सपना, संघर्ष र सिर्जना


अमेरिकी फेसन डिजाइनर राल्फ लरेनको एउटा चर्चित भनाइ छ, ‘म लुगा डिजाइन गर्दिनँ, सपनाहरू डिजाइन गर्छु ।’

अमेरिकी फेसन डिजाइनर राल्फ लरेनको एउटा चर्चित भनाइ छ, ‘म लुगा डिजाइन गर्दिनँ, सपनाहरू डिजाइन गर्छु ।’

लरेनको जस्तै सपना देख्दै, मेहनत र सङ्घर्षको बलमा ती सपना हुर्काउँदै नेपाली फेसन उद्योगमा जम्दै गरेका एक जना प्रतिभा मनिष राई यसपटक वाह जिन्दगीको आवरण कथाका मुख्य पात्र हुन् ।

सहरमा तीव्र राजनीतिक धु्रवीकरण चलेको छ । एकथरी इतिहास बनेको राजसंस्था फर्काउने अभियानमा छन् भने अर्कोथरी गणतन्त्रको हुर्मत लिँदै ‘नया“ राजा’को रूपधारण गर्नमा व्यस्त छन् । तिनलाई रत्तिभर आत्मग्लानि छैन । न त ती आत्मसमीक्षा गर्न नै तयार छन् । निन्दा, खिसिट्युरी, गालीगलोजले सामाजिक सञ्जाल हेरिसाध्य छैन । योग्यता कम भएको हाम्रो समाज आकांक्षाहरूको भारीले नराम्ररी थिचिएको छ, असन्तुष्ट छ ।

यो निराशा र कुण्ठाग्रस्त मनोविज्ञानबाट उम्कँदै हामीचाहिँ सपना देखेरै सफलताको सिँढी चढ्दै गरेका युवा फेसन डिजाइनर मनिष राईसँग यात्रा गर्दै छौँ । र, तपाईं आम पाठकलाई पनि यो यात्रामा सरिक गर्दै छौँ ।

मनिष राईमार्फत हामी अभाव र सङ्घर्षको पृष्ठभूमिबाट उठेका एक जना युवाले छोटो समयमा आर्जन गरेको उपलब्धिको कथा भन्छौँ । अनि भन्छौँ, नेपाली फेसन उद्योगको सम्भावनाको कथा ।

नेपाली फेसन उद्योग र यसको बजारले बिस्तारै पखेटा फिजाउँदै गएको छ । कुनै बखत यस्तो थियो, ‘फेसन’ भन्ने शब्दावली नै सीमित कुलीन र सम्भ्रान्त परिवारको पेवा भनेझैँ लाग्थ्यो । राणा र राजाहरूको दरबारको खपतको विषय थियो, फेसन । फेसनेबल लुगा, घडी, जुत्ता वा अरू सामान दरबारकै खोपीमा खपत हुन्थे । एकाध विदेश जाने अवसर पाएका नेपालीले फेसनसँग साक्षात्कार गरे पनि यो विलासी कुरा थियो ।

अझ, एक कदम पछाडि फेसन, ग्ल्यामर आदि विषयप्रति समाजमा सकारात्मकभन्दा बढी नकारात्मक दृष्टिकोण थियो । केही सकारात्मक सोच्नेहरू पनि यसलाई मनोरञ्जनको सीमामा कैद गर्थे । तर, आज समय बदलिएको छ । फेसन सहरी जीवनको एउटा महत्वपूर्ण अङ्ग भएको छ । कम्तीमा सहरी मध्यमवर्गीय जमात फेसनप्रति सजग र आकर्षित दुवै छ ।

फेसन प्रतिको आकर्षण र मोह बढाउन भूमिका खेलिरहेछन्, मनिष राई र उनीजस्ता यस उद्यमप्रति प्रतिबद्ध व्यक्तिहरूले । अब नेपाली फेसन देशभित्र मात्रै फैलँदै छैन, मुलुकलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा चिनाउने माध्यम पनि बन्दै गएको छ ।

जस्तो कि, प्रबल गुरुङ नेपाली मूलका तर विश्वमै चर्चित फेसन डिजाइनर हुन् । प्रबलले आफ्ना डिजाइनहरूमार्फत नेपाललाई विश्व फेसन बजारमा चिनाएका छन् । विश्वप्रसिद्ध कैयौँ सेलिब्रेटीहरूले उनले डिजाइन रुचाएका छन् ।

संयुक्ता श्रेष्ठ नेपाललाई अन्तर्राष्ट्रिय फेसन मञ्चमा लैजाने अर्को नाम हो । उनका डिजाइनहरू लन्डनको फेसन म्युजियममा समेत राखिएका छन् ।

अन्तर्राष्ट्रिय फेसन शोहरूमा सहभागी भइरहने र नेपाललाई अन्तर्राष्ट्रिय फेसन बजारसँग जोड्ने भूमिकामा मिसु श्रेष्ठ पनि निरन्तर जुटेकी छन् । फेसन उद्योगका चलेका यी र यस्ता कैयौँ नामले नेपालमा पाइने हस्तनिर्मित उत्पादन जस्तो कि ढाका, पस्मिना, ऊन, अल्लो आदिलाई अन्तर्राष्ट्रियकरण गर्ने भूमिका खेलेका छन् ।

मनिष राई पनि यही बाटोमा बढेका छन् । उनी आफ्ना फेसन डिजाइनमार्फत सौन्दर्य मात्रै पस्किरहेका छैनन्, ती कलात्मक अभिव्यक्तिमार्फत नेपाली संस्कृति र यसको समावेशी चरित्रलाई पनि जोड्दै छन् । र, त निरन्तर सफलताको सिँढी उक्लिँदै छन् । भन्छन्, ‘सफलता सजिलै आउँदैन, यसका लागि लगन, सङ्घर्ष, धैर्य अनि निरन्तरता चाहिन्छ । र, सपना देख्नचाहिँ छोड्नु हुन्न ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *