सस्टेनेबल फेसनको अग्रणी : संयुक्ता


बेलायतमा कर्मभूमि बनाइरहेकी फेसन डिजाइनर संयुक्ता श्रेष्ठलाई भर्खरै ब्रिटेन्स एसियन वेडिङ अवाड्र्स, २०२५ अन्तर्गत ‘वेडिङ बुटिक अफ द इयर’ श्रेणीमा ‘आउटस्ट्यान्डिङ अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । फेसन क्षेत्रका लागि यो अवार्डको महत्व विशेष छ । ‘यो अवार्डले बेलायतभरिका दुलहीहरूका लागि मेरो कामको मूल्याङ्कन मात्र होइन, भविष्यमा अझ राम्रो गरौँ भन्ने प्रेरणा पनि दिएको छ,’…

बेलायतमा कर्मभूमि बनाइरहेकी फेसन डिजाइनर संयुक्ता श्रेष्ठलाई भर्खरै ब्रिटेन्स एसियन वेडिङ अवाड्र्स, २०२५ अन्तर्गत ‘वेडिङ बुटिक अफ द इयर’ श्रेणीमा ‘आउटस्ट्यान्डिङ अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । फेसन क्षेत्रका लागि यो अवार्डको महत्व विशेष छ । ‘यो अवार्डले बेलायतभरिका दुलहीहरूका लागि मेरो कामको मूल्याङ्कन मात्र होइन, भविष्यमा अझ राम्रो गरौँ भन्ने प्रेरणा पनि दिएको छ,’ संयुक्ता श्रेष्ठ वाह जिन्दगीसँग खुसी साट्दै भन्छिन् ।
बेलायतमा कर्मभूमि बनाइरहेकी संयुक्ता श्रेष्ठलाई अन्तर्राष्ट्रिय मिडियाले ‘सस्टेनेबल फेसन आइकन’ भनेर चिनाएको छ । सन् २०११ मा संयुक्ताले जब आफ्नो सस्टेनेबल लक्जरी ब्राइडल ब्रान्ड सुरु गरिन्, त्यो बेला ‘सस्टेनेबिलिटी’ फेसन उद्योगका लागि नयाँ थियो । तर, उनले भेगन, अग्र्यानिक फाइबर (सिस्नु, भाङ, बाँस, केराको पात, अग्र्यानिक कपास) प्रयोग गरेर यस्तो ब्राइडल वेयर तयार पारिन्, सबैका लागि प्रेरणा पनि बन्यो । संयुक्ताले २०११ मा ‘द पर्फेक्ट वेडिङ अवार्ड’ अन्तर्गत वेस्ट वेडिङ न्युकमर अवार्ड जितेकी थिइन् । सोही वर्ष उनले जेपी सेलेक्ट्स एक्सिलेन्स अवार्ड, २०११ मा ब्राइडल इनोभेसन अवार्ड पनि प्राप्त गरिन् । सन् २०१२ मा ‘सोर्स अवार्ड’ अन्तर्गत ग्लोबल अवाड्र्स फर सस्टेनेबल फेसनमा उनी हाइली कमेन्डेड ब्रान्ड लिडरका रूपमा सम्मानित भइन् । त्यसपछिको वर्ष, २०१३ मा ‘द पर्फेक्ट वेडिङ अवार्ड’ अन्तर्गत हाइली कमेन्डेड नेम टु वाचका रूपमा पुनः प्रशंसा पाइन् । संयुक्ताले क्रमशः सन् २०२०, २०२३ र २०२४ मा पनि विभिन्न वेडिङ अवार्डहरू प्राप्त गरिसकेकी छन् ।

संयुक्ताले डिजाइन गरेको पीपा गाउन लन्डनस्थित बाथ फेसन म्युजियममा स्थायी रूपमा सङ्ग्रह गरिएको छ । यो म्युजियम १६ औँ शताब्दीदेखि आजसम्मको फेसन इतिहासलाई समेट्ने विश्वप्रसिद्ध सङ्ग्रहालय हो । नेपाली डिजाइनरका रूपमा संयुक्ताको डिजाइन त्यहाँ सङ्ग्रह हुनु गर्वको विषय हो ।महिलाको हातबाट बनेका सपनाहरू संयुक्ता लन्डनमा रहेर काम गरे पनि उनको ब्रान्डमा काम गर्ने ९५ प्रतिशतभन्दा बढी नेपाली महिलाहरू हुन् । उनले डिजाइनमा प्रयोग गरिने सस्टेनेबल फेब्रिकहरू नेपालकै प्रयोग गर्छिन् । हस्तनिर्मित कपडाबाट डिजाइन गरिएका गाउनहरू धेरैको रोजाइमा छ । संयुक्ता भन्छिन्, फेसन सुन्दर हुनुपर्छ, तर त्यो समाजप्रति उत्तरदायी पनि हुनुपर्छ । सिर्जनाको पछाडि रहेका कालिगढहरूको सीप जोगिनु भनेको हाम्रो संस्कृतिको संरक्षण हो ।

संयुक्ताको फेसन सिर्जनालाई डकुमेन्ट्रीमार्फत लन्डन फेसन विकमा प्रस्तुत गरियो र फेसन टिभीमा ‘विश्वकै उत्कृष्ट डिजाइनरको कथा’ भनेर प्रसारण गरियो । उक्त वृत्तचित्रमा उनले नेपालका महिला कालिगढहरूको सीप, श्रम, सङ्घर्ष र सफलतालाई उजागर गरेकी छन् ।

संयुक्ता श्रेष्ठले नेपाली सीप, संस्कार र सोचलाई विश्वसामु राख्ने काम गरेकी छन् । लन्डनको ब्राइडल बजारमा उनी एक परिचित नाम हुन् । उनको कथा हामी सबै नेपालीका लागि गर्व र प्रेरणाको विषय पनि हो । यदि कामप्रति लगाव र सिर्जनात्मक सोच छ भने असम्भव केही छैन, संयुक्ताको दिनप्रतिदिनको सफलताले यही भन्छ ।

संयुक्ता श्रेष्ठको डिजाइन चिनारीकै विशेषता हो— पूर्वी सांस्कृतिक जरा र पश्चिमी आधुनिकता को सुन्दर सम्मिश्रण । यही विशेषता नै उनको फेसन करिअरको बलियो आधार बन्यो । नेपालमा जन्मिएर बेलायतमा बसेर उनले डिजाइनमार्फत नेपाली कपडा, हस्तकला र महिलाको सीपलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गरिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *