मलाई नाच्न भनेपछि औधी रहर थियो । तर, खुल्नै नसक्ने । आज पनि म ती बालसुलभ दिनहरू सम्झन्छु, जब आफन्तले मेरी माइली बहिनीलाई नाच्नका लागि फुर्काइरहेका हुन्थे, म एउटा कुनामा बसेर हेरिरहन्थेँ । एक दिन आँट गरेर म नाच्न तम्सिएको थिएँ, एक जना आफन्तले हात तानेर भन्नुभयो, ‘तिमी बस, बहिनीले नाच्छे ।’
सायद मेरो ‘डेस्टिनी’ नृत्य नै थियो । त्यसैले होला, आफन्तका अगाडि नाच्न नपाए पनि म रोकिइनँ । ममा नृत्यको कति लगाव रहेछ भने लुकेर नाच्थेँ, जब बुवाले मिथुन चक्रवर्ती अभिनीत सिनेमाका गीत बनाउनुहुन्थ्यो । बुवा मिथुनको ‘फ्यान’ । मचाहिँ उनको डान्स स्टेपको ‘फलोअर’ । डिस्को डान्सरका स्टेप गर्दागर्दै मेरा गोडाहरूले सङ्गीतको ताल चिन्न सक्ने भइसकेछन् ।
कत्थक नाच्ने प्रेरणाचाहिँ स्वर्गीय काका नरेन्द्र गोपाल श्रेष्ठबाट पाएकी हुँ । दस वर्षकी हुँदी हुँ, स्कुल बिदा हुँदा काकाले आफूले नृत्य सिकाउने कक्षामा लैजानुहुन्थ्यो । म उहाँले सिकाएको नृत्य कक्षा बाहिरबाट हेरिबस्थेँ ।
‘ता थइ, ता थइ’ गर्दै कत्थक सिकाइको त्यो दृश्यले मलाई खिचिसकेको थियो । मेरो बालमस्तिष्कमा पर्यो, ‘नृत्य भनेकै कत्थक हो ।’ त्यो दिन छ र आजको दिन, मैले नृत्यबाहेक अरू केही सोचिनँ र गरिनँ पनि । बुवा त इन्जिनियर बनाउन चाहनुहुन्थ्यो तर मैले एसएलसीपछि नृत्य लिएर पढ्ने सोचेँ र घरमा बताएँ । सबै चकित परे । कारण, त्यो जमानामा नृत्यलाई मनोरञ्जनका रूपमा मात्रै हेरिन्थ्यो । करिअर बन्छ भन्ने धेरैले सोचेकै थिएनन् । सुरुमा बुवा पनि मेरो प्रस्ताव सुनेर अलमलिनुभयो तर मैले धेरै जिद्दी गरेपछि मान्नुभयो । म पद्मकन्या कलेजमा नृत्य विषय लिएर आइए भर्ना भएँ । त्यहाँ गुरु हनी श्रेष्ठसँगको भेट र प्रशिक्षणपछि नृत्यप्रति मेरो रुचि झन् गहिरो हुँदै गयो । श्रेष्ठसँग भेटेर नृत्य बुझ्दै गएपछि नसाजस्तै बन्यो ।
पद्मकन्यामा दुई वर्ष पढ्दा मैले भारतीय दूतावासबाट प्राप्त हुने पाँचवर्षे ‘इन्डियन काउन्सिल फर कल्चरल रिलेसन’ (आइसिसिआर) छात्रवृत्तिबारे थाहा पाएँ । घरमा कसैलाई पत्तै नदिई छात्रवृत्तिमा आवेदन भरेँ । तर पहिलो पटकमा नाम निस्किएन । दोस्रो पटकमा मात्रै मैले छात्रवृत्ति पाएँ । छात्रवृत्ति पाएपछि बल्ल बुबालाई सुनाएँ । त्यसपछि घरमा कुनै रोकतोक भएन ।
सन् १९९८ अक्टोबरमा दिल्लीको श्रीराम भारतीय कला केन्द्र पुगेँ । त्यहाँ पनि मैले कत्थक नै रोजेँ । भारतमा सिकाउने तरिका नै फरक थियो । त्यहाँको सिकाइ ‘स्कुलिङ’मा आधारित हुन्थ्यो । सुरुमा मलाई सिकाइको लय समात्न निकै गाह्रो पर्यो । प्रोफेसनल डान्सर बनाउनका लागि भएको सिकाइ थियो । नेपालबाहेक पनि रसिया, कोरिया, भियतनाम, जापान, भारतकै अरू प्रान्तका विद्यार्थी पनि थिए । सबै आ-आफ्नो ठाउँबाट आएका उत्कृष्टहरू थिए । एक प्रकारको सुन्दर र आत्मिक सम्बन्धका साथ प्रतिस्पर्धा हुन्थ्यो ।
भारतकी चर्चित कत्थक नर्तकी शिखा खरेबाट मैले कत्थक पढ्ने र सिक्ने मौका पाएँ । मैले गुरु सिखा खरेसँग नै सही तरिकाको रियाज गर्ने सिकेँ । कत्थकको ऐतिहासिक ज्ञान र यसका विविध बान्कीहरूको सिकाइले मेरो कला निखारिँदै गयो ।
पाँच वर्ष त छात्रवृत्तिमा पढेँ । त्यति बेला मलाई भारतको चर्को गर्मी, भाषाको समस्या, खानपान केहीले असर गरेन । मेरो लागि खाली नाचको मात्रै ‘जुनुन’ थियो । कसरी सिक्ने भन्ने । ब्याचलरपछि कत्थकमै मास्टर गर्ने चाह भयो । नेपाल फर्केर घरमा मनाएर आमा, दिदीबहिनीले साथ दिए पछि पुनः भारतमा मास्टर पढ्न गएँ । त्यति बेला पकेट खर्चका लागि म घरघरमा गएर कत्थक सिकाउँथे । कला नृत्यप्रति भारतीय समाजले गरेको कदर देखेर म दङ्ग पर्थे । भारतमा सात वर्ष कत्थक सिकेर नेपाल फर्केपछि मात्रै मेरो असली परीक्षा सुरु भयो । त्यो बेलासम्म नेपालमा कत्थकमा ‘सोलो पर्फरमर’हरू कोही थिएनन् ।
तर, नमीठो कहाँनेर लाग्यो भने नेपाल फर्केपछि मैले काम नै पाइनँ । आफू पढेकै पद्मकन्या कलेजमा सिकाउन जाने सोचेको थिएँ । धेरै नाम चलेका विद्यालयहरूमा पनि काम माग्न चहारँे । तर, कसैले काम दिएन । किनभने, मलाई कत्थक मात्रै आउँथ्यो । विद्यालयमा एक जना नृत्य शिक्षकले सबै थरी नाच सिकाउन सक्नुपर्छ ।


नेपालका विद्यालयहरूमा सिकाइने सङ्गीत र नृत्यको कलासँग खासै साइनो छैन । वर्षमा एकपटक अभिभावक दिवसको अवसर पारेर स्टेजमा उभ्याउन गराइने प्राक्टिस मात्रै हो । स्किलको रूपमा नलिई खालि मनोरञ्जनका लागि मात्रै नृत्यलाई लिएको देखिन्छ । विद्यालयमा मात्रै होइन, समाजले नै नृत्यलाई हेर्ने नजरिया भनेको मनोरञ्जन मात्रै हो । भारतबाट फर्केको डेढ वर्ष त्यत्तिकै बित्यो । त्यति नै बेला यलमाया क्लासिकका लागि ‘सोलो पर्फमेन्स’ गर्ने कुरा भयो । मसँग प्राक्टिस गर्ने ठाउँ थिएन । मलाई तबलामा साथ दिनलाई स्व.गुरु होमनाथ उपाध्याय हुनुहुन्थ्यो ।
कहिले पशुपतिको कुनै भजन मण्डलीमा, कहिले होमनाथ सरकै घरमा गएर महिनौँ प्राक्टिस गरेँ । कार्यक्रम राम्रो भयो । तर, मलाई ५ सय रुपैयाँ पारिश्रमिक दिइयो । महिनौँको मेहनतको बदला ५ सयको खाम हातमा पर्दा आँखाबाट आँसु रोक्न सकिनँ । छाँगाबाट खसेजस्तै भएँ र त्यो दिन संकल्प गरेँ, ‘अब म ५ सय रुपैयाँको लागि नाच्दिनँ ।’
यस्तै मीठा-नमीठा भोगाइपछि म ‘नृत्य आँगन’ खोल्ने निष्कर्षमा पुगेकी हुन् । आमा, दिदीबहिनी, साथीभाइको सहयोगमा नृत्य आँगन सञ्चालन गरेको छु । शास्त्रीय नृत्यलाई नयाँ पुस्तासँग जोड्ने मेरो कोसिस हो यो ।
उत्तर भारतमा बसोबास गर्ने एक समुदायले आफ्नो शरीरका अङ्गहरूको हाउभाउबाट मन्दिरमा धार्मिक कथा वाचन गर्ने गथ्र्यो । त्यही प्रस्तुतिले पछि कत्थक नृत्यको रूप लियो । भारतका आठ शास्त्रीय नृत्यमध्ये कत्थक एक हो । नेपालमा पनि राजा-महाराजाको मनोरञ्जन निम्ति भारतबाट नर्तक-नर्तकी बोलाएर दरबारमा कत्थक देखाउने गरिन्थ्यो ।
कत्थकमा खुट्टामा लगाउने घुँगरुको ठूलो महत्व हुन्छ । यो नर्तकीको गहना मात्र होइन, अभिन्न अङ्ग नै हो । घुँगरुको छनछन् र खुट्टाको चालले हामी तबलाको तालसँग सुर गाँसिरहेका हुन्छौँ । शारीरिक चालसँगै कत्थकमा नर्तक-नर्तकीले लगाउने पहिरन र शृङ्गारको पनि ठूलो महत्व छ । कत्थकमा लेहेङ्गा चोली, अंगरवालगायतको पहिरन हुन्छ । सङ्गीतका नियम पालना गरेरै कत्थकको रूप आएको हो । यसका लागि सङ्गीतभित्र भएको नियम र जीवन जिउने नियम र अनुशासन दुवै उत्तिकै आवश्यक हुन्छ ।
कत्थकमा ताल र लयसँग शरीरको हाउभाउ घोल्नुपर्छ । यसमा नर्तक-नर्तकीको अनुग्रह, खुट्टाको चाल, हाउभाउ र नृत्यबाट कथा वाचन हुन्छ । सङ्गीतको सबै विधाका लागि लय र तालको ज्ञान उत्तिकै जरुरी हुन्छ । तबला पनि सिकेको छ भने सुनमा सुगन्ध थपिन्छ ।
यसलाई मनोरञ्जनका रूपमा मात्र लिनेले राम्रो प्रस्तुति दिन सक्दैन । मनैदेखि डुबेर नाच्नुपर्छ । ताल र लयमा आबद्ध भएर जीउको हाउभाउबाट प्रस्टसँग कथा भन्न सक्ने र दर्शकहरूलाई त्यही कथामा डुबाउन सक्नेहरू नै कत्थक कलाकार बन्न सक्छन् । धेरै इन्स्टिच्युट छन्, जहाँ डान्सरहरू जन्माउँछन् तर कलाकार बनाउने संस्था छैन । कलाकार बन्न एक-दुई वर्ष सिकेर स्टेजमा गएर त हुँदैन । वर्षौंसम्म सिकेर साधना गरेर जन्मने कुरा हो ।
मेरो लागि यो नृत्य सबै थोक हो । अरू त केही आउँदैन । बालकैदेखि मनभित्र थियो, जसरी पनि नाच्छु । सुत्दा पनि नाचेको कल्पना गरेरै सुत्थेँ । दिनमा पनि नाचेकै सपना देख्थेँ । यो स्टेजमा यसरी नाच्छु भन्ने सोच्थेँ । नाच्दा म ध्यान लिप्त हुन्छु । नृत्यबाहेक अरू केही गर्छु भनेर अहिले पनि सोचेको छैन ।



Leave a Reply