‘मिड करिअर क्राइसिस’, अचेल यो टर्मिनोलोजीको अत्यधिक प्रयोग हुने गरेको पाइन्छ । खासगरी, करिअरको मध्यान्तरमा पुगेको एउटा ठूलो जमात भविष्यप्रतिको असुरक्षा भावले चिन्तित भएर आफूलाई ‘मिड करिअर क्राइसिस’ मा भएको ठान्ने प्रवृत्ति बढ्दै गएको छ । हुन त यो प्रवृत्ति विश्वव्यापी फेनोमेना हो । यद्यपि, चालीस आसपास र कटेको नेपाली अधबैँसे पुस्ता पनि ‘मिड करिअर क्राइसिस’ ले अन्योल र भयग्रस्त बन्दै गएको छ ।
कति सङ्कटको कुरा गर्ने ? समाधान अनि अवसरको कुरा पनि गरौँ न । यस्तै सोचेर ‘वाह ! जिन्दगी’ को यो अङ्कमा ‘मिड करिअर क्राइसिस’ को बोझले थिचिएको जमात समर्पित छ ।
चालीस कटेका व्यक्तिहरू आफ्नो करिअरको मध्यबिन्दुमा हुन्छन् । यो यस्तो चरण हो, जतिबेला मान्छेले किशोर वा त्यसपछिको युवावयमा जति जोखिम लिने आँट गर्दैन अनि सुरुवाती दिनमा जस्तो सक्रियता र ऊर्जा पनि कम हुँदै गइरहेको हुन्छ । एक हिसाबले थकान, निराशा वा दिशाहीनताले गाँजिएजस्तो हुन्छ । यो बेला व्यक्तिले आफ्नो काम, प्राप्त नतिजा वा भविष्यप्रति गहिरो प्रश्न उठाउने मात्रै होइन, परिवर्तनको चाहना पनि राख्छ । तर, कुन बाटो लिने अन्योलग्रस्त मनोदशाले बेचैन हुन्छ । यस्तो अवस्थालाई ‘मिड करिअर क्राइसिस’ भनेर बुझिन्छ ।
यो टर्मिनोलोजीको ‘क्वाइन’ बीसौँ शताब्दीको मध्यतिर भएको हो । सन् १९६५ मा एक जना मनोचिकित्सक इलियट जाकुजले आफ्नो मृत्यु र मध्यजीवनको सङ्कटबारे ‘डेथ एन्ड मिडल लाइफ क्राइसिस’ शीर्षक लेख लेखेका थिए । तर, त्यसपछिका दिनमा मध्यउमेरको सङ्कट व्यक्तिको जीवनमा मात्रै होइन, व्यावसायिक जीवनमा पनि उत्तिकै हुन्छ भन्ने अवधारणा विकास हँुदै गयो । अनि, ‘मिडलाइफ क्राइसिस’को ठाउँमा ‘मिड करिअर क्राइसिस’ को प्रयोग ज्यादा हुन थाल्यो ।
तर, के चालीस कटेपछिको जीवन केवल सङ्कटग्रस्त मात्रै हुन्छ त ? के ‘मिडलाइफ क्राइसिस’लाई मिडलाइफ अवसर बनाउन सकिँदैन ? खासमा सङ्कट र अवसर एक सिक्काका दुई पाटा हुन् । त्यसकारण सङ्कटका रूपमा लिएर चिन्तित हुने कि अवसरको ढोका खोल्ने प्रयत्न पनि गर्ने ? खासमा सङ्कट भनेर भाष्य बनाइए पनि व्यक्ति सङ्घर्ष, अनुभव र उतारचढावबाट खारिएर मध्यजीवनमा पुग्दा नयाँ सम्भावनाको ढोका पहिल्याउन सक्ने भइसकेको हुन्छ । हामीले यसै अङ्कमा चालीस कटेपछि आ–आफ्नो कर्ममा चम्किएका केही नजिर पनि प्रस्तुत गरेका छौँ । प्रख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेजस्तै, हरेक कठिनाइको बीचमा अवसर हुन्छ ।
मुख्यतः मिडलाइफमा सबैभन्दा ध्यान दिनुपर्ने कुरा शारीरिक र मानसिक स्वास्थ्य हो । जब व्यक्ति शारीरिक र मानसिक रूपमा ऊर्जाशील हुन्छ, त्यसले व्यावसायिक र कर्मशील बनाउन प्रेरित गर्छ । सामाजिक, पारिवारिक सम्बन्धहरू सन्तुलनमा राख्दै आर्थिक अनुशासनमा बस्ने, योजनाबद्ध लगानी र खर्चहरू गर्ने, आफ्नो खास रुचि र क्षमता पहिचान गर्दै त्यसै समर्पित हुने, आवश्यक पर्दा नयाँ सीप सिक्न अग्रसर हुनुपर्छ । जस्तो कि, अहिले प्रविधि, त्यसमा पनि एआईसँग एकाकार गरेर बढ्नुपर्ने अवस्था छ ।
संक्षेपमा, मिड करिअर सङ्कटभन्दा बढी अवसर हो । यो आफूलाई रिभिजिटेड गर्दै नयाँ सम्भावनाको ढोका खोल्ने मोड हो । चुनौतीहरू सामना गर्दै नयाँ उद्देश्यतर्फ मोडिन सके मिडलाइफ व्यक्तिका लागि उत्पादक र सन्तोषजनक चरण त बन्छ नै, अरूहरूका लागि पनि प्रेरणाको स्रोत बन्न सक्छ । ब्रिटिस साहित्यिक विद्वान् सिएस लुइस भन्थे, ‘तपाईं अर्को लक्ष्य राख्न वा नयाँ सपना देख्न कहिल्यै बूढो हुनुहुन्न ।’



Leave a Reply