स्तनपान र मातृत्वको सम्बन्ध


आमा बनेपछि हरेक महिलाको जीवन बदलिन्छ । म आफैँ आमा बनेपछि यो सत्य गहिरो रूपमा महसुस गरें । मेरा व्यक्तिगत निर्णयहरू, जसमा पहिले मेरो प्राथमिकता मात्र हुन्थ्यो, अहिले मेरो बच्चाको भलाइसँग पनि जोडिएका छन् । अब हरेक निर्णयले म र मेरो बच्चाको कल्याणलाई ध्यानमा राखेर गरिन्छ । यस क्रममा मैले समाजले स्तनपानलाई कसरी हेर्छ भन्ने कुरा नजिकबाट अनुभव गरेँ ।…

आमा बनेपछि हरेक महिलाको जीवन बदलिन्छ । म आफैँ आमा बनेपछि यो सत्य गहिरो रूपमा महसुस गरें । मेरा व्यक्तिगत निर्णयहरू, जसमा पहिले मेरो प्राथमिकता मात्र हुन्थ्यो, अहिले मेरो बच्चाको भलाइसँग पनि जोडिएका छन् । अब हरेक निर्णयले म र मेरो बच्चाको कल्याणलाई ध्यानमा राखेर गरिन्छ । यस क्रममा मैले समाजले स्तनपानलाई कसरी हेर्छ भन्ने कुरा नजिकबाट अनुभव गरेँ ।

पहिले म सोच्थेँ, स्तनपान पुरानो सोचको हिस्सा हो, तर जब मैले आफैँ स्तनपान गराउन थालेँ, यसको महत्व र शक्तिलाई गहिराइमा बुझेँ । यो मातृत्वको एउटा प्राकृतिक र स्वास्थ्यकर पक्ष हो, जसले म मात्र होइन, मेरो बच्चालाई पनि फाइदा पु¥याउँछ ।

कुनै बखत यस्तो थियो, म स्तनपानलाई एउटा पारम्परिक अभ्यासका रूपमा लिन्थेँ । आधुनिक महिलाहरू अथवा प्रगतिशील सोचविचार भएका महिलाले स्तनपान गराउँदैनन् अथवा गराउन सक्दैनन् भन्ने भाष्य एउटा वृत्तमा बनेको थियो ।

यस्तो भाष्य बन्नुमा स्तनपानजस्तो स्वाभाविक र प्राकृतिक प्रक्रियाबारे निर्माण हुने विविध धारणाहरू हुन् । एउटा उदाहरण म आफैँसँग सन्दर्भित छ । छोरीलाई खोप लगाउन हालै अस्पताल जाँदा मैले स्तनपान गराएको देखेर एक जना अर्धबैँसे महिलाले अचम्मित हुँदै प्रश्न गरिन्, ‘तपाईं पनि स्तनपान गराउनुहुन्छ ?’

प्रश्न एउटै थियो तर त्यसले मभित्र अनेक प्रश्न जन्माइदियो, के आधुनिक महिलाले स्तनपान गर्नु अचम्मको कुरा हो ? के समाज अझै पनि स्तनपानलाई परम्परागत अभ्यास मान्दै छ ? के हामी महिलाहरू अझै पनि हाम्रा शारीरिक विकल्पका लागि समाजद्वारा मापन भइरहेका छौं ? के आधुनिक महिलाको अवधारणा नै परिवर्तन गर्नुपर्ने समय आएको छ, जसले पारम्परिक र आधुनिक अभ्यासलाई समाहित गर्न सक्छ ?

स्तनपान एउटा अभ्यासको रूपमा समाजमा विभिन्न धारणाको जन्म दिने विषय हो । यसमा सांस्कृतिक, सामाजिक र व्यक्तिगत विश्वासहरू समेत गाँसिएका छन् । धेरै मानिसका लागि स्तनपान शिशु स्वास्थ्यका लागि लाभदायक र मातृत्वको स्वाभाविक जिम्मेवारीका रूपमा लिइन्छ । तर, केही महिलाका लागि यो अभ्यास पुरानो, असुविधाजनक, या व्यक्तिगत स्वतन्त्रताको बाधक पनि हुन सक्छ । यी विविध दृष्टिकोणले स्तनपानलाई एक जटिल र बहुआयामी विषय बनाइदिएको छ । जसमा समाजको सोच र भूमिकाले पनि मलजल गरिरहेको हुन्छ ।

म बुझ्छुु, स्तनपान केवल व्यक्तिगत निर्णय मात्र नभई बच्चाको स्वास्थ्य र आमाको कल्याणका लागि पनि महत्वपूर्ण छ । स्तनपानका पोषण, प्रतिरक्षा प्रणालीको विकास र हार्मोनल सन्तुलनका फाइदाले बच्चाको समग्र स्वास्थ्यलाई सुदृढ बनाउँछ । आमाहरूका लागि पनि यसले शारीरिक पुनःसम्भार र तौल व्यवस्थापनमा सहयोग पु¥याउँछ भने केही दीर्घकालीन स्वास्थ्य समस्याहरूको जोखिमलाई कम गर्छ । महिलाले स्तनपान गर्नु भनेको केवल परम्परा अनुसरण गर्नु नभई परम्परा र नवप्रवर्तनको संगममा यात्रा गर्नु हो ।

मेरो व्यक्तिगत अनुभव हेर्दा म जब मेरो छोरीलाई स्तनपान गराउँछु, म गहिरो सन्तुष्टि र खुसी महसुस गर्छु । यसले मेरो बच्चालाई जीवनको उत्कृष्ट सुरुवात मात्र दिएको छैन, हाम्रो भावनात्मक सम्बन्धलाई पनि गहिरो बनाएको छ । हरेक पटक छोरीलाई स्तनपान गराउँदा म मातृत्वको विशेष क्षणलाई महसुस गर्छु, जसले हामीबीचको सम्बन्धलाई अझ बलियो बनाउँछ ।

तर, यो अनुभव सबै महिलाका लागि समान हुँदैन । केही आमाहरूले दूधको आपूर्तिमा समस्या, शारीरिक असहजता वा अन्य स्वास्थ्य चुनौतीहरूको सामना गर्न सक्छन् । यी चुनौतीहरूले स्तनपानलाई पीडादायी र कठिन बनाउन सक्छन् । तर, यी समस्याको समाधान खोज्न सकिन्छ ।

यो अवस्थामा ती आमाहरूलाई परामर्शको खाँचो पर्छ । सही तरिकाले स्तनपान गराउन असमर्थ हुने, दूधको मात्रामा कमी हुने वा शारीरिक असहजता हुने महिलाले उचित परामर्श पाएमा स्तनपानलाई निरन्तरता दिन सक्ने मात्रै होइन, त्यसले आत्मविश्वास पनि जगाउन सघाउँछ ।

आमाहरूलाई स्तनपानका लागि सहज महसुस हुन कार्यस्थलहरू पनि महिलामैत्री हुनु अनिवार्य छ । आमाहरूलाई कार्यस्थल वा सार्वजनिक ठाउँमा बिना झिकझक स्तनपान गराउन पाउने अधिकार सुरक्षित हुनु जरुरी छ । त्यसैगरी समाजमा स्तनपानको महत्वबारे सही जानकारी पु¥याउनका लागि सार्वजनिक अभियानहरू आवश्यक छन् । यसले स्तनपानलाई सामान्य र स्वाभाविक अभ्यासका रूपमा स्थापित गर्न सहयोग पु¥याउँछ र बिनासंकोच यो अभ्यासलाई निरन्तरता दिन प्रेरित गराउँछ । स्तनपान कुनै आमा र बच्चाको मात्र जिम्मेवारी होइन, यो समाजले समर्थन गर्नुपर्ने सार्वभौम अधिकार हो । प्रत्येक महिलाले स्तनपान गराउन पाउने सुविधा, स्रोत र जानकारीमा सहज पहुँच हुनुपर्छ । स्तनपानको महत्व बुझेर हरेक महिलाले आफू र आफ्ना बच्चाको कल्याणका लागि सही निर्णय लिन पाउनुपर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *