साङ्लो छिनाएर हिँडेको, गहुँगोरो, ठूला ठूला आँखा भएको पाँच हात आठ बित्ताको एउटा कुकुर हराएको छ । समस्या एउटै छ, कुकुरलाई कसरी पत्ता लगाउने ? पत्ता लगाउनेलाई एक लाख रुपैयाँ इनामको व्यवस्था पनि छ । चिया पसलबाट सुरु भएको कुकुरको खोजी क्रममै मुलुकका हराएका तर खोज्नैपर्ने थुप्रै कुराहरु उजागर हुन्छन् । अनि कुकुर नै चाहिँ भेटिन्छ कि भेटिँदैन ? के साँच्चै कुकुर नै हराएको हो त ? कुकुरको आधिकारिक मालिक को हुन् ? यस्तै प्रश्नहरुलाई बिम्बात्मक रुपमा प्रस्तुत गरेको नाटक ‘हराएको कुकुर’ यतिबेला थापागाउँस्थित मण्डला थिएटरमा मञ्चनरत छ ।
रङ्गकर्मी मणिकुलुङ राईको कथा तथा निर्देशन रहेको नाटकको नाट्य रुपान्तरण अर्का रङ्गकर्मी रबिन तामाङले गरेका छन् । ‘हराएको कुकुर’ अस्वस्थ बन्दै गएको राज्य प्रणाली, प्रवृत्ति, विभेदपूर्ण बन्दै गएको न्यायलय, सत्ताको अस्वस्थ शक्ति प्रदर्शन, सत्ताकै आँडमा अन्याय र अपराधलाई पक्षपोषण गर्दै स्वच्छ छविको खोल ओढी हिँडेका तमाम मान्छेहरुको बिम्वात्मक चित्रण हो । झट्ट सुन्दा र सुरुवातको प्रस्तुतिमा सरल विषयमा नाटक प्रवेश गरेको देखिएपनि हाम्रो सामाजिक र राजनीतिक प्रणाली कति विषाक्त बन्दै गएको छ भनेर नाटकले जटिल विषयलाई प्रतिकात्मक ढंगबाट उठान गरेको छ । राजनीति होस्, प्रशासनिक एवं सिर्जनात्मक तहमा बसेर देश र देशबासीका लागि लडेका छौं भन्नेहरुका ढोंगी चरित्रलाई नाटकमा देख्न सकिन्छ ।
चिया पसलमा कुकुर हराएको सूचना दिने दृश्यबाट सुरु हुने दर्शकलाई सुरुवातमा हराएको कुकुरकै चासो हुन्छ । कुकुरको खोजी गर्ने प्रक्रियामा पसलमा जमघट हुने आगन्तुक दुधवाला, चियावाला, छापाखाना मालिक, चित्रकारदेखि कविसम्मको जमघट हुन्छ । तिनै मानिसहरुबिच कुकुर कसरी पत्ता लगाउने भन्ने खोजनीति पक्रियामा चित्रकार इन्द्रेणी(इन्द्रेणी कुलुङ)ले कुकुरको हुलियाको आधारमा स्केच तयार गरिदिन्छिन् । स्केचकै आधारमा हेर्दा अन्ततः हराएको एउटा कुकुरको खोजी गर्दै जाँदा अर्को पनि भेट्टाइन्छ ।
उनीहरुमाझमा दुई वटा हराएका कुकुरहरु फेला पर्छन् । उसो भए हराएको कुकुरको हुलिया ठ्याक्कै कस्तो थियो त ? एउटा भोटे कुकुरको खोजतलासीमा अर्को कुकुुर कसरी फेला परियो ? यसलाई नाटकमा बिम्वात्मक रुपमा निकै रहस्यमय तरिकाले अन्तिममा खुलासा गरिएको छ । जुन खुलासा नै नाटकको बलियो बिम्व हो ।
नाटकले बिम्वात्मक रुपमै सही देशमा साहित्य सिर्जनाको नाममा डलरको खेती गरिरहेको भनेर आरोप लागेका साहित्यकारदेखि, साहित्यलाई पाठकसम्म ल्याउने प्रकाशकलाई शब्दमार्फत नै गतिलो झापट हानेको छ । पछिल्लो समयमा पहिचानवादी आन्दोलनका नाममा सिर्जनाका आवाजहरु उठान गरिरहेका सर्जकहरुलाई समेत नाटकले व्यंग्य गरेको छ । नाटकले एकातिर सिर्जनाका सर्जकहरुका पहिचानवादी आन्दोलनलाई नाटकले देखाउने दाँतका रुपमा परिभाषित गरेको छ, अर्कोतिर एउटा लेखक धनी हुँदा उसको कलममाथि किन प्रश्न उठ्छ भनेर कवि प्रहर(किरण नेपाली)मार्फत अलिकति पक्षपोषणको कुरा पनि उठाएको हो कि भनेर महसुस गराउँछ । नाटकमा कवि प्रहरले समकालीन समयका एक साहित्य सर्जकको प्रतिनिधित्व गरेका छन् । उनैमार्फत दर्शकले साहित्य सिर्जनाका नाममा लेखकहरुमा कसरी इमान्दारिता हराइरहेको छ भन्ने कुरा नियाल्ल्न पाउँछन् । छापाखाना चलाइरहेका एक सामान्य मानिसले सहरमा घर, गाडी कसरी जोडिरहेको छ, छापाखानाको नाममा वास्तविक काम कस्तो चल्छ भन्ने कुरा नाटकले प्रश्न त गर्छ, तर ती सबै कुराहरु सतहमा ल्याउँदैन । ‘कालो मसिले लेखेको अक्षर रातारात हरियो’ हुने प्रवृत्तिलाई पनि नाटकले दृश्यमा बोलेका शब्दहरुमा त सुनाउँछ तर त्यसलाई प्रत्यक्ष कार्यमा जोड्न भन्दा पनि कुकुर हराएको विषयसँग समावेश गरेर अन्तिममा मात्र प्रस्तुत गर्छ । कला प्रेम र धर्मका पक्षलाई उठान गर्दै कथा एवं नाटक सिर्जनाका सर्जक द्वय तामाङ र राईले सर्जकहरुमा हराउँदै गएको मानवता र इमान्दारितालाई खोज्ने जमर्को गरेका छन् । नाटकमा प्रयुक्त कविताका शब्दहरुले भन्छ, ‘उसलाई अब कथा भन्नुछ, मान्छे कुकुर भएको र कुकुर मान्छे भएको ।’
नाटकका विषयवस्तुहरु समकालीन र जल्दोबल्दो मुद्दाहरुमा नै केन्द्रित छन् । यति खोजीको नामका राज्यले स्वाहा पारेको करोडौं बजेट, हालसालै ट्रकमा २५ करोड पैसा भेट्टाएको विषयवस्तु नाटकमा समावेश भएका छन् । मुलुकमा सत्ता र शक्तिको आँडमा भइरहेको अराजक तथा अन्यायपूर्ण गतिविधिहरुलाई भुँइमा बसेर कसरी आम मानिसहरुले टुलुटुलु हेरिरहेका छन् भनेर बिम्वात्मक रुपमा भन्न नाटकका युवा सर्जकहरु तामाङ र राईले भन्न आँट गरेका छन् । दुवैजना सिर्जनाका सर्जक नै भएतापनि सिर्जनालाई व्यापारीकरण र स्वार्थमा प्रयोग गरिरहेका यसै क्षेत्रका सर्जकहरुमाथि प्रश्नचिन्ह खडा गर्नु चुनौती नै हो । सर्जकलाई नै बिम्वात्मक रुपमा जसरी प्रस्तुत गरेका छन्, त्यो आफैंमा जटिल प्रश्न हुन सक्छ । यद्यपि आइपर्ने जटिलता र चुनौतीलाई दुवैले मोलेका छन् ।
राईले डेब्यु निर्देशनमा नै आफूलाई रंगमञ्चका लागि उदाउँदो निर्देशकका रुपमा चिनारी दिएका छन् । सामान्य मञ्चिय व्यवस्थापन, प्रप्स र कस्ट्युमहरुमा उनले भन्न र देखाउन खोजेको कुरा दर्शकलाई भन्न सकेका छन् । करिब एक घण्टाको समयावधिमा दर्शकलाई बाँधेर अन्तिममा रहस्यमयी तरिकाले कुकुर पत्ता लगाउने नाटकको अन्तिम दृश्यमा दर्शक अझै दृश्यमा बाँधिरहन चाहन्छन् । नाटकका प्रयुक्त कविताका अंशले नाटकलाई अझै अर्थपूर्ण बनाएको छ । नाटकमा धेरै प्रकाशहरु प्रयुक्त छैनन् । द्वन्द्वको समयमा प्रस्तुत हुने रातो प्रकाशभन्दा बाहेक सिर्जनात्मक अन्य प्रकाशको प्रयोगले नाटक अझै सुन्दर हुन सक्थ्यो ।
जस्तो मौसम(मणिकुलुङ राई) र इन्द्रेणीबिचको प्रेमभाव, इन्द्रेणीले स्केच बनाउँदै गर्दा होस् या स्केचको पर्दारोपणको क्रममा प्रकाशको सिर्जनात्मक तवरबाट नाटकको रहस्यलाई खुलाएको भए अझै सुन्दर हुन सक्थ्यो । नाटकका कलाकारहरुको अभिनय अझै शसक्त छ । तथापि निर्देशकले कलाकारहरुको पात्रलाई बलियो रुपमा स्थापित गर्ने मौका दिएका छैनन् । पात्रहरुको चरित्र र तिनको पेसा के के हो भन्ने कुरामा केही अलमल हुन सक्छ । जस्तो तारा(स्मृति कल्मर), राधिका(रेज्मी राई) पात्रहरुको चरित्र के हो भनेर बलियो रुपमा स्थापित भएको छैन । एक दृश्यमा इन्द्रेणी र मौसमको बिचमा भएको कुराकानीमा मुखमा कालो लागेको प्रसंग आउँछ, तर त्यो दृश्य दर्शकले देख्न पाउँदैन । यद्यपि कलाकारहरुको अभिनय पक्षले यस्ता स–साना कमजोरीहरुलाई छोपिदिएको छ । नाटकका मल्टिमिडियालाई पनि अर्थपूर्ण रुपमा प्रयोग गरिएको छ । जसले गर्दा प्रत्यक्ष सङ्गीतको अभावलाई खड्किन दिएको छैन ।
साउन ४ गतेसम्म मञ्चन हुने नाटकमा रमा कुलुङ, अविनाश डि.एम., मीना श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ ।



Leave a Reply