको गहन भावनात्मक सम्बन्धबोध गराउँछ र यस्तो सम्बन्ध मानव स्वास्थ्यका लागि किन पनि लाभकारी छ भने जुन क्रियाकलापबाट मानिसमा लाभदायक हार्मोन्स उत्सर्जित हुन्छ र जसले हृदयाघात र क्यान्सरजस्ता स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न मद्दत पु¥याउँछ ।
काठमाडौँ उपत्यकालगायत देशका अरू भूभागमा जनावरको स्याहार–सुसारमा समय सुम्पिने दयालु प्रवृत्तिका अरू थुप्रै पात्र छन्, जसले आफ्नो सम्पूर्ण समय जनावर र पन्छीहरूका हेरचाहमा अर्पिंदै आएका देखिन्छन् । स्नेहा र सीता त केवल प्रतिनिधि पात्र मात्र हुन् ।
००
तस्बिर ः स्नेहा श्रेष्ठको फेसबुक वालवाट



Leave a Reply