नेपाल सरकारले नेवार समुदायको मुख्य परिकार य:मरीलाई अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सूचीकरण गरेको छ।
ललितपुर महानगरको संयोजन र सक्रियतामा ललितपुरका नेवार समुदायको निरन्तर प्रयासपछि य:मरीलाई सरकारले अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सूचीकरण गरेको हो।
ललितपुरका नेवार समुदायले सबै प्रक्रिया पूरा गरी प्रमाण पेस गरेपछि मूल्यांकन र सिफारिस समितिको सिफारिसमा य:मरीलाई सरकारले अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सूचीकरण गरेको संस्कृति, पर्यटन, नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
अभौतिक सम्पदाको सूचीकरणका लागि मन्त्रालयले गत वर्ष गरेको आह्वानमा करिब १०५ वटा आवेदन परेका थिए। अन्य आवेदनमा विधि र प्रक्रिया नपुगेका कारण यो वर्ष य:मरी मात्र सूचीकरणमा परेको मन्त्रालयले बताएको छ। मन्त्रालयका अनुसार ललितपुर महानगरपालिकाका १ देखि २९ वडाका नेवार समुदायले दिएको आवेदनलाई दुई समितिले अध्ययन गरेर मन्त्रालयलाई दिएको सिफारिसका आधारमा य:मरी गत साउन २३ गते अभौतिक सम्पदाको सूचीमा छनोट भएको हो। ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले विज्ञप्ति जारी गरेर यो प्रक्रियामा सहभागी सबैलाई धन्यवाद दिएका छन्।
उनले विज्ञप्तिमा भनेका छन्, ‘नेवार समुदाय, विभिन्न खल पुच: लगायत सबै समुदायलाई धन्यवाद, सबैको मेहनत र सकारात्मक सोचका कारण यो सम्भव भएको हो।’ अभौतिक सम्पदा सूचीमा सूचीकृत य:मरीलाई विश्व अभौतिक सम्पदा सूचीमा सूचीकृत गर्न पनि सबैको साथ र सहयोगको महानगरले अपेक्षा गरेको नगर प्रमुख महर्जनले बताए। उनले विज्ञप्तिमा भनेका छन्—‘मन्त्रालयका मन्त्री, जनप्रतिनिधि, कर्मचारी साथीहरू, नगरवासी र विज्ञको रूपमा सहजीकरण गर्ने डा. मोनालिसा महर्जन लगायत प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्छु।’
विभिन्न समुदायको पहिचान र अभिलेखीकरणमार्फत अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण सम्बन्धित समुदायबाटै गर्ने कामलाई निरन्तरता दिन यो वर्षबाट सूचीकरण शुरू गरिएको मन्त्रालयले जनाएको छ।
अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) कार्यविधि २०८१ मा व्यवस्था भएअनुसार मूल्यांकन समितिका विज्ञहरूले यो विषयमा अध्ययन गर्छन्। अभौतिक सांस्कृतिक सम्पदासँग सम्बन्धित निकायका प्रतिनिधि रहेको सिफारिस समितिले मन्त्रालयलाई सिफारिस गर्छ। त्यही सिफारिसका आधारमा मन्त्रालयले निर्णय गर्छ। गत वर्ष भदौ ३१ गतेको निर्णयअनुसार यो कार्यविधि बनेको थियो।
उक्त कार्यविधिअनुसार अभौतिक सांस्कृतिक सम्पदा भन्नाले नेपालमा परम्परागत रूपमा बसोबास गर्ने जातीय समुदायका एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै र अभ्यास भएका सांस्कृतिक विधा सम्झनुपर्छ।
त्यस्ता सांस्कृतिक विधामा मौखिक परम्परा र अभिव्यक्ति, अभिनय र मञ्चन कला, सामाजिक व्यवहार, अनुष्ठान र जात्रा पर्व, प्रकृति र ब्रह्माण्डसम्बन्धी ज्ञान, परम्परागत कला, उत्पादन गर्ने सीप र प्रविधि, परम्परागत खेल, खाद्य परिकारका सीप, पहिरन र आभूषणसम्बन्धी ज्ञान, सम्पदा अभ्यास, कार्यान्वयन र अभ्यास गर्ने स्थल, स्मरणमा रहेका तर अभ्यासमा नरहेका अमूर्त सांस्कृतिक सम्पदा गरी १० वटा डोमेन कार्यविधिमा उल्लेख छन्। कुनै व्यक्ति, परिवार वा समुदायले कार्यविधिले तोकेका १० वटा सांस्कृतिक विधामा सूचीकरणका लागि आवेदन दिन सक्छ।
अभौतिक सम्पदा सूचीकरणका लागि आफूले आवेदन दिन लागेको सम्पदाको पूर्ण विवरण, सम्बन्धित व्यक्ति, समूह वा समुदायको सहमति, सम्पदाको फोटो, अडियो र भिडियो, अहिलेसम्मको पुस्तान्तरणसम्बन्धी विवरण, सम्बन्धित स्थानीय तहको सिफारिस, स्थानीय तहमा सूचीकरण भएको भए त्यसको प्रमाण मन्त्रालयमा पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।
नेपाल भाषामा य:मरीको अर्थ मनपर्ने रोटी हो। पछिल्लो एक दशकमा नेवार समुदायले खाँदै आएको य:मरी काठमाडौंमा निकै चर्चित भएको छ। य:मरी सुरुमा काभ्रे जिल्लाको पनौतीमा पकाइएको भन्ने किंवदन्तीमा उल्लेख छ। एक किसान दम्पतीले काठमाडौंदेखि पुगेका ज्वाइँलाई स्वादिष्ट खुवाउन घरमा भएको चामलको पिठो र चाकु प्रयोग गरेर बनाएका र उनलाई मनपरेको रोटी भएकाले यसलाई नेवारहरूले ‘मनपर्ने रोटी’ भन्न थालेको किंवदन्तीमा उल्लेख छ।



Leave a Reply