सम्हालिऊँ, एकता र उज्यालोका पर्वहरू मनाऔँ


वाह ! जिन्दगी म्यागजिनको मूल मन्त्र निराशा र नकारात्मकताको भाष्य चिरेर समाजलाई जीवनशील बनाउने अनि सकारात्मक सोच र भावनाहरू पल्लवित गर्ने हो । अहिले नेपाली समाज अत्यन्तै कठिन मोडमा छ । हिंसा, प्रतिहिंसा, भय, निराशा, प्रतिशोध, बेचैनी आदि नकारात्मक भावले समाजको सन्तुलन नै खलबलिएको छ । यस्तो बेला सकारात्मक सोच र जीवनप्रतिको अडिग विश्वास जागृत…

वाह ! जिन्दगी म्यागजिनको मूल मन्त्र निराशा र नकारात्मकताको भाष्य चिरेर समाजलाई जीवनशील बनाउने अनि सकारात्मक सोच र भावनाहरू पल्लवित गर्ने हो ।

अहिले नेपाली समाज अत्यन्तै कठिन मोडमा छ । हिंसा, प्रतिहिंसा, भय, निराशा, प्रतिशोध, बेचैनी आदि नकारात्मक भावले समाजको सन्तुलन नै खलबलिएको छ । यस्तो बेला सकारात्मक सोच र जीवनप्रतिको अडिग विश्वास जागृत हुने आडभरोसाको हामीलाई सख्त खाँचो छ । निष्पट अँध्यारोमा एउटा दियो नै बाल्न सके पनि त्यो आशा र जीवनको लागि सञ्जीवनी बुटी नै बन्छ । हाम्रो प्रयत्न यही रहनेछ ।

सत्ता अनि केवल सत्ताभोगमा मात्रै लिप्त शीर्ष राजनीतिक नेतृत्वप्रति असन्तुष्टि प्रकट गर्न सडकमा उत्रेको जेनरेसन जेड (जेनजी) को प्रदर्शनले हिंसात्मक रूप लिँदा एकैचोटि मुलुकले अनेक कुरा बेहो¥यो । भदौ २३ गते जेनजी पुस्ता सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धविरुद्ध उत्रेको थियो । बढ्दो चौतर्फी भ्रष्टाचारमुक्त समाजको खोजी पनि जेनजी अभियानको अर्को माग थियो । शान्तिपूर्ण रूपमा जेनजी पुस्ता सडकमा उत्रेको चाख मानेर नेपाली समाज हेर्दै थियो । सत्ता छोड्न नचाहने नेतृत्वलाई राजनीतिप्रति चाख राख्दैनन् भन्ने टिप्पणी खेपेको पुस्ता सडकमा ओर्लिएकाले त्यो समाजका लागि नौलो परिघटना थियो ।

तर, सरकारले यसलाई सकारात्मक रूपमा हेरेन र प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली बर्सायो । यसले अनेक अभीष्ट बोकेर बसेको घरेलु अनि बाह्य शक्तिकेन्द्रलाई घुसपैठको मौका दियो । अनि त के चाहियो, मुलुक रणमैदानमा परिणत भयो । पहिलो दिन २३ गते सरकारले नृशंस हत्या ग¥यो । दोस्रो दिन जेनजी पुस्ताको आवरणमा मुलुकभर अराजकता, विध्वंस मच्चियो । सत्ताइस घण्टामै मुलुक शून्यमै पुग्यो । देशको सामथ्र्य कति कमजोर रहेछ, निरीह नागरिक पंक्तिले महसुस गरे । तह–तह बाक्लिँदै गएको आक्रोश र असन्तुष्टि, स्वार्थ समूह र शक्तिको घुसपैठ, प्रतिशोध, डाहा र ईष्र्या अनि सत्तासीनहरूको दम्भ एकैचोटि सडकमा पोखिँदा पुर्ताल नै गर्न नसकिने विनाश निम्तियो । मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारदेखि न्यायालयसम्म अनि निजी र सरकारी हजारौँको संख्यामा घर, कार्यालय जलेर नष्ट भए । एकाएक मुलुक कुनै भयावह युद्धपछिको खण्डहरजस्तो बन्यो ।

खरानीबाट उठेर अघि बढ्ने प्रण र प्रयत्न भइरहेका छन् । यही बेला मुलुक दसैँ, तिहार र छठजस्ता राष्ट्रिय महत्वका पर्वहरूको सामुन्ने छ । अहिले मुलुकलाई लागेको घाउ तत्काल निको हुनेछैन । जनजीवन सामान्यतर्फ उन्मुख छ । तर, घाउ हिल भएर पुरिन समय लाग्नेछ । यो अन्योल र पीडा एकातिर छ, अर्कातिर हाम्रा मौलिक पर्व, संस्कृतिले दैलो उघारिसकेका छन् । यो विषम परिस्थितिमा हामीले यी पर्वहरूको अन्तर्यलाई बुझेर त्यसैअनुरूप मनाउनुपर्नेछ । यी पर्वमा रिस अनि प्रतिशोध त्यागेर एकता, सुख अनि समृद्धिको सन्देशलाई ग्रहण गर्न सक्नुपर्छ । भव्यता र देखासिकीभन्दा बढी सादगी र सरलतासाथ मनाउनुपर्छ । चाडपर्वको अर्थ लुगा, गहना, भोजभतेर अनि देखासिकी मात्रै होइन, निराशाले टुटेको समाजमा आत्मीयता बाँड्ने र सकारात्मक सोच फैलाउने अवसरका रूपमा पनि ग्रहण गर्न सक्नुपर्छ । अर्थात् दसैँ, तिहार अनि छठलाई हामीले यसपटक सही अर्थमा एकता र समझदारीको पर्व बनाउन सक्नुपर्नेछ । मर्माहत भएको मुलुक र समाजको घाउमा मल्हम लगाउन सक्ने पर्व बनाउनुपर्नेछ । आशा अनि उज्यालोको पर्व बनाउन सक्नुपर्नेछ । सामूहिक विवेक, संयम, समझदारी अनि सकारात्मक सोचले मात्रै अहिलेको सङ्कटको घाउ पुरिनेछ । दसैँतिहारजस्ता पर्वलाई भावनात्मक पुनर्निर्माणको अवसर बनाउन सकौँ ।

सबै नेपालीजनमा वाह ! जिन्दगी टिमको हार्दिक मङ्गलमय शुभकामना ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *