रङ्गहरूलाई अनेक भावभङ्गीमा उतार्छन्, कलाकारहरू । आम दृष्टिले हेर्दा रातो, पहेँलो, नीलो, हरियो, कालो, बैजनी आदि रङ्गहरू मात्रै हुन् । तर, कलाकारहरू तिनै रङ्गमा जीवन भर्छन्, भावना समेट्छन् अनि समाज र दर्शन जोड्छन् । कलाकारले पोतेका रङ्गमा संस्कृति झल्किल्छ, ऊर्जा भेटिन्छ र अनेक कलात्मक सन्देश लुकेको हुन्छ ।

हालैको एक दिन कुपन्डोलस्थित आर्ट स्टुडियोमा पाँच जना नामचीन कलाकारहरू जीवनको सकरात्मकता खोज्दै थिए । आई ओपनर मिडिया प्रालिको आग्रहमा वाह ! जिन्दगी म्यागजिनको थिमसँग मेल खाने चित्र कोर्न क्यानभासमा रङ्ग पोत्दै थिए, उनीहरू । आई ओपनरले वाह ! जिन्दगी म्यागजिनलाई ‘सकारात्मक जीवनको प्रेरक साथी’ भनेको छ । कलाकार साथीहरू यही थिम समात्दै क्यानभासमा रङ्ग पोत्दै छन् ।
रङ्गसँग संवाद गर्दै गरेका समुन्द्रमानसिंह श्रेष्ठ भन्दै थिए, कला र जीवनको लय मिल्नुपर्छ । उनी मान्छेका भावना, मानसिक अवस्था र जीवनका उतारचढावहरूलाई रिदमसँग तुलना गर्छन् । ‘रिदम मिलेको जीवन कहिल्यै नीरस हुँदैन,’ उनी भन्छन्, ‘जीवनका सुर, ताल र लय मिल्यो भने खुसीले भरिएको जीवन बन्छ ।’
परम्परागत पौभा चित्रकला, जसले नेपाली धार्मिक र सांस्कृतिक परम्परालाई झल्काउँछ, समुन्द्रमानको चित्रकारिताको मूल स्रोत पनि पौभा चित्र नै हो । तर उनी यसलाई केवल जस्ताको तस्तै उतार्नुभन्दा नयाँ दृष्टिकोण र शैलीमा आफ्नोपना दिँदै कला सिर्जना गर्छन् । यसलाई उनी ‘निओ पौभा’ अर्थात् नवपौभा भन्न रुचाउँछन् । ‘मेरो उद्देश्य परम्पराको मूल दर्शनलाई जीवित राख्दै त्यसलाई आधुनिक समाजका भावनाहरूसँग जोड्नु हो,’ उनी भन्छन् ।

समुन्द्रमानका चित्र हेर्दा लाग्छ, ती चित्रहरूको आफ्नै जीवन छ । ‘चित्र धड्कनजस्तै हुनुपर्छ, जसले लय, सुर र ताललाई प्रत्यक्ष रूपमा महसुस गर्न सकियोस् ।’ उनका हरेक क्यानभासमा रङ्गहरूको संयोजनले मानवीय भावनाको कथा बोल्छ । समुन्द्रमान मान्छेका भावना, मानसिक अवस्था र जीवनका उतारचढावलाई रिदमसँग तुलना गर्छन् । ‘रिदम मिलेको जीवन कहिल्यै नीरस हुँदैन,’ भन्छन्, ‘जीवनका सुर, ताल र लय मिल्यो भने खुसीले भरिएको जीवन बन्छ ।’
समुन्द्रमानका लागि रङ्गहरूले भावनाको अभिव्यक्ति गर्छन् । रातो प्रेम र ऊर्जाको प्रतीक हो, तर यसले क्रोध र विद्रोहलाई पनि झल्काउँछ । नीलो शान्ति, गहिराइ र स्थायित्वको प्रतीक हो ।
सेतो नेपाली परम्परामा शोकको चिह्न हो, तर यो नयाँ सुरुवातको सङ्केत पनि हो । ‘रङ्गहरूले मात्र एउटा कथा बनाउन सक्छन्,’ उनी भन्छन्, ‘तर त्यसलाई सही तरिकाले प्रस्तुत गर्नुपर्छ ।’
कलाकार एरिना ताम्राकारका लागि चाहिँ रङ्ग केवल बाहिरी सौन्दर्यको माध्यम मात्र होइनन् । ती रङ्ग उनको चेतना, भावना र समाजसँग जोडिएको एक गहिरो संवाद हो । उनी भन्छिन्, ‘रङ्गले मात्र कृतिलाई जीवन दिन सक्छ, यदि त्यसमा कलाकारको आत्मा मिसिएको छ भने ।’

उनी पहिला सधैँ रातो रङसँग खेल्थिन् । रातो रङलाई शक्तिका रूपमा लिइन्छ । सांस्कृतिक रङ अनि मान्छेको रगत पनि रातै हुन्छ । पछिल्लो समय भने उनी रातो छाडेर नीलो, हरियो, सुन्तला र खैरोलगायत अन्य रङसँग पनि खेलिरहेकी छन् ।
एरिनाका लागि रङ्ग केवल एक माध्यम होइन, यो उनको व्यक्तित्वको अभिव्यक्ति हो । प्रत्येक रङ्गमा उनी जीवनका विभिन्न चरणको कहानी देख्छिन् । रातो र कालोको मिलनले उनले समाजका विसङ्गतिहरूलाई चित्रण गर्छिन्, जबकि सेतोले शान्तिको सन्देश दिन्छ ।
एरिनाले मात्र रङ्गको सौन्दर्यलाई उपयोग गर्दिनन्, उनी रङ्गको मनोविज्ञान र यसको ऊर्जा प्रवाहलाई पनि अध्ययन गर्छिन् । ‘रङ्ग भनेको मानव भावनाको आवाज हो,’ उनी भन्छिन्, ‘यो आवाज तब स्पष्ट हुन्छ, जब कलाकारले आफ्नो आत्माको सतहबाट सृजना गर्छ ।’
अर्की कलाकार सम्झना राजभण्डारी जीवनलाई सुन्दर रूपमा जिउन र आफूसँग भएकोमा रमाउनुपर्छ भन्ने मान्यता राख्छिन् । ‘मानिस भगवान्को सबैभन्दा सुन्दर सिर्जना हो । तर, मान्छेले प्रायः आफ्नै जीवनलाई व्यर्थ बनाइरहेको छ,’ उनी भन्छिन् ।
सम्झना राजभण्डारी एक प्रिन्ट मेकिङ कलामा पोख्त कलाकार हुन् । उनले कला सिर्जनाको एउटा फरक माध्यम अपनाउँदै हुलाक टिकटलाई प्रिन्ट मेकिङमा रूपान्तरण गरिरहेकी छिन् । हुलाक टिकटजस्तो ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको वस्तु नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले आफ्नो कलाको केन्द्र बनाएकी उनले यसमा आफ्ना विचार र सन्देश पनि समेटेकी छिन् ।

हरेक टिकटको डिजाइनमा रहेको कथा, कलात्मकता र समयको छापलाई उनी नयाँ दृष्टिकोणले प्रस्तुत गर्छिन् । यसले युवा पुस्तालाई आफ्नो संस्कृतिप्रति गर्व गर्न सिकाउने मात्र होइन, त्यसलाई नयाँ तरिकाले बुझ्न पनि प्रेरणा दिन्छ ।
उनका अनुसार, कलाकारको जीवन रङ्गहरूजस्तै रङ्गीन छ । रङ्गले सिर्जनशीलताका लागि प्रेरणा दिन्छन् । प्रकृतिमा पाइने रङ्गको विविधता कलाकारका लागि प्रेरणाको अथाह स्रोत हो ।
‘रङ्गले विचार, भावना र सपनाहरूलाई व्यक्त गर्न सहयोग गर्छ,’ उनी भन्छिन् । यसले सिर्जनशीलतामा मात्र होइन, उनीहरूको जीवनमा पनि सकारात्मक प्रभाव पार्छ ।

त्यसैगरी आशा डङ्गोलका चित्रहरूमा प्रकृति, संस्कृति र विज्ञानको गहिरो समायोजन पाइन्छ । विश्वभर युद्ध र भयावह परिस्थिति भइरहे पनि मानव जगत् सकारात्मक सोचका साथ अगाडि बढिरहेको सन्देश उनका चित्रले बोकेको हुन्छ । उनका कृतिले आशावादी दृष्टिकोणलाई मात्र उजागर गर्दैनन्, समाजलाई पर्यावरण संरक्षणको महत्वबारे पनि जागरुक गराउँछन् ।
प्रकृतिलाई जोगाऊ र बचाऊ’ भन्ने सन्देशलाई उनी आफ्ना चित्रमा कुशलतापूर्वक प्रस्तुत गर्छन् । चित्रमा प्रायः आशा आफ्नै आकृतिहरूलाई प्रयोग गर्छन् । ‘जब रङ्गले दर्शकलाई प्रभावित गर्छ र राम्रो प्रतिक्रिया प्राप्त हुन्छ, त्यसले गर्व र खुसीको अनुभूति गराउँछ,’ आशा भन्छन् ।
आशा प्रायः प्रकृति र वातावरणलाई प्रतिनिधित्व गर्ने रङ्गहरूको चयनमा ध्यान दिन्छन् । हरियो, नीलो, खैरो र पृथ्वीका गाढा रङ्गहरूले उनका चित्रमा प्रमुख स्थान पाउँछन् । यी रङ्गले प्रकृतिप्रतिको सम्मान र संरक्षणको आवश्यकता दर्साउँछन् । उनले प्रयोग गर्ने हरेक रङ्गले प्रकृतिसँग मानवीय सम्बन्धलाई समेत जोड्छ । आशा डङ्गोलको कला केवल सौन्दर्य सिर्जना गर्ने साधन होइन, यो प्रकृति संरक्षण, सांस्कृतिक पहिचान र सकारात्मक सोचको सन्देश बोकेको माध्यम हो । यसरी कला र रङ्गहरूको माध्यमबाट उनले समाज र प्रकृतिलाई सँगै जोगाउने प्रयास गरिरहेका छन् ।
कुपन्डोलको त्यो जमघटमा शैली राणा विष्ट पनि थिइन् । चित्र कोर्न थालेपछि उनले आफ्ना सिर्जनाहरूमा मात्र होइन, जीवनमा पनि परिवर्तन आएको महसुस गरिन् । प्रकृति र रङ्गसँग खेल्न थालेपछि जविन सुन्दर भएको उनले महसुस गरिन् । जिन्दगी सकारात्मक छ, तर त्यसलाई बुझ्ने र हेर्ने दृष्टिकोणले ठूलो फरक पार्छ । ‘जिन्दगी उज्यालो हुनुपर्छ, तर त्यो उज्यालोपन हेर्ने आँखा पनि तयार हुनुपर्छ,’ शैली भन्छिन् ।

क्यानभासमा रङ्गको प्रयोगले शैलीलाई मानसिक शान्ति र खुसी हुन मद्दत गरेको छ । रङ्गसँग बिताएका समयले उनी दङ्ग छिन् । उनलाई आफूले प्रयोग गर्ने रङ्गहरूमध्ये हल्का नीलो रङ्गले शान्ति र गहिराइको अनुभूति गराउँछ भने गुलाबीले मनलाई आनन्दित बनाउँछ । ‘रङ्ग कलाकारका लागि मात्र साधन होइन,’ शैली भन्छिन्, ‘यो भावनाको अभिव्यक्ति र खुसीको स्रोत हो ।’ शैलीका अनुसार क्यानभासमा खेलिने प्रत्येक रङ्गले एक नयाँ कथा भन्न खोज्छ । जहाँ उनी आफ्नो भावना, सोच र आत्मालाई चित्रहरूमा उतार्छिन् ।



Leave a Reply