नेपाली साङ्गीतिक तथा सांस्कृतिक धरोहरका रूपमा मालश्री धुन


नेपालको साङ्गीतिक परम्परा अत्यन्तै रोचक र समृद्ध छ र यो सांस्कृतिक विविधताले भरिएको छ । यहाँ लोकसङ्गीत, शास्त्रीय सङ्गीत, भजन र संस्कृतिसँग गाँसिएका विभिन्न धुनले हाम्रो सामाजिक–सांस्कृतिक संरचनाको प्रतिनिधित्व गरिरहेका छन् । यस्तै धुनहरूमध्ये मालश्री धुन एउटा विशेष महत्व बोकेको साङ्गीतिक र सांस्कृतिक धरोहर भएको धुन हो, जसलाई नेपाली समाजले दसैंको प्रतिविम्ब वा पर्यायवाचीको रूपमा…

नेपालको साङ्गीतिक परम्परा अत्यन्तै रोचक र समृद्ध छ र यो सांस्कृतिक विविधताले भरिएको छ । यहाँ लोकसङ्गीत, शास्त्रीय सङ्गीत, भजन र संस्कृतिसँग गाँसिएका विभिन्न धुनले हाम्रो सामाजिक–सांस्कृतिक संरचनाको प्रतिनिधित्व गरिरहेका छन् । यस्तै धुनहरूमध्ये मालश्री धुन एउटा विशेष महत्व बोकेको साङ्गीतिक र सांस्कृतिक धरोहर भएको धुन हो, जसलाई नेपाली समाजले दसैंको प्रतिविम्ब वा पर्यायवाचीको रूपमा मान्दछन् । यसैले मालश्रीलाई ‘दसैँको धुन’ भनेर पनि चिनिन्छ । विशेष गरेर शरद् ऋतु, माता दुर्गा वा कालीको स्तुति, वन्दना, आराधना, हर्ष, उल्लास र धार्मिक–सांस्कृतिक एकता आदि विषय वर्णन गरिएको यो धुन घटस्थापना (मोहनी नाख) को दिनबाट कोजाग्रत पूर्णिमासम्मको अवधिसम्म गाइन्छ र बजाइन्छ । मालश्री धुनले सामूहिक रूपमा मनाइने दसैँ पर्वलाई परिवार, छरछिमेक र समुदायलाई एकतामा बाँध्नुका साथै श्रद्धा, शान्ति र धार्मिक आस्था जगाउनमा पनि सहयोग पु¥याउँछ, जसका कारण मालश्री धुनलाई नेपाली समाजको पहिचानका रूपमा ग्रहण गरी समाजलाई एकताबद्ध गर्ने सांस्कृतिक सूत्ररूपमा पनि हेर्ने गरिन्छ ।

मालश्री धुनको परम्परा
मल्ल राजा जगत्ज्योति मल्लले उनका सल्लाहकार वंशमणि ओझाको सहयोगमा नेवारी भाषामा रचना गरेको ‘सङ्गीतचन्द्र’ नामक ग्रन्थमा समावेश भएको मालश्री गीतलाई हालसम्म प्राप्य सबैभन्दा पुरानो सामग्री भएको गीत मानिन्छ । यसका आधारमा कतिपय विद्वान्ले मालश्री धुनको उत्पत्ति १७ औँ शताब्दीमा भएको तर्क प्रस्तुत गरेका छन् । नेपालमा काठमाडौँ उपत्यकाका नेवार समुदायमा बाह्रै महिना अलग–अलग रागमा आधारित विभिन्न धुन र गीतहरू गाइने–बजाइने रोचक परम्परा छ, जसअन्तर्गत जेठको सिठी चाडमा कोलाराग, रोपाइँमा सिनाज्या, गाईजात्रामा सिलुमे, दसैँमा मालश्री, कात्तिकमा धनाश्री (भैली र देउसी), मङ्सिरमा विभास रागमा आधारित करुण रसका गीत, पुस, माघ र फागुनमा शृङ्गार र हास्यरस भाव झल्किने वसन्त, धमार र फागु गीतका साथै चैतमा नैराश्य, विरक्त भावना अभिव्यक्त हुने घाटु गीत गाइन्छ, बजाइन्छ । यसैअनुरूप देवीलाई प्रसन्न पार्न तथा दसैँको अवसरमा वातावरणलाई खुसी र हर्षोल्लासपूर्ण बनाउन मालश्री धुन गाइने, बजाइने परम्परा ज्यादै पुरानो भएकाले यसलाई सत्रौँ शताब्दीबाट मात्र आरम्भ भएको मान्न सकिन्न ।
लिच्छविकालमा मालश्री गीतको प्रचलन थियो वा थिएन भन्ने स्पष्ट केही नमुना पाइँदैनन्, तर त्यस समयमा पनि चाडपर्व, जात्रा तथा धार्मिक अवसरमा मौसमअनुसारको गीत, धुन गाउने, बजाउने परम्परा रहेको र नेपाल मण्डल काठमाडौँ उपत्यका नेवार समुदायको बस्ती भएका कारण त्यतिबेला नै मालश्री धुनको प्रचलन रहेको हुन सक्छ भन्ने अनुमान गर्न सकिन्छ । मल्लकालका राजाहरू रणजित मल्ल, पाटनका सिद्धिनरसिंह मल्ललगायत थुप्रै राजाले मालश्री गीतका साथ अन्य विभिन्न गीत र थुप्रै ग्रन्थको रचना गरेको पनि जानकारी पाइन्छ ।
उपत्यकाका मल्ल राजाहरूको प्रभावले नै गोर्खाका शाह राजाहरूसमेतले लडाइँमा प्रस्थान गर्नुअघि खड्गसिद्धिका निमित्त देवी भैरवी अथवा महाकालीको पूजा गरी मालश्री रागमा आधारित स्तुति गायन गर्न थाले । सोहीअनुसार तात्कालिक राजा प्रतापसिंह शाह, रणबहादुर शाह, गीर्वाणयुद्ध वीरविक्रम शाह, राजेन्द्रविक्रम शाह तथा ठुल्ठूला भारदारहरू दलजित शाह, तुलाराम पाँडे, अमरसिंह थापा आदि सबैले वीररसयुक्त मालश्रीको रचना गरेका थिए । यी रचनालाई गोरखाका मर्दनसिंह थापाले सङ्ग्रह गरी वि.सं. १९७० मा बनारसबाट वृहद्रागमालश्री सङ्ग्रह नामको ग्रन्थ प्रकाशनसमेत गरेका छन् । यसप्रकार, आरम्भमा नेवार समुदायको परम्परा र सम्पत्तिमा सीमित रहेको यो धुन कालान्तरमा आइपुग्दा सम्पूर्ण नेपाली समाजलाई एकताबद्ध गर्ने साझा साङ्गीतिक–सांस्कृतिक धरोहरको रुपमा लोकप्रिय बन्न पुग्यो भने आजसम्म पनि दसैँको अवसरमा राज्यको औपचारिक कार्यक्रममा मालश्री गीत गाउने परम्परा कायमै छ ।

मालश्री धुनको साङ्गीतिक संरचना र शैलीगत विशेषता
मालश्री धुन शृङ्गार, शान्त र भक्तिरसले भरिपूर्ण छ, जसलाई सुन्दा श्रद्धा, भक्ति र आन्तरिक शान्तिको अनुभूति हुन्छ । यो धुन प्रायः मध्यम गतिको तालमा बजाइन्छ, जसमा नेपालका मौलिक एवं परम्परागत वाद्ययन्त्र पञ्चेबाजा, नगरा, धिमे, बाँसुरी, मादल आदिको प्रयोग हुन्छ । समयको विकासक्रमसँगै वर्तमान समयमा यो धुन सितार, सरोद, इसराज, बेला, तबलाजस्ता शास्त्रीय वाद्यहरूका साथै सेक्सोफोन, गितार, ड्रम आदि आधुनिक पश्चिमा वाद्यहरूसँग संयोजन गरेर समेत प्रस्तुत गर्ने गरिएको छ ।

मालश्री धुन र मालश्री रागका समानता र असमानता
नेपालमा प्रचलनमा रहेका कतिपय राग र दक्षिण एसियाली राष्ट्रहरूमा प्रचलित रागको नाम समान भए तापनि यिनका स्वरूप भने एकदमै भिन्न छ । यसको ज्वलन्त उदाहरणको रूपमा प्रचलित मालश्री धुन पनि हो । यो धुनका स्वरहरू काफी थाठअन्तर्गतका रागहरू पिलु, पटदीप, भीमपलासीको स्वरसँग मिल्दोजुल्दो पाइन्छ । यसमा कोमल तथा शुद्ध दुवै गन्धार र निषाद, यदाकदा कोमल धैवत र बाँकी शुद्ध स्वरको प्रयोग हुन्छ । मालश्री धुनमा प्रचलित शास्त्रीय सङ्गीतमा जस्तो स्वर प्रस्तार वा विस्तार गरी प्रस्तुत गर्नेभन्दा रचनाका पङ्क्तिहरू पुनरावृत्ति गरी गायन वादन गरिन्छ । आध्यात्मिक र सामाजिक भावनाका कारण पुनरावृत्ति भइरहँदा पनि यो धुन सुन्दा श्रोतालाई पट्यार भने लाग्दैन ।
दक्षिण एसियामा प्रचलित शास्त्रीय सङ्गीतमा मालश्री नामक अर्को एउटा राग पनि छ, जुन प्रचलित मालश्री धुनभन्दा विल्कुलै भिन्न प्रकृतिको छ । शास्त्रीय मालश्री राग कल्याण थाटबाट उत्पन्न हुन्छ, जसमा सा ग प नि केवल चार स्वर प्रयोग हुन्छ । रागमा कम्तीमा पाँच स्वर हुनैपर्छ भन्ने शास्त्रीय मान्यताविपरीत यो रागमा चार स्वरको मात्र प्रयोग हुने नियमबाट बच्नका लागि यसको अवरोहमा यदाकदा तीव्र मध्यमको प्रयोग गरिने प्रचलन पनि छ । यसप्रकार हेर्दा परम्परागत सङ्गीतका रूपमा रहेको मालश्री धुन र शास्त्रीय मालश्री राग बिलकुलै भिन्न रहेको देखिन्छ । संयोगले नाम मिल्न गए तापनि मालश्री धुन नेपालको आफ्नै विशेषता रहेको र यहीँ विकसित भएको धुन हो ।

मालश्री धुनको समकालीन अभ्यास र रूपान्तरण
समकालीन समाजमा मालश्री धुनको प्रयोग परम्परागत सीमाभन्दा बाहिर पनि फैलिएको छ । परम्परागत रूपमा यो धुन आफ्नो टोल–छिमेक, मठ–मन्दिरमा दसैँको समयमा पूजाआजा तथा मनोरञ्जनमा सीमित थियो । आज यो धुन दसैँको समयमा सबै टेलिभिजन, रेडियो, युट्युब, सामाजिक सञ्जालमार्फत निरन्तर रूपमा प्रसारण हुन्छ । यसका साथै दसैँ समयमा आयोजना हुने सबै उत्सव, समारोह वा साङ्गीतिक कार्यक्रममा मालश्री धुन अनिवार्य रूपमा प्रस्तुत गर्ने प्रचलन बढेको छ । केही कलाकारले त यो धुनको मूल स्वरूपलाई सुरक्षित राख्दै शास्त्रीय र आधुनिक सङ्गीतको संयोजन गरी नयाँ रूप दिने प्रयास पनि गरेका छन् । यसैगरी यसको सांस्कृतिक महत्वलाई बुझेर स्कुल, कलेज तथा विश्वविद्यालयमा समेत सङ्गीत विषयको पाठ्यक्रममा नै समावेश गरी शिक्षण हुने गरेको छ । यस्तो प्रयास तथा कार्यले यो धुनलाई संरक्षण गरेको साथै नयाँ पुस्तासम्म पु¥याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउने देखिन्छ ।

मालश्री धुन नेपाली समाजको साझा साङ्गीतिक–सांस्कृतिक सम्पदा हो । यसले दसैँ पर्वलाई मात्र होइन, सम्पूर्ण नेपाली जीवनलाई धार्मिक श्रद्धा, सांस्कृतिक चेतना र सामाजिक एकताको सूत्रमा बाँध्ने भूमिका खेलेको छ । यसर्थ, समयको प्रवाहलाई आत्मसात् गर्नाका साथै यसको मौलिक स्वरूपलाई सुरक्षित राख्नेतर्फ समेत ध्यान दिई यो धुन नयाँ पुस्तामा हस्तान्तरण गर्न सके मात्र यो धरोहर दीर्घकालसम्म जीवित रहन सक्छ । मालश्री धुन केवल एक धुन मात्र नभई नेपाली सभ्यता, संस्कृति र पहिचानको प्रतीक भएको हुँदा यसको संरक्षण गर्नु हामी सबैको सांस्कृतिक दायित्व हो ।

मालश्री धुन बजाउँदै सरोवादक रुपा न्यौपाने र टिम ।

तस्बिर सौजन्य रुपा न्यौपाने फेसबुक वाल

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *