साहित्यकार ध्रुव मधिकर्मी र लक्ष्मणप्रसाद गौतमलाई यस वर्षको ग्वंगः सिरपाः सम्मान प्रदान गरिएको छ। साहित्यिक सम्मान सङ्गमको आयोजनामा भक्तपुरमा सम्पन्न कार्यक्रममा दाता तथा वरिष्ठ निबन्धकार तेजेश्वरबाबु ग्वंगःले जनही पचास हजार पाँच रुपैयाँसहित सम्मान प्रदान गरे। प्रमुख अतिथि प्राध्यापक केदारभक्त माथेमाले दुबै स्रष्टालाई सम्मानपत्र हस्तान्तरण गरे।
प्रा. माथेमाले सम्मान र पुरस्कारले स्रष्टाको लेखनको मूल्याङ्कन गर्ने र नयाँ सिर्जनाका लागि प्रेरणा प्रदान गर्ने बताएका थिए। पुरस्कारका दाता ग्वंगःले महाकवि लक्ष्मीप्रसाद देवकोटासँग ट्युसन पढेपछि साहित्यतर्फ लाग्न प्रेरणा पाएको बताएका थिए। उनले स्रष्टालाई सम्मान गर्न पाउँदा “नयाँ सिर्जना गरेजस्तो अनुभूति भएको” बताएका थिए।

निबन्धकार मुकुन्दराज शर्माले सम्मानित स्रष्टाद्वयका कृतिबारे धारणा व्यक्त गर्दै मधिकर्मीका व्यङ्ग्यमा समसामयिक विषयहरू गहन रूपमा आएको र गौतमका निबन्धमा जीवनका अनुभूति सुन्दर ढङ्गले अभिव्यक्त भएको बताएका थिए ।
कार्यक्रमको संयोजन साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले गरेका थिए। उनले पछिल्ला वर्षमा असाहित्यकारहरूले पनि साहित्यिक पुरस्कार दिने प्रवृत्ति बढेको बताए। तर, उनका अनुसार यस्ता पुरस्कार ठूला राशिकै भए पनि निरन्तरता नहुने गरेको छ। उनले तेजेश्वर ग्वंगःले आफ्नो जीवनकालमा प्राप्त पुरस्कार रकमलाई अक्षयकोषका रूपमा स्थापना गरी स्रष्टालाई सम्मान गर्ने परम्परा निरन्तरता दिएको उल्लेख गरे।

कार्यक्रममा ग्वंगः सिरपाः कार्यसमितिका सदस्य तथा ग्वंगःका छोरा सञ्जीव गोगलले ९३ वर्षीय ग्वंगःको साहित्यिक प्रतिबद्धता र लगावबारे जानकारी दिएका थिए।
कार्यक्रममा सम्मानित दुबै स्रष्टा ध्रुव मधिकर्मी र लक्ष्मणप्रसाद गौतमले आभार व्यक्त गरेका थिए।ग्वंगः सिरपाः सम्मान प्रत्येक दुई वर्षमा दुई जना स्रष्टालाई प्रदान गरिन्छ।



Leave a Reply