चौथो लायन्स कप गर्ल्स फुटसल प्रतियोगिताको उपाधि महेन्द्र आदर्श स्कुलले हात पारेको छ। लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसद्वारा आयोजना गरिएको प्रतियोगिताको फाइनलमा महेन्द्र आदर्श स्कुलले महालक्ष्मी स्कुललाई रोमाञ्चक पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिलो स्थान हासिल गर्न सफल भयो।

निर्धारित ४० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीमार्फत निर्णय गरिएको थियो, जहाँ महेन्द्र आदर्शका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि चुमे।
१७ विद्यालयको सहभागिता
प्रतियोगितामा कुल १७ वटा विद्यालयले सहभागिता जनाएका थिए। तीमध्ये भ्याली पब्लिक स्कुल तेस्रो स्थानमा रह्यो भने विश्वामित्र गणेश माध्यमिक विद्यालयले चौथो स्थान प्राप्त गर्यो।
कात्तिक २४ गतेदेखि सुरु भई कात्तिक २६ गतेसम्म चलेको प्रतियोगिताले छात्रा खेलाडीहरूको उत्साह र प्रतिस्पर्धी भावना प्रकट गर्यो।



सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्तालाई सम्मान
प्रतियोगितामा महेन्द्र आदर्श स्कुलकी करिना तामाङ ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भइन्। त्यस्तै, मिन्जल लामा ‘उच्च गोलकर्ता’ बन्न सफल भइन्। दुवै खेलाडीले प्रतियोगिताभर प्रभावशाली प्रदर्शन गर्दै निर्णायक भूमिका खेले।
विजयी टीम तथा उत्कृष्ट खेलाडीहरूलाई प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जनले पुरस्कार हस्तान्तरण गरिन्। साथै, कार्यक्रमका विशिष्ट अतिथिमा लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर लायन महेश आचार्य, लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसकी अध्यक्ष सृष्टि बज्राचार्य, तथा डिस्ट्रिक्ट चिफ स्पोर्ट्स तथा रोड सेफ्टीका लायन दिप्रश शाक्यको उपस्थिति थियो।

उनीहरूले खेलाडी तथा विद्यालय प्रतिनिधिहरूलाई ट्रफी, मेडल, प्रमाणपत्रसँगै स्कुल ब्याग, स्टेशनरी सामग्री, केड कम्पनीद्वारा प्रदान गरिएको उपहार सहित विभिन्न सामग्रीहरू वितरण गरे।



महिला सशक्तीकरणतर्फ एक कदम
महिलालाई खेलकुदमा सहभागिता गराई उनीहरूको अन्तर्निहित क्षमता पहिचान र विकास गर्न मद्दत गर्ने उद्देश्यले लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ। यस कार्यक्रममा विद्यार्थीहरूले खेलकुद, अनुशासन र टोली भावना सिक्ने अवसर प्राप्त गर्ने भन्दै आयोजकले आगामी वर्षहरूमा अझ भव्य रूपमा प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाए।



Leave a Reply